# भक्तपुरका तराईवासीले मनाए खरना, छठको तयारी पुरा Source: https://newskunda.com/archives/5682 Category: FEATURED NEWS, अर्थ, धर्म/संस्कृति, समाचार, समाज Last updated: 2026-11-14 भक्तपुर, २८ कात्तिक : कार्तिक शुक्ल पञ्चमीका दिनमा आज तराईका बिभिन्न जिल्लाबाट भक्तपर आएर बसोबास गर्दै आएका छठका व्रतालुले निर्जल उपवास बसी ‘खरना’ को विधि पूरा गरेका छन् । निर्जल उपवास बसेका व्रतालुले आज साँझ घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरी एक छाक खाना खाएर ब्रत बसेको बालकोट निवासी दशरथ ठाकुरले बताउनुभयो । उहाँले भन्नुभयो, “छठ पर्वमा निर्जल उपवास बसेका व्रतालुले आज साँझ घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरी एक छाक खाना खाएर ब्रत बस्ने परम्परालार्ई खरना भन्ने गरिन्छ, आज हामी लगायत छठ मनाउने सबैले यो बिधि पुरा गरेर छठको उपवास सुरु गरेको छ ।” पञ्चमीका दिन आज भक्तपुरमा छठ मनाउने कमल पोखरी, भक्तपुर र ललितपुरको सिमानामा रहेको गोदावरी खोला, मनोहरा खोलामा छठको तयारी पुरा गरेको ठाकुरले जानकारी दिनुभयो । भक्तपुरको कमल पोखरी, गोदावरी खोला, मनोहरा खोला, हनुमन्ते खोलामा आइतबार अस्ताउँदो सूर्यको पूजा आराधना गरी अघ्र्य चढाएर पर्व मनाउने तयारी गरिएको छ । छठ पर्व मनाउँन सबै ठाउँमा समिति गठन गरेर खोला तथा पोखरी किनारामा सरसफाई गर्ने, सम्याउँने र रातभर जाग्राम बस्नका लागि टहरा बनाउने, छैठी माताको मूर्ति स्थापना गर्ने कार्य सम्पन्न भएको उहाँले बताउनुभयो । कार्तिक शुक्ल चतुर्थीदेखि विधिवत् सुरु हुने छठ पर्व सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि विधिवत् रूपमा समापन हुने कमल पोखरी छठ समितिका संयोजक लक्ष्मी रौनियारले जानकारी दिनुभयो । यस वर्ष कात्तिक २७ गते शुक्रबारदेखि सुरु भएको छठ पर्वको व्रत कात्तिक ३० गते सोमबार सम्पन्न हुनेछ । --- Full list of posts: https://newskunda.com/llms.txt