मुख्यमन्त्री किरण थापा मगरद्धारा हेटौडामा तेक्वान्दो प्रतियोगिताको उद्घाटन

हेटौडा, ३ असोज । वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले हेटौंडा उपमहानगरपालिका वडा नं. ४ कार्यालयको आयोजनामा आजबाट सुरु भएको नगरस्तरिय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्नु भएको छ ।

उहाँले खेलको उद्घाटन गर्दै बागमती प्रदेश सरकारले खेलकुद क्षेत्रको विकास र खेलाडीहरूको प्रोत्साहनका लागि सदैव प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले खेलकुद प्रवद्र्धनको यस्ता सकारात्मक प्रयास सबै तिर सञ्चालन हुने सके युवाहरु खेलकुदप्रति आकर्षित हुने र देशले नयाँ नयाँ खेलाडीहरु पाउने बताउनुभयो ।

तल्लो तहदेखि नै खेलाडीहरूको पहिचान र विकास गर्न यस्ता स्थानीय स्तरका प्रतियोगिताहरू कोशेढुङ्गा सावित हुने बताउदै उहाँले खेलाडी राष्ट्रका गौरव र गहना भएको चर्चा गर्नुभयो ।

उदीयमान खेलाडीहरूलाई खेल भावनाका साथ उत्कृष्ट प्रदर्शन गर्न आग्रह गर्दै उहाँले खेलकुदले अनुशासन र स्वस्थ शरीरका लागि महत्वपूर्ण हुने बताउदै खेलकुदलाई विद्यालय र स्थानीय तहले चासो दिएर अगाडि बढाउनु पर्ने बताउनुभयो ।

शको शव बनाएर पशुपति आर्यघाटमा बेपत्ता पत्रकार टेकराज थामीको अन्त्येष्टि

काठमाडौँ, ३ असोजः भोटेकोशी बाढीपछि बेपत्ता पत्रकार टेकराज थामीको कुशको शव बनाएर आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

नयाँ पत्रिका दैनिकका पत्रकार थामी गत भदौ १० गतेदेखि सम्पर्कविहीन हुनुभएको थियो । दोलखाको कालीञ्चोक गाउँपालिका–२, बाबरेमा २०४२ साल जेठ १४ गते जन्मनुभएका थामीको प्रतीकात्मक शवमा उहाँका पिता डीलबहादुर थामीले दागबत्ती दिनुभयो ।

दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय थामीले कलमका माध्यमबाट गर्नुभएको योगदानको स्मरण गरिएको छ ।

पत्रकारितामा स्नातकोत्तर ४१ वर्षीय थामीले एचबिसी एफएम, सगरमाथा टेलिभिजन, एबिसी टेलिभिजन हुँदै नयाँ पत्रिकामा लामो समय काम गर्नुभएको थियो । उहाँले बागीश्वरी क्याम्पस र समृद्धि क्याम्पसमा पत्रकारिताको अध्यापन गर्नुका साथै पत्रकारिता प्रशिक्षण तथा लेखनमा समेत आफूलाई सक्रिय राख्नुभएको थियो ।

गोरखापत्र दैनिकको थामी भाषा पृष्ठका संयोजकसमेत रहेका टेकराज नेपाल पत्रकार महासङ्घ र प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय समस्यका साथै नेपाल थामी समाजका पूर्वउपाध्यक्ष र नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ९फोनिज० का पूर्वकोषाध्यक्ष हुनुहुन्थ्यो ।

चीनको स्वशासित क्षेत्र सिचाङको केरूङमा भदौ १० गतेका निम्ति निर्धारित ‘साउथ एसिया रिसर्च सेन्टर इन सायथवेष्ट चाइना’ कार्यक्रममा सहभागी हुन पत्रकार थामी भदौ ९ गते साँझ आफ्नै मोटरसाइकलबाट रसुवाको धुन्चे हुँदै रसुवागढी पुग्नुभएको थियो ।

पत्रकार थामीको कुशको शवमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले महासङ्घको झण्डा ओढाउनुभएको थियो भने नेपाल थामी समाजका अध्यक्ष रणबहादुर थामीलगायतले श्रद्धाञ्जली व्यक्त गर्नुएको थियो ।

अन्त्येष्टिमा पूर्वमन्त्रीहरु पार्वत गुरूङ, आनन्द पोखरेल, रासस र नयाँ पत्रिकाका सम्पादकीय नेतृत्व, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे, फोनिजका अध्यक्ष लक्की चौधरीसहित पत्रकारिता, सामाजिक, राजनीतिक, कानुन क्षेत्रका अगुवा र सहकर्मीहरुको उपस्थिति थियो ।

