सूर्यविनायक नगरपालिकाको आयोजनामा भएको नगरस्तरीय धिमे बाजा प्रतियोगिता सम्पन्न
भक्तपुर, २४ असोज : नगद रु ७५ हजार पुरस्कार सहित सूर्यविनायक नगरपालिका–१ सिरुटारको नासः धिमे खलःले सूर्यविनायक नगरस्तरीय धिमे बाजा प्रतियोगिता–२०८३ को विजेता बन्न सफल भएको छ ।
आज सूर्यविनायक गणेश मन्दिर परिषरमा सूर्यविनायक नगरपालिकाले आयोजना गरेको धिमे बाजा प्रतियोगितामा नगद पुरस्कार सहित प्रमाण प्रत्र तथा ट्रफी प्राप्त गरेको छ । सूर्यविनायक–१ कै लुनिभा धिमे बाजा खलःले दोश्रो हुदै रु. ५० हजार नगद पुरस्कार सहित प्रमाण प्रत्र तथा ट्रफी प्राप्त गरेको छ ।
प्रतिस्पर्धामा वडा नं १० को सिमलटार बाजा खलले तेस्रो स्थान प्राप्त गर्दै नगद रु २५ हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।  प्रतियोगितामा सहभागि प्रतिस्पर्धी सबै टोलीले धिमे बाजा टोलीलाई नगरपालिकाले नगद पाँच हजार तथा प्रमाणपत्र प्रदान गरेको छ । त्यसैगरी नगर प्रमुखले आफ्नो व्यक्तिगत तर्फबाट सहभागि १० वटा टोलीलाई थप ५/५ हजार प्रदान गर्ने घोषणा पनि गर्नुभएको छ ।
वागमती प्रदेशका मुख्य मन्त्री किरण थापाले उद्घाटन गर्नु भएको थियो । मुख्यमन्त्री थापाले धर्म, संस्कृति र परम्पराको संरक्षण तथा संवद्र्धनमा प्रदेश सरकारले जोड दिँदै आएको बताउनुभयो । उहाँले मौलिक कला र संस्कृतिको संरक्षणका लागि स्थानीय तहबाट गरिने प्रयासमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
विजयी टोलीलाई नगर प्रमुख थापाले पुरस्कार वितरण गर्दै उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बतउनुभयो । उहाँले प्रतियोगितालाई जित–हारको विषयभन्दा पनि मौलिक संस्कृति संरक्षण गर्ने अभियानका रूपमा लिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता तिम्सिना भट्टराईले धिमे बाजा लगायत बिभिन्न परम्परागत कला र संस्कृतिको संरक्षणका लागि नगरपालिकाले यस प्रकारको कार्यक्रमलाई अझै प्रोत्साहन दिने बताउनुभयो । उहाँले यस्तो प्रतियोगिताले परम्परागत संस्कृतिके संरक्षण र पुस्तान्तरणमा टेवा पुग्ने बताउनुभयो ।
कार्यक्रमका सभापति, सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष एवं आर्थिक विकास समितिका संयोजक पुष्पराज बस्नेतले प्रतियोगितामा नगर भित्रका १३ वटा धिमे बाजा टोलीले प्रतिस्पर्धा गरेको बताउनुभयो । यो प्रतियोगिताले परम्परागत नेवारी कला तथा संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको र स्थानीय कला, संस्कृति र मूर्त तथा अमूर्त कलाको संरक्षण हुने बताउनुभयो ।
कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष सानुकाजी कायस्थ र वडा नं. १० का वडाध्यक्ष शिवराम राउतले यस प्रकारको प्रतियोगिताले स्थानीय सांस्कृतिक पहिचानको संरक्षण, परम्परागत बाजाको प्रवद्र्धन तथा नयाँ पुस्तामा मौलिक संस्कृतिप्रति रुचि बढाउन योगदान पु¥याउने अपेक्षा गरिएको बताउनभयो ।  पर्यटन शाखा प्रमुख पुष्पा कुमारी पाण्डेले धिमे बाजाको मौलिकता जोगाउँदै नयाँ पुस्तालाई आफ्नो कला, संस्कृति र परम्पराको संरक्षणमा प्रेरित गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

Disqus comments are not configured yet.

