सूर्यविनायक नगरपालिकामा ‘स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना’ लागू
भक्तपुर, ३० फागुन । सूर्यविनायक नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको साझेदारीमा तथा स्विस रेडक्रसको आर्थिक सहयोगमा सूर्यविनायक नगरपालिकामा ‘स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना’ लागू भएको छ ।
सूर्यविनायक नरपालिका भित्र बसोबास गर्ने जेष्ठ नागरिकहरूको स्वास्थ्य सुधार, सामाजिक सहभागिता र बुढ्यौलीमैत्री समुदाय निर्माण गर्दै जेष्ठ नागरिकहरुको संरक्षण गर्ने लक्ष्यका साथ परियोजना लागू गरेको नगरपालिकाका प्रमुख वासुदेव थापाले बताउनुभयो ।
परियोजनाका लागि प्रत्येक वडामा स्वयंसेवकका रुपमा छनौट भएका जनशक्तिका लागि सूर्यविनायक नगरपालिका, साहारा परियाजना र नेपाल रेडक्रस सोसाईटीले आयोजना गरेको पाँचदिने व्यबहार परिवर्तन सम्बन्धी तालिमको शनिवार समापन कार्यक्रममा प्रमाणपत्र वितरण गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
यसअघि पनि यस नगरपालिका भित्र बसोबास गर्ने जेष्ठ नागरिकलाई सन्तानले गाँसबाँसको व्यवस्था नगरेमा नगरपालिकाले दिने सेवाबाट बन्द गर्ने घोषणा गरेको बताउदै यस नगरपालिका भित्र बस्ने कोही पनि जेष्ठ नागरिकले कुनै पनि अधिकारबाट बञ्चित हुन नदिने गरि व्यबस्था गर्दै आएको बताउनुभयो ।
नगर प्रमुख थापाले भन्नुभयो, “नगरवासीले तिरेको करको दुरुपयोग हुन दिएका छैनौ, यस नगरलाई बालमैत्री र जेष्ठ नागरिक मैत्री नगर घोषणा गर्ने लक्ष्य लिएका छौं, यस नगरपालिकाको नौ वर्षको कार्यकालमा भौतिक संरचनाको विकास गरिसक्यौं, अब प्रत्येक नागरिकको हातमा सीप, क्षमता विकासको अभियान सुरु गरेका छौं ।”
उहाँले जेष्ठ नागरिकको जीवनयापनमा सहजता ल्याउन नगरपालिकाले थप बजेटको व्यबस्थापन गरेर जाने बताउनुभयो ।
नगरपालिकाले जेष्ठ नागरिकको सम्मान गर्दै आएके बतउदै उहाँले नौ वर्ष नगरपालिकाको सम्पूर्ण विकासमा लागेको र अबको १४ महिना पनि नगरपालिकाको समग्र विकासलाई ध्यान दिएर कार्य गर्ने बताउनुभयो ।
नगर प्रमुख थापाले आफ्नो कार्यकालमा सबै बैठक सर्वसम्मत रुपमा निर्णय गरेको, कुनै पनि बिवाद नगपालिकामा नआएको, जनप्रतिनिधिहरु एक ढिक्का भएर नगरको विकासमा लागेको, जनप्रतिनिधि र कर्मचारी एकआपसमा हातमालो गरेर अगाडि बढेको र ऐन, नियम विपरित कहिल्य नगएको बताउदै अबको बाँकी १४ महिना पनि जस्तोसुकै दबाब आए पनि ऐन र नियमभन्दा बाहिर गएर काम नगर्ने बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रवक्ता एवं सामाजिक विकास शाखाका संया्जक रबिन्द्र सापकोटाले नगरपालिकाले यहाँको विकासलाई तिब्रगतिमा अगाडि बढाएर नौ वर्षको अन्तरालमा सम्बृद्ध नगरपालिका बनाउँदा पनि केही गरने भन्ने भाष्य फैलाइएको बताउदै स्वयंसेवकहरुले यसलाई चिर्नु पर्ने बताउनुभयो ।