संविधान दिवसका अवसरमाा मुख्यमन्त्री किरण थापाद्धारा शुभकामना प्रदान

हेटौँडा, ३ असोजः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले संविधानप्रदत्त अधिकार नागरिकको दैनिक जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नु तीनवटै तहका सरकारको साझा जिम्मेवारी भएको बताउनुभएको छ ।

संविधान दिवसका अवसरमाा आज शुभकामना सन्देश जारी गर्दै उहाँले संविधानको अक्षरसः पालना गर्दै प्रदेश सरकार सुशासन, उत्तरदायी सेवा प्रवाह, सामाजिक न्याय र समावेशी विकासमार्फत समृद्ध प्रदेश निर्माणमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।

थापाले संविधानप्रदत्त अधिकार नागरिकको दैनिक जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नु तीनवटै तहका सरकारको साझा जिम्मेवारी भएको शुभकामना सन्देश जारी गर्दै उहाँले संविधानको अक्षरसः पालना गर्दै प्रदेश सरकार सुशासन, उत्तरदायी सेवा प्रवाह, सामाजिक न्याय र समावेशी विकासमार्फत समृद्ध प्रदेश निर्माणमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।

मुख्यमन्त्री थापा मगरले ११औँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै प्रदेश सरकार सुशासन, उत्तरदायी सेवा प्रवाह, सामाजिक न्याय, समावेशी विकास र समृद्ध प्रदेश निर्माणका लागि प्रतिबद्ध रहेको बताउनुभएको हो ।

उहाँले लोकतन्त्र, गणतन्त्र र सामाजिक न्यायका लागि बलिदान दिने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै संविधानले नागरिक स्वतन्त्रता, मौलिक हक, विधिको शासन र विविधताबीचको एकतालाई राज्य सञ्चालनको मुख्य आधार बनाएको शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

संविधानले प्रदान गरेका अधिकार नागरिकको दैनिक जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नु तीनै तहका सरकार, राजनीतिक दल र सम्पूर्ण नागरिकको साझा जिम्मेवारी भएको उहाँको भनाइ छ ।

बागमती प्रदेश सरकार संविधानको भावना र मर्मअनुसार काम गर्न प्रतिबद्ध रहेको उहाँले बताउनुभएको छ ।

मुख्यमन्त्री थापा मगरले हालैको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूप्रति गहिरो सहानुभूति प्रकट गर्दै उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणमा प्रदेश सरकार पूर्ण जिम्मेवारीका साथ क्रियाशील रहने विश्वास दिलाउनुभएको छ ।

संविधान दिवसले राष्ट्रिय एकता, आपसी सद्भाव र सहकार्यलाई थप सुदृढ बनाउँदै न्यायपूर्ण र समृद्ध नेपाल निर्माणका लागि सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षा मुख्यमन्त्री थापा मगरले व्यक्त गर्नुभएको छ ।

संविधान दिवसमा प्रधानमन्त्री शाहले भन्नुभयो : म प्रस्ट भन्छु, यो सुरुवात हो, अन्त्य होइन । भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो छ । तर त्यो जरो उखेल्ने हातहरू अब झन् बलिया छन्, झन् धेरै छन् ।

काठमाडौँ, ३ असोजः प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मावनअधिकार र कानुनी राज्य सर्त नभई हाम्रा राष्ट्रिय जीवनका आधार भएको बताउनुभएको छ । संविधान दिवसका अवसरमा आज सैनिक मञ्चमा आयोजित विशेष समारोहमा उहाँले संविधानको अक्षर र भावनाप्रति वर्तमान सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो ।

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को मूल समारोहमा प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको राजनीतिक व्यवस्थाको परिवर्तन र सुशासनको माग गरी गरिएका आन्दोलनमा आफ्नो ज्यान आहुती गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिद तथा ऐतिहासिक जेनजी आन्दोलनमा सहादत प्राप्त गर्नुभएका जेनजी सुशासन योद्धाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नु भयो । उहाँले हालै आएको रसुवा–भोटेकोशी बाढीमा परी मृत्यु भएका सबै स्वदेशी तथा विदेशी नागरिकप्रति समेत श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवदेना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।

