सूर्यविनायक नगरपालिकाको आयोजनामा भएको नगरस्तरीय धिमे बाजा प्रतियोगिता सम्पन्न
भक्तपुर, २४ असोज : नगद रु ७५ हजार पुरस्कार सहित सूर्यविनायक नगरपालिका–१ सिरुटारको नासः धिमे खलःले सूर्यविनायक नगरस्तरीय धिमे बाजा प्रतियोगिता–२०८३ को विजेता बन्न सफल भएको छ ।
आज सूर्यविनायक गणेश मन्दिर परिषरमा सूर्यविनायक नगरपालिकाले आयोजना गरेको धिमे बाजा प्रतियोगितामा नगद पुरस्कार सहित प्रमाण प्रत्र तथा ट्रफी प्राप्त गरेको छ । सूर्यविनायक–१ कै लुनिभा धिमे बाजा खलःले दोश्रो हुदै रु. ५० हजार नगद पुरस्कार सहित प्रमाण प्रत्र तथा ट्रफी प्राप्त गरेको छ ।
प्रतिस्पर्धामा वडा नं १० को सिमलटार बाजा खलले तेस्रो स्थान प्राप्त गर्दै नगद रु २५ हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।  प्रतियोगितामा सहभागि प्रतिस्पर्धी सबै टोलीले धिमे बाजा टोलीलाई नगरपालिकाले नगद पाँच हजार तथा प्रमाणपत्र प्रदान गरेको छ । त्यसैगरी नगर प्रमुखले आफ्नो व्यक्तिगत तर्फबाट सहभागि १० वटा टोलीलाई थप ५/५ हजार प्रदान गर्ने घोषणा पनि गर्नुभएको छ ।
वागमती प्रदेशका मुख्य मन्त्री किरण थापाले उद्घाटन गर्नु भएको थियो । मुख्यमन्त्री थापाले धर्म, संस्कृति र परम्पराको संरक्षण तथा संवद्र्धनमा प्रदेश सरकारले जोड दिँदै आएको बताउनुभयो । उहाँले मौलिक कला र संस्कृतिको संरक्षणका लागि स्थानीय तहबाट गरिने प्रयासमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
विजयी टोलीलाई नगर प्रमुख थापाले पुरस्कार वितरण गर्दै उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बतउनुभयो । उहाँले प्रतियोगितालाई जित–हारको विषयभन्दा पनि मौलिक संस्कृति संरक्षण गर्ने अभियानका रूपमा लिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता तिम्सिना भट्टराईले धिमे बाजा लगायत बिभिन्न परम्परागत कला र संस्कृतिको संरक्षणका लागि नगरपालिकाले यस प्रकारको कार्यक्रमलाई अझै प्रोत्साहन दिने बताउनुभयो । उहाँले यस्तो प्रतियोगिताले परम्परागत संस्कृतिके संरक्षण र पुस्तान्तरणमा टेवा पुग्ने बताउनुभयो ।
कार्यक्रमका सभापति, सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष एवं आर्थिक विकास समितिका संयोजक पुष्पराज बस्नेतले प्रतियोगितामा नगर भित्रका १३ वटा धिमे बाजा टोलीले प्रतिस्पर्धा गरेको बताउनुभयो । यो प्रतियोगिताले परम्परागत नेवारी कला तथा संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको र स्थानीय कला, संस्कृति र मूर्त तथा अमूर्त कलाको संरक्षण हुने बताउनुभयो ।
कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष सानुकाजी कायस्थ र वडा नं. १० का वडाध्यक्ष शिवराम राउतले यस प्रकारको प्रतियोगिताले स्थानीय सांस्कृतिक पहिचानको संरक्षण, परम्परागत बाजाको प्रवद्र्धन तथा नयाँ पुस्तामा मौलिक संस्कृतिप्रति रुचि बढाउन योगदान पु¥याउने अपेक्षा गरिएको बताउनभयो ।  पर्यटन शाखा प्रमुख पुष्पा कुमारी पाण्डेले धिमे बाजाको मौलिकता जोगाउँदै नयाँ पुस्तालाई आफ्नो कला, संस्कृति र परम्पराको संरक्षणमा प्रेरित गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

Disqus comments are not configured yet.

