वागमती प्रदेशका मुख्यमन्त्री थापामगरद्धारा तत्काल उद्धार, राहत तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन निर्देशन

हेटौडा, १० भदौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवामा आएको भीषण बाढीपछि विपद् प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन निर्देशन दिनुभएको छ । प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकमा बोल्दै मुख्यमन्त्री थापाले सम्बन्धित निकायलाई काम छिटो सुरु गर्न निर्देशन दिनुभएको हो ।

मुख्यमन्त्री थापामगरले विपदमा परेका नागरिकको उद्धार तथा राहतलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिदै तत्काल घाइते तथा विपदमा परेकाहरूको उद्धार गरी राहत वितरण गर्न, प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार तथा उद्धार टोली परिचालन गर्न, विस्थापित तथा प्रभावित नागरिकका लागि खाना र आवासको व्यवस्था मिलाउन र स्वच्छ खानेपानीको तत्काल व्यवस्थापन गर्न निर्देशन दिनुभयो ।

रसुवामा बाढीका कारण जनधनमा क्षति पुगेपछि प्रदेश सरकारले स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरकारी संयन्त्रसँग समन्वय गरी उद्धार, राहत र पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउने उहाँले बताउनुभयो । मुख्यमन्त्री थापामगरले विपद्को समयमा सरकारी संयन्त्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको भन्दै प्रभावित नागरिकलाई राज्यको उपस्थिति प्रत्यक्ष अनुभूति हुने गरी काम गर्न निर्देशन दिनुभयो ।

उद्धार तथा राहतमा कुनै ढिलाइ हुन नदिन सम्बन्धित मन्त्रालय र सुरक्षा निकायलाई आवश्यक जनशक्ति तथा स्रोतसाधन परिचालन गर्न आग्रह गर्नुभयो ।
बैठकले बाढीबाट प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने खाद्यान्न, खानेपानी, स्वास्थ्य उपचार, अस्थायी आवास तथा अन्य राहत सामग्रीको व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा समेत छलफल गरेको थियो ।

बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेल, स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ, भौतिक पूर्वाधार विकासमन्त्री भरत केसी, मन्त्री ज्ञानबहादुर तामाङ, उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापति, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री राजु बिष्ट, पूर्व आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङको सहभागिता रहेको थियो ।

त्यस्तै प्रदेशसभा सदस्यहरू रमेश महत र इन्द्रप्रसाद गोतामे, पूर्व उपसभामुख राधिका तामाङ, विभिन्न मन्त्रालयका सचिव तथा सुरक्षा निकायतर्फ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रदेश प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

मुख्यमन्त्री कार्यालयमा आपतकालिन बैठक सुरु, मुख्यमन्त्री किरण थापा मगर प्रभावित क्षेत्रको अनुगमनमा जादै
हेटौडा, १० भदौ : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरको नेतृत्वमा आज मुख्यमन्त्री कार्यालयमा प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको आपतकालिन बैठक सुरु भएको छ । रसुवामा आएको भिषण बाढीका कारण पुगेको क्षति र तत्काल उद्धार, खोजी एवं औषधि उपचार र अन्य व्यबस्थापनका लागि उचित व्यबस्था गर्नका लागि आपतकालिन बैठक सुरु भएको मुख्यमन्त्री थापा मगरले जानकारी दिनुभयो ।
आपतकालिन बैठकमा प्रदेशका मन्त्रीहरु, सचिवहरु, विपदका पदाधिकारीहरु, प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरु, विपत क्षेत्रका प्रदेश सभा सदस्यहरुको टोली सहित बैठक बसेको उहाँले जानकारी दिनुभयो ।
प्रदेश सरकारले विपत क्षेत्रको अवलोकन गर्ने, तत्काल गर्नु पर्ने कार्यहरुका लागि तयारी गरेको जानकारी दिदै उहाँले प्रदेशका बाढी प्रभावित क्षेत्र र जोखिममा रहेका क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानमा जान आव्हान गर्नु भयो ।
मुख्यमन्त्री थापा मगरले भन्नुभयो, “वागमती प्रदेश सरकारले यो विपदको घडीमा गर्नुपर्ने सम्पूूर्ण कार्य तत्कालै गर्नेछ, त्यसको तयारीमा जुटिसक्यो, बैठक लगत्तै प्रभावित क्षेत्रको अवलोकन गरेर थप आवश्यक व्यबस्था गर्नेछौं, खोजी, उद्धार कार्य, औषधि उपचारको व्यबस्थालगायतका प्रदेश सरकार तयारी छ, यो संकटको घडीमा बाढी प्रभावित क्षेत्रका बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भोटेकोशी नदीमा आएको बाढीका कारण जोखिम बढेको भन्दै रसुवा लगायतका जिल्लाका बासिन्दालाई सुरक्षित रहन आह्वान गर्दछु ।”
उहाँले रसुवा, धादिङ, गोरखा, नुवाकोट, चितवन आसपास तथा नदी–खोला किनार र तल्लो भूभागका बस्तीमा रहनुभएका सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन, बालबालिका, ज्येष्ठ नागरिक, अशक्त तथा गर्भवती महिलाको सुरक्षामा र सुरक्षित स्थानमा जान नदी तथा खोला किनारमा नबस्न, जोखिमयुक्त स्थान तत्काल छोडी सुरक्षित जान आग्रह गर्नुभयो ।
मुख्यमन्त्रीको रसुवा लगायत जिल्लाबासीलाई सुरक्षित रहन सार्वजनिक अपिल

