# चेपाङ वस्ती सहित घरबारबिहिन पिवन्नका लागि एक हजार घर निर्माण गर्ने मुख्यमन्त्री मन्त्री किरण थापाको घोषणा Source: https://newskunda.com/archives/5978 Category: FEATURED NEWS, अर्थ, राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-11-25 हेटौँडा, ८ मंसिर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले वागमती प्रदेश भित्रका गरिब नागरिकका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा एक हजार घर निर्माण गरिदिने बताउनु भएको छ । हेटौँडाको मनहरि गाउँपालिका–७, समिलडाँडास्थित चेपाङ परिवारलाई मंगलबार कपडा तथा भाँडाकुँडा वितरण कार्यक्रममा बोल्दै उहाँले आर्थिक अवस्था कमजोर भएका, आफ्नो घर बनाउन नसक्ने तथा आवासको अभावमा रहेका नागरिकलाई प्रदेश सरकारले आवासको व्यबस्था गरिदिने बताउनु भएको हो । मुख्यमन्त्री थापाले भन्नुभयो, “ “बागमती प्रदेश सरकारले कुनै पनि विपन्नलाई घरविहीन बन्न दिँदैन । जसको घर छैन, जो विपन्न छ र जसले आफैँ घर बनाउन सक्दैन, त्यस्ता व्यक्तिका लागि यस वर्ष एक हजार वटा घर बनाउने भनेर हामीले बजेट विनियोजन गरेका छौँ ।” उहाँले मुख्यमन्त्री आवास कार्यक्रममार्फत विपन्न नागरिकको आवासको समस्या समाधान गर्न प्रदेश सरकार अघि बढेको बताउदै उहाँले भन्नुभयो, “चेपाङ समुदायको आवास समस्या समाधानलाई प्राथमिकतामा राखेको छ । घरविहीन चेपाङ परिवारका लागि प्रतिपरिवार चार लाख रुपैयाँका दरले घर निर्माण गर्ने प्रक्रिया अघि बढाइने छ । यसका लागि बागमती प्रदेश सरकारले कार्य अगाडि बढाएको छ ।” मुख्यमन्त्री थापाले आवाससँगै विपन्न परिवारको आयआर्जन र आर्थिक आत्मनिर्भरतालाई पनि प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभयो । नागरिकको आवश्यकताअनुसार कुखुरा, बाख्रा तथा भैँसीपालनजस्ता व्यवसाय सञ्चालन गर्न सहयोग पुग्ने गरी बजेट छुट्याइएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जो विपन्न हुनुहुन्छ, जो आर्थिक रूपमा पछाडि पर्नुभएको छ र जसको केही छैन, त्यस्ता व्यक्तिलाई बागमती प्रदेश सरकारले सम्बोधन गर्छ ।” उहाँले विपन्न बस्तीका नागरिकले भोग्दै आएका खानेपानी, सुरक्षा तथा सामाजिक समस्याको समाधानमा समेत प्रदेश सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बस्तीमा प्रवेश गर्ने दुव्र्यसन नियन्त्रण गर्न सीसीटीभी जडान गर्ने तथा खानेपानीको समस्या समाधान गर्ने काममा प्रदेश सरकारले सहयोग गर्ने उहाँको भनाइ छ । “प्रदेश सरकारसँग भएको स्रोतले के–के गर्न सक्छ, त्यो गर्छौँ । जनताले बढीभन्दा बढी लाभ पाउने गरी बागमती प्रदेश सरकार देखिने गरी काम गर्न प्रतिबद्ध छ,” मुख्यमन्त्री थापाले भन्नुभयो । मुख्यमन्त्री थापाले चेपाङ बस्तीका नागरिकको दयनीय जीवनस्तर प्रत्यक्ष देखेपछि आफू निकै भावुक भएको अनुभव पनि सुनाउनुभयो । नेकपा एमालेले चेपाङ बस्तीमा निर्माण गरेको घर हस्तान्तरण कार्यक्रममा सहभागी हुन पुग्दा त्यहाँका परिवारको आधारभूत आवश्यकतासमेत पूरा नभएको अवस्था देखेको उहाँले बताउनुभयो । “त्यहाँ पुग्दा कुनै भाँडावर्तन छैन, लत्ताकपडा छैन, ओढ्ने–ओछ्याउने छैन । यस्तो अवस्थामा जीवन गुजार्नुभएको रहेछ भन्ने देख्दा मलाई साह्रै पीडाबोध भयो,” उहाँले भन्नुभयो । बस्तीका नागरिकको अवस्था देखेपछि तत्काल मानवीय सहयोग जुटाउन आफूले पहल गरेको उहाँले सुनाउनुभयो । मुख्यमन्त्रीको आग्रहपछि विजय अग्रवालले मारवाडी सेवा समिति, मारवाडी महिला मञ्चलगायत संस्थासँग समन्वय गरी सहयोग जुटाउनुभएको थियो । उक्त सहयोग वितरण कार्यक्रममा प्रदेश सरकारले कुनै आर्थिक रकम विनियोजन नगरेको स्पष्ट पार्दै उहाँले समाजसेवी रेखा खेतानलगायतको टोलीले सामग्री व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । मारवाडी महिला मञ्चकी अध्यक्ष रेखा खेतानको अध्यक्षतामा आयोजित कार्यक्रममा हेटौँडाको मनहरि गाउँपालिका–७, समिलडाँडास्थित चेपाङ बस्तीका ३५ परिवारलाई विभिन्न अत्यावश्यक सामग्री वितरण गरिएको थियो । पूर्व–पश्चिम राजमार्ग नजिकै रहेको उक्त बस्तीका परिवारलाई जाडोबाट बच्न र दैनिक जीवनयापन सहज बनाउन खानेकुरा पकाउने भाँडाकुँडादेखि लत्ताकपडा तथा ओढ्ने–ओछ्याउने सामग्री उपलब्ध गराइएको हो । **कार्यक्रममा स्थानीय ३५ चेपाड परिवारलाई डेक्ची, कराई, प्रेसर कुकर, डाडु–पन्यु, बाल्टी, पानी खाने मग, थाल, गिलास, ग्यास, खटिया, सिरक–डस्ना, कम्बल, झुल, ज्याकेट, टोपी तथा अन्य कपडाहरू हस्तान्तरण गरिएको थियो । आवास, आयआर्जन, खानेपानी र बस्तीको सुरक्षासँग जोडिएका समस्यालाई एकीकृत रूपमा सम्बोधन गर्ने प्रदेश सरकारको प्रतिबद्धताले चेपाङ समुदायमा खुसीयाली छाएको छ ।** --- Full list of posts: https://newskunda.com/llms.txt