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ सम्पन्न १६ औ वार्षिक साधारण सभा, छैठौ केन्द्रीय अधिवेशनले पत्रकार रमेश गिरी ‘आशा’ को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
मञ्चको उपाध्यक्षमा मकर श्रेष्ठ, सचिवमा अञ्जना शिल्पकार, कोषाध्यक्षमा पुष्कारराज बुढाथोकी, सहसचिवमा ऋषिकेश श्रेष्ठ चयन हुनु भएको छ । मञ्चको सदस्यहरुमा विपिन ढुङ्गाना, संगीता अधिकारी, रत्नकाजी श्रेष्ठ र सृजना खतिवडा चयन हुनु भएको छ ।
अध्यक्ष गिरीले क्रियासिल रहेका पत्रकारहरुको साझा संगठनको रुपमा मञ्चलाई बिस्तार गर्ने र पत्रकारहरुको हकहित एवं अधिकारका सवालमा आवाज उठाउने बताउनुभयो ।
मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान गरेको छ । मञ्चले आज होटल सिटी गाउँ भक्तपुरमा आयोजना गरेको १६ औ वार्षिक साधारण सभा, छैठौ केन्द्रीय अधिवेशन तथा सम्मान कार्यक्रममा मञ्चका अध्यक्ष रमेश गिरीले वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई सम्मान गर्नु भएको हो ।
कार्यक्रममा स्थानीय तहको विकासमा उल्लेख्य योगदान पुर्याए वापत सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालाई र भक्तपर अस्पतालको विकास र समग्र वागती प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सफल वागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमलाई सम्मान गरिएको छ ।
त्यसैगरि भदौ १० गतेको रसुवा भोटेकोशी बाढीमा परेर बेपत्ता भई ज्यान गमाउनु भएका अग्रज पत्रकार एवं नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार टेकराज थामीलाई नगद रु. पाँच हजार सहित प्रदान गरिएको मरणोपरान्त क्रियासिल पत्रकारिता पुरस्कार उहाँकी पत्नी एवं पत्रकार कालिका खड्कालाई प्रदान गरएको छ ।
त्यस्तै भक्तपुरमा रहेर कान्तिपुर टेलिभिजनमा कार्यरत एवं नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारलाई नगद रु. पाँच हजारसहित स्व.लक्ष्मीमाया कासिछ्वा क्रियासिल पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ ।
कार्यक्रममा मुख्यमन्त्री थापाले पत्रकारहरूले गुगलमा उपलब्ध सूचनामा मात्र सीमित नभई भूगोलमै पुगेर वास्तविकता बुझेर मात्रै समाचार लेख्नु पर्ने बताउनुभयो । देशको विकास र समृद्धिमा पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै उहाँले जनप्रतिनिधिलाई खबरदारी गर्ने, विकृति उजागर गर्ने र यथार्थपरक समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।
वागमती प्रदेश सरकारले संघीय सरकार र स्थानीय तहसँग समन्वय गरी विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनाको काम अघि बढाइरहेको बताउनुभयो । उहाँले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रदेश सरकारले पाँचवटा झोलुङ्गे पुल र दुईवटा बेलीब्रिज निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाएको बताउनुभयो ।  मुख्यमन्त्री थापा मगरले बागमती प्रदेशका ९१ प्रतिशत नागरिकका घरमा खानेपानी पुगेको र प्रत्येक वडाको केन्द्रसम्म सडक पहुँच विस्तार भएको बताउनुुभयो ।
प्रदेश सरकारले गरेका कामको पर्याप्त प्रचारप्रसार हुन नसकेको चर्चा गर्दै उहाँले संघीयतालाई कार्यकर्ता व्यवस्थापन गर्ने माध्यमका रूपमा मात्र चित्रण गर्ने भाष्यलाई चिर्न आवश्यक रहेको बताउनुभयो । उहाँले तीनै तहका सरकारबीच समन्वय र सहकार्यमा बाढी प्रभावित क्षेत्रको पुर्ननिर्माणमा जुट्नु पर्ने बताउनुभयो । भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेको भन्दै त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
वागमती प्रदेशका स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले वागमती प्रदेशले पत्रकारहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यबस्था गरेको बताउँदै त्यसका लागि पत्रकार महासंघको सिफारसि भए पुग्ने बताउनुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिका नगर प्रमुख वासुदेव थापाले समाचार संकलन गर्दा र लेख्दा पत्रकारले दलगत स्वार्थमा नभई निष्पक्ष रुपमा समाचार सम्प्रेषढा गर्नु पर्ने औल्याउनुभो । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले सूर्यविनायकको विकासमा विगत १० वर्षमा ठूलो फड्को मारेको बताउनुभयो ।
कार्यक्रममा क्रियासिल पत्रकार मञ्चको अध्यक्ष रमेश गिरी, उपाध्यक्ष मकर श्रेष्ठ, कोषायध्यक्ष एवं कार्यक्रम संयोजक पुष्कर राज बुढाथोकी, सचिव अञ्जना शिल्पकारले पत्रकारको समग्र विकास, पहिचान र अधिकारका लागि मञ्च सक्रिय रहदै आएको बताउनुभयो ।
एकीकृत प्रारम्भिक प्रतिवेदन आज मुख्यमन्त्री किरण थापा मगरसमक्ष पेस

हेटौँडा, २२ असोज । रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ल्हेन्दे, भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढी तथा पहिरोले पु¥याएको क्षतिबारे बागमती प्रदेश सरकारले तयार पारेको एकीकृत प्रारम्भिक प्रतिवेदन आज मुख्यमन्त्री किरण थापा मगरसमक्ष पेस गरिएको छ । आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयका प्रदेश सचिव महेश भट्टराईले उक्त विस्तृत प्रतिवेदन मुख्यमन्त्रीसमक्ष हस्तान्तरण गर्नुभएको हो ।

प्रतिवेदनअनुसार बाढी र पहिरोका कारण मानवीय तथा भौतिक पूर्वाधारका क्षेत्रमा अभूतपूर्व क्षति पुगेको छ। बाढीका कारण हालसम्म १,४५५ जनाको ज्यान गइसकेको छ भने ५,२८५ जना नागरिक अझै बेपत्ता रहेका छन् ।

घाइते भएकामध्ये ३४४ जनाको अस्पतालमा उपचार भइरहेको छ। बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय प्राविधिकसहित २० हजार ४७७ जनशक्ति उद्धारमा खटिएका छन्, जसको तत्परताले १३ हजार ७९५ जनाको सकुशल उद्धार गर्न सफलता मिलेको छ ।

अविरल बाढी र पहिरोले २ हजार ३०० वटा निजी आवास पूर्ण रूपमा ढालेको छ वा बगाएको छ भने २६९ वटा घरमा आंशिक क्षति पुगेको छ । यसबाट २ सय ३०० भन्दा बढी परिवार पूर्ण रूपमा विस्थापित बनेका छन्। विस्थापितमध्ये १ हजार ८५ जना नागरिकलाई हाल अस्थायी शिविरहरूमा राखिएको छ ।

बाढीका कारण १०२ जना बालबालिकाले आफ्ना बाबुआमा गुमाएका छन् । होल्डिङ सेन्टरहरूमा २४६ बालबालिका र १६९ ज्येष्ठ नागरिक आश्रय लिइरहेका छन् । उनीहरूलाई राहतसँगै ३८ वटा केन्द्रमार्फत मनोसामाजिक परामर्श र संरक्षण सेवा प्रदान भइरहेको छ ।