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ सम्पन्न १६ औ वार्षिक साधारण सभा, छैठौ केन्द्रीय अधिवेशनले पत्रकार रमेश गिरी ‘आशा’ को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
मञ्चको उपाध्यक्षमा मकर श्रेष्ठ, सचिवमा अञ्जना शिल्पकार, कोषाध्यक्षमा पुष्कारराज बुढाथोकी, सहसचिवमा ऋषिकेश श्रेष्ठ चयन हुनु भएको छ । मञ्चको सदस्यहरुमा विपिन ढुङ्गाना, संगीता अधिकारी, रत्नकाजी श्रेष्ठ र सृजना खतिवडा चयन हुनु भएको छ ।
अध्यक्ष गिरीले क्रियासिल रहेका पत्रकारहरुको साझा संगठनको रुपमा मञ्चलाई बिस्तार गर्ने र पत्रकारहरुको हकहित एवं अधिकारका सवालमा आवाज उठाउने बताउनुभयो ।
मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान गरेको छ । मञ्चले आज होटल सिटी गाउँ भक्तपुरमा आयोजना गरेको १६ औ वार्षिक साधारण सभा, छैठौ केन्द्रीय अधिवेशन तथा सम्मान कार्यक्रममा मञ्चका अध्यक्ष रमेश गिरीले वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई सम्मान गर्नु भएको हो ।
कार्यक्रममा स्थानीय तहको विकासमा उल्लेख्य योगदान पुर्याए वापत सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालाई र भक्तपर अस्पतालको विकास र समग्र वागती प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सफल वागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमलाई सम्मान गरिएको छ ।
त्यसैगरि भदौ १० गतेको रसुवा भोटेकोशी बाढीमा परेर बेपत्ता भई ज्यान गमाउनु भएका अग्रज पत्रकार एवं नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार टेकराज थामीलाई नगद रु. पाँच हजार सहित प्रदान गरिएको मरणोपरान्त क्रियासिल पत्रकारिता पुरस्कार उहाँकी पत्नी एवं पत्रकार कालिका खड्कालाई प्रदान गरएको छ ।
त्यस्तै भक्तपुरमा रहेर कान्तिपुर टेलिभिजनमा कार्यरत एवं नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारलाई नगद रु. पाँच हजारसहित स्व.लक्ष्मीमाया कासिछ्वा क्रियासिल पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ ।
कार्यक्रममा मुख्यमन्त्री थापाले पत्रकारहरूले गुगलमा उपलब्ध सूचनामा मात्र सीमित नभई भूगोलमै पुगेर वास्तविकता बुझेर मात्रै समाचार लेख्नु पर्ने बताउनुभयो । देशको विकास र समृद्धिमा पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै उहाँले जनप्रतिनिधिलाई खबरदारी गर्ने, विकृति उजागर गर्ने र यथार्थपरक समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।
वागमती प्रदेश सरकारले संघीय सरकार र स्थानीय तहसँग समन्वय गरी विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनाको काम अघि बढाइरहेको बताउनुभयो । उहाँले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रदेश सरकारले पाँचवटा झोलुङ्गे पुल र दुईवटा बेलीब्रिज निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाएको बताउनुभयो ।  मुख्यमन्त्री थापा मगरले बागमती प्रदेशका ९१ प्रतिशत नागरिकका घरमा खानेपानी पुगेको र प्रत्येक वडाको केन्द्रसम्म सडक पहुँच विस्तार भएको बताउनुुभयो ।
प्रदेश सरकारले गरेका कामको पर्याप्त प्रचारप्रसार हुन नसकेको चर्चा गर्दै उहाँले संघीयतालाई कार्यकर्ता व्यवस्थापन गर्ने माध्यमका रूपमा मात्र चित्रण गर्ने भाष्यलाई चिर्न आवश्यक रहेको बताउनुभयो । उहाँले तीनै तहका सरकारबीच समन्वय र सहकार्यमा बाढी प्रभावित क्षेत्रको पुर्ननिर्माणमा जुट्नु पर्ने बताउनुभयो । भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेको भन्दै त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
वागमती प्रदेशका स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले वागमती प्रदेशले पत्रकारहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यबस्था गरेको बताउँदै त्यसका लागि पत्रकार महासंघको सिफारसि भए पुग्ने बताउनुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिका नगर प्रमुख वासुदेव थापाले समाचार संकलन गर्दा र लेख्दा पत्रकारले दलगत स्वार्थमा नभई निष्पक्ष रुपमा समाचार सम्प्रेषढा गर्नु पर्ने औल्याउनुभो । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले सूर्यविनायकको विकासमा विगत १० वर्षमा ठूलो फड्को मारेको बताउनुभयो ।
कार्यक्रममा क्रियासिल पत्रकार मञ्चको अध्यक्ष रमेश गिरी, उपाध्यक्ष मकर श्रेष्ठ, कोषायध्यक्ष एवं कार्यक्रम संयोजक पुष्कर राज बुढाथोकी, सचिव अञ्जना शिल्पकारले पत्रकारको समग्र विकास, पहिचान र अधिकारका लागि मञ्च सक्रिय रहदै आएको बताउनुभयो ।
एकीकृत प्रारम्भिक प्रतिवेदन आज मुख्यमन्त्री किरण थापा मगरसमक्ष पेस

हेटौँडा, २२ असोज । रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ल्हेन्दे, भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढी तथा पहिरोले पु¥याएको क्षतिबारे बागमती प्रदेश सरकारले तयार पारेको एकीकृत प्रारम्भिक प्रतिवेदन आज मुख्यमन्त्री किरण थापा मगरसमक्ष पेस गरिएको छ । आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयका प्रदेश सचिव महेश भट्टराईले उक्त विस्तृत प्रतिवेदन मुख्यमन्त्रीसमक्ष हस्तान्तरण गर्नुभएको हो ।

प्रतिवेदनअनुसार बाढी र पहिरोका कारण मानवीय तथा भौतिक पूर्वाधारका क्षेत्रमा अभूतपूर्व क्षति पुगेको छ। बाढीका कारण हालसम्म १,४५५ जनाको ज्यान गइसकेको छ भने ५,२८५ जना नागरिक अझै बेपत्ता रहेका छन् ।

घाइते भएकामध्ये ३४४ जनाको अस्पतालमा उपचार भइरहेको छ। बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय प्राविधिकसहित २० हजार ४७७ जनशक्ति उद्धारमा खटिएका छन्, जसको तत्परताले १३ हजार ७९५ जनाको सकुशल उद्धार गर्न सफलता मिलेको छ ।