उहाँले यो संविधानले नेपाली जनतासँग एउटा वाचा गरेको विविधताबीचको एकता, सबै प्रकारका विभेद र असमानताको अन्त्य र विकास, समृद्धि एवम् सामाजिक न्यायका आधारमा समतामूलक समाजको निर्माण, प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानूनी राज्य यो सरकारका लागि राष्ट्रिय जीवनको आधार ठानेको बताउदै यो संविधानको अक्षर र भावना, दुवैप्रति यो सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले संविधान जति राम्रो भएपनि, त्यसलाई चलाउने हात इमानदार र अनवरत क्रियाशील भएनन् भने त्यो कागजको खोस्टो बन्छ भन्दै उहाँले भन्नुभयो,
“म प्रस्ट भन्छु, यो सुरुवात हो, अन्त्य होइन । भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो छ । तर त्यो जरो उखेल्ने हातहरू अब झन् बलिया छन्, झन् धेरै छन् । विकासका लागि सुशासन अनिवार्य पूर्वसर्त हो भन्ने कुरामा सरकार सचेत छ । वर्तमान सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचारविरूद्ध शून्य सहनशीलता, प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सरकारी एवं सार्वजनिक पदमा योग्यतामा आधारित नियुक्ति प्रक्रिया अवलम्बन गरेको छ । सुशासन नारा होइन, काम हो । र हामी काम गरिरहेका छौँ । सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य प्राप्त गर्न सङ्घीय सरकार प्रतिबद्ध छ ।”

उहाँले यो सरकार कुनै हालतमा पुरानै बाटो मात्र नहिड्ने पतिबद्धता व्यक्त गर्दै कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र साइबर सुरक्षालाई सँगै लिएर, नवप्रवर्तन र स्टार्टअपलाई अगाडि राखेर, ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्न बताउनुभयो । डिजिटल सुशासन ब्लुप्रिन्टअनुसारको राष्ट्रिय डिजिटल पूर्वाधार त्यसैको जग भएको भन्दै युवाले सडकमा मागेको सुशासन, हामी प्रविधिबाट पनि सुनिश्चित गर्छौँ भन्नुभयो ।

हालैको रसुवा–भोटेकोशी बाढीले पु¥याएको क्षति हाम्रा लागि अकल्पनीय र अपुरणीय रह्ेको बताउदै यस विपद् घडीमा उद्धार कार्यमा सहयोग गर्ने तथा राहत कार्यमा योगदान पु¥याउने सबै मित्रराष्ट्र, अन्तर्राष्ट्रिय समुदाय एवम् संघसंस्था, निजी क्षेत्र, राष्ट्रसेवक कर्मचारी, आमनागरिक तथा देशवासीप्रति विशेष धन्यवाद र आभार प्रकट गर्नुभयो ।
उहाँले नेपाल विश्वका उच्च विपद् जोखिम भएका मुलुकहरूको सूचीमा रहेको तथ्यलाई विपद् आइसकेपछि होइन, आउनुअघि नै सामना गर्ने गरि तयारी गर्ने र जोखिम न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यमा विशेष जोड दिइने तथा विपद्को पूर्वसूचना प्रणाली सर्वोच्च प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइने बताउनुभयो ।

संविधान जारी भएको दिन हरेक वर्ष आउँछ । तर संविधान पूरा हुने दिन हामीले आफैँ ल्याउनुपर्छ भन्दै प्रधानमन्त्री शाहले हरेक इमानदार निर्णयबाट, हरेक पारदर्शी नियुक्तिबाट, नागरिकको घरदैलोमा पुग्ने हरेक सेवाबाट, जनताले सुशासन मागेको, विकास मागेकोे, समृद्धि र सामाजिक न्याय मागेकोले यो सरकारको हरेक कदम त्यही आकाक्षांलाई पुरा गर्न केन्द्रित रहेको बताउनुभयो । यो संविधानप्रतिको निष्ठा र यसको पालनामा पूर्णप्रतिबद्ध रुपमा गनर््े प्रतिबद्धता व्यक्त गर्दै उहाँले सहिदहरूको रगतले लेखेको संविधान, यो सरकारले कामले पूरा गरर्न बताउनुभयो ।

 

प्रदेश सरकार नागरिकको अपेक्षाअनुसार जिम्मेवार, पारदर्शी र परिणाममुखी रूपमा अघि बढ्छ : मुख्यमन्त्री किरण थापा मगर

हेटौँडा, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संविधान दिवस घोषणामा मात्रै सिमित नभई जनताले त्यसको प्रतक्ष्य अनुभूति गर्न सके मात्रै सफलता हुने बताउनु भएको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ का अवसरमा आज हेटौँडामा प्रदेश सरकारले आयोजना गरेको संविधान दिवस तथा राष्ट्रिय दिवसको विशेष कार्यक्रममा सम्बोधन गर्दै उहाँले संविधानको सफलता यसको घोषणामा मात्र नभई प्रभावकारी कार्यान्वयन र नागरिकले दैनिक जीवनमा त्यसको प्रत्यक्ष अनुभूति गर्न पाउने अवस्थाबाट पुरा हुने बताउनु भएको हो ।