पूर्वाधारतर्फ मात्रै अर्बौँको क्षति

भौतिक पूर्वाधार क्षेत्रमा पुगेको क्षतिको प्रारम्भिक मूल्याङ्कन अनुसार :

सडक र पुलः ३४ वटा मोटरेबल पुल तथा ५१ वटा झोलुङ्गे पुल पूर्ण रूपमा बगेका वा भत्किएका छन्। ३.५ किलोमिटर कालोपत्रे सडक र १४ वटा सरकारी भवन ध्वस्त भएका छन् ।
शैक्षिक संस्था : १२ वटा विद्यालयका ३५ भवन र ३१७ कक्षाकोठा पूर्ण रूपमा भत्किँदा ९ हजार २४८ विद्यार्थीको पठनपाठन ठप्प भएको छ ः १८ वटा विद्यालयमा आंशिक क्षति पुगेको छ ।

स्वास्थ्य क्षेत्र : ६ वटा सरकारी र ७ वटा निजी स्वास्थ्य संस्था एवं औषधि पसल पूर्ण रूपमा पछाडिएका छन् ।
खानेपानी र सिँचाइः ५५ वटा खानेपानी आयोजना र ४४ वटा सिँचाइ कुलोमा क्षति पुग्दा हजारौँ घरधुरी खानेपानी र सिँचाइ सुविधाबाट वञ्चित भएका छन् ।
उद्योग, व्यापार र कृषि क्षेत्र धराशायी
उद्योग तथा व्यवसाय : ३०० वटा घरेलु तथा साना उद्योग, ६७ वटा व्यापारिक पसल र ३० वटा गोदाम क्षतिग्रस्त हुँदा रु. २९७ करोडभन्दा बढीको क्षति भएको छ भने १ हजार ७०० भन्दा बढी श्रमिकको रोजगारी गुमेको छ ।
कृषि तथा पशुधन :९७३ हेक्टर खेतीयोग्य जमिन प्रभावित भएको र ४७१ हेक्टरको बालीनाली पूर्ण नष्ट भएको छ । ७०२ वटा ठूला पशु, २ हजार १२३ वटा साना पशु र १ लाख ३४ हजार कुखुरा तथा पन्छी मरेका छन् ।
सञ्चार र बैङ्किङ : १९८ वटा सञ्चार टावरमा क्षति पुगेकोमा १९३ टावर पुनः सञ्चालनमा ल्याइएको छ । १७ बैङ्क शाखा र ९ एटीएममा क्षति पुग्दा २ हजार १२५ कर्जा खाता जोखिममा परेका छन् ।

प्रमुख क्षेत्रमा भएको रकम मूल्याङ्कन (प्रारम्भिक अनुमान) :

सडक, पुल र सरकारी भवनः रु. ५६९.०७ करोड
विद्यालय भवन तथा पूर्वाधारः रु. ४९८.६२ करोड
उद्योग तथा व्यापारिक पसलः रु. २९७.१२ करोड
खानेपानी तथा सिँचाइः रु. ५२.६९ करोड
कृषि, पशुधन र फार्मः रु. २८.५९ करोड

प्रदेश सरकारका निर्णय र पुनर्निर्माण रणनीति :

विपद्पछिको अवस्थालाई सम्बोधन गर्न बागमती प्रदेश सरकारले प्रभावित १२ वटा स्थानीय तहलाई रु. २.५० करोड अनुदान र थप जोखिम रोकथामका लागि नौकुण्डलाई रु. ४० लाख तथा गोसाइकुण्डलाई रु. २५ लाख उपलब्ध गराएको छ। मृतकका परिवारलाई तत्काल राहत स्वरूप प्रतिमृतक रु. २५ हजारका दरले पहिलो किस्ता पठाइएको छ ।
पुनर्निर्माणका लागि सङ्घीय सरकारसँग रु. १ अर्ब अनुदान माग गर्ने निर्णय भएको छ । साथै, बजेट रकमान्तरका लागि अर्थमन्त्रीको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरिएको छ भने प्रदेशका जनप्रतिनिधि तथा कर्मचारीहरूले ५ देखि १५ दिनसम्मको पारिश्रमिक विपद् कोषमा जम्मा गर्ने निर्णय भएको छ ।

प्रतिवेदन बुझ्दै मुख्यमन्त्री किरण थापा मगरले प्रभावित नागरिकको सुरक्षित पुनर्वहाली, स्वास्थ्य सेवा, र प्रदेश नीति तथा योजना आयोगको समन्वयमा दिगो पुनर्निर्माण योजना बनाएर यथाशीघ्र काम अघि बढाउन निर्देशन दिनुभएको छ ।

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अब पुर्नस्थापना र पुनर्निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्छ : मुख्यमन्त्री किरण थापा

हेटौँडा, २२ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपद्का कारण ठूलो धनजनको क्षति भएको अवस्थामा अब उद्धार र राहतपछि पुनस्र्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्न निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री कार्यालयस्थित प्रदेश सुशासन केन्द्र, हेटौँडाको सभाहलमा आज आयोजित बागमती प्रदेशको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयगत विकास समस्या समाधान समितिको बैठकमा धारणा राख्दै मुख्यमन्त्री थापाले विपद्पछिको पुनर्निर्माणका लागि आवश्यक स्रोत व्यवस्थापन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले प्रदेशमा भएको विपद्का कारण ठूलो धनजनको क्षति हुनुका साथै धेरै नागरिक बेपत्ता भएको उल्लेख गर्दै बेपत्ता व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्तिको प्रक्रिया अघि बढाउने विषयमा संघीय सरकारबाट निर्णय भइसकेको जानकारी दिनुभयो ।

