# कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पुरा, परीक्षा बिहान ८ बजेदेखि Source: https://newskunda.com/archives/1050 Category: FEATURED NEWS, शिक्षा, समाचार Last updated: 2022-05-29 भक्तपुर, १५ जेठ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पुरा गरेको छ । भोली सोमबारदेखि देशभर एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पुरा गरेको आज बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनु भयो । जेठ २५ गतेसम्म सोमबार बिहान ८ बजेदेखि सुरु हुने परीक्षामा आगामी जेठ २५गतेसम्म सञ्चालन हुने छ । परीक्षामा करिब ४ लाख १५ परीक्षार्थी सहभागि हुने जानकारी दिदै बोर्डका अध्यक्ष डा. शर्माले देशभरका १ हजार २९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुने बताउनु भयो । उहाँका अनुसार ७७ जिल्लाकै सबै परीक्षा केन्द्र परीक्षा सुरु हुनु भन्दा आधा घण्टा अगाडि अनलाइनबाट प्रश्नपत्र पठाइने छ । परीक्षा केन्द्रले प्रश्न पत्र फोटोकपी गरेर परीक्षार्थीलाई वितरण गर्नेछ । विगत दुई वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय (होम सेन्टर) मा परीक्षा सञ्चालन गर्दा अनलाइनबाटै प्रश्न पत्र पठाउने व्यबस्था गरे पछि यस वर्ष पनि प्रश्न पत्र अनलाइनबाट पठाउने व्यबस्था गरिएको हो । बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने परीक्षालाई शान्तिपूर्ण, मर्यादित, व्यबस्थित रुपमा सम्पन्न गर्न बोर्डका अध्यक्ष डा. शर्माले सबै सरोकारवाला निकाय तथा आमनागरिकमा आव्हान गर्नु भयो । कक्षा ११ को परीक्षा पनि भोली सोमबारदेखिनै सञ्चालन हुने भएको छ । कक्षा ११ को परीक्षा विद्यालयलेनै सञ्चालन गर्न पाउने व्यबस्था गरिएकोले अधिकांश विद्यालयले भोलीदेखिनै परीक्षा सञ्चालन गर्ने भएका हुन् । --- Full list of posts: https://newskunda.com/llms.txt