उहाँले परियोजनाका लागि वडा वडामा पुग्दा त्यहाँको विकासका सन्दर्भ, नगरपालिकाले प्रवाह गरेको सेवा, सुबिधासंगै जेष्ठ नागरिकहरुको सबै अधिकार सुनिश्चितताका लागि लाग्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुरका सभापति परशुराम पाण्डेले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य, अन्य अधिकारका साथै उनीहरुको आवश्यक सेवाहरुको पहुँचमा अभिबृद्धि गर्ने र ज्येष्ठ नागरिकहरु प्रति समाजले गर्ने ब्यवहारमा सकारात्मक परिवर्तन ल्याउने उद्धेश्यले सहारा परियोजना लागू गरेको बताउनुभयो । उहाँले स्वीस रेडक्रसले परियोजना र नगरपालिकाको बराबर साझेदारीमा परियाजना लागू भएको र यसले जेष्ठ नागरिकको सम्पूर्ण अधिकार सुनिश्चित गर्ने बताउनुभयो ।
समानुपातिकतर्फको मतगणना सम्पन्न, भक्तपुरमा रास्वपाको ८५ हजार ७७२ मत सहित पहिलो 
भक्तपुर, २४ फागुन ः भक्तपुर क्षेत्र नं. १ को समानुपातिक तर्फको मत गणना सम्पन्न भएको छ । आज बिहानबाट सुरु भएको समानुपातिक तर्फको मतगणना राती सम्पन्न गदर्म भक्तपुर क्षेत्र नं. १ मा ४२ हजार ४४० र क्षेत्र नं. २ मा ४३ हजार ३३२ गरि कूल ८५ हजार ७७२ मत प्राप्त गरेको छ ।
मत परिणाम अनुसार क्षेत्र नं. १ मा (रास्वपा)ले ४२ हजार ४४० मत ल्याएर पहिलो बनेको र नेमकिपाले २० हजार २२९ मत प्राप्त गरि दोश्रो भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भिम बिसीले जानकारी दिनुभयो ।
त्यस्तै नेपाली काँग्रेसले ४ हजार ४०३, नेकपा (एमाले)ले ३ हजार ४६१, नेपाल कम्यनिष्ट पार्टी (नेकपा) ले १ हजार १३६, राप्रपाले २ हजार ९८४, राष्ट्रिय परिवर्तन पार्टी ८९४, श्रम संस्कृति पार्टीले ५५० मत प्राप्त गरेका छन् ।
भक्तपुर क्षेत्र नं.२ मा पनि आज सम्पन्न समानुपातिक तर्फको मतगणनाको अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ४३ हजार ३३२ मत ल्याएर पहिलो बनेको मतदान अधिकृत राधिका सुवालले जानकारी दिनुभयो ।
त्यस्तै नेपाली काँग्रेसले ८ हजार ७७८, नेकपा (एमाले)ले ८ हजार ३९०, नेमकिपाले ३ हजार ५२१, नेपाल कम्यनिष्ट पार्टी (नेकपा) ले १ हजार ९३०, राप्रपाले २ हजार ८३२, श्रम संस्कृति पार्टीले १ हजार ७५ मत प्राप्त गरेका छन् । मत परिणाम अनुसार भक्तपुर क्षेत्र नं. २ मा नेपाली काँग्रेस दोश्रो र नेकपा एमाले तेश्रो भएका छन् ।
भक्तपुर क्षेत्र न. १ मा कूल एक लाख सात हजार ५४ मतदाता रहेकोमा ७६ हजार ७६१ मत खसेको छभने क्षेत्र नं. २ मा ९८ हजार ३५६ मतदाता रहेकोमा ७२ हजार ७६१ मत खसको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीम बिसीले जानकारी दिनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म ११९ क्षेत्रमा विजयी, कांग्रेसले १७ क्षेत्रमा जित हासिल

