# आज भाइटीका मनाइँदै, टीकाको उत्तम साइत बिहान ११:०७ बजे Source: https://newskunda.com/archives/5609 Category: कला तथा साहित्य Last updated: 2026-11-11 **काठमाडौं ।** दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका लगाएर भाइटीका पर्व मनाउँदै छन्। यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका अवसरमा आज देशभर हर्षोल्लासका साथ भाइटीका मनाउन लागिएको हो। नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिनका रूपमा रहेको भाइटीकालाई यमद्वितीया पनि भनिन्छ। यस दिन दिदीबहिनीले दाजुभाइलाई परम्पराअनुसार टीका, माला र विभिन्न परिकार दिएर दीर्घायु तथा आरोग्यको कामना गर्ने चलन छ। टीकापछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने, उपहार तथा दक्षिणा प्रदान गरी सम्मान प्रकट गर्ने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्रा डा. पुरुषोत्तम भट्टराईका अनुसार यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ। यद्यपि, भाइटीका दिनभर लगाउन सकिने भएकाले साइतको समय अनिवार्य नरहेको उनले बताएका छन्। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिको भनाइ छ। समितिले यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्व र टीका ग्रहण गर्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने जनाएको छ। यसरी टीका लगाउँदा वृश्चिक राशिमा रहेका चन्द्रमा दाहिने पर्ने धार्मिक मान्यता छ। बिहान चन्द्रमा वृश्चिक राशिमा प्रवेश गर्नेछन्। त्यसअघि तुला राशिमा रहँदा पनि यही दिशाअनुसार टीका लगाउन सकिने धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताएका छन्। भाइटीकाका दिन दिदीबहिनीले लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी अष्टचिरञ्जीवीसहित यमराज, यमुना, धर्मराज र चित्रगुप्तको आराधना गर्ने परम्परा छ। त्यसपछि दाजुभाइलाई तेलको धाराले छेकेर निधारमा टीका लगाइदिने र मखमली, सयपत्री तथा गोदावरीका माला पहिर्याउने गरिन्छ। सामान्यतया सप्तरङ्गी टीका लगाउने प्रचलन भए पनि शास्त्रीय मान्यताअनुसार रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रङको टीका लगाउने व्यवस्था रहेको धर्मशास्त्रविद् गौतमले बताएका छन्। टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला, सेलरोटीलगायतका परिकार दिने गर्छन्। दाजुभाइले पनि दिदीबहिनीलाई कपडा, दक्षिणा तथा उपहार दिएर प्रेम र सम्मान साटासाट गर्ने परम्परा छ। **दिदीबहिनी नहुनेका लागि बालगोपालेश्वर मन्दिर खुला** भाइटीकाका दिन दिदीबहिनी वा दाजुभाइ नहुनेका लागि काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुला गरिने परम्परा छ। वर्षमा एकपटक भाइटीकाका दिन मात्रै खुल्ने यस मन्दिरमा भक्तजनले पूजा, दर्शन गरी टीका ग्रहण गर्न सक्छन्। काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार भक्तजनको सुविधाका लागि बुधबार बिहानैदेखि मन्दिर खुला गर्ने तयारी पूरा गरिएको छ। यसैगरी, जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नहुनेले पूजा, दर्शन तथा टीका ग्रहण गर्ने परम्परा छ। संस्कृतिविद् एवं गुठी संस्थानका अध्यक्ष डा. गोविन्द टण्डनका अनुसार विगतमा रानीपोखरीमा हामफालेर मन्दिर प्रवेश गर्ने समस्या देखिएपछि केही समय मन्दिर बन्द गरिएको थियो। त्यसबेला दाजुभाइ तथा दिदीबहिनी नहुनेहरू खञ्जनेश्वर महादेव मन्दिरमा भेला भएर भाइटीका मनाउने गर्थे। विसं २०७२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त बालगोपालेश्वर मन्दिर पुनर्निर्माणपछि विसं २०७७ देखि पुनः भक्तजनका लागि खुला गरिएको हो। यसैबीच, नेवार समुदायले भाइटीकाको दिनलाई किजापूजाका रूपमा मनाउने गर्छन्। कुल परम्पराअनुसार किजापूजा गर्ने दिन फरक हुने भए पनि भक्तपुरका अधिकांश नेवार समुदायले तलेजु मन्दिरका पुजारी तथा ज्योतिषीको निर्णयअनुसार अघिल्लो दिन नै किजापूजा सम्पन्न गरेका छन्। --- Full list of posts: https://newskunda.com/llms.txt