अविरल बाढी र पहिरोले २ हजार ३०० वटा निजी आवास पूर्ण रूपमा ढालेको छ वा बगाएको छ भने २६९ वटा घरमा आंशिक क्षति पुगेको छ । यसबाट २ सय ३०० भन्दा बढी परिवार पूर्ण रूपमा विस्थापित बनेका छन्। विस्थापितमध्ये १ हजार ८५ जना नागरिकलाई हाल अस्थायी शिविरहरूमा राखिएको छ ।

बाढीका कारण १०२ जना बालबालिकाले आफ्ना बाबुआमा गुमाएका छन् । होल्डिङ सेन्टरहरूमा २४६ बालबालिका र १६९ ज्येष्ठ नागरिक आश्रय लिइरहेका छन् । उनीहरूलाई राहतसँगै ३८ वटा केन्द्रमार्फत मनोसामाजिक परामर्श र संरक्षण सेवा प्रदान भइरहेको छ ।

पूर्वाधारतर्फ मात्रै अर्बौँको क्षति

भौतिक पूर्वाधार क्षेत्रमा पुगेको क्षतिको प्रारम्भिक मूल्याङ्कन अनुसार :

सडक र पुलः ३४ वटा मोटरेबल पुल तथा ५१ वटा झोलुङ्गे पुल पूर्ण रूपमा बगेका वा भत्किएका छन्। ३.५ किलोमिटर कालोपत्रे सडक र १४ वटा सरकारी भवन ध्वस्त भएका छन् ।
शैक्षिक संस्था : १२ वटा विद्यालयका ३५ भवन र ३१७ कक्षाकोठा पूर्ण रूपमा भत्किँदा ९ हजार २४८ विद्यार्थीको पठनपाठन ठप्प भएको छ ः १८ वटा विद्यालयमा आंशिक क्षति पुगेको छ ।

स्वास्थ्य क्षेत्र : ६ वटा सरकारी र ७ वटा निजी स्वास्थ्य संस्था एवं औषधि पसल पूर्ण रूपमा पछाडिएका छन् ।
खानेपानी र सिँचाइः ५५ वटा खानेपानी आयोजना र ४४ वटा सिँचाइ कुलोमा क्षति पुग्दा हजारौँ घरधुरी खानेपानी र सिँचाइ सुविधाबाट वञ्चित भएका छन् ।
उद्योग, व्यापार र कृषि क्षेत्र धराशायी
उद्योग तथा व्यवसाय : ३०० वटा घरेलु तथा साना उद्योग, ६७ वटा व्यापारिक पसल र ३० वटा गोदाम क्षतिग्रस्त हुँदा रु. २९७ करोडभन्दा बढीको क्षति भएको छ भने १ हजार ७०० भन्दा बढी श्रमिकको रोजगारी गुमेको छ ।
कृषि तथा पशुधन :९७३ हेक्टर खेतीयोग्य जमिन प्रभावित भएको र ४७१ हेक्टरको बालीनाली पूर्ण नष्ट भएको छ । ७०२ वटा ठूला पशु, २ हजार १२३ वटा साना पशु र १ लाख ३४ हजार कुखुरा तथा पन्छी मरेका छन् ।
सञ्चार र बैङ्किङ : १९८ वटा सञ्चार टावरमा क्षति पुगेकोमा १९३ टावर पुनः सञ्चालनमा ल्याइएको छ । १७ बैङ्क शाखा र ९ एटीएममा क्षति पुग्दा २ हजार १२५ कर्जा खाता जोखिममा परेका छन् ।

प्रमुख क्षेत्रमा भएको रकम मूल्याङ्कन (प्रारम्भिक अनुमान) :

सडक, पुल र सरकारी भवनः रु. ५६९.०७ करोड
विद्यालय भवन तथा पूर्वाधारः रु. ४९८.६२ करोड
उद्योग तथा व्यापारिक पसलः रु. २९७.१२ करोड
खानेपानी तथा सिँचाइः रु. ५२.६९ करोड
कृषि, पशुधन र फार्मः रु. २८.५९ करोड

प्रदेश सरकारका निर्णय र पुनर्निर्माण रणनीति :

विपद्पछिको अवस्थालाई सम्बोधन गर्न बागमती प्रदेश सरकारले प्रभावित १२ वटा स्थानीय तहलाई रु. २.५० करोड अनुदान र थप जोखिम रोकथामका लागि नौकुण्डलाई रु. ४० लाख तथा गोसाइकुण्डलाई रु. २५ लाख उपलब्ध गराएको छ। मृतकका परिवारलाई तत्काल राहत स्वरूप प्रतिमृतक रु. २५ हजारका दरले पहिलो किस्ता पठाइएको छ ।
पुनर्निर्माणका लागि सङ्घीय सरकारसँग रु. १ अर्ब अनुदान माग गर्ने निर्णय भएको छ । साथै, बजेट रकमान्तरका लागि अर्थमन्त्रीको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरिएको छ भने प्रदेशका जनप्रतिनिधि तथा कर्मचारीहरूले ५ देखि १५ दिनसम्मको पारिश्रमिक विपद् कोषमा जम्मा गर्ने निर्णय भएको छ ।

प्रतिवेदन बुझ्दै मुख्यमन्त्री किरण थापा मगरले प्रभावित नागरिकको सुरक्षित पुनर्वहाली, स्वास्थ्य सेवा, र प्रदेश नीति तथा योजना आयोगको समन्वयमा दिगो पुनर्निर्माण योजना बनाएर यथाशीघ्र काम अघि बढाउन निर्देशन दिनुभएको छ ।