काठमाडौँ, २४ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म ११९ क्षेत्रमा विजयी भएकोे छ । आज साँझ ५ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले छ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहनुभएका छन् । निर्वाचन आयोगका अनुसार हालसम्म १५५ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १७ क्षेत्रमा जित हासिल गरेको छ ।

त्यस्तै, नेकपा (एमाले) सात स्थानमा विजयी भएको छ भने तीन स्थानमा अगाडि रहेको छ । आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट हालसम्म सात उम्मेदवार विजयी हुनुभएको छ । यस्तै, श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार विजयी हुनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी हुनुभएको छ ।

समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यको फागुन २१ गते सम्पन्न समानुपातिक निर्वाचनतर्फ हालसम्म ४५ लाख ३० हजार ९१३ मतगणना सम्पन्न भएको छ । त्यसमध्ये रास्वपाले २२ लाख ३९ हजार ८७०, कांग्रेसले सात लाख ६० हजार ४८५, एमालेले छ लाख ४६ हजार ७७० र नेकपाले तीन लाख चार हजार ६२, राप्रपाले एक लाख ६३ हजार १५१ र श्रम संस्कृति पार्टीले एक लाख सात हजार ३२ मत प्राप्त गरेको छ ।

भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले एक हजार पृष्ठको प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझायो बुझायो
काठमाडौँ, २४ फागुनः प्रधानमन्त्री सुशीला कार्कीसमक्ष भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले एक हजार पृष्ठको प्रतिवेदन प्रस्तुत गरेको छ ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगमा नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य हुनुहुन्थ्यो ।
प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेस गरेपछि आयोगका सदस्य शर्माले करिब २०० जनालाई सोधपुछ गरिएको र विज्ञहरुसँग पनि राय लिएर तयार गरिएको  प्रतिवेदनमा दोषीमाथि कारबाहीको सिफारिस गरिएको जानकारी दिनुभयो ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आफूहरूले इमानदारीसाथ काम गरेको र बिनाकुनै पूर्वाग्रह जे देख्यो त्यही कुरा प्रतिवेदनमा राखेको जानकारी दिनुभयो।
भविष्यमा यस्तो घटना नहोस् भनेर सुझाव पनि प्रतिवेदनमा राखेको उहाँले बताउनुभयो।
उहाँले भन्नुभयो, ‘कुशासनका कारण यो घटना भएको छ। नियमनकारी निकायहरूलाई विकृत पारिएको छ। न्यायपालिका, कार्यपालिका सबैतिर ढिलासुस्ती छ। न्यायाधीशदेखि संवैधानिक नियुक्तिसमेत दलीय भागबण्डामा गर्ने प्रवृत्तिले आक्रोश बढेको पाइएको छ। यो प्रतिवेदन कार्यान्वयन भएमा देशको मुहार फेरिन्छ।’
आयोगका सदस्य विज्ञानराज शर्माले यो प्रतिवेदन जाँचबुझ मात्र भएकाले अब कारबाही गर्ने निकायले अनुसन्धान गर्नुपर्ने र यसमा अनुसन्धानका लागि आधार तयार गरिदिएको बताउनुभयो।
अर्का सदस्य विश्वेश्वर भण्डारीले सुशासनका लागि के गर्ने भन्ने विषयमा प्रतिवेदनले उल्लेख गरेका कुरा कार्यान्वयन गर्न सके मुलुकको अवस्था धेरै फेरिन सक्ने बताउनुभयो।
भक्तपुर क्षेत्र नंं २ मा समानुपातिक तर्फ पनि रास्वपा पहिलो, एकमा रास्वपाको अग्रता कायमै
भक्तपुर, २४ फागुन : भक्तपुर क्षेत्र नं.२ मा समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ । आज सम्पन्न मतगणनाको अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ४३ हजार ३२२ मत ल्याएर पहिलो बनेको मतदान अधिकृत राधिका सुवालले जानकारी दिनुभयो ।
