चाँगुनारायण नगरपालिकाले प्रत्येक वडामा एक स्वास्थ्य चौकी एक प्रयोगशाला सञ्चालन

भक्तपुर, १६ पुस ।
चाँगुनारायण नगरपालिकाले प्रत्येक वडामा एक स्वास्थ्य चौकी एक प्रयोगशाला सञ्चालनको अभियान सुरु गरेको छ । नगरपालिकाले वडा नं ८ सुडालको स्वास्थ्य चौकीमा पहिलो आधारभूत प्रयोगशालाको शुभारम्भ गर्दै अभियान सुरु गरेको हो । चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रले चाँगुनारायण नगरपालिका भित्र विगतमा पिछडिएको सुडालमा जनप्रतिनिधि आएसँगै विकासको ताती लागेको बताउनुभयो । उहाँले नगरपालिकाले त्यहाँका १० वटै वडाको स्वास्थ्य चौकीको स्तरोन्नतिसँगै एक वडा एक स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना अभियानको शुरुवात गरिएको बताउदै सुडाल स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालनमा आएसँगै स्वास्थ्य चौकी मिनी अस्पतालको रुपमा परिणत भएको बताउनु भयो । नगर प्रमुख मिश्रले भन्नुभयो, “हामी जनप्रतिनिधि भएर आएपछि जनताको इच्छा, चाहना र आवश्यकतालाई बुझ्दै अगाडि बढ्यौ, यहाँको भौतिक विकास मात्रै नभई शैक्षिक, स्वास्थ्य र रोजगारीको क्षेत्रमा देशभरिका पालिका मध्ये नमूनाको काम गरेका छौँ, स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापनासँगै यहाँ एउटा मिनी अस्पताल निर्माण भएको छ ।” उहाँले सुडालबासीको मात्रै नभई आफ्नो अभियान र सपना पनि पुरा भएको चर्चा गर्दै अब सामान्य स्वास्थ्य परीक्षण र ल्याब परीक्षणका लागि टाढा जानु नपर्ने आफ्नै गाउँमा सहज र सुलभ रुपमा सेवा पाइने बताउनु भयो । कार्यक्रममा वडाध्यक्ष परासर सापकोटाले स्वास्थ्य चौकीहरुमा प्रयोगशाला स्थापना गर्ने नगरपालिकाको अभियानमा सुडाल स्वास्थ्य चौकीमा पहिलो प्रयोगशाला स्थापना गर्न पाएकोमा आफू मात्रै नभई यहाँका सम्पूर्ण सुडालवासीलाई खुसीको कुरा भएको चर्चा गर्नुभयो ।
उहाँले सामान्य स्वास्थ्य परीक्षणमा आवश्यक पर्ने ल्याब परीक्षणका लागि भौतिारिदै टाढा जानु पर्ने बाध्यता देखेर यहाँको स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना गर्न आफूले गरेको पहल साकार भएको भन्दै यो सेवाको अब पुरा उपयोग गर्न स्थानीयलाई आग्रह गर्नु भयो । आर्थिक वर्ष २०७७÷७८ मा नगरपालिकाले विनियोजन भएको रकमबाट ल्याब सञ्चालनमा ल्याएको बताउँदै वडाध्यक्ष सापकोटाले स्वास्थ्य चौकीलाई गुणस्तरीय बनाउन प्रयोगशालाले थप टेवा पुग्ने बताउनु भयो । नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवालले स्थानीयले स्वास्थ्य चौकीबाट मधुमेह, युरिक एसिड, युरिया क्रेटिनेन, बिल रूविन (जन्डिस), टोटल प्रोटिन, एल्बोमिन, टिजी, कोलेस्ट्रोल, एचडिएल, एलडिएल, हेमोग्लोबिन, आरए फ्याक्टर, सिआरपी, टोटल काउन्ट, आरबिसी, ईएसआर, युरिन जाँच, दिशा जाँच, स्पुटम (खकार जाँच), वेडाल्ड ट्स्ट( टाईफाइड), एचआईभीलगायत परीक्षण हुने बताउनु भयो ।

तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0