जनस्वास्थ्य कार्यालय भक्तपुरद्वारा वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

भक्तपुर, २० असोज । जनस्वास्थ्य कार्यालय, भक्तपुरले आ.व. २०८२÷०८३ मा सम्पन्न विभिन्न स्वास्थ्य कार्यक्रमहरूको मूल्याङ्कन तथा आगामी वर्षका योजना निर्धारणका उद्देश्यले आयोजित दुईदिने जिल्ला स्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।

यही असोज १९ र २० गते सूर्यविनायक नगरपालिकाको हलमा आयोजना भएको गोष्ठीको १९ गते जिल्ला समन्वय समिति भक्तपुरका कार्यबाहक प्रमुख सुजाता बाडेले उद्घाटन गर्नु भएको थियो । उहाँले दुईदिने गोष्ठीमा सहभागि जिल्लाका स्वास्थ्य संस्थाहरुले गरेका प्रगति, चुनौती र सुधार गर्नु पर्ने विभिन्न विषयलाई प्रसस्तुत मात्रै नगरी घनिभूत छलफल गरि निचोडमा पुग्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले दुई गोष्ठीले प्रगति समिक्षाका साथै स्वासथ्य सेवा प्रवाहमा आएका चुनौती र समस्याको पहिचान गरी जनताको सेवामा कसरी सहजता ल्याउँन सकिन्छ भन्नेबारेमा समेत छलफल गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा वागमती प्रदेश जनस्वास्थ्य अधिकृत सतिश विष्ट, प्रदेशका स्वास्थ्य निर्देशनालय तथा योजना अधिकृत बिएस शाह, जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्काले दुई दिने गोष्ठीमा जिल्लाका स्वास्थ्य सेवा र कार्यको मूल्यांकन, सम्पादन गर्नुका साथै आएका समस्या समाधानको बाटो समेत पहिल्याउने बताउनुभयो ।
पहिलो दिन उद्घाटन सत्र पछि सुरु भएको प्रस्तुतीकरणमा जिल्लाका बिभिन्न स्वास्थ्य संस्थाहरुले एक वर्षभरि गरेका कार्य प्रगतिको समिक्षा तथा कार्य सम्पादनकाबारेमा छलफल गरिएको थियो ।

दोश्रो दिन असोज २० गते अघिल्लो दिन बाँकी भएका स्वास्थ्य संस्थाहरुले गत आर्थिक वर्षको साउनदेखि असारसम्म भएका कामको प्रगति विवरण प्रस्तुत गर्नुका साथै समिक्षा गरिएको थियो ।

कार्यक्रममा जिल्लाका चार पालिकाहरु भक्तपुर, सूर्यविनायक, मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकाका बिभिन्न स्वास्थ्य संस्थाहरुले सेवा प्रवाहका क्रममा भएको प्रगति, उपलब्धि, चुनौती र आगामी योजना सम्बन्धी प्रतिवेदनहरू प्रस्तुत गरेका थियो । सहभागीहरूबाट स्वास्थ्य सेवा सुदृढीकरण, औषधि आपूर्ति प्रणाली, सेवा प्रवाह, स्थानीय तहबीच सहकार्य तथा समन्वयका विषयमा छलफल भएको थियो ।

दोस्रो दिनमा अस्पताल सेवा सुधार, पोषण तथा सरसफाइ कार्यक्रम, स्वास्थ्य बीमा विस्तार र आगामी वर्षका प्राथमिकताका कार्यक्रमहरू विषयमा समूहगत छलफल तथा कार्ययोजना निर्माण गर्नुका साथै प्र्रत्येक समूहले आफ्ना निष्कर्ष र सिफारिसहरू प्रस्तुत गरेका थिए ।

समापन कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख बाडेले दुई गोष्ठीले भक्तपुरको समग्र स्वास्थ्य संस्थाले जनताको सेवालाई प्रभावकारी रुपमा अगाडि बढाउन निष्कर्षमा पुगेको बताउनुभयो । उहाँले आएका समस्यालाई समाधान गर्दै अगाडि जानु पर्ने औल्याउनु भयो ।

कार्यक्रममावागमती प्रदेश जनस्वास्थ्य अधिकृत सतिश विष्ट, प्रदेशका स्वास्थ्य निर्देशनालय तथा योजना अधिकृत बिएस शाहले प्रदेश सरकारको नीति अनुसार सेवा प्रवाहलाई प्रभावकारी बनाउनु पर्ने बताउदै कुनै समस्या भए समाधानमा लाग्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ भक्तपुरका सभापति सुन्दर शिल्पकारले स्वास्थ्य सेवाको सहज पहुँचमा आमनागरिक पुग्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा जनस्वास्थ्य कार्यालयकी प्रमुख अञ्जना खड्काले विगत वर्षका उपलब्धिहरूलाई निरन्तरता दिन र चुनौतीहरू समाधान गर्न सबै तहका स्वास्थ्यकर्मी, स्थानीय सरकार तथा साझेदार संस्थाबीच सहकार्य आवश्यक रहेको बताउनु भयो ।

उहाँले सोही आधारमा जनस्वास्थ्य कार्यालयले आगामी वर्षका योजनाहरूमा सुधार र प्राथमिकता निर्धारण गर्ने बताएको छ । कार्यक्रममा चार वटै नगरपालिकालाई सम्मान पत्र प्रदान गरि सम्मान गरिएको थियो भने सहभागि लगायत अतिथिहरुलाई मायाको चिनो प्रदान गरि विदाई गरिएको थियो ।