त्यस्तै नेपाली काँग्रेसले ८ हजार ७७८, नेकपा (एमाले)ले ८ हजार ३९०, नेमकिपाले ३ हजार ५२१, नेपाल कम्यनिष्ट पार्टी (नेकपा) ले १ हजार ९३०, राप्रपाले २ हजार ८३२, श्रम संस्कृति पार्टीले १ हजार ७५ मत प्राप्त गरेका छन् । मत परिणाम अनुसार भक्तपुर क्षेत्र नं. २ मा नेपाली काँग्रेस दोश्रो र नेकपा एमाले तेश्रो भएका छन् ।
त्यसैगरि भक्तपुर क्षेत्र नं. १ मा आज बिहान ११ बजेबाट समानुपातिक तर्फको मतगणना सुरु भएको छ । आज दिउँसो १ बजेसम्मको मत परिणाम अनुसार (रास्वपा)ले ११ हजार ७११ मत ल्याएर पहिलो बनेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भिम बिसीले जानकारी दिनुभयो ।
त्यस्तै नेपाली काँग्रेसले १ हजार ५६५, नेकपा (एमाले)ले १ हजार ६५, नेमकिपाले ३ हजार ६५४, नेपाल कम्यनिष्ट पार्टी (नेकपा) ले ३२७, राप्रपाले ७३१, श्रम संस्कृति पार्टीले १९२ मत प्राप्त गरेका छन् । क्षेत्र नं. १ मा मतगणना जारी रहेको उहाँले जानकारी दिनुभयो ।
रास्वपाका राजिब भक्तपुर क्षेत्र न. २ मा विजयी
भक्तपुर, २३ फागुन : भक्तपुरको निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजिब खत्रीले ३१ हजार ३३८ मतको मतान्तारले विजयी हुनु भएको छ ।
भक्तपुर क्षेत्र नं.२ मा रास्वपाका खत्रीले ४२ हजार ३३४ को फराकिलो मत प्राप्त गरि विजयी हुनु भएको र उहाँका निकटतम प्रतिद्धन्द्धी एमालेका महेश बस्नेतले १० हजार ९९६ मत प्राप्त गर्नु भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भिम विसीले जानकारी दिनुभयो ।
नेपाली काँग्रेसका करिब राणाको ८ हजार ४०१ मत प्राप्त गर्नु भएको छ । भक्तपुर क्षेत्र नं. २ मा ९८ हजार ३५६ मतदाता रहेकोमा ७२ हजार ७६१ मत खसेको थियो ।
नेमकिपाका प्रेम सुवाललाई पाँच हजार २८९ मतान्तरले पछाडि पार्दै विजयी भए रास्वपाका रुकेश रंजित, भक्तपुरमा रचेँ पहिलो ईतिहास
भक्तपुर, २३ फागुन : भक्तपुरको निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मदवार रुकेश रंजित विजयी हुनु भएको छ । अन्तिम मतपरिणाम अनुसार रञ्जितले ३३ हजार ४३६ मत प्राप्त गर्दै विजयी हुनु भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अिधकारी भिम विसीले जानकारी दिनुभयो ।
रंजितका निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवार प्रेम सुवालले २८ हजार १४७ मत प्राप्त गर्नु भएको छ । यसअघिको निर्वाचनमा ३२ हजार मतान्तरले विजयी हासिल गर्नु भएको प्रेम सुवालले यस पटकको निर्वाचनमा भने ५ हजार २८९ मतान्तरले पछाडि पर्नु भएको हो ।
२०४८ सालदेखि आफ्नो विरासतको रुपमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले विजयी हासिल गर्दै आएको यस क्षेत्रमा यस पटक भने परिणाम फेरिएको छ । रास्वपाका रंजितले ३५ वर्षदेखि भक्तपुरमा एकछत्र राज गर्दै आएको नेमकिपाको बिरासत भत्काएर ऐतिहासिकता रचेका छन् ।
अन्तिम नतिजा आएपछि रास्वपाका रंजितले भन्नुभयो, “हामी भक्तपुर नगरपालिकाका बासिन्दा यहाँ भित्रको अबस्था हामीले भोगेका छौं, यहाँ भित्रको जटिल अबस्थालाई परिवर्तन गर्न मेरो बुबाले ठूलो संघर्ष गर्नु भएको छ, उहाँको त्याग र बलिदानलाई यतिखेर सम्झन चाहन्छु, मेरो बुबाको सपना साकार भएको छ, अब भक्तपुरका जनता उकुसमुकुस भएर स्वतन्त्र हुनुभएको छ ।’