हेटौडा, १० भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भोटेकोशी नदीमा आएको बाढीका कारण जोखिम बढेको भन्दै रसुवा लगायतका जिल्लाका बासिन्दालाई सुरक्षित रहन आह्वान गर्नु भएको छ ।

         उहाँले सेवा रसुवा, धादिङ, गोरखा, नुवाकोट, चितवन आसपास तथा नदी–खोला किनार र तल्लो भूभागका बस्तीमा रहनुभएका सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन हार्दिक अपिल गर्नुभएको छ।

       अपिल गर्दै उहाँले भन्नुभयो, ” विशेषगरी नदी तथा खोला किनारमा नबस्नुहोस्, जोखिमयुक्त स्थान तत्काल छोडी सुरक्षित तथा उच्च स्थानतर्फ सर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, अशक्त तथा गर्भवती महिलाको सुरक्षामा विशेष ध्यान दिनुहोस् र आफ्ना परिवार, छिमेकी तथा आसपासका नागरिकलाई समेत तत्काल जानकारी गराउनुहोस्।”

           उहाँले सम्बन्धित स्थानीय प्रशासन, सुरक्षा निकाय तथा उद्धारमा खटिएका निकायबाट जारी हुने सूचना र निर्देशनलाई अनिवार्य रूपमा पालना गर्नुहुन अनुरोध गर्दै, जटिल समयमा सतर्कता र सुरक्षित रहन आग्रह गर्नु भयो।

 

आफूलाई लोकतान्त्रिक भन्ने नेपाली कांग्रेस प्रदेशसभा बैठकमा अनुपस्थित हुनु दुर्भाग्य : नेता शालिकराम जम्कट्टेल

हेटौँडा, ९ भदौ । नेकपा बागमती प्रदेशसभा संसदीय दलका नेता शालिकराम जम्कट्टेलले नेपाली काँग्रेसले लोकतन्त्रको नारालाई व्यवहारमा लागू गर्न नसक्नु दुर्भाग्य भएको बताउनु भएको छ ।

मंगलबार मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठकमा बोल्दै नेता जम्कट्टेलले बागमती प्रदेशमा कांग्रेसबाट लोकतान्त्रिक व्यवहार नदेखिएको बताउनु भएको हो ।

जम्कट्टेलले भन्नुभयो, ‘आफूलाई लोकतान्त्रिक भन्ने नेपाली कांग्रेस मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेशसभा बैठकमा अनुपस्थित हुनु दुर्भाग्यपूर्ण हो, लोकतन्त्रको लागि लड्यौ, राणा, राजादाई फाल्यौ भन्दै आफूलाई लोकतन्त्रवादी भन्ने नेपाली काँग्रेस लोकतन्त्र जोगाउँने बैठकमा उपस्थित नहुनु राम्रो र सान्दर्भिक विषय होईन, लोकतान्त्रिक चरित्र प्रमुख प्रतिपक्षमा देखिएन ।’