चाँगुनारायण नगरपालिका स्वास्थ्य शाखालाई सरकारी स्वास्थ्य संस्थाहरुमा नियमित न्यूनतम सेवा मापदण्ड पूर्ण रुपमा कार्यान्वयन गरेवापत, मध्यपुरथिमि नगरपालिकालाई ज्येष्ठ नागरिक स्वास्थय कार्याक्रम सञ्चालन गरे वापत, सूर्यीवनायक नगरपाकिालाई मार्त स्वासथ्य कार्यक्रम सुदेढिकरणका लागि घुम्ती ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम सञ्चालन गरेवापत र भक्तपुर नगरपाकिालाई रोगको समयमै पहिचान, रोकथाम र उपचारमा सहयोग गर्न घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेवापत कार्यालयले सम्मान गरेको हो ।

वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा र सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापाद्धारा गणेश माविको नयाँ भवन उद्घाटन
भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले आज सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोलस्थित गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन गर्नु भएको छ ।
सूर्यविनायक नगरपालिकाले उपलब्ध गराएको १० रोपनी सार्वजनिक जग्गामा नेपाल सरकार र एशियाली विकास बैंकको रु. ६ करोड २६ लाख रुपैयाको लागतमा निर्माण भएको सुविधा सम्पन्न २१ कोठे भवनको आज मुख्यमन्त्री थापामगर र सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।
कार्यक्रममा मुख्यमन्त्री थापाले आफू वडा अध्यक्ष हुँदा नै शिलन्यास गरेको यस विद्यालयको नवनिर्मित भवन भव्य रुपमा निर्माण सम्पन्न भएको देखेर खुसी लागेको बताउदै यसअघि सिपाडोलकै शान्ति निकेतन माध्यमिक विद्यालयको भवन पनि यस्तै गरि भव्य रुपमा निर्माण गर्न सफल भएको बताउनुभयो ।
उहाँले नजिकै रहेको भुवनेश्वरी माध्यमिक विद्यालयको पुरानो भवन पनि नयाँ बनाउन सके सूर्यविनायक नगरपालिका भित्रका अधिकांश सामुदायिक विद्यालयहरु सुविधा सम्पन्न हुने र सूर्यविनायक नगरवासीका बालबालिकाहरु सुविधा सम्पन्न भवनमा पढ्न पाउने बताउनुभयो ।
उहाँले वागमती पाटी भन्ने ठाउँमा थोरै जग्गामा स्थानीयको सहयोगमा जग्गा खरिद गरेर निर्माण गरेको भवनमा यसअघि पढाई हुदै आएकोमा अब सुविधा सम्पन्न भवनमा गुणस्तरीय शिक्षा पाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले १० वर्षे आफ्नो दुई कार्यकालमा सूर्यविनायकको विकासमा ठूलो फड्को मारेको बताउदै शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा नगरपालिकाले ठूलो प्रगति गरेको बताउनुभयो । उहाँले नगरपालिकाले सबै जनप्रतिनिधि र कर्मचारीको एकमतका साथ सूर्यविनायकको सवकासका लागि काम गरेको र अब बाँकी सात महिनामा पनि बाँकी रहेका केही कामलाई पुरा गर्न दिनरात खटिने बताउनुभयो ।
उहाँले नगरवासीले तिरेको करलाई नगरपालिकाको विकासका लागि खर्च गरेको बताउदै उहाँले सामुदायिक विद्यालयको भवनदेखि शैक्षिक गुणस्तरलाई बृद्धि गर्न, खलकुदको विकास गर्न, सीपको विकास गर्न र सूर्यविनायक नगर अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्दै नगरवासीको सेवामा निरन्तर लागिरहेको नगर प्रमुख थापाले बताउनुभयो ।
नगरपालिकाका प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले नगरपालिकाले यहाँका सामुदायिक विद्यालयको भौतिक र शैक्षिक गुणस्तरको बृद्धिमा निरन्तर लागिरहेको बताउदै सूर्यविनायकका कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गर्ने सिट संख्याको अभाव हुने गरेको बताउनुभयो ।
उहाँले सूर्यविनायक नगरपालिकाले सुरु गरेको जनप्रतिनिधिलाई विद्यालय व्यबस्थापन समितिको अध्यक्ष बनाने कार्य र प्रतिस्पर्धाबाट विद्यालयको प्रिन्सिपल छान्ने कार्य पछि शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार आएको बताउदै वतमान सरकारले अध्यक्ष नियुक्तीको व्यबस्थालाई हटाउन लागे पनि स्थानीय सरकारलाई शैक्षिक अधिकार दिन रोक्न नहुने बताउनुभयो ।
कलाकार मनोज गजुरेलले ९० प्रतिशत भन्दा बढी उच्च शिक्षा पढ्दै गरेको किशाृरकिशोरी विदेशिने गरेको बताउदै विदेशीने विद्यार्थीलाई रोकेर स्वदेशमै अवसर दिन सरकार लाग्नु पर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवं वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले विद्यालयले नयाँ भवन पाएको बताउदै उद्घाटन कार्यक्रममा सहभागि हुन आउने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले कार्यक्रममा उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कार, जगत छात्रबृत्ति कोषबाट गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, एसईईमा उत्कृष्ठ अंक ल्याउने विद्यार्थीलाई पुरस्कार र शिक्षक शिक्षिकालाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले बिभिन्न सास्ँकृतिक प्रस्तुतीहरु राखेका थिए ।
स्काउट शिक्षाको उद्घाटन, विद्यार्थीलाई देशप्रेमका भावना जगाउँने : मुख्यमन्त्री थापामगर