नेपाली कांग्रेसका किरण न्यौपानेले ४ हजार २८२ र नेकपा एमालेका सोमप्रसाद मिश्रले ३ हजार ७२१ मत प्राप्त गर्नु भएको जानकारी दिनुभयो । आजै समानुपातिकको मत गणना सुरु गरिने सूचना अधिकारी विसीले जानकारी दिनुभयो ।
भक्तपुरमा आज बिहान ७ बजेदेखि प्रतिनिधि निर्वाचन शान्तिपूर्ण रुपमा सुरु
भक्तपुर, २१ फागुन : भक्तपुरमा आज बिहान ७ बजेदेखि प्रतिनिधि निर्वाचन शान्तिपूर्ण रुपमा सुरु भएको छ । जिल्लाका दुबै निर्वाचन क्षेत्रका मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले जानकारी दिनुभयो ।
भक्तपुरका दुई वटा निर्वाचन क्षेत्रमा मध्ये १ नं. क्षेत्रमा ३७ मतदान स्थल र ११९ मतदान केन्द्र रहेका छन् । पुरुष भन्दा महिला मतदाता बढी रहेको क्षेत्र नं. १ मा ५२ हजार ६६ पुरुष मतदाता र ५४ हजार ९८८ महिला मतदाता गरि कूल एक लाख सात हजार ५४ जना मतदाता रहेका छन् ।
त्यसैगरि भक्तपुर क्षेत्र नं. २ मा रहेको ३९ मतदान स्थलमा ११४ वटा मतदान केन्द्र रहेको छन् । पुरुष भन्दा महिला मतदाता बढी रहेको यस क्षेत्रमा ४८ हजार ०७४ जना पुरुष मतदाता र ५० हजार २७७ महिला मतदाता तथा अन्य पाँच गरि कूल ९८ हजार ३५६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख प्रकाश मगरले जानकारी दिनुभयो ।
क्षेत्र नं. १ मा  बिभिन्न राजनीतिक दलबाट १६  र स्वतन्त्रबाट ९ गरि २५ जना उम्मेदवार रहेकोमा ३ जना महिला उम्मेदवार रहेका छन् भने क्षेत्र नं. २ मा विभिन्न राजनीतिक दलबाट १७, स्वतन्त्र १५ गरि कूल ३२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । ेती मध्य ६ जना महिला उम्मेदवार रहेको मगरले जानकारी दिनुभयो ।
जिल्लाका प्रत्येक निर्वाचन केन्द्रमा छ जना कर्मचारी र तीनजना स्वयंसेवक खटाइएको तथा जिल्लामा एक हजार ४००  कर्मचारी, ७०० स्वयंसेवक, तीन हजार २०० सुरक्षाकर्मी खटाइएको भक्तपरका प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो । बिहानैबाट मतदान केन्द्र पुगेका मतदाताले उत्साहित भएर मतदान गरेका छन् भने मतदान गर्न उत्साहित हुदै मतदान केन्द्र पुग्नेको भीड लाग्न थालेको छ ।
एमाले अध्यक्ष ओलीदेखि विजुक्छेंसम्मले मतदान गर्दै ः
भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान ११ः३० बजे मतदान गर्नु हुने भएको छ ।
त्यसैगरि नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले भने विहान ११ बजे विद्यार्थी निकेतन मावि मतदान केन्द्रबाट मतदान गर्ने हुनुभएको छ ।  एमालेका केन्द्रीय सचिव
महेश बस्नेतले गुण्डुस्थित भैरवी निमावि मतदान केन्द्रबाट विहान ११ बजे मतदान गर्ने जानकारी दिनुभएको छ ।
मतदानलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सुरक्षा व्यबस्था कडा पारिएको छ । मतदान गर्न पहिचान खुल्ने ६ वटा मध्ये एउटा परिचय पत्र लिएर जान सक्ने निर्वाचन आयोगले जनाएको छ ।
मतदाता परिचयपत्रको सक्कल प्रति नभएमा नेपाली नागरिकता, सवारी चालक अनुमतिपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र वा जग्गा धनी प्रमाण पूर्जाको सक्कल प्रतिमध्ये कुनै एकले मतदान गर्न पाइने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो ।
एमाले नेता महेश बस्नेत भोट माग्न सुकुम्वासी बस्ती पस्दा घन्कियो नौमती बाजादेखि दमाहसम्म, नाचे बस्तीमा युवतीहरु

