# स्थानीय तहको निर्वाचनको तयारीमा जुट्यो आयोग, मंसिर ४ गते छलफलका लागि ६ दललाई निमन्त्रणा Source: https://newskunda.com/archives/5744 Category: FEATURED NEWS, अर्थ, निर्वाचन, राजनीति, समाचार, समाज Last updated: 2026-11-16 काठमाडौं, ३० कात्तिक । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारी थालेको छ। आवश्यक तयारीबारे छलफल गर्नको लागि विभिन्न राजनीतिक दल मंसिर ४ गतेको लागि बोलाएको छ । राष्ट्रिय मान्यता प्राप्त दललाई निर्वाचनबारे छलफलको लागि बोलाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । उनका अनुसार छलफल ११:३० बजे सुरु हुनेछ । समग्र निर्वाचनको तयारीबारे छलफल गर्नको लागि राष्ट्रिय मान्यता प्राप्त दललाई बैठकमा बोलाइएको उनले बताए । अहिले राष्ट्रिय मान्यता प्राप्त दल रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा छन् । प्रवक्ता भट्टराईले नेपाल प्रेससँग भने, ‘स्थानीय निर्वाचन पनि आउँदै छ। छलफलमा यसले पनि प्राथमिकता पाउँछ नै । हामीले निर्वाचनको तयारी अगाडि बढाइसकेका छौँ । त्यसबारे विभिन्न चरणमा छलफल गर्छौँ । अहिले राष्ट्रिय मान्यता प्राप्त दललाई छलफल गर्न बोलाएका हौँ ।’ सरकारसँग निर्वाचनको मिति तोक्नेबारे परामर्श भइरहेको पनि उनले बताए । उनले थपे, ‘स्थानीय तहलाई रिक्त नहुने गरी निर्धारित समयमा चुनाव गराउन आयोग तयार छ । अब मिति सरकारले तोक्ने हो । सरकारले तोकेको मितिमा चुनाव गराउन आयोग सक्षम छ ।’ प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले पनि केही समयअघि आउँदा वैशाखमा स्थानीय तहको कार्यकाल सकिने भएकाले त्यसको वरपर रहनेगरी र संवैधानिक व्यवस्थाअनुसार नै निर्वाचन हुने बताएका थिए । उनले भनेका थिए, ‘हामी आगामी निर्वाचनको तयारीमै छौँ, त्यसो त आयोग सदैव निर्वाचनको तयारीमा रहन्छ नै । निर्वाचनको मिति सरकारले तोक्ने हो, यसरी तोकिएको मितिमा निष्पक्ष एवं विवादरहित ढङ्गबाट निर्वाचन सम्पन्न गर्ने दायित्व आयोगको हो, त्यसमा हामी प्रतिबद्ध छौँ।’ --- Full list of posts: https://newskunda.com/llms.txt