संघीय क्याबिनेटबाट बेपत्ता भएका व्यक्तिहरूको राहत तथा क्षतिपूर्तिका लागि ४५ दिनभित्र प्रक्रिया अघि बढाउने निर्णय भएको बताउँदै मुख्यमन्त्री थापाले प्रदेश सरकारले पनि विपद्का कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरिसकेको जानकारी दिनुभयो। उहाँले उद्धार, उपचार तथा खाद्यान्न वितरणको काम सम्पन्न भइसकेकाले अब पुनस्र्थापना र पुनर्निर्माणलाई केन्द्रमा राखेर काम अघि बढाउनुपर्ने बताउनुभयो। “उद्धार, उपचार र खाद्यान्न वितरणको काम सम्पन्न भइसकेको छ। अब आन्तरिक मामिला मन्त्रालयको संयोजकत्वमा पुनस्र्थापना र पुनर्निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्छ,” मुख्यमन्त्री थापाले भन्नुभयो।

बजेटको सीमा रहेकाले विपद् प्रभावित क्षेत्रको पुनस्र्थापनाका लागि आवश्यक स्रोत व्यवस्थापन गर्न अन्य मन्त्रालयका गैरप्राथमिक कार्यक्रम तथा बजेट कटौती गरेर प्रभावित क्षेत्रमा परिचालन गर्न सकिने उहाँले बताउनुभयो। “बजेटको सीमा छ, त्यसैले गैरप्राथमिक कार्यक्रम वा बजेट कटौती गरेर भए पनि विपद् प्रभावित क्षेत्रको पुनस्र्थापनामा स्रोत परिचालन गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

मुख्यमन्त्री थापाले राजनीतिक नेतृत्व अस्थायी भए पनि कर्मचारी संयन्त्र स्थायी सरकार भएकाले प्रदेशको सेवा प्रवाह र विकास निर्माणमा कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। उहाँले सम्पूर्ण कर्मचारीलाई इमानदारी, जिम्मेवारीबोध र कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन दिनुभयो। कानुन, ऐन वा कार्यविधिका कारण काम गर्न समस्या देखिए त्यसलाई सरकारले आवश्यक प्रक्रिया पूरा गरी समाधान गर्ने उहाँको भनाइ थियो। “राजनीतिक नेतृत्व अस्थायी हुन्छ, कर्मचारी संयन्त्र नै स्थायी सरकार हो। त्यसैले सेवा प्रवाह र मन्त्रालयको प्रगतिमा कर्मचारीको भूमिका महत्वपूर्ण हुन्छ। इमानदारी र जिम्मेवारीबोधका साथ काम गर्नुपर्छ,” मुख्यमन्त्री थापाले भन्नुभयो।

कार्यविधि वा ऐन–कानुनका कारण काम अघि बढाउन समस्या भए सरकार त्यसलाई संशोधन वा नयाँ कानुन निर्माणमार्फत समाधान गर्न तयार रहेको उहाँले बताउनुभयो।

मुख्यमन्त्री थापाले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने विषयलाई पनि प्राथमिकतामा राख्न निर्देशन दिनुभएको छ। समस्याग्रस्त सहकारीको सम्पत्ति लिलाम गरी बचतकर्ताको रकम फिर्ता गराउने प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो।

सहकारी सञ्चालक वा अन्य कुनै पक्षको दबाब तथा प्रभावमा नपरी कानुनअनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिँदै उहाँले विगतका साझा सहकारी संघ–संस्थाको सम्पत्तिको समेत यकिन गरी प्रदेश मातहत ल्याउने र व्यवस्थित गर्ने प्रक्रिया अघि बढाउनुपर्ने बताउनुभयो। “सहकारी सञ्चालक वा कसैको दबाब र प्रभावमा नपरी कानुनअनुसार निर्धक्क भएर काम गर्नुपर्छ। बचतकर्ताको रकम फिर्ता गराउने विषयमा सरकार गम्भीर छ,” मुख्यमन्त्री थापाले भन्नुभयो।

बैठकमा मुख्यमन्त्री थापाले चाडपर्वको समयमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको चापलाई ध्यानमा राख्दै चोरी, डकैती नियन्त्रण तथा ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन निर्देशन दिनुभयो। लामो दूरीका सवारीसाधनमा चालकले अनिवार्य रूपमा पालो फेर्ने व्यवस्था लागू भएको छ वा छैन भन्ने विषयमा कडाइका साथ अनुगमन गर्न उहाँले सम्बन्धित निकायलाई निर्देशन दिनुभयो।

त्यस्तै, सवारी चालकले लागुऔषध सेवन गरी सवारी चलाउने अवस्था रोक्न स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा पर्याप्त परीक्षण किट तथा आवश्यक प्राविधिक जनशक्ति, विशेषगरी ल्याब टेक्निसियनको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो। लागुऔषध सेवन गरी सवारी चलाउने चालकको चालक अनुमतिपत्र खारेज गर्ने र त्यसबारे सार्वजनिक सूचना प्रकाशन गर्ने गरी आवश्यक कानुनी व्यवस्था गर्नुपर्नेमा पनि मुख्यमन्त्री थापाले जोड दिनुभयो।

बागमती प्रदेशमै फोरेन्सिक ल्याब स्थापना भइसकेकाले लागुऔषध सेवन तथा अन्य आपराधिक घटनासँग सम्बन्धित अनुसन्धानमा समेत सहज हुने मुख्यमन्त्री थापाले बताउनुभयो। उहाँका अनुसार फोरेन्सिक ल्याबबाट लागुऔषध तथा अन्य मुद्दासँग सम्बन्धित परीक्षणको ल्याब रिपोर्ट १५ दिनभित्रै प्राप्त हुने व्यवस्था भएकाले अनुसन्धान प्रक्रियालाई थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ।