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली बाजादेखि दमाहा बजिरहेको थियो । सुकुम्वासी बस्तीमा ठूलै बिवाह वा अन्य उत्सव चलिरहेको झल्को दिने गरि हातहातमा अबिर, फूल माला र खादा लिएर स्थानीयको सहभागिता उत्तिकै देखिन्थ्यो ।

केहीबेरमै आसन्न प्रतिनिधि सभाको निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ बाट एमालेको तर्फबाट उम्मेदवार बन्नु भएका नेकपा एमालेका सचिव महेश बस्नेतको आगमन भयो । तब बाजा र भीड त्यतै मोडियो र नारा लाग्यो, ‘नेकपा एमाले जिन्दावाद, सूर्य चिन्हमा भोट हालौ, मनोहरा बस्ती के भन्छ, महेश बस्नेत ले भन्छ ।’

मनोहराको सुकुम्वासी बस्तीको आँगनमा बनाईएको ठूलो सूर्य, त्यही वरिपरि बसेर १४ जनाले एमाले प्रवेशको घोषणा गरे । जीवनभर एमालेमा रहने र फागुन २१ को निर्वाचनमा महेश बस्नेतलाई विजयी बनाउन १४ जनाले पार्टी प्रवेश गरेका थिए । पार्टीका जिल्ला अध्यक्ष बचन देउजाले टीका र फूल लगाईदिएपछि नता महेश बस्नेतले खादा ओढाएर पार्टी प्रवेश गराएसंगै बस्तीको माहौल झन तिब्र र उत्साहित बन्यो ।

त्यसपछि बस्तीमा अगाडि अगाडि बाजा, पछि पछि नेता बस्नेतको र्याली । भव्य रुपमा सुकुम्वासी बस्तीमा पुरै अवलोकन गरि भोट माग्नु भएको थियो । त्यस क्रममा स्थानीयका माझ महेश बस्नेतले भन्नुभयो, ‘सुकुम्वासी बस्तीका समस्या मेरो पनि समस्या हो, यहाँको समस्या समाधानका लागि म प्रतक्ष्य जोडिएको छु, त्यसैले विगतमा गरेका काम अपुग भएमा भन्न आग्रह गर्दछु ।’

यसो भन्छन् सुकुम्वासी बस्तीका बासिन्दाहरु :

गोमा तिवारी : हामी गरिबका लागि सहयोग गर्ने पार्टी एमाले बाहेक अरु कुनै छन । हाम्रा लागि गर्यो भने एमालेले गर्छ, नत्र अरु कसैले सुकुम्वासीको समस्या समाधान गर्न खाज्दैन । अरुले आएर त नाक ठड्याउने मात्रै हो, केही गर्दैनन् ।

जतिबेला बालेनको डोजर आउँछ, त्यतिबेला महेश बस्नेत र एमाले खडा हुन्छ । वर्षामा बाढी आएर बस्ती भित्र पस्छ, बाढीले बस्ती डुबाउँदा पानी खोल्न डोजर महेश बस्नेतले पठाउँछ, महेश त हाम्रो कान्छो छोरा भने पनि हुन्छ । महेशले सुकुम्वासीका लागि त्यति धेरै गरेको छ ।

