धुलिखेल पुगेर टुङ्ग्यायो एमालेले उम्मेदवारको नामावली
भक्तपुर, ११ बैशाख । आउँदो ३० गते हुने स्थानीय तहको निर्वाचनमा आज धुलिखेल पुगेर नेकपा एमालेले नगर प्रमुख तथा उपप्रमुखको उम्मेदवारी टुङ्ग्याएको छ ।
विशेष गरि सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमि नगरपालिकाका प्रमुख र उपप्रमुखमा निकै रस्साकस्सी परेपछि धुलिखेल पुगेर बसेको बैठकले उम्मेदवारको तय गरेको बैठकमा सहभागि एमालेका एक नेताले जानकारी दिए ।
ती नेताको अनुसार सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकामा एमालेले पुरानै नगर प्रमुखलाई दोहोर्याउने भएको छ । सूर्यविनायक नगरको प्रमुखमा वासुदेव थापा र बालकोट निवासी सरिता भट्टराईलाई उम्मेदार बनाउने निर्णय गरेको हो ।
त्यसैगरि मध्यपुर थिमिमा पनि एमालेबाट मदनसुन्दर श्रेष्ठलाई पुन नगर प्रमुखमा उम्मेदवार बनाउने निर्णय गरेको ती नेताले जानकारी दिए । मध्यपुरथिमिमा भने उत्तरा नेपाललाई उपप्रमुखको उम्मेदवार बनाउने भएको छ ।
यता चाँगुनारायण नगरपालिकामा भने पाँच वर्ष उपप्रमुखको जिम्मेवारी सम्हाल्नु भएकी बिना बास्तोलालाई प्रमुखको उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ । त्यस्तै उपप्रमुखमा रमेश बुढाथोकीलाई उम्मेदवार बनाउने भएको निर्णय गरेको एमालेका नेताले जानकारी दिएका छन् ।
भक्तपुर नगरपालिकामा एमालेले नगर प्रमुखमा रबिन्द्र लाछिमस्यु र उपमेयरमा रञ्जना चापागाई, खर्बुजालाई उम्मेदवार बनाउने भएको छ ।
