# एनपीएलमा आज दुई खेल, लुम्बिनी–जनकपुर र काठमाण्डु–विराटनगर भिड्दै Source: https://newskunda.com/archives/5495 Category: खेलकुद Last updated: 2026-11-05 **काठमाडौं ।** नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बिहीबार दुई रोमाञ्चक खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्नेछन् भने दोस्रो खेलमा काठमाण्डु गोर्खाज र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ। पहिलो खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ भने दोस्रो खेल साँझ ५ बजे हुनेछ। ### लुम्बिनी शीर्ष स्थान जोगाउने लक्ष्यमा तीन खेलबाट पाँच अंक जोडेको लुम्बिनी लायन्स अंकतालिकाको शीर्ष स्थानमा छ। दुई जित र एक बराबरीको नतिजा निकालेको लुम्बिनी पछिल्लो खेलमा पोखरा एभेन्जर्सलाई आठ विकेटले पराजित गर्दै उच्च मनोबलमा छ। अर्कोतर्फ, चार खेलमा दुई जित र दुई हार व्यहोरेको जनकपुर बोल्ट्स चार अंकसहित चौथो स्थानमा छ। पछिल्लो खेलमा विराटनगर किङ्ग्ससँग दुई रनले पराजित भएको जनकपुर बिहीबारको खेलमा जित निकाल्दै पुनः लयमा फर्कने प्रयासमा हुनेछ। एनपीएलका अघिल्ला दुई संस्करणमा यी दुई टोलीबीच भएका दुई खेलमा दुवैले एक–एक जित हात पारेका छन्। त्यसैले बिहीबारको प्रतिस्पर्धा दुवै टोलीका लागि हेड-टु-हेडमा अग्रता बनाउने अवसरसमेत हुनेछ। ### काठमाण्डु र विराटनगरबीच कडा प्रतिस्पर्धा बिहीबारको दोस्रो खेलमा काठमाण्डु गोर्खाज र विराटनगर किङ्ग्स आमनेसामने हुनेछन्। दुई खेलमा एक जित र एक हार व्यहोरेको काठमाण्डु गोर्खाज अंकतालिकाको सातौँ स्थानमा छ। टोलीले पछिल्लो खेलमा कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको थियो। उक्त जितलाई निरन्तरता दिँदै अंकतालिकामा सुधार गर्ने लक्ष्य काठमाण्डुको हुनेछ। विराटनगर किङ्ग्स भने चार खेलमा दुई जित र दुई हारसहित अंकतालिकाको दोस्रो स्थानमा छ। पछिल्ला दुई खेलमा लगातार जित निकालेको विराटनगर बलियो मनोबलका साथ मैदान उत्रनेछ। टोलीले मंगलबार जनकपुर बोल्ट्सलाई दुई रनले पराजित गरेको थियो। काठमाण्डु र विराटनगरबीच यसअघि भएका दुई खेलमा दुवैले एक–एक जित निकालेका छन्। पहिलो संस्करणमा काठमाण्डुले एक विकेटको रोमाञ्चक जित हात पारेको थियो भने दोस्रो संस्करणमा विराटनगरले पाँच विकेटले बाजी मारेको थियो। बिहीबारको खेलमा जित निकाल्ने टोलीले आपसी प्रतिस्पर्धामा अग्रता बनाउनेछ। लगातार जितको लयमा रहेको विराटनगरलाई रोक्दै काठमाण्डु आफ्नो स्थिति सुधार्न चाहन्छ भने विराटनगर जितको यात्रा कायम राख्ने लक्ष्यमा हुनेछ। **खेल तालिका** - पहिलो खेल: लुम्बिनी लायन्स vs जनकपुर बोल्ट्स — दिउँसो १२ः३० बजे - दोस्रो खेल: काठमाण्डु गोर्खाज vs विराटनगर किङ्ग्स — साँझ ५ बजे दुवै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन्। --- Full list of posts: https://newskunda.com/llms.txt