उहाँले नयाँ बनेको सरकारसामु धेरै चुनौती रहेको बताउदै विगतको भन्दा तीव्र गतिमा सरकारले काम गर्दै नयाँपन दिन सक्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो सरकारसंग चुनौती धेरै छन्, तर काम गर्नुपर्ने छ, यो सरकार कुरा गर्ने होइन, काम गर्ने सरकार बन्नुपर्छ, प्रदेशवासीको थुप्रै चनौती र माग छन्, त्यसैले सरकारले दिने आगामी काम कारबाही र सेवा प्रवाहमा सरकार अब्बल सावित हुनुपर्छ, प्रदेशवासीको चाहना पुरा हुनुपर्छ ।”

यसअघिको दुई पार्टीको सरकार रहने स्थिति नबने पछि बाध्य भएर नयाँ सरकार गठनमा नेकपा लागेको उहाँले बताउदै नेकपा र एमालेको आगामी दिनमा मत कार्यगत एकता गरेर जाने सहमति अनुसार नयाँ सरकार गठन भएको बताउनुभयो ।

केन्द्रमा सरकारको दादागिरी चलेको आरोप लगाउँदै नेता जम्कट्टेलले भन्नुभयो, “केन्द्रमा सरकारको दादागिरी चलिरहेको छ, प्रदेशमा सरकार बन्ने अबस्था छैन, यस्तो बेलामा कि त नयाँ परिस्थितिमा नयाँ सरकार गठन गर्नु पर्यो, कि त प्रदेश सभा विघटन गर्नु पर्यो, प्रदेशको दोश्रो ठूलो दल भएको नाताले प्रदेश सभा जोगाउँन, लोकतन्त्र जोगाउँन र नेकपा तथा एमालेबीचको गत साउन ९ गतेको ३ बुँदे सहमतीको आधारमा नयाँ सरकार गठन गरेका हौ ।”

नेकपा र नेकपा एमाले एक ठाउँमा उभिएर कार्यगत एकताका साथ अघि बढेको बताउदै त्यसैको परिणामस्वरूप बागमती प्रदेशमा संयुक्त सरकार गठन भएको उहाँको भनाइ छ । उहाँले नेकपा, एमाले र राप्रपाबीचको सहमति र समर्थनमा सरकारले विश्वासको मत प्राप्त गर्न सहज भएको र प्रदेश सभा बैठकमा स्पष्ट बहमतको समर्थन रहेको बताउनुभयो ।

 

वर्तमान् सरकार जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउनका लागि गठन भएको हो : मुख्यमन्त्री किरण थापा मगर

हेटौँडा, ९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले वर्तमान् सरकार जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउनका लागि गठन भएको बताउन भएको छ ।
मंगलबारको प्रदेश सभामा विश्वासको मतसम्बन्धी छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री थापाले वर्तमान सरकार केवल प्रशासन चलाउनका लागि मात्र नभई जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउनका लागि गठन भएको बताउनु भएको हो ।

मुख्यमन्त्री थापाले भन्नुभयो, ‘सरकारको मुख्य प्राथमिकता विकास, सुशासन र जनसेवामा रहने छ । स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई सरकारले प्रमुख आधारस्तम्भको रुपमा राख्नेछ । सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार सुधारका साथै शिक्षाको गुणस्तर र प्रविधिको प्रयोगमा जोड दिनेछ, किसानले उत्पादन गरेको वस्तुको उचित मूल्य र बजार सुनिश्चित गर्ने नीति सरकारले ल्याइने छ ।’

उहाँले गरिब नागरिकले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अब अन्त्य गर्न प्रदेश सरकारले प्रभावकारी भूमिका खेल्ने बताउदै किसानलाई केवल अनुदान दिने मात्र नभई उत्पादनदेखि बजारसम्म जोड्ने प्रणाली विकास गरिने बताउनुभयो । प्रदेशभित्रै उद्योग, पर्यटन र सूचना प्रविधिको विकास गरी रोजगारी सिर्जना गर्ने योजना अघि बढाइने भन्दै मुख्यमन्त्री थापाले बागमती प्रदेश संघीय राजधानी समेत रहेकाले यहाँ रहेको आर्थिक गतिविधिका प्रचुर सम्भावनालाइै उपयोगमा ल्याउने बताउनुभयो ।

ग्रामीण र सहरी क्षेत्रको सन्तुलित विकास नै सरकारको लक्ष्य भएको भन्दै उहाँले योजना छनोटमा हुने ढिलासुस्ती र बजेट कार्यान्वयनको फितलोपनलाई सुधार गर्दै समयमै गुणस्तरीय काम सम्पन्न गर्ने प्रणाली विकास गरिने बताउनुभयो ।

