# कुमार ब्यञ्जनकार ‘कुमार बेन’ विरुद्ध डिजिटल प्रमाण नष्ट गरेको आरोपमा प्रहरीमा जाहेरी Source: https://newskunda.com/archives/5777 Category: राजनीति Last updated: 2026-11-19 **काठमाडौं ।** प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार तथा रणनीतिकार कुमार ब्यञ्जनकार (कुमार बेन) विरुद्ध डिजिटल प्रमाण नष्ट गरेको आरोपमा प्रहरीमा जाहेरी परेको छ। जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले ब्यञ्जनकारविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा ८९ अन्तर्गत झुटा प्रमाण बनाउने कसुरमा अनुसन्धान तथा कानुनी कारबाहीको माग गर्दै बुधबार प्रहरी कार्यालय भद्रकालीमा जाहेरी दिएका हुन्। जाहेरीमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहेका ईनम सापकोटाका दुई मोबाइल फोन डिजिटल फरेन्सिक परीक्षण हुनुअघि ब्यञ्जनकारले आफ्नो ज्वागलस्थित निवासमा दुई दिनसम्म राखेको आरोप लगाइएको छ। जाहेरीकर्ताका अनुसार सन् २०२६ अक्टोबर २ अर्थात् २०८३ असोज १६ गते राति ९ बजेर १५ मिनेटको समयमा सापकोटाका मोबाइल फोन ब्यञ्जनकारको घरमा रहेको तथ्य प्रहरीको लोकेसन ट्र्याकिङबाट पुष्टि भएको दाबी गरिएको छ। प्रहरीलाई मोबाइल फोन फिर्ता गरिएपछि गरिएको डिजिटल फरेन्सिक परीक्षणमा ह्वाट्सएप, फेसबुकलगायत सामाजिक सञ्जाल अनधिकृत रूपमा प्रयोग गरिएको, विभिन्न सामग्रीका स्क्रिनसट लिइएको तथा सापकोटा र ब्यञ्जनकारबीच भएका केही महत्त्वपूर्ण सन्देश मेटाइएको विषय जाहेरीमा उल्लेख छ। प्रहरीको आधिकारिक अनुसन्धान प्रक्रियाबाहिर रहेर राज्यको उच्च सल्लाहकार पदमा रहेका व्यक्तिले अनुसन्धानसँग सम्बन्धित डिजिटल प्रमाणमा पहुँच पुर्याएको विषय गम्भीर भएको जाहेरीमा उल्लेख गरिएको छ। यस्तो गतिविधिले अनुसन्धान प्रभावित पार्ने, डिजिटल प्रमाण नष्ट गर्ने तथा व्यक्तिको गोपनीयताको अधिकार उल्लङ्घन गर्ने काम भएको दाबी गर्दै निष्पक्ष अनुसन्धानको माग गरिएको छ। ब्यञ्जनकारमाथि प्रहरी नियन्त्रणमा रहेको डिजिटल प्रमाणमा अनधिकृत पहुँच पुर्याएको, प्रमाण नष्ट गरेको र पदीय शक्तिको दुरुपयोग गरी अनुसन्धान प्रभावित पार्न खोजेको आरोप लगाइएको छ। जेनजी मुभमेन्ट नेपालले जाहेरीसँगै आवश्यक प्रमाण तथा सञ्चारमाध्यममा प्रकाशित समाचारसमेत संलग्न गरी मुलुकी अपराध संहिता, सम्पत्ति शुद्धीकरण निवारण ऐन तथा प्रचलित कानुनअनुसार निष्पक्ष अनुसन्धान गर्न माग गरेको छ। साथै, अनुसन्धानबाट दोषी ठहर भए हदैसम्मको कानुनी कारबाही गर्न आग्रह गरिएको छ। --- Full list of posts: https://newskunda.com/llms.txt