# गगन थापाको कडा चेतावनी: सरकारले प्रेस स्वतन्त्रता मिच्यो, रास्वपालाई परिणाम देखाऊ! Source: https://newskunda.com/archives/5385 Category: FEATURED NEWS, राजनीति Last updated: 2026-11-01 नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारले संविधान र प्रेस स्वतन्त्रतामाथि देखाएको व्यवहार निकै चिन्ताजनक रहेको बताउँदै सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीलाई वक्तव्य होइन ठोस परिणाम देखाउन चुनौती दिएका छन्। आइतबार सानेपास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै थापाले मिडिया हाउसमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गर्ने र चौतर्फी आलोचनापछि उन्मुक्ति दिने शैलीले विधिको शासनको खिल्ली उडाएको आरोप लगाए। ‘मिडियाका गेटमा गाडी तेर्स्याएर पक्राउ गरियो। प्रधानमन्त्रीको सचिवालयले थाहा छैन भन्यो तर प्रहरीले प्रधानमन्त्री कार्यालयको चासोका कारण नियन्त्रणमा लिएको बतायो,’ उनले भने, ‘यो उच्च तहको राजनीतिक आदेशबिना सम्भव छैन।’ थापाले प्रहरी आफैं न्यूजरुममा नपुग्ने स्पष्ट पार्दै ‘उठा’ भनेर निर्देशन दिने र आलोचना चर्केपछि ‘छोड’ भन्ने तरिका लोकतान्त्रिक नभएको ठोकुवा गरे। सरकार ‘जे बोल्यौं त्यही हुकुम’ र ‘सरकारको इच्छा नै कानुन’ भन्ने सोचतर्फ अग्रसर भएको उनको भनाइ छ। यसै क्रममा उनले विगतमा कांग्रेस गठबन्धन सरकारमा रहँदा गलत कामविरुद्ध आवाज उठाएको स्मरण गराउँदै रास्वपाको दोहोरो चरित्रमाथि प्रश्न उठाए। ‘त्यसबेला रास्वपाले कांग्रेसलाई गल्तीको जवाफ दिनुपर्छ भन्दथ्यो। आज आफ्नै पार्टी संलग्न सरकारको हकमा चाहिँ यो नियम लागु नहुने हो?’ थापाले भने, ‘हामीलाई औपचारिक वक्तव्य होइन, संसदीय दलको बैठक बोलाई प्रधानमन्त्रीलाई स्पष्ट निर्देशन दिन र त्यसलाई कार्यान्वयनमा लैजान चाहिन्छ।’ संविधानले ग्यारेन्टी गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै बहानामा हुने हस्तक्षेप स्वीकार्य नहुने चेतावनी दिँदै थापाले सरकारलाई गल्ती सच्याउन र विधिको शासन सम्मान गर्न आग्रह गरेका छन्। --- Full list of posts: https://newskunda.com/llms.txt