# मुन्दुम पदमार्गको जानकारी अब वेबसाइटबाटै, पर्यटन प्रवर्द्धनमा डिजिटल पहल Source: https://newskunda.com/archives/5557 Category: FEATURED NEWS Last updated: 2026-11-08 **भोजपुर ।** पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित मुन्दुम पदमार्गको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले छुट्टै वेबसाइट सञ्चालनमा ल्याइएको छ। वेबसाइटमार्फत आन्तरिक तथा बाह्य पर्यटकले पदमार्गको पर्यटकीय महत्व, प्राकृतिक सौन्दर्य र पदयात्रासम्बन्धी आवश्यक जानकारी सहजै प्राप्त गर्न सक्नेछन्। कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले सञ्चालनमा ल्याएको वेबसाइटबाट मुन्दुम पदमार्गसहित प्रदेशका अन्य पर्यटकीय क्षेत्रबारे समेत जानकारी लिन सकिने टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए। उनका अनुसार वेबसाइटले पदयात्रामा आउने पर्यटकलाई आवश्यक सूचना डिजिटल माध्यमबाट उपलब्ध गराउनुका साथै यात्रा योजना बनाउनसमेत सहज बनाउनेछ। वेबसाइटमा पदमार्गको अवस्थिति, पदयात्राका गन्तव्य, प्राकृतिक तथा सांस्कृतिक विशेषता, स्थानीय रहनसहन र विभिन्न पर्यटकीय आकर्षणबारे जानकारी समेटिएको छ। भोजपुर, खोटाङलगायत आसपासका क्षेत्रलाई जोड्ने मुन्दुम पदमार्ग प्राकृतिक सुन्दरता, हिमाली दृश्य, किरात संस्कृति तथा ऐतिहासिक र धार्मिक महत्वका स्थलका कारण पूर्वी नेपालको आकर्षक पदयात्रा गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। वेबसाइट सञ्चालनले मुन्दुम पदमार्गको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न सहयोग पुग्ने गाउँपालिकाले विश्वास लिएको छ। यसबाट पर्यटकलाई पदयात्राको तयारी र योजना बनाउन सहज हुनुका साथै स्थानीय होटल, घरबास (होमस्टे), पर्यटन व्यवसाय तथा अन्य आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। मुन्दुम पदमार्गको व्यवस्थित प्रचारप्रसार र पर्यटन विकासका लागि डिजिटल प्रविधिको प्रयोगलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। --- Full list of posts: https://newskunda.com/llms.txt