बैठकको अध्यक्षता आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका सचिव महेश भट्टराईले गर्नुभएको थियो। बैठकमा प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. दीपकविक्रम थापा क्षेत्री, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी दीपक रेग्मी, सञ्चार रजिस्ट्रार रेवती सापकोटा, सशस्त्र प्रहरीका डीएसपी प्रकाश पौडेललगायतको सहभागिता रहेको थियो।

बैठकमा वार्षिक प्रगति तथा मन्त्रालयगत विकासका समस्या र समाधानका विषयमा महाशाखा प्रमुख पदम ओझाले प्रस्तुतिकरण गर्नुभएको थियो। बैठकमा प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा निकायका प्रगति, समस्या, चुनौती र आगामी कार्यदिशाबारे छलफल भएको थियो।

परमेश्वरको मण्डलीद्वारा भोटेकोशी बाढीपीडितलाई आपत्कालीन राहत

– नारायण थापा

नुवाकोट, २२ असोज । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका बासिन्दाका लागि आपत्कालीन राहत सामग्री सहयोग गरेको छ।

मण्डलीले बाढीपीडितका लागि नुवाकोटको विदुरस्थित जिल्ला प्रशासन कार्यालयमार्फत राहत सामग्री हस्तान्तरण गरेको हो। राहत सामग्रीमा १५ हजार २५० किलो चामल, ६ हजार १२५ किलो दाल र २ हजार लिटर खाने तेल रहेका छन्।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत होमनाथ दाहालले परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले आज बाढीबाट प्रभावित परिवारको लागि आज राहत स्वरुप चामल, दाल र तेल हस्तान्तरण गर्नुभएको छ । हाल दशैको समयमा खाद्यान्न अभाव भएको उचित समयमा राहत वितरण गर्नुभएको छ । राहत वितरण गर्न यहाँसम्म आउनुभएको सबै परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका सबै सदस्यहरुलाई धन्यवाद दिनुभयो ।

यस्तैगरी कार्यक्रममा पुर्वधार विकास कार्यालय नुवाकोटका इन्जिनियर रबिन खातीले परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले आज बाढी पिढितका लागि खाद्यान्न ल्याउनुभएको छ, यसले खाद्यान्नको अभाव भएको यस जटिल अवस्थामा राहत वितरण गर्नुभएकोमा मणडलीलाई धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष निलम बाबु ढुङ्गेलले परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले आपत्कालिन अवस्थामा राहत आएको थियो हाल दाताहरुको कमिले खाद्यान्नको चरम अभाव भएको अवस्थामा तपाईहरुले आज खाद्यान्न ल्याईदिनुभयो । आज मात्र नभएर अन्य समयमा पनि सहयोगको अपेक्षा राखेका छौ आउने दिनहरुमा हाम्रो नगरपालिका र वडाको तर्फबाट गर्नुपर्ने सहयोगहरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बाढीबाट प्रभावित परिवारको दैनिक जीवनयापनमा सहयोग पुर्‍याउने तथा खाद्य आवश्यकतालाई केही हदसम्म सम्बोधन गर्ने उद्देश्यले राहत सामग्री उपलब्ध गराइएको मण्डलीले जनाएको छ।

गत भदौ १० मा आएको भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोटलगायत नदी तटीय क्षेत्रमा मानवीय तथा भौतिक क्षति भएको थियो। बाढीका कारण घर, सडक, पुल तथा अन्य आधारभूत संरचनामा क्षति पुगेको थियो। सरकारको प्रारम्भिक सर्वेक्षणअनुसार करिब ७ हजार ५७० घरमा क्षति पुगेको र करिब ३२ हजार ९०० जना प्रभावित भएको उल्लेख गरिएको छ।

मण्डलीका अनुसार उक्त राहत सहयोग जलवायु उत्थानशीलताका लागि सञ्चालन भइरहेको ‘द्यगष्मि ज्यउभ१’ अभियानअन्तर्गत गरिएको हो। अभियानले बाढी, भारी वर्षा, अत्यधिक गर्मीलगायत जलवायुजन्य विपद्बाट प्रभावित समुदायलाई तत्काल सहयोग गर्नुका साथै विपद्को जोखिम न्यूनीकरण र स्थानीय समुदायको जलवायु उत्थानशीलता बढाउने उद्देश्य राखेको छ।

मण्डलीका एक प्रतिनिधिले विपद्का कारण परिवार तथा जीवनयापनको आधार गुमाएर कठिनाइमा रहेका प्रभावितप्रति सहानुभूति व्यक्त गर्दै राहत सहयोगले उनीहरूको दैनिक जीवन पुनःस्थापना गर्न केही भए पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे। आगामी दिनमा पनि स्थानीय समुदायसँग सहकार्य गर्दै विपद्बाट प्रभावित नागरिकलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता उनले जनाए। राहत सामग्री हस्तान्तरण कार्यक्रममा सहभागी मण्डलीका विश्वासीहरूले पनि बाढीपीडितहरू छिट्टै सामान्य दैनिक जीवनमा फर्कन सकून् भन्ने कामना गरेका थिए।

परमेश्वरको मण्डलीका विश्वासीहरूले नेपालमा यसअघि पनि आपत्कालीन राहत, रक्तदान, वातावरण सरसफाइ तथा पुनःस्थापनालगायत विभिन्न सामाजिक सेवाका गतिविधि सञ्चालन गर्दै आएको जनाइएको छ। सन् २०१५ को विनाशकारी भूकम्पका समयमा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गर्नुका साथै प्रभावित क्षेत्रको पुनःस्थापना र भूकम्पबाट क्षतिग्रस्त विद्यालयहरूको पुनर्निर्माणमा समेत सहयोग गरेको मण्डलीको भनाइ छ।