गाउँ र सहरबीच सन्तुलित विकास आवश्यक रहेकाले त्यसमा सरकारले ध्यान दिने बताउदै मुख्यमन्त्री थापाले आफ्नो सरकार सत्तापक्षको मात्र नभई बागमती प्रदेशका सबै जनताको सरकार भएको महसुस दिलाउने बताउनुभयो । सरकारलाई जिम्मेवार र प्रभावकारी बनाउन मुख्यमन्त्री थापाले विश्वासको मतलाई केवल संख्याको विषयका रूपमा नलिन आग्रह गर्दै यो प्रदेश र जनताको विकासका लागि दिइएको जिम्मेवारी भएको बताउनुभयो ।  लोकतन्त्रमा प्रतिपक्षको भूमिका अपरिहार्य रहेको र सरकारले रचनात्मक आलोचनालाई सधैँ आत्मसात गर्ने उहाँले बताउनुभयो ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले ५७ मत सहित पाए विश्वासको मत

हेटौडा, ९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मंगलबार बसेको प्रदेशसभामा विश्वासको मत पा्राप्त गर्नु भएको छ । प्रदेशसभा बैठकमा उहाँले माग्नुभएको विश्वासको मतको पक्षमा ५७ मत परेको छ भने बैठकमा उपस्थित ५८ प्रदेशसभा सदस्यमध्ये एक जना मतदानमा सहभागी नभएको जनाइएको छ।

बागमती प्रदेशसभामा हाल १०४ सभा सदस्य कायम रहेकोमा ५८ जना सदस्यले मुख्यमन्त्री थापाको पक्षमा मतदान गरेका हुन् । विश्वासको मतको विपक्षमा शून्य र तटस्थ शून्य मत रहेको छ ।

मुख्यमन्त्री थापालाई नेकपा एमाले, नेकपाका सबै प्रदेशसभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सात जना सदस्यले विश्वासको मत दिनुभएको छ । नेपाली कांग्रेस लगायत विपक्षी दलका प्रदेश सभा सदस्इहरु भने बैठकमा अनुपस्थिति रहेका थिए ।

बागमती प्रदेशसभामा नेकपा एमालेका उपसभामुखबाहेक २४, नेकपाका २६, राप्रपाका १२, नेपाली कांग्रेसका ३६, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का ३ र हाम्रो नेपाली पार्टीका २ जना सदस्य छन्। बैठकको अध्यक्षता गर्नु भएको उपसभामुख भने मतदानमा सहभागि हुनु भएन ।

नेपाली कांग्रेसले भने सरकार गठनको प्रक्रिया सम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा मुख्यमन्त्रीले विश्वासको मत लिन नहुने भन्दै प्रदेशसभा बैठक बहिष्कार गरेको हो।

वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिदै

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज प्रदेश सभामा विश्वासको मत लिने हुनु भएको छ । आज अपरान्ह ४ बजे आव्हन गरेको प्रदेश सभामा उहाँले विश्वासको मत लिने निश्चित भएको हो ।

सोमबार नै विश्वासको मत लिने तयारी भए पनि सत्ता साझेदारी दल नेकपाका केही प्रदेश सभा सदस्यहरु सम्र्पकमा नआउँदा प्रदेश सभा बैठक बस्न सकेको थिएन । तसर्थ आज अपरान्ह ४ बजेका लागि प्रदेश सभा आव्हान गरेको थियो । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) बागमती प्रदेशका असन्तुष्ट पक्षले मुख्यमन्त्री किरण थापामगरलाई आज विश्वासको मत दिने निश्चित भएको छ ।

आज नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग को भेटघाट र छलफल पछि मुख्यमन्त्रीलाई विश्वासको मत दिने सहमती भएको नेकपाका एक प्रदेश सदस्यले जानकारी दिए ।

नेकपामा असन्तुष्ट रहेका नेकपा केन्द्रीय संयोजन समितिका सदस्य रहेका गंगानारायण श्रेष्ठ, कृष्ण खनाल, राजेन्द्रमान श्रेष्ठ, युवराज चौलागाईं, रुकु चौलागाईं, लक्ष्मण लम्साल, उर्मिला लामा र ओमकुमारी श्रेष्ठले विश्वासको मत दिने भएका छन् । यसमध्ये पार्टी एकीकरणका क्रममा नेकपा समाजवादीमा रहेका कृष्ण खनाल, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल र ओमकुमारी श्रेष्ठ रहेको छन् ।

