वडा सदस्यको हस्ताक्षर किर्ते गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

काठमाडौं । वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभाबाट नीति तथा कार्यक्रम पारित गराएको आरोपमा सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय पक्राउ परेका छन् ।

५५ वर्षीय रायलाई मंगलबार साँझ ५ बजे गाउँपालिका–१ स्थित आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार २०८० असार १० गते आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पेस गर्न आयोजित गाउँसभामा अनुपस्थित रहेकी एक वडा सदस्यको हस्ताक्षर किर्ते गरी नीति तथा कार्यक्रम पारित गराइएको भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो ।

उक्त उजुरीका आधारमा सरकारी कागजात किर्तेसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सर्लाही जिल्ला अदालतबाट २०८३ असोज १६ गते पक्राउ अनुमति प्राप्त भएपछि रायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस  आलमको मुद्दा कार्की र ढुङ्गानाको इजलासमा पेसी
प्रकाशित मितिः