महँगी र आवास खर्चविरुद्ध स्पेनमा आमहडताल, म्याड्रिड र बार्सिलोनामा झडप

काठमाडौं । बढ्दो महँगी र महँगो आवासको विरोधमा स्पेनमा १४ वर्षपछि पहिलोपटक भएको आमहडतालका क्रममा राजधानी म्याड्रिड र बार्सिलोनामा प्रदर्शनकारी तथा प्रहरीबीच झडप भएको छ।

देशका प्रमुख श्रमिक संगठनहरूको आह्वानमा भएको आमहडतालमा म्याड्रिडमा करिब एक लाख २० हजार र बार्सिलोनामा ५० हजारभन्दा बढी मानिस सहभागी भएको बताइएको छ।

बार्सिलोनामा प्रदर्शनका क्रममा नकाबधारी समूहले फोहोर फाल्ने कन्टेनरमा आगजनी गर्नुका साथै पसलका सिसा फुटाएका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको थियो। स्पेनको गृह मन्त्रालयका अनुसार विभिन्न घटनामा दर्जनौँ प्रदर्शनकारी पक्राउ परेका छन्।

आमहडतालका कारण देशभर यातायात तथा सार्वजनिक सेवाहरू प्रभावित भएका छन्। म्याड्रिड र बार्सिलोनाका प्रमुख सडकमा प्रदर्शनकारीको उपस्थितिका कारण आवागमनसमेत अवरुद्ध भएको थियो।

बार्सिलोनाको प्रदर्शनमा सहभागी एक महिलाले बीबीसीसँग अधिकांश प्रदर्शन शान्तिपूर्ण रहेको बताएकी छन्। उनका अनुसार प्रदर्शनमा बालबालिका र वृद्धवृद्धासमेत सहभागी थिए। यद्यपि, साँझपख सडकका विभिन्न स्थानमा आगलागीका घटना भएका थिए।

स्पेनमा पछिल्लो समय सस्तो आवासको व्यवस्था गर्नुपर्ने र दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण गर्नुपर्ने माग गर्दै प्रदर्शन हुँदै आएका छन्। म्याड्रिडमा ८७ वर्षीया मारीकार्मेन अबास्काललाई सात दशकदेखि बस्दै आएको फ्ल्याटबाट निकालिएपछि आवाससम्बन्धी विरोध थप चर्किएको थियो। घरबाट निकालिएको केही सातापछि अस्पतालमा उनको मृत्यु भएको थियो।

प्रदर्शनमा सहभागी ३७ वर्षीया शिक्षिका ओल्गा डोमिङ्गोले आम्दानीको तुलनामा दैनिक खर्च तीव्र रूपमा बढ्दा सर्वसाधारणको जीवनयापन कठिन बन्दै गएको बताएकी छन्।

यसैबीच, स्पेनमा आगामी नोभेम्बर २९ मा संसदीय निर्वाचन हुँदैछ। आवास सुधारसम्बन्धी आफ्नो योजनाले संसद्बाट स्वीकृति नपाएपछि प्रधानमन्त्री पेद्रो सान्चेजले गत महिना समयअगावै निर्वाचन गराउने घोषणा गरेका थिए।

प्रधानमन्त्री सान्चेज र उनका मन्त्रीहरूले सस्तो आवासको मागसहित भइरहेको आन्दोलनप्रति समर्थन जनाउँदै सर्वसाधारणलाई काम रोक्न प्रोत्साहित गरेका छन्।

(बीबीसीको सहयोगमा)

यो पनि पढ्नुहोस  बढ्दै भक्तपुरमा अपराध, एक वर्षमा ८३२ वटा घट्ना, एक हजार ६ अभियुक्त, ७४५ पक्राउ, २६३ जना फरार
प्रकाशित मितिः