 

व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर देश र जनताका लागि केन्द्रीत हुनुपर्छ : नारायणमान बिजुक्छें
भक्तपुर, ७ भदौ :  भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चार माध्यममा भक्तपुर नपा र सञ्चार माध्यममा भक्तपुर नपा २ पुस्तकको परिचर्चा तथा लेखक, पत्रकार र सञ्चारकर्मीहरूलाई धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले पुस्तकका लेखक, पत्रकार तथा सञ्चारकर्मीहरूलाई धन्यवाद ज्ञापनसहित सम्मानपत्र तथा मायाको चिनो वितरण गर्नुभयो । कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेंले आफ्नो अनुहार हेर्न ऐना आवश्यक भएजस्तै नगरपालिकाले गरेका कामका सकारात्मक पक्ष्ँ र कमी–कमजोरी औंल्याउन सञ्चारकर्मीहरुको भूमिका आवश्यक पर्ने बताउनुभयो ।
उहांले नगरपालिकाका कामका सकारात्मक र नकारात्मक पक्षबारे पनि आलोचक आवश्यक रहेको बताउंदै जनताबाट प्राप्त रचनात्मक सुझावले नगरपालिकालाई थप व्यवस्थित रुपमा अगाडि बढ्न प्रेरणा मिल्ने बताउनुभयो । उहांले हरेक मुद्दामा अपराधी विजयी हुन नपाउने दिन आउने बताउंदै साना–साना स्वार्थभन्दा माथि उठेर जनताको हितमा काम गर्ने सोचले समाज समृद्ध बन्ने बताउनुभयो । भक्तपुरका सम्पदाबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चर्चा हुने गरेको उहांले सोही क्रममा बताउनुभयो ।
भक्तपुर नगरपालिकाले नयां पुस्तालाई विदेशी भाषा सिकाएर विदेशी पर्यटकलाई भक्तपुर घुमाउन सहज वातावरण सिर्जना गरेको बताउंदै उहांले नगरपालिकाले आफ्ना कमी–कमजोरी सुधार्दै अझ राम्रो काम गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आफूहरू दोस्रो कार्यकालको अन्तिम वर्षमा रहेको उल्लेख गर्दै कार्यकाल सकिन करिब नौ महिना मात्र बांकी रहेको र कार्यकालको अन्तिम दिनसम्म पनि जनताको सेवा गर्न नछोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाका गतिविधि, अभ्यास र उपलब्धिहरूलाई पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूले विभिन्न सञ्चारमाध्यममार्फत जनताबीच पु¥याउन महत्वपूर्ण योगदान गरेको बताउंदै सम्पूर्णमा धन्यवादज्ञापन गर्नुभयो ।  उहांले भक्तपुरको विकासमा राजनीतिक दलका नेता तथा कार्यकर्ता, पूर्व र वर्तमान जनप्रतिनिधि र निःस्वार्थ भावनाले काम गर्ने स्थानीय जनताको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो ।
प्रमुख प्रजापतिले २०५९ सालदेखि २०७४ सालसम्म जनप्रतिनिधिविहीन हुंदा भक्तपुरको विकास करिब ३०/४० वर्ष पछाडि परेको बताउंदै २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनपछि भक्तपुरको विकासलाई व्यवस्थित र सन्तुलित ढंगले अगाडि बढाउने प्रयास भइरहेको बताउनुभयो ।