मण्डलीका अनुसार नेपालमा हालसम्म ७२ हजार ६८८ जनाले १ हजार ८४ वटा सामाजिक सेवाका गतिविधिमा सहभागिता जनाएका छन्। मानवीय तथा सामाजिक सेवाका गतिविधिका लागि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, बुढानीलकण्ठ नगरपालिका, नेपाल रेडक्रस सोसाइटीलगायत विभिन्न निकायबाट प्रशंसा तथा कदरपत्र प्राप्त भएको पनि मण्डलीले जनाएको छ।

मण्डलीले बागमती प्रदेशका भरतपुर र काठमाडौं, कोशी प्रदेशको सुन्दरहरैंचा, लुम्बिनी प्रदेशको नेपालगन्ज तथा कर्णाली प्रदेशको वीरेन्द्रनगरलगायत विभिन्न स्थानमा वातावरण सरसफाइ तथा समुदाय केन्द्रित सेवामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ। त्यसैगरी स्थानीय समुदायमा रगतको अभाव कम गर्न नियमित रक्तदान कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ।

मण्डलीका अनुसार ‘निस्तार(चाडको प्रेम, जीवन बचाउने प्रेम विश्वव्यापी रक्तदान कार्यक्रम’ अन्तर्गत नेपालमा हालसम्म ५४ पटक बृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको छ।

परमेश्वरको मण्डलीको स्थापना सन् १९६४ मा दक्षिण कोरियामा भएको हो। मण्डलीका अनुसार विश्वका १७५ राष्ट्रका ७ हजार ८०० भन्दा बढी क्षेत्रमा करिब ४० लाख विश्वासी रहेका छन्। मण्डलीले सामाजिक सेवा, वातावरण संरक्षण, रक्तदान तथा विपद् राहतलगायत क्षेत्रमा विश्वव्यापी रूपमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।
मण्डलीका अनुसार यस्ता सामाजिक तथा मानवीय सेवाका लागि विभिन्न देशका सरकारी तथा गैरसरकारी निकायबाट ६ हजार २०० भन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त भएका छन्।

मन्त्री तामाङद्धारा दशैं रमाइलो महोत्सव –२०८३ को उद्घाटन, सल्लाघारीमा भव्य रुपमा सुरु भयो, दशै मेला
भक्तपुर, २२ असोज  : वागमती प्रदेशका विना विभागिय मन्त्री ज्ञानबहादुर तामाङले आजबाट भक्तपुरको सल्लाघारीमा सुरु भएको दशैं रमाइलो महोत्सव–२०८३ को उद्घाटन गर्नु भएको छ ।
सल्लाघारीस्थित नेपाल ट्रष्टको चौरमा आयोजना गरेको मेलाको उद्घाटन गर्दै उहाँले दशै तिहार नजिकिदै गर्दा कालो बजारी बढ्ने भएकाले मेलामा सर्वुसुलभ रुपमा सामान उपलब्ध गराउनु पर्ने बताउनुभयो । उहाँले स्थानीय तथा महोत्वले स्थानीय उद्योग, घरेलु उत्पादन र कला संस्कृतिको प्रबद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका बलराम श्रेष्ठले ‘दसैँ रमाइलो महोत्सव–२०८३’ असोज ३० गतेसम्म सञ्चालन हुने बताउदै ७० वटा स्टल रहेको मेलामा गुणस्तरीय खाद्यान्न र लत्ता कपडा आम उपभोक्ताका लागि सहज, सर्वसलुभ रुपमा उपलब्ध गराएको बताउनुभयो ।
मेला आयोजक समितिका संयोजक संगम लामाले एक लाख भन्दा बढी उपभोक्ताले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको बताउदै मेलामा दैनिक जीवनमा प्रयोग हुने खाद्यान्न, लत्ता कपडासंगै अटोमोबाइल, जुत्ता–चप्पल, कृषि तथा हस्तकलाका सामग्रीलगायतका बिभिन्न वस्तुहरुको प्रदर्शनी तथा बिक्रीका लागि राखिएको बताउनुभयोे ।
मनोरञ्जनका लागि मेलामा बाल उद्यान, रोटेपिङ, झुला, नाउ, मिनी बञ्जी जम्प, वाटर बल, मिकी माउस, ट्राम्पोलिनलगायतका बिभिन्न खेल तथा मनोरञ्जनका सामग्री राखिएको बताउदै उहाँले दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, हास्यव्यङ्य र गीत–गायन तथा नृत्य प्रतियोगिता रहेको बताउनुभयो ।
मेलाले भक्तपुरको आन्तरिक पर्यटनको विकास हुनुका साथै स्थानीय उत्पादन, व्यापार, कला–संस्कृति तथा पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको संयोजक लामाले बताउनुभयो ।
काँग्रेस महाधिवेशनमा केन्द्रीय सदस्यमा महेश श्रेष्ठको उम्मेदवारी

काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा आज मतदान प्रक्रिया सुरु हदैछ । काठमाडौं यतिखेर नेपाली काँग्रेसको महाधिवेशनको रौनक निकै थपिएको छ । जारी केन्द्रीय महाअधिवेशनमा नेपाली काँग्रेस भक्तपुरका पूर्वसभापति महेश श्रेष्ठले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

पाटीको लामो समयको अनुभव र नेपाली काँग्रेसलाई एक ढिक्का बनाएर देशको ठूलो प्रजातान्त्रिक शक्ति बनाएर लैजाने अभियानमा श्रेष्ठको सक्रियता जारी रहेको छ ।
भक्तपुरका सिंगो काँग्रेसका महाधिवेशन प्रतिनिधि साथ पाएका श्रेष्ठलाई देशभरका प्रतिनिधिहरुको साथ र समर्थन रहने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

