भक्तपुर, ३ चैत : भक्तपुर नगरपालिकाले सञ्चालन गरेको देको–मिबा–इतापाके जग्गा एकीकरण आयोजनाले मनोमानीपूर्ण ढंगले जग्गा बाँडफाँट गरेको भन्दै पीडित जग्गाधनी तथा किसानहरु आयोजनाको कार्यालय घेराउ गरेका छन् । भक्तपुर नगरपालिका अगाडिबाट सयौँको संख्यामा भेला भएका पीडित जग्गा धनीहरुले हातमा प्ले कार्ड बोकेर नारा लगाउँदै आयोजनाको कार्यालयमा पुगेर आज दिनभर धर्ना दिनुभएको छ ।
आफ्ना सात बुँदे माग राख्दै महिला तथा पुरुष जग्गा धनीहरु आयोजनाले बिभेद गरेको भन्दै आयोजना घेराउ गर्न पुगेका आक्रोसित पीडितहरु पुग्नु अगाडिनै प्रहरीले आयोजनालाई सुरक्षा घेरामा राखेको थियो । आयोजना पीडित संघर्ष समितिका अध्यक्ष गोपालकृष्ण याकामीले जग्गा धनीहरुको गुनासो समेत दर्ता नगरेर जनताप्रति निरंकुशता लाद्न खोजेको बताउनु भयो ।
संघर्ष समितिले भक्तपुर नगरपालिकाबाट जारी नक्सा, सिफारिस, सर्जमिन एवं सर्वाधिकार प्राप्त निकायबाट जारी लिखत प्रमाणहरुलाई आयोजनाले मान्यता दिनुपर्ने, मापदण्ड कायम भइसकेको सडक जोडिएका कित्ताहरुमा बाटोको योगदान खारेज गर्नु पर्ने, भविश्यमा भवन पुर्ननिर्माण गर्दा साविक अनुरुपनै भवन निर्माण गर्न पाउनु सुनिश्चित गर्नुपर्ने, पूर्वाग्राही जग्गा वितरण खारेज गर्नुपर्ने, पक्षपातपूर्ण जग्गा कटौती खारेज गर्नुपर्ने, सल्लाघारी नगरकोट सडक नेपाल सरकारले मापदण्ड निर्धारण गरि आयोजना परिकल्पना अगावै फराकिलो गरिसकेकाले योगदान कटौती खारेज गर्नुपर्ने, पीडित उपभोक्ताको निवेदन, गुनासो दर्ता गरि सम्बोधन गर्नुपर्ने, उपभोक्ता समिति पुर्नगठन गर्नुपर्ने, सूचनाको हक सुनिश्चित गर्नु पर्ने माग राख्दै आन्दोलनमा उत्रिएको उहाँले बताउनु भयो ।
पीडित सिद्धिनारायण आचार्यले केही व्यक्तिलाई ढल व्यबस्थापनको नाममा ५० प्रतिशत जग्गा कटौती गरेको भन्दै आयोजनाको नियम विपरित जथाभावी पूर्वाग्राही रुपमा आयोजनाले काम गरेको बताउनु भयो । उहाँले भन्नुभयो, “व्यासी नगरकोट सडक, कालीघाँट सडकका बासिन्दालाई आयोजनाले के सुबिधा दियो, मनपरी तरिकाले जग्गा कटौत ीगर्न पाइन्छ, नगरपालिकाले दिएको सिफारिस, नक्सा पास, चार किलला, सडकको सेडव्याकलगायतको नियम आयोजनाले नमान्ने ? मूल सडकको जग्गा ५० प्रतिशत काटेर बाँकी ५० प्रतिशत पनि पछाडि भित्तामा लगेर दिएर हाम्रो व्यापार, व्यवसाय बन्द गराएर उठिबास लगाउन खोज्ने, यो कदापी सह्य हुदैन ।”
उहाँले आफ्ना तीन वटा गुनासोसहितको निवदेन फाइल दर्ता गर्न माग गर्दा आयोजनाले दर्ता नगरी फर्काएको बताउनुभयो । जनताको जग्गामा हात हालेर मनोमानी गर्ने अनि निवेदन लिन र गुनासो सम्बोधन नगर्ने आयोजनाको नियत खराब भएको आचार्यले बताउनु भयो । आयोजनाका अर्का पीडित एवं गत स्थानीय तहको निर्वाचनमा भक्तपुर नगरपालिकामा नगर प्रमुखको उम्मेदवार बनेका सत्यनारायण त्वायनाले नगरपालिकाले सञ्चालन गरेको यो आयोजनाले व्यक्ति छानीछानी अन्याय गरेको आरोप लगाउनु भयो ।
आयोजनाको नाममा जनताको सम्पत्ति चलाउने अनि जनतालाई थाहै नदिई पीडितको गुनासो समेत सुनुवाई नगरेको भन्दै उहाँले भन्नुभयो, “२०४५ सालमा नगरपालिकाले घर बनाउन नक्सा पास गर्यो, पटक पटक नगरपालिकाले बिभिन्न सिफारिस गरेको छ, नापी कार्यालयले जग्गा बोर्ड कायम गरेको छ, तर आयोजनाले अहिले घर भएको जग्गालाई सार्वजनिक भनेर हालेको छ, यो अधिकार आयोजनालाई कसले दियो ।”
आफू नगरपालिकामा मेयरको उम्मेदवार भएकै रीसमा आयोजनाले विभेद गरेको भन्दै उहाँले आफ्नो जग्गालाई आयोजनाले पर्ती भन्दै पर्खाल लगाएर टहरा बनाएर भाडामा लगाएर अन्याय गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, “डेढवर्ष अगाडि आयोजनाले सार्वजनिक गरेको जग्गाको प्टल नक्सामा मेरो घर जग्गा सार्वजनिक नहुने, तर गत स्थानीय निर्वाचनमा मैले स्वतन्त्रबाट मेयरको उम्मेदवारी दिएपछि अहिले फेरी रिप्लटिङ्ग गरेको प्लट नक्सामा त्यहीँ मेरो घर जग्गा सार्वजनिक हुने, हाम्रो जग्गालाई पर्ती बनाउने, व्यक्तिको जग्गालाई पर्ती बनाउने अधिकार आयोजनालाई कसले दियो, अनि हामीले दिएको निवेदन दर्ता नगर्ने, हाम्रो सम्पत्ति माथि अन्याय नगर भन्न हामीले नपाउने ? अर्काको सम्पत्ति चलाउने अनि निवेदन लिन डराउने ?”