उहांले पञ्चायती व्यवस्थाकै समयमा पनि भक्तपुर नगर पञ्चायतले शिक्षा प्रचार, सरसफाइ अभियान सञ्चालन तथा आर्थिक गतिविधिलाई पारदर्शी बनाउँदै छुट्टै पहिचान कायम गरेको बताउंदै सय वर्षपछिको भक्तपुर पुस्तकलाई आधार मानी नगरपालिकाले विकासको गतिलाई निरन्तर अगाडि बढाइरहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले सञ्चार माध्यममा भक्तपुर नपा र सञ्चार माध्यममा भक्तपुर नपा २ पुस्तकलाई भक्तपुर नगरपालिकाका लागि ऐनासरह भएको बताउंदै पत्रकार, लेखक र सम्पादकहरूले नगरपालिकाका कामको कसरी मूल्यांकन गरेका छन् भन्ने बुझ्न पुस्तकले सहयोग पुगेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले सम्पूर्ण सञ्चारकर्मी तथा लेखकहरूप्रति भक्तपुर नगरपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो । उहांले भक्तपुर नगरपालिकाले अवलम्बन गर्दै आएका असल अभ्यासहरू देशभरकै लागि उदाहरणीय बनेको बताउनुभयो ।
भक्तपुरको हरेक गतिविधि र विकास निर्माणमा जनताको निरन्तर साथ र सहयोग रहेकै कारण नगरपालिकालाई काम गर्न सहज भएको उहांले बताउनुभयो ।
सोही क्रममा भक्तपुर मासिकका सम्पादक लक्ष्मणराज जोशीले पुस्तकको समीक्षा गर्दै भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा, खेलकुद, सहकारी आदि विषयमा थुप्रै पुस्तकहरु प्रकाशन गरिसकेको बताउनुभयो ।
पत्रकारहरूले विभिन्न विषयमा लेखेका सामग्री समेटिएका पुस्तक प्रकाशन हुनु महत्वपूर्ण कार्य भएको बताउंदै विगतमा राष्ट्रिय पत्रिकाहरूमा भक्तपुरका समाचार प्रायः प्रकाशित नहुने र प्रकाशित भए पनि तोडमोड गरेर छापिने गरेको उहांको भनाइ थियो । पत्रकार र पत्रकारिता सरकारको सेवक नभई जनताको आवाज भएको बताउंदै उहांले ख्वप विश्वविद्यालय स्थापनाका लागि पत्रकारहरूले सशक्त भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत राममणि भट्टराईले भक्तपुर नगरपालिकाको सबैभन्दा महत्वपूर्ण पक्ष सांस्कृतिक धरोहर नै भएको बताउनुभयो । उहांले भक्तपुरको सांस्कृतिक धरोहरसंगै शिक्षा र स्वास्थ्य क्षेत्र पनि थपिंदै गएको उल्लेख गर्दै आफूले भक्तपुर नगरपालिकामा कार्यरत रहंदा केही सम्झनलायक काम गरेको स्मरण गर्नुभयो । उहांले नगरपालिकाका कामलाई आयमूलक रूपमा पनि अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।
सोही क्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारले सञ्चारकर्मीलाई सम्मान गरेकोमा भक्तपुर नगरपालिकालाई धन्यवाद दिंदै सञ्चार माध्यममा भक्तपुर पुस्तकले सञ्चारकर्मीहरूको कामको मूल्यांकन गरेको बताउनुभयो । भक्तपुर नगरपालिकाले गरेका कामको प्रचारप्रसारमा पत्रकारहरूले निस्वार्थ रूपमा काम गरेको बताउंदै पत्रकारहरूका लागि यो कार्यक्रम निकै विशेष रहेको बताउनुभयो । आगामी दिनमा भक्तपुर नगरपालिकासंग सहकार्य गरी अगाडि बढ्न पाउने विश्वास व्यक्त गर्दै उहांले भक्तपुरको रानीपोखरी पुनर्निर्माणमा सञ्चारकर्मीहरूको ठूलो भूमिका रहेको बताउनुभयो ।
कवि तथा शिक्षक हरिहर तिमिल्सिनाले भक्तपुर सबै पक्षमा सबल देखिएको बताउंदै भक्तपुर नगरपालिकाले आफैं फोहोरमैला व्यवस्थापन गर्ने काम पनि राम्रो भएको उल्लेख गर्नुभयो । सञ्चारकर्मीहरूको योगदानले भक्तपुरको नाम अझै चम्किने विश्वास उहांले कार्यक्रममा व्यक्त गर्नुभयो ।

