# सामुदायिक विद्यालयको जग्गा संरक्षण अभियान : दुई महिनाभित्र विवरण पठाउन शिक्षा विभागको निर्देशन Source: https://newskunda.com/archives/5541 Category: FEATURED NEWS, शिक्षा Last updated: 2026-11-07 **काठमाडौं ।** शिक्षा विभागले देशभरका सामुदायिक विद्यालयको जग्गा संरक्षण तथा व्यवस्थापनलाई अभियानका रूपमा अघि बढाउने भएको छ। यसका लागि विभागले सबै शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचार गर्दै विद्यालयले भोगचलन गर्दै आएका सम्पूर्ण जग्गाको विवरण अद्यावधिक गरी एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (इमिस) मा प्रविष्ट गर्न निर्देशन दिएको छ। विभागका अनुसार विद्यालयको नाममा जग्गाधनी प्रमाणपत्र भएको, सरकारी जग्गा भोगचलनको अनुमति प्राप्त भएको वा नभएको, सार्वजनिक तथा सामुदायिक निस्सा भएको, भाडामा लिएको वा दिएको तथा ऐलानी र पर्ती जग्गासमेतको विवरण संकलन गरिनेछ। विद्यालयहरूले इमिसको ‘स्कुल प्रोफाइल’ अन्तर्गत ‘म्यानेजमेन्ट एण्ड अदर्स’ मा गएर जग्गाको स्वामित्व, क्षेत्रफल र कानुनी कागजातसम्बन्धी विवरण भर्न सक्नेछन्। विद्यालयबाट प्रमाणीकरण भएका विवरण संकलन गरी जिल्लागत एकीकृत प्रतिवेदन आगामी दुई महिनाभित्र विभागमा पठाउन निर्देशन दिइएको छ। संकलित विवरण अध्ययन गरी सामुदायिक विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न आवश्यक कदम चालिने शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन्। मन्त्री पोखरेलका अनुसार कतिपय विद्यालयसँग पर्याप्त जग्गा नभएको र केही विद्यालयको जग्गा अन्य निकायको नाममा वा नियन्त्रणमा रहेको गुनासो प्राप्त भएको छ। कुनै विद्यालयको जग्गा आफ्नै नाममा नभएको वा अन्य निकायको नियन्त्रणमा रहेको पाइएमा आवश्यकताअनुसार मन्त्रिपरिषद्बाट निर्णय गराएर भए पनि विद्यालयलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउने पहल गरिने उनले बताएका छन्। --- Full list of posts: https://newskunda.com/llms.txt