मुख्यमन्त्री थापा मगरले भन्नुभयो, “सार्वजनिक कार्यालयबाट सहज सेवा, समाजमा न्याय र सुरक्षा, युवाका लागि शिक्षा तथा रोजगारी, किसानका उत्पादनको उचित मूल्य, उद्यमीका लागि अनुकूल वातावरण र विपन्न नागरिकका लागि राज्यको संरक्षण सुनिश्चित हुनुपर्छ ।”

उहाँले प्रशासनिक ढिलासुस्ती, विकास आयोजनाको न्यून प्रगति, बेरोजगारी, युवा पलायन, भ्रष्टाचारप्रतिको नागरिक चिन्ता तथा सार्वजनिक संस्थाप्रतिको घट्दो विश्वासलाई साझा चुनौतीका रूपमा लिदै यस्ता समस्या आरोप–प्रत्यारोपबाट नभई जिम्मेवारीबोध, सहकार्य र परिणाममुखी कार्यबाट समाधान गर्नुपर्ने उहाँले बताउनुभयो ।

मुख्यमन्त्री थापा मगरले भन्नुभयो, “संघीयताको प्रभावकारी कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको छ । प्रदेश सरकार नागरिक र संघीय संरचनाबीचको महत्वपूर्ण सेतु हो, संविधानले प्रदेशलाई प्रदान गरेका अधिकारको कार्यान्वयन, आवश्यक कानून निर्माण तथा पर्याप्त स्रोत र जनशक्तिको व्यवस्था हुनुपर्छ । अधिकार, जिम्मेवारी र स्रोतबीच उचित सन्तुलन कायम गर्नु संघीयता सुदृढीकरणको आधार हो ।”

बागमती प्रदेशमा कृषि, उद्योग, पर्यटन, ऊर्जा, शिक्षा, स्वास्थ्य, सञ्चार, प्रविधि तथा ऐतिहासिक र सांस्कृतिक सम्पदाका प्रशस्त सम्भावना रहेको बताउँदै उहाँले त्यस्ता सम्भावनाको उपयोगसँगै तीव्र सहरीकरण, वातावरणीय प्रदूषण, विपद् जोखिम, क्षेत्रीय असमानता र सार्वजनिक सेवामाथिको बढ्दो मागजस्ता चुनौती सम्बोधन गर्दै अगाडि जानु पर्ने औल्याउनुभयो ।

प्रदेश सरकार नागरिकको अपेक्षाअनुसार जिम्मेवार, पारदर्शी र परिणाममुखी रूपमा अघि बढ्छ :

मुख्यमन्त्री थापा मगरले प्रदेश सरकार नागरिकको अपेक्षाअनुसार जिम्मेवार, पारदर्शी र परिणाममुखी रूपमा अघि बढ्ने बताउदै प्रदेश अन्तर्गतका सबै प्रशासनलाई सरल, प्रविधिमैत्री र उत्तरदायी बनाउने, सार्वजनिक खर्चमा अनुशासन कायम गर्ने तथा समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्ने विषयलाई प्राथमिकता दिएर अगाडि बढ्ने बताउनुभयो ।

कानूनको शासन, शान्ति सुरक्षा, नागरिक अधिकारको संरक्षण र विपद् उत्थानशील पूर्वाधार निर्माणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउदै मुख्यमन्त्री थापा मगरले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्दै सर्वसाधारण बचतकर्ताको हित संरक्षण गर्नु प्रदेश सरकारको महत्वपूर्ण जिम्मेवारी भएको बताउनुभयो ।
उहाँले सहकारी संस्थामा प्रभावकारी नियमन, सुशासन, पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्ने तथा समस्याग्रस्त सहकारीका पीडित बचतकर्तालाई न्याय दिलाउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो ।

मुख्यमन्त्री थापा मगरले भन्नुभयो, “युवालाई स्वदेशमै अवसर उपलब्ध गराउन कृषि, पर्यटन, उद्योग, सूचना प्रविधि, सीप विकास र उद्यमशीलतालाई प्रोत्साहन गरिने छ । शिक्षा र स्वास्थ्य सेवामा गुणस्तर, पहुँच र समानता कायम गर्दै महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित तथा पछाडि परेका समुदायको सम्मानजनक जीवन र अर्थपूर्ण सहभागितामा जोड दिइने छ ।”