पत्रकार रमेश गिरीले पुस्तकका बारेमा बोल्दै विगत २२ वर्षदेखि भक्तपुर नगरपालिका र यहांका विभिन्न गतिविधिसम्बन्धी समाचार लेख्दै आएको स्मरण गर्दै भक्तपुरका गतिविधिसंग सम्बन्धित समाचारका दस्ताबेजहरू खोजी गरी पुस्तक प्रकाशन गर्ने योजना रहेको जानकारी दिनुभयो । भक्तपुरको रानीपोखरी पुनर्निर्माणका क्रममा समाचार लेख्दाको अनुभव सुनाउंदै उहांले भक्तपुर नगरपालिकाले सञ्चारकर्मीलाई धेरै माया र सम्मान दिएको बताउनुभयो ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष पुष्कर बुढाथोकीले पत्रकारिताको सिलसिलामा भक्तपुरसंग जोडिएपछि यहांका समाचार सम्प्रेषण गर्दाका अनुभव सुनाउंदै भक्तपुरका संस्थागत अभ्यासहरू नमुनायोग्य रहेको बताउनुभयो । उहांले सञ्चारमाध्यमबाट आउने रचनात्मक सुझावलाई पनि ग्रहण गर्दै नगरपालिका अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
स्वतन्त्र पत्रकार मकर श्रेष्ठले पत्रकारका लेखहरू संग्रह गरी पुस्तक प्रकाशन गर्नु सराहनीय कार्य भएको बताउंदै पत्रकारहरूले लेखेका समाचार र लेखकै आधारमा भक्तपुर नगरपालिकाको कामबाट अन्य स्थानीय तहले पनि सिकेको उल्लेख गर्नुभयो । नेपाल मजदुर किसान पार्टीको पहिचान र नगरको सरसफाइ, सम्पदा संरक्षण, विकास निर्माणबाट भक्तपुर चिनिने गरेको बताउंदै उहांले पुस्तक प्रकाशन पनि पत्रकारिताको महत्वपूर्ण पाटो भएको धारणा राख्नुभयो । उक्त पुस्तकलाई ऐतिहासिक दस्ताबेजको रूपमा लिन सकिने बताउंदै पुस्तक भक्तपुर नगरपालिका चिनाउने परिचय बनेको बताउनुभयो ।
स्वतन्त्र पत्रकार उपेन्द्र लामिछानेले भक्तपुरका हरेक गल्ली, चोक र आँगनले नगरलाई सुन्दर बनाएको बताउनुभयो । भक्तपुरले शिक्षा क्षेत्रमा गरेको काम तथा सम्पदा संरक्षण र संरचना निर्माणको काम उदाहरणीय रहेको बताउंदै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंको १०० वर्षपछिको भक्तपुर पुस्तक नै भक्तपुरको विकासका लागि मार्गदर्शन बनेको उहांको भनाइ थियो ।
नागरिक दैनिकका पत्रकार कृष्ण किसीले पुस्तकको समीक्षा गर्दै देशका ७५३ वटा स्थानीय तहमध्ये भक्तपुर नगरपालिका कामका हिसाबले अग्रस्थानमा रहेको उल्लेख गर्दै पुस्तक प्रकाशनको कार्यलाई अझ व्यापक बनाउंदै लैजानुपर्ने धारणा राख्नुभयो ।
नयां पत्रिका राष्ट्रिय दैनिककी पत्रकार शान्ति तामाङले भक्तपुर नगरपालिकाको कामकारबाहीले आफूलाई भक्तपुरका विषयमा लेख्न प्रेरित गरेको बताउंदै भक्तपुरको मौलिकता अन्य ठाउंमा नपाइने उल्लेख गर्नुभयो । उहांले पुस्तकलाई नगरपालिकाको कामकारबाहीबारे जानकारी दिने अमूल्य दस्ताबेजको रूपमा लिन सकिने बताउंदै घोषणापत्रअनुसार काम भएको छ वा छैन भन्ने बुझ्न पनि पुस्तकले सहज बनाएको बताउनुभयो।
उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराईले भक्तपुर नगरपालिकाले गरेका काम जनतासमक्ष पु¥याउने महत्वपूर्ण भूमिका पत्रकारहरूले निर्वाह गरेको बताउनुभयो । कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।
सूर्यको ‘एक झुल्को घाम’ लोकार्पण
भक्तपुर, ७ भदौ : वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आज मध्यपुरथिमिमा कवि सूर्यप्रसाद लाकोजूको कविता संग्रह ‘एक झुल्को घाम’ को आज लोकार्पण गर्नु भएको छ ।
कार्यक्रममा कलाकार श्रेष्ठले साहित्यकार राष्ट्रिय गौरव भएको बताउदै साहित्यले देशको यथार्थ बोल्ने बताउनुभयो । उहाँले नेपाली साहित्यको भण्डारणमा एउटा नयाँ कृति थपिएको चर्चा गर्नुभयो ।