भक्तपुर, १८ असोज : वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज भक्तपुरमा स्काउट शिक्षाको उद्घाटन गर्नु भएको छ । चाँगुनारायण नगरपालिकास्थित श्री महेन्द्र ग्राम माध्यमिक विद्यालयमा आज आयोजित स्काउट शिक्षाको उद्घाटन गर्दै उहाँले स्काउट शिक्षाले विद्यार्थीमा देशप्रेमको भावना जगाउँने बताउनु भयो ।

मुख्यमन्त्री थापाले नेपाल स्काउट सामजिक विकासको भावनाका साथ अगाडि बढिरहेको बताउदै विद्यालयले दिने स्काउट शिक्षाले विद्यार्थीहरुमा देशप्रेमको भावना जगाउँने बताउनुभयो । विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, सेवाभाव, आत्मनिर्भरता तथा सामाजिक उत्तरदायित्वको भावना विकास गर्न स्काउट शिक्षाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।

मुख्यमन्त्री थापाले सामुदायीक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार्दै स्नातकोत्तर तहसम्मको गुणस्तरीय शिक्षा दिने गरि भक्तपुरलाई शिक्षाको हव बनाउने बताउनु भयो ।
उहाँले वागमती प्रदेश सरकारले भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउने गरि कार्ययोजना अगाडि सारेको बताउनु भयो ।

कार्यक्रममा विद्यालय व्यबस्थापन समितिका अध्यक्ष रामकुरमा बुढाथोकीले मुख्यमन्त्री थापा र नवनियुक्त प्रदेशका न्यायाधिवक्त शिवराम तिमिल्सिनालाई बधाई तथा सम्मान प्रदान गर्नुभयो । विद्यालयका प्रधानाध्यापक सोम श्रेष्ठले नेपाल स्काउटको महत्व र विद्यालयमा यसका शिक्षाकाबारेमा जानकारी गराउनु भएको थियो ।

अपाङ्गता भएका व्यक्तिलाई अधिकार, राज्यबाट प्राप्त हुने सेवा–सुविधा, समान अवसर दिनु पर्छ : सूर्यविनायक नगर प्रवक्ता रविन्द्र सापकोटा

भक्तपुर, १७ असोज । अपाङ्गता भएका व्यक्तिलाई संविधान तथा प्रचलित कानूनले प्रदान गरेका अधिकार, राज्यबाट प्राप्त हुने सेवा–सुविधा, समान अवसर र सामाजिक समावेशीकरणमा विभेद गर्न नहुने सरोकारवालाले बताएका छन् ।्

सूर्यविनायक नगरपालिका नगर कार्यपालिकाको कार्यालयले आज सूर्यविनायक नगरपालिकाको सभाहलमा आयोजना गरेको वडास्तरी अपाङ्गता समन्वय समितिलाई एकदिने कानूनी अधिकार सम्बन्धी अभिमूखीकरणमा सहभागि एवं सरोकारवालाले यस्तो बताएका हुन् ।

कार्यक्रममा नगरपालिकाका प्रवक्ता एवं वडा नं. ७ का वडाअध्यक्ष रविन्द्र सापकोटाले अपाङ्गता भएका व्यक्तिहरूलाई समाजमा माया र अवसर दिनु पर्ने बताउनु भयो ।
सापकोटाले भन्नुभयो, “अपाङ्गता भएका व्यक्तिहरूलाई दया होइन, समान अधिकार, अवसर र सम्मान चाहिन्छ, समाजको मूल प्रवाहमा ल्याउन अधिकारबारे सचेतना दिनु आवश्यक छ । स्थानीय तहबाट उपलब्ध हुने सेवा–सुविधामा उहाँहरूको सहज पहुँच सुनिश्चित गर्न हामीले अझ प्रभावकारी रूपमा काम गर्नुपर्छ ।”

उहाँले अपाङ्गता भएका व्यक्तिलाई दया वा सहानुभूतिभन्दा पनि अधिकार र समान अवसरका आधारमा हेर्नुपर्ने बताउनु भयो । स्थानीय तहबाट प्रदान गरिने सेवा–सुविधामा अपाङ्गता भएका व्यक्तिको सहज पहुँच सुनिश्चित गर्न नगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । कार्यक्रममा सहभागीले कानुनी अधिकारका विषयमा जानकारी पाएपछि आफूहरूलाई प्राप्त अधिकार र सेवाका विषयमा थप स्पष्ट भएको बताउनु भयो ।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिले संविधान तथा प्रचलित कानूनले प्रदान गरेका अधिकार, राज्यबाट प्राप्त हुने सेवा–सुविधा, समान अवसर तथा सामाजिक समावेशीकरणका विषयमा जानकारी गराइएको थियो । अपाङ्गता भएका व्यक्तिप्रति हुने विभेदको अन्त्य गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने विषयमा समेत छलफल गरिएको थियो ।

कार्यक्रममा सहभागिले अपाङ्गता भएका व्यक्तिका लागि कानुनले दिएको अधिकार र स्थानीय तहबाट पाउन सकिने सेवाका विषयमा यसअघि सबै कुरा स्पष्ट जानकारी प्राप्त भएको बताएका थिए । आजको अभिमुखीकरणबाट धेरै महत्वपूर्ण जानकारी प्राप्त भएको बताउदै यसप्रकारले अभिमुखीकरणले वडा तहसम्म निरन्तरता दिनुपर्ने बताउनु भयो ।