संविधानको कार्यान्वयन सरकारको मात्र जिम्मेवारी होइन, यसको कार्यान्वयनको लागि राजनीतिक दल, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, निजी क्षेत्र, नागरिक समाज, सञ्चारजगत् र प्रत्येक नागरिकको जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण रहन्छ भन्दै उहाँले लोकतन्त्रमा विचार फरक हुन सक्छ तर राष्ट्रहित, संविधानको संरक्षण र नागरिक कल्याणका विषयमा साझा समझदारी र सहकार्य आवश्यक रहेकाले त्यसलाई बुझेर सबैले हातेमालो गर्दै अगाडि बढ्नु जरुरी रहेको आल्याउनुभयो ।

मुख्यमन्त्री थापा मगरले नेपालको संविधान राज्य सञ्चालनको कानूनी दस्तावेज मात्र नभई नेपाली जनताका अधिकार, आकांक्षा र साझा भविष्यको आधार भएको बताउनुभभयो । संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, सामाजिक न्याय, मानव अधिकार, प्रेस स्वतन्त्रता, विधिको शासन र स्वतन्त्र न्यायपालिकालाई संस्थागत गरेको उल्लेख गर्दै उहाँले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा र न्यायमा पहुँच प्राप्त गर्ने आधार संविधानले प्रदान गरेको उहाँको भनाई थियो ।

मुख्यमन्त्री थापा मगरेले भन्नुभयो, “संविधान जारी भएपछि संघ, प्रदेश र स्थानीय तहसहितको संघीय शासन प्रणाली संस्थागत भएको र तीनै तहमा जनप्रतिनिधिमूलक संस्था सञ्चालनमा रहेको छ । नागरिकका धेरै सेवा स्थानीय तहसम्म पुगेको छ । प्रदेशहरूले आफ्नो आवश्यकता तथा विशेषताअनुसार नीति, कानून, योजना र कार्यक्रम निर्माण गरिरहेको छ ।”

संविधानप्रति प्रदेश सरकारको पूर्ण निष्ठा र इमानदारीपूर्वक काम गर्छ :

मुख्यमन्त्री थापा मगरले संविधानप्रति प्रदेश सरकारको पूर्ण निष्ठा दोहो¥याउँदै नागरिक अधिकारको संरक्षण, विधिको शासन, सुशासन, सामाजिक न्याय, समावेशी विकास तथा सुरक्षित र समृद्ध प्रदेश निर्माणका लागि इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले लोकतन्त्र, नागरिक स्वतन्त्रता र राष्ट्रिय हितका लागि जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सहिदप्रति सम्मान व्यक्त गर्दै विभिन्न लोकतान्त्रिक आन्दोलनका घाइते, बेपत्ता तथा योगदानकर्ताप्रति पनि उहाँले सम्मान प्रकट गर्नुभयो ।

समारोहमा प्रस्तुत सांस्कृतिक झाँकी, निबन्ध प्रतियोगिता तथा मैत्रीपूर्ण खेलकुदले बागमती प्रदेशको विविधता, सिर्जनशीलता, सहकार्य र सद्भावलाई उजागर गरेको भन्दै मुख्यमन्त्री थापा मगरले विद्यार्थी, कलाकार, खेलाडी तथा सहभागी संस्थालाई धन्यवाद तथा बधाई व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित प्रदेश प्रमुखप्रति कृतज्ञता व्यक्त गर्दै उहाँले समारोहको तयारी तथा व्यवस्थापनमा योगदान पु¥याउने मन्त्रालय, सरकारी निकाय, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी तथा सहयोगी सबैप्रति आभार व्यक्त गर्नुभयो ।

विपद्पीडितको दुःखमा प्रदेश सरकार साथमा :

मुख्यमन्त्री थापा मगरले यसवर्षको संविधान दिवस मनाइरहँदा भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको जलप्रलयबाट भएको मानवीय तथा भौतिक क्षतिलाई बिर्सन नसकिएको बताउनुभयो ।

प्रभावित क्षेत्रमा सुरक्षित बसोबास, अत्यावश्यक सेवा सञ्चालन, क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा नागरिकको जीविकोपार्जन पुनःस्थापनाका लागि संघीय सरकार र स्थानीय तहसँग समन्वय गरी पुनर्निर्माण तथा पुनर्लाभका कामलाई प्राथमिकताका साथ अघि बढाइने उहाँले बताउनुभयो । जलप्रलयमा ज्यान गुमाउने नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँले शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।