लोकार्पण समारोहमा समालोचकद्वय डा. ज्ञानु अधिकारी र रमेशचन्द्र अधिकारीले ‘एक झुल्को घाम’माथि समीक्षात्मक टिप्पणी गर्दै कृतिमा समेटिएका कविताका विषयवस्तु, भाव, शैली, सामाजिक चेतना तथा कविको काव्यचेतनाका विविध पक्षबारे चर्चा गर्नुभयो ।
कृतिका सर्जक सूर्यप्रसाद लाकोजूले आफ्नो सिर्जनायात्रा, कविता लेखनको पृष्ठभूमि तथा ‘एक झुल्को घाम’ तयार हुँदासम्मका अनुभवबारे चर्चा गनुएभयो । साहित्यकार वसन्त नकर्मी, राजुराम मुनकर्मीलगायतले कविाता संग्रहको समिक्षा गर्दै समाज परिवर्तनको संवाह बन्ने बताउनुभयो ।
कार्यक्रममा बुद्धिकृष्ण घो, ध्रुवकृष्ण ताम्राकार, हिसिलिना शाक्य, रहेना मानन्धर नकर्मीलगायतका कविहरूले कृतिमा समेटिएका कविता वाचन गर्नु भएको थियो ।–––
डोलेश्वरमा ३८ दिने साउने मेला नगर प्रमुख वासुदेव थापाद्धारा समापन, एक करोड भेटी संकलन 
भक्तपुर, ६ भदौ ः केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा ३८ दिने श्रावणाी मेला आज साँझबाट सम्पन्न भएको छ । साउन १ गतेबाट सुरु भएको मेला आज साँझ सूर्यविनायक नगरपालिकाका प्रमुख वासदेव थापाले समापन गर्नु भएको हो ।
सूर्यविनायक नगरपालिका‐८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरलाई डोलेश्वर महादेव मन्दिरलाई वि.सं. २०६६ भदौ ६ मा केदारनाथको शिर घोषणा गरिएको थियो । घोषणा भएको दिन भएकाले आजको दिन मन्दिरका चारै ढोका खुलागरी दर्शनार्थीले मन्दिरभित्र प्रवेशगरी डोलेश्वरको शिलामा स्पर्श गरेरै पूजा गर्न पाउने व्यवस्था गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिनुभयो ।
आज बिहान ४ बजेदेखि मन्दिरको चारवटै ढोका खुलागरी दर्शनको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । यस मन्दिरमा महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६ गते गरी वर्षमा तीन दिन मात्रै मन्दिरको चारै ढोका खुला गरेर दर्शनार्थीलाई मन्दिरभित्र प्रवेश दिई शिला छोएर पूजा गर्नेे व्यवस्था गरेको उहाँले बताउनुभयो ।
मेलाको ३८ दिने अबधीमा करिब एक करोड रुपैयाँ भेटी संकलन भएको समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिनुभयो । मेला अबधीभर करिब एक लाख भक्तजनले मन्दिरको दर्शन गरेको जानकारी दिदै उहाँले यस अबधीमा ४० हजार भन्दा बढी भारतीय पर्यटकको आगमन भएको जानकारी दिनुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले सूर्यविनायक नगरपालिकाले डोलेश्वरको विकासमा निरन्तर लाग्दै आएको बताउदै नगरपालिका क्षेत्रलाई धार्मिक पर्यटनको विकासको केन्द्र बनाउने गरि शिव सर्किटको निर्माण गरिएको र आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको बताउनुभयो ।
मेला
अबधीभर मन्दिरमा सन्ध्याकालिन आरती गरिएकाले साँझसमेत दर्शनार्थीको भीड लगाउने गरेको बताउदै संकलन भएको भेटीलाई यहाँको समग्र विकासमा खर्च गरिने बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, वडा नं. १ का वडाध्यक्ष सानुकाजी कायस्थ, २ का वडाध्यक्ष प्रदीप कार्की, ३ का वडाध्यक्ष , वडा नं. ७ का वडाध्यक्ष एवं प्रवक्ता रविन्द्र सापकोटा, वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, वडा नं. १० का वडाध्यक्ष शिवराम राउतलगायत जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटा, वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले डोलेश्वर सूर्यविनायकको मात्रै नभई विश्वभरका हिन्दुहरुको शान र पहिचान भएको बताउदै यसको विकासमा नगरपालिका निरन्तर लाग्ने बताउनुभयो ।