भक्तपुरको मध्यपुरथिमिमा २०१३ सालमा जन्मनु भएका नेता महेश श्रेष्ठले कानूनमा स्नातक तह उतीर्ण गर्दै २०३१ सालमा नेविसंघबाट राजनीतिक यात्रा सुरु गरेका हुन् ।

२०३५ देखि २०३६ को जनआन्दोलनमा सक्रिय, २०३६ सालको जनमत संग्रहमा बहुदल प्रचार समिति सदस्य, २०४२ मा सत्याग्रहमा ६ महिना जेल, २०४३ देख २०४६ सम्म नेपाली काँग्रेसको आउट पोष्ट कब्जा नीति अन्तर्गत जिल्ला पञ्चायत भक्तपुरको सदस्य, २०४३ देखि २०४९ सम्म नेपाली काँग्रेस जिल्ला समिति सदस्य, २०५३ देखि २०५६ सम्म निर्वाचित जिल्ला सदस्य एवं संगठन शाखा संयोजक, २०५६ देखि २०५८ सम्म भक्तपुर क्षेत्र नं. २ को क्षत्रीय सभापति, २०५७ नेपाली काँग्रस जिल्ला सचिव, २०६२ मा आन्दोलनकै क्रममा ४५ दिन थुनामा, २०६२ मा ११ औ अधिवेशनबाट नेपाली काँग्रेस जिल्ला सभापति, २०७० नपाली काँग्रेस केन्द्रीय संगठन विभाग सदस्य रहदै आएका छन् ।

बिभिन्न सामाजिक क्षेत्रमा समेत क्रियासिल रहदै आएका श्रेष्ठ समाजसेवीहरुका रुपमा समेत चिनिएका छन् । नेपाली काँग्रेसको जारी १५ औ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार रहेका श्रेष्ठले महाधिवेशन प्रतिनिधिहरुसंग आफ्ना लागि मत माग्दै प्रचारमा लाग्नु भएको छ ।

 

जनस्वास्थ्य कार्यालय भक्तपुरद्वारा वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

भक्तपुर, २० असोज । जनस्वास्थ्य कार्यालय, भक्तपुरले आ.व. २०८२÷०८३ मा सम्पन्न विभिन्न स्वास्थ्य कार्यक्रमहरूको मूल्याङ्कन तथा आगामी वर्षका योजना निर्धारणका उद्देश्यले आयोजित दुईदिने जिल्ला स्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।

यही असोज १९ र २० गते सूर्यविनायक नगरपालिकाको हलमा आयोजना भएको गोष्ठीको १९ गते जिल्ला समन्वय समिति भक्तपुरका कार्यबाहक प्रमुख सुजाता बाडेले उद्घाटन गर्नु भएको थियो । उहाँले दुईदिने गोष्ठीमा सहभागि जिल्लाका स्वास्थ्य संस्थाहरुले गरेका प्रगति, चुनौती र सुधार गर्नु पर्ने विभिन्न विषयलाई प्रसस्तुत मात्रै नगरी घनिभूत छलफल गरि निचोडमा पुग्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले दुई गोष्ठीले प्रगति समिक्षाका साथै स्वासथ्य सेवा प्रवाहमा आएका चुनौती र समस्याको पहिचान गरी जनताको सेवामा कसरी सहजता ल्याउँन सकिन्छ भन्नेबारेमा समेत छलफल गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा वागमती प्रदेश जनस्वास्थ्य अधिकृत सतिश विष्ट, प्रदेशका स्वास्थ्य निर्देशनालय तथा योजना अधिकृत बिएस शाह, जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्काले दुई दिने गोष्ठीमा जिल्लाका स्वास्थ्य सेवा र कार्यको मूल्यांकन, सम्पादन गर्नुका साथै आएका समस्या समाधानको बाटो समेत पहिल्याउने बताउनुभयो ।
पहिलो दिन उद्घाटन सत्र पछि सुरु भएको प्रस्तुतीकरणमा जिल्लाका बिभिन्न स्वास्थ्य संस्थाहरुले एक वर्षभरि गरेका कार्य प्रगतिको समिक्षा तथा कार्य सम्पादनकाबारेमा छलफल गरिएको थियो ।

दोश्रो दिन असोज २० गते अघिल्लो दिन बाँकी भएका स्वास्थ्य संस्थाहरुले गत आर्थिक वर्षको साउनदेखि असारसम्म भएका कामको प्रगति विवरण प्रस्तुत गर्नुका साथै समिक्षा गरिएको थियो ।

कार्यक्रममा जिल्लाका चार पालिकाहरु भक्तपुर, सूर्यविनायक, मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकाका बिभिन्न स्वास्थ्य संस्थाहरुले सेवा प्रवाहका क्रममा भएको प्रगति, उपलब्धि, चुनौती र आगामी योजना सम्बन्धी प्रतिवेदनहरू प्रस्तुत गरेका थियो । सहभागीहरूबाट स्वास्थ्य सेवा सुदृढीकरण, औषधि आपूर्ति प्रणाली, सेवा प्रवाह, स्थानीय तहबीच सहकार्य तथा समन्वयका विषयमा छलफल भएको थियो ।

दोस्रो दिनमा अस्पताल सेवा सुधार, पोषण तथा सरसफाइ कार्यक्रम, स्वास्थ्य बीमा विस्तार र आगामी वर्षका प्राथमिकताका कार्यक्रमहरू विषयमा समूहगत छलफल तथा कार्ययोजना निर्माण गर्नुका साथै प्र्रत्येक समूहले आफ्ना निष्कर्ष र सिफारिसहरू प्रस्तुत गरेका थिए ।

समापन कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख बाडेले दुई गोष्ठीले भक्तपुरको समग्र स्वास्थ्य संस्थाले जनताको सेवालाई प्रभावकारी रुपमा अगाडि बढाउन निष्कर्षमा पुगेको बताउनुभयो । उहाँले आएका समस्यालाई समाधान गर्दै अगाडि जानु पर्ने औल्याउनु भयो ।