प्रभावित परिवार तथा समुदायको दुःखमा बागमती प्रदेश सरकार साथमा रहेको विश्वास दिलाउँदै उहाँले विपद्का समयमा खोज, उद्धार, उपचार र राहतमा खटिएका सुरक्षा निकाय, स्वास्थ्यकर्मी, राष्ट्रसेवक कर्मचारी, स्थानीय तह, जनप्रतिनिधि, स्वयंसेवक, निजी क्षेत्र, सञ्चारकर्मी तथा सहयोगी सबैप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

 

यसवर्ष पनि ३९ वर्षीय विरेन्द्रभक्त श्रेष्ठले पाँचौ पटक जिब्रो छेडेर जात्रा मनाउँने
भक्तपुर, २ असोज । मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय विरेन्द्रभक्त गजू श्रेष्ठले यसवर्ष पनि पाँचौ पटक जिब्रो छेडेर लोपोन्मुख अबस्थामा पुगिसकेको जात्रा एवं परम्परालाई जिवन्त राख्नु हुने भएको छ ।
भाद्र शुक्ल पूर्णिमाको दिन साँझ यहीँ असोज १० गते शनिवार इन्द्रजात्राको भोलिपल्ट साँझ येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा अर्थात जिब्रो छेड्ने जात्रामा श्रेष्ठले यसवर्ष पनि जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिने उहाँले जानकारी दिनुभयो ।
बिचबिचमा चल्दै रोकिदै आएको यो जात्रा २०६३ सालदेखि निरन्तर राकिदै ११ वर्षको अन्तरालपछि २०७४ मा वीरेंद्रभक्तकै अगुवाइमा पुनः सुरु भएको थियो । त्यसयता उनले २०७९, २०८१ र २०८२ सालमा पनि जिब्रो छेडेका थिए भने यसवर्ष पनि जिब्रो छेडेर जात्रालाई निरन्तरता दिनु हुने भएको हो ।
२०७५ सालमा बालकराम श्रेष्ठले एकपटक जिब्रो छेडाएको र कोरोना महामारीले रोकिएकोमा २०७९ मा वीरेंद्रभक्तले पुनः जात्रालाई निरन्तरता दिनु भएको हो । मध्यपुर थिमिका कृष्ण नानिचा श्रेष्ठले २०५२, ०५७ र ०६३ मा जिब्रो छेडाउन भएको थियो ।
आर्थिक अभावका कारण चल्दै र रोकिदै आएको यो जात्रा सञ्चालनमा करिब ६ लाख रुपैयाँभन्दा बढीको खर्च हुने र नगरपालिकाले सहयोग गरेको भन्दा बढी रकम जिब्रो छेड्ने व्यक्ति र स्थानीयले खर्च गर्दै आएको छ ।
जात्राको क्रममा मध्यपुरथिमिको दिगुभैरब मन्दिरको डबलीमा हजारौ व्यक्तिको अगाडि जिब्रो छेडेर जात्रा सुरु हुने भएको छ । जिब्रो छेडेपछि जिब्रो छेड्ने व्यक्तिको ईच्छा अनुसार पशुपतिनाथको मन्दिरसम्म पुग्ने गरेको छ । उहाँले २०८२ सालमा जिब्रो छेडेर सयौ स्थानीयका साथमा करिब ३० किलोको महाद्धिप बोकेर खाली खुट्टा नै पशुपतिनाथका मन्दिरसम्म पुगेर फर्किदा २८ किलोमिटर लामो सडक खाली खुट्टा हिडेरै यात्रा गर्नु भएको थियो ।
उहाँले २०८२ सालमा भने जिब्रो छोडेर दिगुटोलबाट सुरुभएको जात्रा बालकुमारी मन्दिर, तछुटोल, बिष्णुबिर मन्दिर, यमाटोल, मरुटोल, शंखधर चोकथिमि, सूर्यविनाक नगरपालिका–४ मा पर्ने दक्षिण बाराही मन्दिर (क्वाछे) हुदै पुन शंखधर चोक हुदै मुख्य सडकबाट राधे राधे, सल्लाघारी, भक्तपुर नगरपालिका क्षेत्र प्रवेश गर्दै चोङ्गा गणेश, सिद्ध पोखरी, नः पुखु, दरबार स्क्वायर, पाँचतले मन्दिर, सुकुलढोका, दत्तात्रय मन्दिर, क्वाठण्डौ, नवदुर्गा मन्दिर (द्यो छें), साक्वःलान रुट हुँदै पुनः पाँचतले मन्दिर, बंशगोपाल, सिद्ध पोखरी, सल्लाघारी चोङ्गा गणेश मध्यपुरथिमिको निकोसेरा, नगरपालिका चोक, पाटी बिहार, गुङ चिवा, भिमसेन चोक, गणेश स्कुल, नगदेश, सिद्दी गणेश मन्दिर, गार्चा चोक, सिद्धिकाली चोक, सिद्धिकाली मन्दिर, भुलाँखेल, चोडे, दुई पोखरी हुदै बालकुमारी मन्दिरसम्मको १३ किलोमिटरको यात्रा पुरा गरि जिब्रोबाट सियो निकालेर जात्रा बिसर्जन गरिएको थियो ।
किम्बदन्तीअनुसार प्राचिनकालमा थिमिमा भूतप्रेत र पिशाचहरूको आतंक मच्चाएर जथाभावी मानिस मार्ने गरेपछि यसलाई नियन्त्रण गर्न एक जनाको जिब्रो छेडी नगर परिक्रमा गराइएको र त्यसपछि भूत, प्रेत, पिशाच भागेर शान्ति स्थापना भएको भनाई छ ।
भाद्र शुक्ल पूर्णिमाको साँझ, तेलमा डुबाइएको करिब एक फिट लामो फलामको सियो दिगु भैरव मन्दिरको डबलीमा पूजा गरेर जिब्रो छडेर पुशपतिसम्मको यात्रा गर्दै अन्तिमा पुन : बालकुमारी मन्दिर पुगेर सियो निकाल्ने परम्परा रहेको छ । जात्राले मनाएपछि नगरमा रोग, अनिकाल, प्राकृतिक विपत्तिबाट जोगिने विश्वास रहदै आएको छ ।
सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफी –२०८३ को उपाधी नेपाल पुलिस स्कुललाई 
भक्तपुर, २ असोज । सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफी –२०८३ को उपाधी नेपाल पुलिस स्कुल, साँगाले हात पारेको छ ।
