छठ पर्वको चहलपहल बढ्यो, तयारीमा जुटे मिथिलावासी

दीपावली सकिएसँगै आजदेखि सुरु भएको छठ पर्वको रौनक मिथिलाञ्चलका गाउँबस्ती र बजारमा बढेको छ। चार दिनसम्म मनाइने आस्था, निष्ठा र भक्तिको यस पर्वको तयारीमा महोत्तरीसहित मिथिला क्षेत्रका स्थानीयवासी जुटेका छन्।

छठ पर्वको आगमनसँगै मिथिलाका घरघरमा छठका भक्तिगीत गुञ्जिन थालेका छन्। सूर्यदेव र षष्ठीदेवीको महिमा गाइने गीतले गाउँबस्तीको वातावरण छठमय बनेको छ। पर्वका लागि नदी, पोखरी तथा अन्य जलाशयका किनारमा छठघाट निर्माण, सरसफाइ र सजावटको काम तीव्र पारिएको छ।

छठघाट निर्माण तथा व्यवस्थापनमा विशेषगरी युवाहरू सक्रिय देखिएका छन्। बाँसका भाटा र झिक्राबाट छठघाट सजाउने, घरको सरसफाइ तथा लिपपोत गर्ने र रङरोगन गर्ने काम भइरहेको छ। सडक, घर तथा सार्वजनिक स्थलमा झिलिमिली बत्ती जडान गरिएपछि गाउँबस्तीमा पर्वको रौनक थपिएको छ।

पर्व नजिकिएसँगै मिथिला क्षेत्रका बजारमा पनि किनमेल गर्नेको भीड बढेको छ। केराका घरी, उखुका लाँक्रा, अदुवा, बेसारका बोट, ज्यामिरलगायत छठ पूजामा आवश्यक सामग्रीको बिक्री बढेको छ। स्थानीय किसानले समेत पूजाका सामग्री बजारमा बिक्रीका लागि ल्याउने तयारी गरेका छन्।

त्यस्तै, बाँसका चोया र कप्टेराबाट बनाइने ढकी, डलिया, कोनियाँ, नाङ्लो, चाल्नो तथा पङ्खाको माग बढेको छ। माटोबाट बनाइने दियो, छ्याँची, टौला, अङ्खरा र गाग्रीलगायत भाँडाकुँडाको कारोबार पनि बढेको स्थानीय बजारले जनाएको छ। छठमा नयाँ भाँडामा पूजासामग्री राख्ने परम्पराका कारण यस्ता सामग्रीको माग बढी हुने गरेको छ।

छठको प्रसाद बनाउने चटारो पनि घरघरमा सुरु भएको छ। ठकुवा र भुसुवासहितका परिकार तयार गर्न गृहिणीहरू व्यस्त छन्। प्रसादको शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिइने भएकाले परिवारका सदस्यको सहयोगमा घरमै चामल र गहुँको पिठो तयार गर्ने परम्परा अझै कायम छ। ढिकी र जाँतोमा पिठो कुट्ने तथा पिँध्ने चलनले पनि पर्वको मौलिकता झल्काउने गरेको छ।

बर्दिबास नगरपालिका–१३ बिजलपुरास्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिदेव महतोका अनुसार छठको तयारीसँगै स्थानीयवासीको दैनिकी नै पर्वकेन्द्रित बनेको छ। भेटघाट, पारिवारिक कुराकानीदेखि घरायसी कामकाजसम्म छठको तयारीमै केन्द्रित हुन थालेको उनले बताए।

यो पनि पढ्नुहोस  हावाहुरी र वर्षाले सूर्यविनायक नगरपालिका–७, गुण्डूस्थित भैरबी आधारभूत बिद्यालयको छानो उडायो

मिथिलामा कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन छठ पर्व मनाइन्छ। पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि पर्व सम्पन्न हुन्छ।

छठ पर्वमा जातीय तथा सामुदायिक विभेदभन्दा माथि उठेर सबै समुदायका मानिस एकै ठाउँमा भेला भई सूर्यदेवको आराधना गर्ने परम्परा छ। यस पर्वले आपसी सद्भाव, एकता र सहकार्यको सन्देश दिने विश्वास गरिन्छ। पुराना मनमुटाव बिर्सेर सामूहिक रूपमा पर्व मनाउने चलनले सामाजिक एकतालाई थप मजबुत बनाउने गरेको छ।

सूर्यदेव र षष्ठीदेवीको उपासनाबाट परिवारको सुख, शान्ति, समृद्धि तथा कल्याण प्राप्त हुने जनविश्वासका साथ मिथिलावासी श्रद्धा र भक्तिपूर्वक छठ पर्व मनाउने तयारीमा जुटेका छन्।

प्रकाशित मितिः