# ममता काफ्ले हत्या प्रकरणमा पति नरेश भट्ट दोषी ठहर Source: https://newskunda.com/archives/5601 Category: समाज Last updated: 2026-11-11 **काठमाडौं ।** अमेरिकामा बेपत्ता भएकी नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन्। भर्जिनियास्थित अदालतले मंगलबार करिब छ हप्तासम्म चलेको सुनुवाइपछि नरेशलाई प्रथम श्रेणीको हत्या (फर्स्ट डिग्री मर्डर) अभियोगमा दोषी ठहर गरेको हो। अदालतले शव लुकाएको र अपमान गरेको अभियोगमा समेत उनलाई दोषी पाएको छ। मुद्दाको सुनुवाइका क्रममा नरेशले ममता बेडरुममा मृत अवस्थामा फेला परेको र आफूले उनको शव व्यवस्थापन मात्रै गरेको दाबी गरेका थिए। तर सरकारी पक्षले उनको दाबी अस्वीकार गर्दै योजनाबद्ध रूपमा हत्या गरिएको जिकिर गरेको थियो। वरिष्ठ सहायक कमनवेल्थ्स अटर्नी सारा सामीले नरेशले ममताको हत्या गरी शव टुक्राटुक्रा पारेर फोहोर फाल्ने स्थानमा फालिदिएको आरोप लगाइन्। उनका अनुसार भर्जिनियाको लुरायस्थित फोहोर व्यवस्थापन स्थल ममताको शवको अन्तिम गन्तव्य बनेको थियो। सामीले अदालतमा ममताको परिवारले उनको अन्तिम संस्कारसमेत गर्न नपाउने अवस्था सिर्जना भएको उल्लेख गर्दै यस घटनाले परिवारलाई जीवनभर पीडामा राख्ने बताइन्। शव फेला नपरेकाले परिवारले ममताको अन्तिम बिदाइ गर्ने अवसरसमेत गुमाएको उनको भनाइ थियो। प्रथम श्रेणीको हत्यामा दोषी ठहर भएका नरेशलाई कम्तीमा २० वर्षदेखि आजीवन कारावाससम्मको सजाय हुन सक्ने कानुनी व्यवस्था छ। यसबाहेक शव लुकाएको र अपमान गरेको प्रत्येक अभियोगमा थप पाँच वर्षसम्म कैद सजाय हुन सक्छ। अदालतले आगामी मार्च महिनामा नरेशलाई हुने अन्तिम सजाय निर्धारण गर्नेछ। फैसला सार्वजनिक भएपछि अदालतबाहिर उपस्थित ममताका साथीभाइ तथा स्थानीय नेपाली समुदायले निर्णयको स्वागत गरेका छन्। --- Full list of posts: https://newskunda.com/llms.txt