भूकम्प आयो सबभन्दा पहिला राहत बोकेर खाद्यान्न बाड्न महेश नै आँको छ । महेश त हाम्रो लागि विपदको सारथी हो, त्यसैले यहाँको बस्तीको सबै भोट महेश बस्नेतलाई नै जान्छ ।

शान्ति लामा : यहाँको सुकुम्वासी बस्तीमा पहिला त धेरै नै समस्या थियो । हरेक वर्ष सबैभन्दा ठूलो समस्या बाढीको समस्या थियो, वर्षैनी बस्तीमा बाढी पस्थ्यो । वर्षामा बाढी पस्थ्यो, ज्यान जोगाउँनै गाह्रो थियो । त्यो बाढीका जोखिमबाट महेश बस्नेतले हामीलाई मुक्त गराइदिनु भयो ।

२०७९ सालमा ठूलो बाढी पस्यो, बस्ती नै धरापमा पार्यो, त्यस पछि पनि बाढी पस्थ्यो । त्यसपछि महेश बस्नेतले बजेट ल्याएर मनोहरा खालामा ठूलो पर्खाल लगाईदिए पछि बाढीको ठूलो जोखिम मुक्त भएको छ ।

२०७९ मा ठूलो बाढी पसेर धेरै क्षति पुर्याउँदा हामीले उहाँसंग नै हार गुहार गरेका थियौ । हामीलाई पिवद पर्दा जति खेर पनि उहाँलाई नै गुहार्ने गथ्र्यौ । जुनसुकै बेला विपदमा सहयोग गर्नु भएको छ, त्यसैले उहाँलाई जिताएर पठाउन पाए हुन्थ्यो भनेर हामी लागेका छौं ।

स्थानीय माहिली : सूर्यलाई भोट किन भने महेश बस्नेतले हामीलाई अहिलेसम्म हेर्दै आउनु भएको छ । हाम्रो समस्यामा साथ दिदै आउन भएको छ । यहाँ डुब्छ, उहाँ खोलिदिनु हुन्छ ।  उहाँकै पार्टीले बृद्धभत्ता दिन सुरु गरेको छ, अझै बढाउनु हुन्छ । उहाँलाई जिताएर पठाउन पाए हामीले लालपुर्जा पाउँछौं । उहाँले यो भन्दा अघिल्ला्े पटक नजिते पनि धेरै हेर्नु भएको छ, बाढी पस्दा हामी मथ्र्यौं उहाँल्े डोजर पठाएर बचाउनु भयो । सुकुम्वासीका लागि उहाँले जति अरु कसैले गरेको छैन । त्यसैले भोट हाल्दा हाम्रो हात सूर्य बाहेक अन्त जादैन, उहाँलाई यस पटक जिताउने नै हो ।

पार्टी प्रवेश गरेका बस्तीका युवा नुवा तामाङ्ग : यो सुकुम्वासी बस्तीमा समस्याहरु त छन् नी तर कसैले सुन्दैन, बुझ्दैन, हामी बस्तीका मानिसको समसया अहिलेसम्म सुन्दै आएको महेश बस्नेतले मात्रै हो । हामी भुराभुरीदेखि नै महेश बस्नेत भनेर हिडेको हुँ, यसवर्ष मेरो पहिलो भोट महेश बस्नेतको लागि हो, अब म नमरुन्जेल महेश बस्नेतको लागि नै हो र उहाको लागि नै हिड्छु । भोट उहाँलाई नै दिन्छु ।

 