कार्यक्रममावागमती प्रदेश जनस्वास्थ्य अधिकृत सतिश विष्ट, प्रदेशका स्वास्थ्य निर्देशनालय तथा योजना अधिकृत बिएस शाहले प्रदेश सरकारको नीति अनुसार सेवा प्रवाहलाई प्रभावकारी बनाउनु पर्ने बताउदै कुनै समस्या भए समाधानमा लाग्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ भक्तपुरका सभापति सुन्दर शिल्पकारले स्वास्थ्य सेवाको सहज पहुँचमा आमनागरिक पुग्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा जनस्वास्थ्य कार्यालयकी प्रमुख अञ्जना खड्काले विगत वर्षका उपलब्धिहरूलाई निरन्तरता दिन र चुनौतीहरू समाधान गर्न सबै तहका स्वास्थ्यकर्मी, स्थानीय सरकार तथा साझेदार संस्थाबीच सहकार्य आवश्यक रहेको बताउनु भयो ।

उहाँले सोही आधारमा जनस्वास्थ्य कार्यालयले आगामी वर्षका योजनाहरूमा सुधार र प्राथमिकता निर्धारण गर्ने बताएको छ । कार्यक्रममा चार वटै नगरपालिकालाई सम्मान पत्र प्रदान गरि सम्मान गरिएको थियो भने सहभागि लगायत अतिथिहरुलाई मायाको चिनो प्रदान गरि विदाई गरिएको थियो ।

चाँगुनारायण नगरपालिका स्वास्थ्य शाखालाई सरकारी स्वास्थ्य संस्थाहरुमा नियमित न्यूनतम सेवा मापदण्ड पूर्ण रुपमा कार्यान्वयन गरेवापत, मध्यपुरथिमि नगरपालिकालाई ज्येष्ठ नागरिक स्वास्थय कार्याक्रम सञ्चालन गरे वापत, सूर्यीवनायक नगरपाकिालाई मार्त स्वासथ्य कार्यक्रम सुदेढिकरणका लागि घुम्ती ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम सञ्चालन गरेवापत र भक्तपुर नगरपाकिालाई रोगको समयमै पहिचान, रोकथाम र उपचारमा सहयोग गर्न घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेवापत कार्यालयले सम्मान गरेको हो ।

कांग्रेस भक्तपुरका नेता एवं वरिष्ट समाजसेवी अष्टकुमार कवेंलाई केन्द्रीय सदस्यमा विजयी गराउन नेताहरु सक्रिय

===================================================

राजनीतिको साथै नेपाल लोकतान्त्रिक खेलकुद संघ वागमती प्रदेशको अध्यक्ष समेत रहनु भएका कवेँले खेलकुदको विकास, शिक्षाको विकास, स्वास्थ्य, र कृषि क्षेत्रको विकासमा सक्रिय रहदै समाजसेवीमा समेत निरन्तरता दिदै आउनु भएको छ।

===================================================

काठमाडौं २० असोज । काठमाडौंमा जारी नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा नेपाली कांग्रेसका नेता अष्ट कुमार कवेंले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनु भएको छ । भक्तपुरबाट महाधिवेशन प्रतिनिधि रहनु भएका वरिष्ट समाजसेवी कवेंले लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय रहदै आउनु भएको छ ।

राजनीतिको साथै नेपाल लोकतान्त्रिक खेलकुद संघ वागमती प्रदेशको अध्यक्ष समेत रहनु भएका कवेँले खेलकुदको विकास, शिक्षाको विकास, स्वास्थ्य, र कृषि क्षेत्रको विकासमा सक्रिय रहदै समाजसेवीमा समेत निरन्तरता दिदै आउनु भएको छ।

२०७२ सालको भूकम्पमा आफ्नै निजी रकमले सयौ पीडितलाई सानोठिमीस्थित खेल मैदान र भक्तपुर जिल्लाका पीडितलाई निःस्वार्थ भावनाले खाद्यान्न, त्रिपाल, लत्ताकपडा लगायतका बिभिन्न सामान राहत स्वरुप वितरण गर्नु भएको थियो ।

देशमा कोरोना महामारी फैलिरहदाँ धेरै नागरिकलाई स्वास्थ्य सेवाको पहुँच पुर्याउने कार्यमा समेत सक्रिय रहनु भएका उहाँले समस्यामा परेका नागरिकको सहयोगमा अग्रसरता देखाउने नेताको रुपमा समेत परिचित हुनुहुन्छ ।

यसअघि नेपाली काँग्रेसको विशेष महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित उहाँले १५ औ महाधिवेशमा समेत खुल्ला केन्द्रीय सदस्यको रुपमा उम्मेदवारी दिन भएको हो ।
काँग्रेसलाई गुट उपगुटमा विभाजन नगरी एक ढिक्का बनाएर लैजाने र विपिको सिद्धान्तलाई अबलम्बन गर्दै देशको एक मात्र खम्बा र मेरुदण्डको रुपमा जनताको एक मात्र भरोसा बोकेको पार्टीको रुपमा विकास गर्ने संकल्पका साथ उम्मेदवारी दिएको नेता कवेँ बताउनुहुन्छ ।

भक्तपुरका दुबै क्षेत्रका अधिकांश महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापतिहरु भेषबहादुर कार्की, शिवहरि केसी, नगर सभापतिहरु, पूर्व नगर सभापति एवं क्षेत्रीय सभापतिहरु, पूर्व मन्त्रीहरु, बाहलवाला नगर प्रमुखहरुलगायत भक्तपुर जिल्लाको सिंगो टिम नेता कवेँलाई विजयी गराउने संकल्पका साथ महाधिवेशनमा सक्रिय रहेका बताईएको छ ।