श्री सैनिक आवासीय महाविद्यालय, सल्लाघारी, भक्तपुरको आयोजनामा सञ्चालन भएको २२ औँ सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफी –२०८३ को आज महाविद्यालयको घरेलु मैदानमा भएको फाइनल खेलमा महाविद्यालयलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस स्कुल, साँगाले उपाधी हात पारेको हो ।
समापन कार्यक्रम कायम मुकायम प्रधान सेनापति बलाधिकृत रथी प्रदीप जंग के.सी.ले विजेता नेपाल पुलिस स्कुललाई रु. ५० हजार नगद पुरस्कारसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
उहाँले उपविजेता सैनिक आवासीय महाविद्यालय रातोलाई रु. ३० हजार नगद पुरस्कारसहित रनर–अप ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभयो । उहाँले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरूलाई समेत विभिन्न विधामा पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नु भयो ।
पुरस्कार वितरण पछि कायम मुकायम प्रधान सेनापति बलाधिकृत के.सी.ले विद्यार्थी जीवनमा खेलकुदको महत्व, अनुशासन, टोली भावना तथा स्वस्थ प्रतिस्पर्धाले व्यक्तित्व विकासमा पु¥याउने योगदान महत्वपूर्ण हुने बताउनुभयो ।
२२ औँ संस्करणको यस प्रतियोगिताले विद्यालयस्तरमा फुटबल खेलको प्रवद्र्धन गर्नुका साथै प्रतिभावान खेलाडीको पहिचान र विकास, विद्यार्थीहरूबीच आपसी भाइचारा तथा सौहार्दपूर्ण सम्बन्ध विस्तार र खेलकुदमार्फत अनुशासित एवं स्वस्थ जीवनशैलीको विकासमा महत्वपूर्ण योगदान पु¥याएको उहाँले बताउनुभयो ।
विद्यालयस्तरीय फुटबल खेलको विकास तथा विद्यार्थीहरूमा खेलकुद भावना, अनुशासन, नेतृत्व क्षमता र स्वस्थ प्रतिस्पर्धाको संस्कार विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा श्री सैनिक आवासीय महाविद्यालयका २ टिमसहित उपत्यकाका विभिन्न विद्यालयका जम्मा १२ टिम सहभागी भएको महाविद्यालयका व्यबस्थापन प्रमुख कर्नेल शिव पौडेलले जानकारी दिनुभयो । प्रतियोगिताका लिग तथा नकआउट चरणमा गरी कुल १९ वटा खेल सञ्चालन भएको उहाँले जानकारी दिनुभयो ।
समापन समारोहमा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, श्री सैनिक कल्याणकारी निर्देशनालयका निर्देशक, श्री युद्धकार्य निर्देशनालयका निर्देशक, श्री नेपाली सैनिक वार कलेजका निमित्त शिक्षाधिकृत, SAAN का अध्यक्ष लगायत नेपाली सेनाका वरिष्ठ अधिकृतहरू, विभिन्न सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू, सहभागी विद्यालयका प्राचार्य तथा व्यवस्थापकहरू, प्रशिक्षक, खेलाडी, शिक्षक तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
ट्यांकरको ठक्करबाट काँग्रेस नेतृ कार्कीको मृत्यु, श्रीमान् घाईते
भक्तपुर, २ असोज : काठमाडौंबाट जडिबुटी हुदै भक्तपुरतर्फ जादै गरेको बागमती प्रदेश–०३–००१ प ०६१५ नम्बरको ट्यांकरले आज बा.९३प ७६७८ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाईकलमा सवार नेपाली कांग्रेस दोलखाकी महाधिवेशन प्रतिनिधि ३९ वर्षीया उर्मिला कार्कीको मृत्यु भएको छ ।
कोटेश्वरवाट जटिबुटी हुँदै भक्तपुर जाने क्रममा आज कार्की सवार मोटरसाइकललाई सोही दिशावाट आइरहेको टयांकरले ठक्कर दिदाँ मोटसाईकल चालक एवं कार्कीका श्रीमान् काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका–४ का देवराज कँडेल घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
मृतकको शव परीक्ष(ाका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको र ट्यांकर चालक र दुबै सवारी साधनलाई प्रहरीले निण्न्त्रण्मा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार
हेटौँडा, २ असोजः बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली कम्युष्टि पार्टी (नेकपा) बाट रमा आलेमगर कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री नियुक्त हुनुभएको छ । उहाँले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा मन्त्री आलेमगरलाई शपथ गराउनुभएको हो । मुख्यमन्त्री किरण थापामगरले आलेलाई शुक्रबार मन्त्री पदमा नियुक्त गर्नुभएको थियो । आले काठमाडौँ क्षेत्र नम्बर १० को प्रदेशसभा (२) बाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो । उहाँ यसअघि शालिकराम जमकट्टेल नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्री हुनुभएको थियो ।

