# सुरुङ खनेर डोल्पा कारागारबाट भागेका ८ मध्ये ४ कैदी पक्राउ, ४ अझै फरार Source: https://newskunda.com/archives/5488 Category: अपराध Last updated: 2026-11-04 **काठमाडौँ ।** डोल्पा कारागारबाट सुरुङ खनेर फरार भएका ८ कैदीमध्ये थप दुई जना पक्राउ परेका छन्। शुक्रबार राति कारागारबाट भागेका कैदीमध्ये हालसम्म ४ जना पक्राउ परेका छन् भने ४ जना अझै फरार रहेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालीप्रसाद रोकाया र जाजरकोटको नलगाड नगरपालिका–९ का १९ वर्षीय कैलाश भन्ने कपिल परियार रहेका छन्। उनीहरूलाई त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित रङ गाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुवै जना स्थानीय कमला बुढाको घरमा लुकिछिपी बसेको अवस्थामा फेला परेका हुन्। रोकाया जबरजस्ती करणीसम्बन्धी कसुरमा ८ वर्ष कैद सजाय तोकिएका कैदी हुन् भने परियार चोरीसम्बन्धी कसुरमा ३ वर्ष कैद सजाय भुक्तान गरिरहेका थिए। यसअघि प्रहरीले रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर बिक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम रानालाई पक्राउ गरेको थियो। उनीहरू दुवै जबरजस्ती करणी मुद्दामा जिल्ला कारागार डोल्पामा कैद भुक्तान गरिरहेका थिए। गत शुक्रबार राति डोल्पा कारागारमा सुरुङ खनेर ८ जना कैदी फरार भएका थिए। फरार कैदीमध्ये चार जना पक्राउ परिसकेका छन् भने बाँकी चार जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। --- Full list of posts: https://newskunda.com/llms.txt