# एमालेको राष्ट्रिय भेला आजदेखि, ओलीसहित शीर्ष नेताले सम्बोधन गर्ने Source: https://newskunda.com/archives/5761 Category: FEATURED NEWS, राजनीति Last updated: 2026-11-18 काठमाडौं । नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेबाट सुरु हुने भेलामा पार्टीका विभिन्न तहका नेता तथा प्रतिनिधिहरू सहभागी हुनेछन् । भेलामा केन्द्रीय कमिटी सदस्य, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष, जनसंगठनका प्रतिनिधि, पार्टीका केन्द्रीय निकायका सदस्य, संघीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू सहभागी हुने कार्यक्रम छ । भेलाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । उद्घाटन सत्रमा ओलीसहित वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षहरू रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन् । राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशा दिन तथा स्थानीय तहको निर्वाचनको तयारीका विषयमा छलफल गर्न भेला आयोजना गरिएको पार्टीले जनाएको छ । भेलामा गत असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकका निर्णयहरूको कार्यान्वयनमा एकरूपता कायम गर्ने तथा पार्टीले गर्नुपर्ने विभिन्न १५ कामका विषयमा समेत छलफल हुनेछ । --- Full list of posts: https://newskunda.com/llms.txt