तालिमबाट प्राप्त जानकारीलाई व्यवहारमा लागू गर्न सके अपाङ्गता भएका व्यक्तिले धेरै सहज रूपमा सेवा लिन सक्ने अवस्था बन्न सक्ने बताउदै यस प्रकारको कार्यक्रमले एकपटकमा सीमित नगरी नियमित रूपमा सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रमले अपाङ्गता भएका व्यक्तिका अधिकारबारे स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला तथा समुदायमा थप सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

 

मुख्यमन्त्री किरण थापा मगरद्धारा हेटौँडा क्याम्पसमा फस्र्ट ग्राजुएट कन्फ्रेन्सको उद्घाटन : मुख्यमन्त्री थापा मगरले भन्नुभयो : युवाहरूले आफ्नो ज्ञान र सीपलाई स्थानीय आवश्यकता, वन, वातावरण र जैविक विविधताको संरक्षणमा प्रयोग गर्नुपर्छ

हेटौँडा, १६ असोज । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वविद्यालयलाई ज्ञान निर्माण, अनुसन्धान र नयाँ विचारको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनु भएको छ ।

वन विज्ञान अध्ययन संस्थान, हेटौँडा क्याम्पसद्वारा आयोजित फस्र्ट ग्राजुएट कन्फ्रेन्सको आज उद्घाटन गर्दै उहाँले मन्तव्य राख्दै मुख्यमन्त्री थापा मगरले युवाहरूले आफ्नो ज्ञान र सीपलाई स्थानीय आवश्यकता, वन, वातावरण र जैविक विविधताको संरक्षणमा प्रयोग गर्नुपर्ने बताउनु भएको छ ।

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र तथा वातावरणको हितमा प्रयोग गर्नुपर्ने बताउँदै मुख्यमन्त्री थापा मगरले वन क्षेत्र वातावरणीय सन्तुलन, जैविक विविधता संरक्षण, जलाधार तथा माटो संरक्षणसँगै नागरिकको जीविकोपार्जनको महत्वपूर्र्ण आधार रहेको चर्चा गर्नुभयो ।

उहाँले वन तथा वातावरणसँग सम्बन्धित विषयमा दक्ष जनशक्ति उत्पादनसँगै उनीहरूले हासिल गरेको ज्ञान, अनुसन्धान र सीपलाई प्रदेशको वन तथा प्राकृतिक स्रोत व्यवस्थापनमा प्रभावकारी रूपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

“शिक्षा र ज्ञानलाई केवल व्यक्तिगत उपलब्धिमा सीमित नराखी समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्नुपर्छ। वन विज्ञानबाट उत्पादित दक्ष जनशक्तिको ज्ञान, अनुसन्धान र सीपलाई प्रदेशको वन तथा प्राकृतिक स्रोत व्यवस्थापनमा जोड्न आवश्यक छ,” मुख्यमन्त्री थापा मगरले भन्नुभयो ।

मुख्यमन्त्रीले पछिल्लो समय जलवायु परिवर्तन, वन डढेलो, जैविक विविधताको ह्रास तथा मानव–वन्यजन्तु द्वन्द्व वन तथा वातावरण संरक्षणका प्रमुख चुनौतीका रूपमा देखापरेको उल्लेख गर्नुभयो ।  यस्ता चुनौतीको सामना गर्न सरकारको एकल प्रयास पर्याप्त नहुने भन्दै उहाँले विश्वविद्यालय, अनुसन्धान संस्था, समुदाय तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

“वन तथा वातावरण संरक्षणका लागि सरकार, विश्वविद्यालय, अनुसन्धान संस्था, समुदाय र निजी क्षेत्रबीच सहकार्य आवश्यक छ। सबै पक्षको ज्ञान, अनुभव र प्रविधिलाई एकीकृत गरेर मात्रै प्राकृतिक स्रोतको दिगो व्यवस्थापन गर्न सकिन्छ,”उहाँले भन्नुभयो ।

बागमती प्रदेशमा प्राकृतिक स्रोत संरक्षण र आर्थिक विकासबीच सन्तुलन कायम गर्दै दिगो विकासलाई प्राथमिकता दिनुपर्नेमा पनि मुख्यमन्त्रीले जोड दिनुभयो । प्राकृतिक स्रोतको संरक्षणसँगै त्यसबाट प्राप्त हुने अवसर र लाभलाई स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकाससँग जोड्नुपर्ने उहाँको भनाइ थियो ।

उहाँले वन विज्ञान तथा वातावरणका क्षेत्रमा हुने अनुसन्धानलाई नीति निर्माण र स्थानीय तहमा देखिएका वास्तविक समस्याको समाधानसँग जोड्नुपर्ने बताउनुभयो । “अनुसन्धानलाई केवल शैक्षिक उपलब्धिमा सीमित नराखी नीति निर्माण र स्थानीय समस्याको समाधानसँग जोड्नुपर्छ । हाम्रो अनुसन्धानले समाज र वातावरणका वास्तविक समस्या समाधान गर्न सक्ने आधार तयार गर्नुपर्छ,” मुख्यमन्त्री थापा मगरले भन्नुभयो ।