अर्का पीडित जगतबहादुर कोजूले नगरपालिकाले नक्सा पास गरेको घलाई समेत आयोजनाले बाटोमा पारिदिएर उठिबास लाउन खोजेको भन्दै नियमानुसार मापदण्ड छोडेर नक्सा पास गरेर बनाएको घरलाई आयोजनाले बाटोमा पार्ने र बढी जग्गा कटौती गरेर उठीबास लगाउन खोजेको बताउनु भयो । आयोजना पीडितहरुले आफ्नो जग्गा छिटो भन्दा छिटो फिर्ता गर्न आयोजनासँग माग गरेका छन् ।
भक्तपुर नगरपालिका वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले आयोजनाले बनिसकेका घरलाई ढल राख्न, बाटो नभएकालाई बाटो दिदाँ जग्गा कटौतीमा केही तलमाथि हुनू स्वभाविकै भएको बताउदै आयोजनामा सम्पदा, पोखरी, सार्वजनिक जग्गा पनि मिचिएकाले त्यसलाई संरक्षण गर्दा केही तलमाथि पर्न गएको बताउनु भयोे ।
जग्गाको कित्ताकाट आयोजनाले सकिसकेको भन्दै उहाँले कुनै पक्षपात नगरी समान रुपमा आयोजना सञ्चालन गरेको दाबी गर्नुभयो । उहाँले स्थायी पूर्जा वितरण सुरु गरिसकेको बताउदै यसलाई निरन्तर अगाडि बढाउने बताउनुभयो । नगरपालिकाका इन्जिनियर एवं आयोजना प्रमुख ओमहरि था श्रेष्ठले आयोजना अब चाडै सम्पन्न गरेर स्थायी पूर्जा वितरण गर्न सुरु गरेको भन्दै गुनासो र पीडितको निवेदन लिन थाले पूर्जा वितरण दुई महिनाभन्दा बढी ढिला हुने बताउनु भयो ।
आयोजनामा मानवीय त्रुटिहरु रहेको भन्दै जग्गा निकै कम भएका केही उपभोक्तलाई जग्गा थप गरेर दिएको स्वीकार्नुभयो । उहाँले कमिकजोरीलाई सच्याएर जान तयार रहेको भन्दै उहाँले जनताको जायज माग सम्बोधन गर्ने र असर परेका जग्गाको कित्तालाई ततकाल रोकेर अरुको पूर्जा नियमित रुपमा बितरण गर्ने बताउनु भयो । पीडितहरुले भने समस्या समाधान गरेर नेपाल सरकारको नियमानुसार जानु पर्ने माग राखेका छन् ।
भक्तपुर नगरपालिकाको साविक वडा नं. ५, १० र १५ तथा हाल वडा नं. २ र ६ स्थित देकोचा, कासन, व्यासी, मिबाछें, इतापाके क्षेत्रको एकहजार ६ सय ५४.६ रोपनी जग्गामा उक्त आयोजना सञ्चालन गरिएको छ ।
उत्तरमा खासाङखुसङ खोला, दक्षिणमा भक्तपुर नगरकोट सडक, पूर्वमा देकोचा चोकदेखि बन्को जाने पुल र पश्चिममा सल्लाघारी–ठिमी पुरानो बाटोको चौघेरा भएको देको–मिबा–इतापाके जग्गा एकीकरण आयोजना २ वर्षभित्र सम्पन्न गर्ने भनी २०७२ माघ २५ गते स्वीकृत गरिएको भएपनि अझै सम्पन्न भएको छैन । दुई वर्षदेखि पीडित जग्गा धनीहरुले सुरु गरेको आन्दोलन अझै टुङ्गिएको छैन ।