भक्तपुरका दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता सम्पन्न, क्षेत्र नं. १ मा २५ जना र क्षेत्र नं. २ मा ३२ जनाको जम्मेदवारी दर्ता
भक्तपुर, ६ माघ ः आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि भक्तपुर क्षेत्र नं. १ बाट नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवाल र क्षेत्र नं. २ बाट नेकपा (एमाले)का केन्द्रीय सचिव महेश बस्नेतले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
क्षेत्र नं. १ का सुवाल र क्षेत्र न. २ का बस्नेत फरक पार्टीका केन्द्रीय सचिव हुन् भने दुबै जना यसअघि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइसकेका परिचित अनुहार हन् । दुबै क्षेत्रमा अन्य बिभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार दिने उम्मेदवारहरु भने अधिकांश नयाँ अनुहार रहेका छन् ।
निर्वाचन क्षेत्र नं. १ बाट बिभिन्न राजनीतिक दल र स्वतन्त्र गरि २५ जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ भने क्षेत्र नं. २ बाट राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरि ३२ जनाले उम्मेदवारी दर्ता गराउनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
भक्तपुर क्षेत्र न. १ बाट प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि नेपाल कम्युनिष्ट पार्टी एमालेबाट सोम मिश्र, नेपाली काँग्रेसबाट किरण न्यौपाने, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुकेश रञ्जित, नेपाली कम्युनिष्ट पार्टीबाट हरिराम लवजु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भरतबहादुर खड्काले उम्मेदवारी  दर्ता गराउनु भएको छ ।
त्यसैगरि उज्यालो पार्टी नेपाल पार्टीबाट रमेश बल्ल, आम जनता पाटीबाट  देवेन्द्र ठाकुर, राष्ट्रिय जनमोर्चा पार्टीबाट ईश्वरीप्रसाद पैयानी, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट श्यामसुन्दर शिल्पकार, नेकपा (माओवादी) पार्टीबाट चन्द्रमान कोजु, मितेरी पाटी नेपालबाट सावित्री न्यौपाने, नेपालका लागि नेपाली पाटीबाट दिपक पोखरेलले उम्मेदवारी दिनु भएको छ ।
त्यस्तै स्वतन्त्र उम्मेदवारी दिनेहरुमा सुजिता बुढाथोकी, विष्णुराम दुमरु, राजेश्वरी प्रजापति, सुदिप न्यौपाने, पुण्यराम सुवाल, राजु श्रेष्ठ, दशरथ थापा, सुरेश कोजु, बालकृष्ण खाइतुले उम्मेदवारी दिनु भएको छ ।
त्यसैगरि क्षेत्र नं. २ मा नेकपा एमालेका केन्द्रीय सचिव महेश बस्नेतले उम्मेदवारी दर्ता गराउनु भएको छ भने नेपाली काँग्रेसबाट कबिर राणाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
त्यसैगरि नेपाली कम्युनिष्ट पार्टी रामप्रसाद सापकोटा, उज्यालो नेपाल पार्टीबाट जितराम लामा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजिव खत्री, नेपाल मजदुर किसान पार्टीबाट रमेश वैद्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विक्रम थापा, श्रम संकृति पार्टी अर्जुन बासु, त्रीमुल नेपालबाट राकेश श्रेष्ठ, नेपाल जनसेवा पार्टी जानुका पाठक, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट जन्मदेव जैसी, नेपाल कम्युनिस्ट पाटी संयुक्त लोककृष्ण दाहाल, जनता समाजवादी पार्टी नेपालबाट नवीन श्रेष्ठ, नेकपा माओवादी प्रकाशराज ढुङ्गेल, मंगोल नेशनल अर्गनाइजेसनबाट पेम्वा घले, नेपालका लागि नेपाली पार्टीबाट राजेश बाडेले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
त्यसैगरि स्वतन्त्रबाट आनन्द कार्की, मधु प्रकाश साहुखल, श्यामकृष्ण धुख्वा, लक्ष्मि बास्तोला पौडेल, बालकृष्ण थापा, ओमकृष्ण कुटु, नवीनकुमार महत, साजन ढकाल, सुवर्ण थापा, रेणु श्रेष्ठ, अर्चना भट्टराई, अनिता भट्टराई, सविन महत, प्रदिपकुमार रूपाखेतीले उम्मेदवारी दर्ता गर्नु भएको छ ।