# मन्त्री लम्सालको घोषणा : बेल्चा चलाउने श्रमिकले अब दैनिक १ हजार ७०० रुपैयाँ पाउने Source: https://newskunda.com/archives/5787 Category: राजनीति Last updated: 2026-11-20 **जनकपुरधाम ।** भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी मङ्सिरदेखि बेल्चा चलाउने श्रमिकको दैनिक पारिश्रमिक १ हजार ७०० रुपैयाँ पुर्याइने घोषणा गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनकपुरधाममा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री लम्सालले बेल्चा चलाउने श्रमिकको पारिश्रमिक बढाउने जानकारी दिएका हुन् । ‘देश मधेसले बनाउँछ, किनकि सबैभन्दा बढी बेल्चा चलाउने श्रमिक मधेसमै छन्,’ उनले भने, ‘यो सरकारले सबैभन्दा बढी न्याय बेल्चा चलाउने श्रमिकलाई गरेको छ। अब उप्रान्त मङ्सिर महिनादेखि बेल्चा चलाउने श्रमिकले दैनिक एक हजार ७०० कमाउने छन्।’ हाल बेल्चा चलाउने श्रमिकले दैनिक ५०० रुपैयाँ मात्रै पारिश्रमिक पाउँदै आएको उल्लेख गर्दै मन्त्री लम्सालले सरकारले पारिश्रमिक वृद्धि गर्ने निर्णयबाट मधेसका श्रमिकहरू बढी लाभान्वित हुने बताए । उनले मधेसको विकास तथा यहाँका नागरिकको जीवनस्तर सुधार सरकारको प्राथमिकतामा रहेको भन्दै भौतिक पूर्वाधार विकासका कामलाई तीव्रता दिने प्रतिबद्धता पनि व्यक्त गरे । मन्त्री लम्सालको घोषणाअनुसार पारिश्रमिक वृद्धि लागू भएमा बेल्चा चलाएर जीविकोपार्जन गर्ने श्रमिकको दैनिक आम्दानीमा उल्लेखनीय वृद्धि हुनेछ । --- Full list of posts: https://newskunda.com/llms.txt