युवाहरूले आफूले हासिल गरेको ज्ञान र सीपलाई स्थानीय आवश्यकता तथा वन, वातावरण र जैविक विविधताको संरक्षणमा प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। वन विज्ञान अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई देश र प्रदेशको प्राकृतिक स्रोत व्यवस्थापनमा योगदान पु¥याउने महत्त्वपूर्ण जनशक्तिका रूपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।

मुख्यमन्त्रीले विश्वविद्यालयलाई ज्ञान निर्माण, अनुसन्धान र नयाँ विचारको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । बदलिँदो वातावरणीय चुनौती र प्राकृतिक स्रोत व्यवस्थापनका नयाँ आयामलाई सम्बोधन गर्न विश्वविद्यालयले समयानुकूल अनुसन्धान तथा नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

फस्र्ट ग्राजुएट कन्फ्रेन्सले विद्यार्थी, प्राध्यापक, अनुसन्धानकर्ता तथा नीति निर्माताबीच ज्ञान, अनुभव र विचार आदान–प्रदान गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्ने विश्वाससमेत मुख्यमन्त्री थापा मगरले व्यक्त गर्नुभयो । उहाँले यस्ता सम्मेलनले वन विज्ञान, वातावरण संरक्षण, जैविक विविधता तथा प्राकृतिक स्रोत व्यवस्थापनका क्षेत्रमा नयाँ सोच र अनुसन्धानका सम्भावनालाई थप विस्तार गर्ने बताउनुभयो ।

बागमती प्रदेशका मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै मुख्यमन्त्री किरण थापाले भन्नुभयो : अबको दुई सय दिन विकास निर्माणमा तीव्रता दिनुस्

हेटौँडा, १३ असोज । वाग्मती प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौँडामा मंगलबार आयोजित कार्यक्रममा आठ मन्त्रीसंग कार्यसम्पादन सम्झौता सम्पन्न गरेको छ ।

वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सरकारका आठ मन्त्रीसँग आर्थिक वर्ष २०८३÷८४ का लागि एक वर्षे कार्यसम्पादन सम्झौता गर्नुभएको हो ।
मुख्यमन्त्री थापा मगरले मन्त्रालयबाट सम्पादन गर्नुपर्ने काम, कार्यक्रम तथा आयोजनालाई निर्धारित समयसीमा र गुणस्तरअनुसार सम्पन्न गर्ने प्रतिबद्धतासहित मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री थापा मगरले चालु आर्थिक वर्षको दुई महिना बितिसकेको उल्लेख गर्दै अबको करिब दुई सय दिन विकास निर्माणका कामलाई तीव्रता दिनुपर्ने बताउनुभयो । दुई दिनको सार्वजनिक बिदाका कारण काम गर्ने समयसमेत सीमित रहेकाले विकाससँग सम्बन्धित मन्त्रालयले काममा ढिलासुस्ती गरे वार्षिक प्रगति हासिल गर्न कठिन हुने उहाँले बताउनु भयो ।

मुख्यमन्त्री थापाले भन्नुभयो, “अब हाम्रो काम गर्ने भनेको मोटामोटी दुई सय दिन हो । विकासकै मन्त्रालयहरूमा काममा ढिलासुस्ती ग¥यौँ भने यो वर्षको प्रगति देखाउन सक्दैनौँ, त्यसैले निर्धारित समयमा सबैले काम सक्नु पर्छ ।”

उहाँले मन्त्रालयअन्तर्गतका कार्यालय प्रमुख तथा कर्मचारीलाई बजेटमा समावेश कार्यक्रम कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना बनाएर छिटोछरितो रूपमा काम गर्न निर्देशन दिनुभयो । मन्त्री, सचिव तथा कार्यालय प्रमुखहरूले आफू मातहतका कार्यक्रमको नियमित समीक्षा गर्दै देखिने गरी परिणाममुखी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रदेश सुशासन ऐन, २०७७ को दफा १९ तथा प्रदेश सुशासन नियमावली, २०७७ को नियम ९ बमोजिम नतिजा सूचकमा आधारित भएर कार्यसम्पादन सम्झौता गरिएको प्रदेश हो । निश्चित अवधिभित्र काम सम्पन्न गर्नुपर्ने, निश्चित परिणाम हासिल गर्नुपर्ने तथा प्रदेश सरकारका प्राथमिकताका कार्यक्रम र आयोजना कार्यान्वयन गर्नुपर्ने अवस्थामा कार्यसम्पादन सम्झौता गर्न सकिने कानुनी व्यवस्था रहेको छ ।

सम्झौताअनुसार प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा समावेश कार्यक्रमलाई निर्धारित समयमै कार्यान्वयन गर्नुपर्नेछ भने प्रगति विवरणसमेत सम्बन्धित निकायमा नियमित रूपमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

कार्यसम्पादन सम्झौता गर्ने मन्त्रीहरूमा नेकपा एमालेबाट भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसी र बिनाविभागीय मन्त्री ज्ञानबहादुर तामाङ, नेकपाबाट आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेल तथा कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री रमा आले मगर रहनुभएको छ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री राजु विष्ट, स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ तथा उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले पनि मुख्यमन्त्रीसँग कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।

गत भदौ ४ गते नेकपा एमाले, राप्रपा र नेकपा सहभागी नयाँ संयुक्त सरकार गठन भएको थियो । वाग्मती प्रदेशमा अघिल्ला सरकारका पालादेखि नै मुख्यमन्त्री, मन्त्री तथा प्रमुख सचिवबीच कार्यसम्पादन सम्झौता हुँदै आएको छ ।