# आज कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना Source: https://newskunda.com/archives/5767 Category: समाज Last updated: 2026-11-18 काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहने मौसम पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा तुवाँलो लागेको छ । देशका बाँकी भूभागमा मौसम सफा रहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । त्यस्तै, आज राति कोशी, मधेस र लुम्बिनी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ । देशका अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका साथै काठमाडौं उपत्यका र विभिन्न खोँचहरूमा बिहानको समयमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । --- Full list of posts: https://newskunda.com/llms.txt