भक्तपुर, २५ भदौ : काठमाडौं महानगरपालिकालगायत देशका बिभिन्न नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत र विदेशी पाहुनासहित ७५ जनाको टोलीले आज भक्तपुर नगरपालिकाको ऐतिहासिक सम्पदाहरुको अवलोकन गर्नु भएको छ ।
काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन साह, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोल, जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख राजु सिंह कठायत, उपप्रमुख रामदेवी खड्का, नवलपरासीको रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव र उपप्रमुख सम्झना चौधरी, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ र उपप्रमुख उमा प्रधान, धनकुटाको पाख्रीबास नपाका प्रमुख ज्ञानबहादुर गुरुङ र उपप्रमुख नम्रता गौतम, डडेलधुराको अमरगढी नपाका प्रमुख डिल्लीराज जोशी र उपप्रमुख पार्वती झुकाल र नेपालका लागि अमेरिकाका पूर्वराजदूत स्कट हेनरी डेल्सी र नगर पार्सद सदस्य मोहम्मद हुसेन सरिफ र प्रशासकीय अधिकृतहरुसहितको टोलीले भक्तपुरको दरबार स्क्वायर क्षेत्र, पाँचतले मन्दिर हुँदै पैदल यात्रा गर्दै दत्तात्रय मन्दिर क्षेत्रका सम्पदाहरुको स्थलगत अवलोकन भ्रमण गर्नुभएको छ ।
इन्द्रजात्रा अवलोकन गर्न काठमाडौं आउनुभएका भ्रमण टोलीलाई भक्तपुर नगरपालिकाले आफ्नै नगरपालिका कार्यालयको सभाकक्षमा नगर प्रमुख सुनिल प्रजापतिले भादगाउँले टोपी र उपप्रमुख रजनी जोशीले नगरपालिकाको लोगो अंकित परम्परागत खादा र महिला अतिथिहरुलाई सुर्के थैली उपहारसहित स्वागत गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिका वैज्ञानिक समाजवादप्रति आस्थावान जनप्रतिनिधि कार्यरत रहेको बताउदै भक्तपुरमा मौलिक शैलीमा घर बनाउनेलाई प्रोत्साहनस्वरुप आर्थिक अनुदान प्रदान गर्दै आइरहेको, विकास निर्माणमा जनसहभागिता र सम्पदा संरक्षणमा उल्लेखनीय कार्यहरु गर्दै संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख बाटोतर्फ नगरपालिका अगाडि बढिरहेको बताउनुभयो ।
नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले देख्नुभएको १०० वर्षपछिको भक्तपुरको आधारहरु निर्माण गरिरहेको बताउदै प्रजापतिले जनप्रतिनिधिहरुबीचको अनुभव आदानप्रदानले एक अर्काबाट सिक्दै अगाडि बढ्न ऊर्जा प्राप्त हुनेमा जोड दिनु भयो ।
निर्वाचनका समयमा जनतासँग गरेको बाचा पुरा गर्दै जनतासँग नजिकमा रहेर काम गर्ने स्थानीय सरकारहरुले इमानदारीपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले आत्मनिर्भरतालाई जोड दिएर विदेशीको सहयोगलाई अस्वीकार गर्दै जनताको साथ र सहयोगमा भक्तपुर नगरपालिकाले यहाँका सम्पदाहरुको पुनःनिर्माण एवं जीर्णोद्धार गरिरहेको जानकारी गराउनु भयो ।
कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको संक्षिप्त प्रस्तुतीकरण देखाउदै कला संस्कृतिमा धनी भक्तपुर नगरलाई विश्वकै हेर्न लायक सहरको रुपमा विकास गर्न नगरपालिका लागि रहेको बताउनु भयो ।
त्यसअवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले भक्तपुरको मौलिकता, सम्पदा जगेर्ना र सरसफाईबाट आफू निकै प्रभावित भएको भन्दै ठेक्का पट्टाबाट हुने सम्पदा निर्माण र विकास निर्माणका गतिविधिहरुको नियमित अनुगमन हुनुपर्ने बताउनु भयो । विदेशीको सहयोगले नेपाल बन्दैन भन्ने भक्तपुर ज्वलन्त उदाहरणको रुपमा रहेको बताउदै उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारीकरण बन्द गरि जनताको आधारभूत आवश्यकतामा पर्ने विषयहरुको जिम्मा राज्यले लिनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बिराटनगरका महानपाका प्रमुख नागेश कोइरालाले महानपा र नपाबीचको समन्वय र सहकार्य आगामी दिनहरुमा अझ प्रगाढ र सुमधुर रहने विश्वास व्यक्त गर्दै मूर्त, अमूर्त सम्पदाहरु काठमाडौं उपत्यकाको विशेषता नै रहेको तर भक्तपुर र बिराटनगरबीच कृषि क्षेत्रमा समानता रहेको बताउनुभयो ।
उपप्रमुखको तर्फबाट रामग्राम नपाका उपप्रमुख सम्झना चौधरी र भक्तपुर नपाका वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले नगरपालिकाहरुबीचको सम्बन्ध र उपलब्धी एकअर्कामा परिचित गराउनु पर्नेमा जोड दिनु भयो । सम्पदाको अवलोकन पश्चात नगर प्रमुख प्रजापतिले उहाँहरुलाई प्रसिद्ध मयुर झ्याल र नगरपालिकाका प्रकाशनहरु उपहार स्वरुप प्रदान गर्नुभएको थियो ।