रिटर्नी युवा सञ्जालले आयोजना गरेको बैदेशिक रोजगारबाट फर्केका युवाहरुको अबस्था, समस्या र सम्भाव्यता विषयक प्रशिक्षण सम्पन्न
भक्तपुर, २१ साउन । राष्ट्रिय युवा परिषद्अन्तर्गतको रिटर्नी युवा सञ्जालले आज परिषद् कार्यालय सानोठिमीमा आयोजना गरेको बैदेशिक रोजगारबाट फर्केका युवाहरुको अबस्था, समस्या र सम्भाव्यता विषयक प्रशिक्षणमूलक कार्यक्रम–२०७९ को सम्पन्न गरेको छ ।
कार्यक्रमको युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले उद्घाटन गर्दै विदेशबाट फर्किएका युवाहरूलाई स्वदेशमै केही गर्न सक्ने वातावरण सिर्जना गर्न सरकार प्राथमिकतापूर्वक लागिरहेको बताउनु भएको छ ।
बैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई स्वरोगार र उत्पादनमा जोड्न सके देशको मुहार फेरिने बताउदै उहाँले यसका लागि सरकारले प्राथमिकतापूर्वक लागिरहेको बताउनु भयो । सरकारले युवाका लागि बिभिन्न कार्यक्रमहरु अगाडि सार्दै त्यसका लागि बजेट विनियोजन गरेको बताउदै मन्त्री गहतराजले युवाका लागि ल्याएका विभिन्न योजना र कार्यक्रमलाई एकीकृत गरि ठोस परिणाम दिने गरि अगाडि बढाउनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले विदेशबाट फर्किएका युवाहरूको विदेशमा सिकेको सीप, श्रम र दक्षतालाई नेपालमै सदुपयोग गर्ने गरि सरकारले योजनाहरु ल्याउनु पर्नेमा जोड दिनु भयो ।
बैदेशिक रोजगारीका क्रममा उनीहरुले सिकेका अनुभव र सीपलाई उपयोगी बनाउन सके राष्ट्र निर्माणमा मेरुदण्ड बन्न सक्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले युवालाई स्वरोजगार बनाउन कोषले बिभिन्न कार्यक्रमहरु अगाडि ल्याएको बताउनु भयो ।
त्यसअवसरमा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले विदेशबाट श्रम गरेर फर्किएका युवाका लागि विशेष कार्यक्रम ल्याउन बोर्ड लागिएको बताउनु भयो । युवाहरूलाई देशभित्रै अवसर खोज्न आग्रह गर्दै युवा अर्थशास्त्री डीपी ढकालले नेपाली श्रम वजारको अबस्था, समस्यता, चुनौती र अवसरकाबारेमा चर्चा गर्नु भयो ।
कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)का निर्देशक अनोज भट्टराईले सीप र प्रबिधिसँग जोड्दै विदेशबाट फर्किएका युवाहरुलाई तालिम दिएर थप दक्ष बनाउने कार्यक्रम अगाडि सारेको बताउनु भयो ।
कार्यक्रममा रिटर्नी माइग्रेन्ट नेपालका केन्द्रिय सचिवालय सदस्य काजी थापा, संजालका उपाध्यक्ष सविन खड्काले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै बैदेशिक रोजगारीबाट फर्किएका युवाका समस्या र अपेक्षावारे चर्चा गर्नु भयो ।
रिटर्नी सञ्जालका अध्यक्ष एवं कार्यक्रमका सभापति सुवास ढकालले बैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वरोजगार र उत्पादनसँग जोड्दै कसरी लैजाने भन्नेबारेमा कार्यक्रममा प्रशिक्षणसमेत सञ्चालन गरिएको बताउनु भयो ।