# नरक चतुर्दशी पर्व आज बिहान स्नान र यमदीप बगाएर मनाइयो Source: https://newskunda.com/archives/5563 Category: FEATURED NEWS, कला तथा साहित्य Last updated: 2026-11-08 **काठमाडौं ।** वैदिक सनातन हिन्दू धर्मावलम्बीले आज बिहान नरक चतुर्दशी पर्व परम्परागत विधिअनुसार मनाएका छन्। कार्तिक कृष्ण चतुर्दशीका दिन अरुणोदयकालअघि नदी, तलाउ, कुवा, पोखरी तथा धारामा गई स्नान गरेर यो पर्व मनाउने धार्मिक परम्परा छ। स्नानपछि सालको पातमा यमदीप बालेर दक्षिण दिशातर्फ फर्काई नदीमा बगाउने चलनसमेत रहेको छ। यसरी स्नान गर्ने र बत्ती बगाउने कार्यलाई नरक स्नान तथा नरक बगाउने भनिन्छ। बोलीचालीको भाषामा यसलाई ‘नरके नुहाएर बगाउने’ समेत भनिने धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले जानकारी दिए। धार्मिक मान्यताअनुसार नरक चतुर्दशीका दिन विधिपूर्वक नरक स्नान गरी यमदीप बगाएमा नरकको दर्शन गर्नुनपर्ने विश्वास छ। यही धार्मिक विश्वासका कारण यस दिनलाई नरक चतुर्दशी भनिएको हो। धर्मशास्त्रविद् नेपालका अनुसार अरुणोदयकालअघि चतुर्दशी तिथि परेको समयमा नरक स्नान गरी बत्ती बालेर बगाउनुपर्ने शास्त्रीय विधान रहेकाले आज बिहानै यो पर्व मनाइएको हो। --- Full list of posts: https://newskunda.com/llms.txt