# विपद्का कारण प्रभावित नागरिकको जीवनरक्षा र उनीहरूलाई आवश्यक सहयोग उपलब्ध गराउनु सरकारको प्राथमिक दायित्व हो : मुख्यमन्त्री किरण थापा Source: https://newskunda.com/archives/5947 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, स्वास्थ्य Last updated: 2026-11-23 काठमाडौं, ७ मंसिर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवाको भोटेकोशी बाढी तथा विपद्का कारण रसुवा, नुवाकोट, धादिङलगायत बागमती प्रदेशका विभिन्न जिल्लामा भएको जनधनको क्षति, प्रभावित नागरिकको अवस्था, उद्धार तथा बेपत्ता नागरिकको खोजी र पुनःस्थापनाका विषयमा प्रदेश सरकारले आवश्यक पहल गर्ने बताउनुभएको छ। आज बसेको बागमती प्रदेश सरकारको विपद् व्यवस्थापन समितिको बैठकमा विपदबाट प्रभावित क्षेत्रको वर्तमान अवस्था, नागरिकले भोग्नुपरेका समस्या तथा उद्धार, राहत र पुनःस्थापनाका लागि चाल्नुपर्ने कदमबारे विस्तृत छलफल भएको उहाँले जानकारी दिनुभयाे । बैठकमा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने, क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण गर्ने, विस्थापित नागरिकको सुरक्षित बसोबास सुनिश्चित गर्ने तथा प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि आवश्यक पहल गर्ने विषयमा जनप्रतिनिधि तथा सरोकारवालाहरूबाट सुझाव र धारणा लिइएको मुख्यमन्त्री थापाले बताउनुभयो। विपद्का कारण प्रभावित नागरिकको जीवनरक्षा र उनीहरूलाई आवश्यक सहयोग उपलब्ध गराउनु सरकारको प्राथमिक दायित्व भएको उल्लेख गर्दै मुख्यमन्त्री थापाले भन्नुभयो, “विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको जीवनरक्षा, उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राख्दै तीनै तहका सरकार तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय, सहकार्य र एकताबद्ध प्रयासका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु।” उहाँले विपदबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाको अनुभूति दिलाउन प्रदेश सरकारका तर्फबाट आवश्यक समन्वय र पहल गरिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ। प्रदेश सुशासन केन्द्र, ललितपुरमा आज बसेको बैठकमा विपद् प्रभावित क्षेत्रको अवस्था र आवश्यकताका आधारमा राहत, उद्धार तथा पुनर्निर्माणका कार्यलाई अघि बढाउने विषयमा छलफल गरेको हो। --- Full list of posts: https://newskunda.com/llms.txt