मुख्यमन्त्री थापाले यसअघि नै मन्त्रालय विभाजन गरिसक्नुभएको भए पनि प्राविधिक कारणले कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय आफैँ मातहतमा राख्नुभएको थियो। मन्त्री आलेमगरको नियुक्तिसँगै उक्त मन्त्रालयले समेत नेतृत्व पाएको छ।

बागमती प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपाको सहभागितामा प्रदेश सरकार गठन भएको छ। प्रदेश सरकारमा हाल आठ वटा मन्त्रालय रहेका छन्।

फुटबल खेल्दै मुख्यमन्त्री, मुख्यमन्त्री र मुख्यसचिव नेतृत्व टिमद्धारा प्रतिस्पर्धा,

हेटौडा, १ असोज । संविधान दिवसको अवसरमा बागमती प्रदेशका ्मुख्यमन्त्री किरण थापा मगरको टिम र प्रमुखसचिवसहितको टिमबीच आज मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ ।

संविधान दिवसलाई उत्साह, उमंग, आपसी सद्भाव र सहकार्यका साथ मनाउने उद्देश्यले आयोजना गरेको यस मैत्रीपूर्ण खेलले प्रदेश सरकारको राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वबीचको आत्मीयता, सहकार्य, समन्वय र टीम भावना अझ सुदृढ बनाएको मुख्यमन्त्री थापाले बताउनु भयो ।

मुख्यमन्त्री किरण थापाले भन्नुभयो, ‘खेलकुद केवल शारीरिक तन्दुरुस्ती मात्र होइन, यसले अनुशासन, सहकार्य, नेतृत्व क्षमता, आपसी विश्वास र एकताको भावना समेत अभिवृद्धि गर्दछ । सरकारको प्रभावकारी कार्यसम्पादनका लागि नेतृत्व र कर्मचारीबीचको सहकार्य र समन्वय अपरिहार्य हुन्छ ।’

संविधानले दिएको जिम्मेवारीलाई आत्मसात् गर्दै सुशासन, विकास, सेवा प्रवाह र समृद्ध बागमती निर्माणका लागि हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धतासहित संविधान दिवसलाई थप उत्साहपूर्ण र स्मरणीय बनाइएको उहाँले बताउनुभयो ।