विद्यार्थीहरुलाई पोशाक एवं स्टेशनरी वितरण : शिक्षाको बजेट लक्षित वर्गसम्म कहिले पुग्ला : राधिका शाक्य
भक्तपुर, २६ जेठ । भक्तपुर, २६ जेठ स् एमाले अध्यक्ष केपी शर्मा ओली पत्नी समाजसेवी राधिका शाक्यले शिक्षाको पहिलो आँगनमा भविश्य बोकेर आएका राजधानीकै विद्यायका बालबालिकाको अनुहार देख्दा निकै दुःख लागेको बताउनु भएको छ ।
जगत भैरब प्रतिष्ठानले सिपाडोलको गणेश माध्यमिक विद्यालयमा बिहिबार अयोजना गरेको लक्षित विद्यार्थीहरुका लागि विद्यालय पोशाक एवं शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा विद्यार्थीहरुलाई सामग्री हस्तान्तरण गर्दैै यस्तो बोल्नु भएको हो ।
उहाँले भन्नुभयो, “राजधानीकै विद्यार्थीको अवस्था यस्तो छ भने दुर दराजको बालबालिकाको अबस्था कस्तो होला रु, वजेटमा शिक्षा क्षेत्रलाई धेरै वजेट बिनियोजन गरेपनि लक्षित बर्गसम्म पुग्न नसक्दा कयौं बालबालिकाले शिक्षाको उज्यालोबाट बञ्चित हुन परेको देख्दा निकै दुःख लागेको छ ।” शिक्षिका बनेर पढाउने आफ्नो लक्ष्य भएपनि समय परिस्थितिले आफूलाई बैंकमा नोकरी गर्ने अबस्थामा पुर्याएको उहाँको भनाइ थियो ।
वाग्मति प्रदेश सभाका सांसद किरण थापाले यसअघि सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष हुँदा पाएको पाँचवर्षको तलब भत्ता वापतको रु. १५ लाख रकमबाट गरिब, दलित एवं विपन्न वर्गका बालबालिकालाई शिक्षामा पहुँच पुर्याउने उदेश्यले स्थापना गर्नु भएको जगत भैरब प्रतिष्ठान शैक्षिक अक्षयकोषको रकमबाट पहिलो पटक दुई विद्यालयका विद्यार्थीहरुलाई पोशाकदेखि स्टेशनरी सामग्रीसमेत हस्तान्तरण गरिएको हो ।
अक्षयकोषमा बिभिन्न दाताहरुले २१ लाख रुपैयाँ थप गरि कूल रु. ३६ लाखको अक्षयकोण सञ्चालनमा आएपछि यसवर्षदेखि दई विद्यालयका विद्यार्थीहरुलाई बिभिन्न सामग्रीहरु हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा वाग्मति प्रदेश सभाका सांसद किरण थापाले आर्थिक अभावका कारण गरीव तथा जेहेन्दार छात्रछात्राले पढाईबाट बञ्चित हुनु नपरोस् भनेर अक्षयकोष स्थापना गरि सहयोग गर्न सुरु गरेको बताउनु भयो ।
गणेश माविको नयाँ भवन निर्माण सुरु भएको बताउदै उहाँले भन्नुभयो, “अधिकांश गरिब, दलित, विपन्नलगायतका ४७५ जना बालबालिका अध्ययनरत यस विद्यालयको रु. ६ करोड ५० लाखको लागतमा २१ कोठे नयाँ भवन निर्माण भइरहेको छ, पछिल्लो समय नमुना स्कुलको रूपमा चिनिएको बिद्यालयमा प्लस टु सञ्चालन गर्ने तयारी थालेका छौँ, यहाँ आर्थिक अभावकै कारण कसैले पनि पढाइबाट बञ्चित हुन नपरोस भनेर लागिरहेका छौँ ।”
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले प्रतिष्ठानले उदाहरणीय काम गरेको बताउँदै तत्कालीन वडाध्यक्ष किरण थापाले आफुले पाउने पारिश्रमिकबाट यस विद्यालयलाई सहयोग गरेर पुण्य काम गरेको बताउनुभयो ।
प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रमका सभापति द्वारिकाप्रसाद सत्याल, प्रतिष्ठानका सदस्य रामेश्वर थापा, वडा नं.८ का वडाअध्यक्ष पुष्पराज बस्नेत, विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद मैनालीलगायतले विद्यार्थीको अनुहारमा आएको खुसीले गणुस्तरीय शिक्षा आर्जन गर्न र विद्यालयलाई प्रदान गरिएको ल्यापटपले शिक्षक, शिक्षिकालाई प्राबिधिक शिक्षा प्रदान गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बिद्यालयलाई सहयोग गर्दै आएका व्यवसायी रामबहादुर लामा, चित्रा केसी, यादब राईलगायतलाई सम्मान गरिएको थियो ।
प्रतिष्ठानले कार्यक्रममा विद्यालयलाई एक ल्यापटप, देवी आधारभूत विद्यालयका ५० जनालाई स्कुल ब्याग, स्कुल पोशाक, टाई, जुत्ता, स्टेशनरी र गणेश माध्यमिक विद्यालयका २०० विद्यार्थीलाई ब्याग, ट्रयाकसुट, जुत्ता, स्टेशनरीसामानलगायतको हस्तान्रण गरिएको विद्यालयका सहायक प्रधानाध्यापक रबिन्द्र थापाले बताउनुभयो ।
नक्कली भुटानी शरणार्थी काण्डमा फरार टोपबहादुर पक्राउ

काठमाडौँ, ३१ वैशाख  : नक्कली भुटानी शरणार्थी प्रकरणमा परेर फरार रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौँको बूढानीलकण्ठ क्षेत्रबाट आज साँझ पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

नेकपा (एमाले)का नेता रायमाझीलाई प्रहरीले पक्राउ पुर्जी जारी गरी खोजीको सूचीमा राखेको थियो । उपरीक्षक कार्कीले भन्नुभयो, “हाम्रो टोलीले उहाँलाई बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिसकेको छ ।” उहाँविरुद्ध जिल्ला अदालत काठमाडौँले यही वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएदेखि नै रायमाझी फरार रहेको प्रहरीले जनाएको छ । सोही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने यही वैशाख २० गते नै पक्राउ गरेको थियो ।

मधयपुरथिमिमा वः फेस्टिभल हुदै

भक्तपुर, ३१ बैशाख  : नेवार समुदायका विभिन्न प्रकारका खानाका परिकार मध्येको एउटा विशेष खानाको परिकारको नाम हो वः अर्थात् बारा। यही खाद्य प्रकारको बारेमा भक्तपुरमा महोत्सव हुने भएको छ। सिथि नखः (एक प्रकारको पर्व) को अवसरमा मध्यपुर थिमिको आयोजनामा मध्यपुर पर्यटन विकास समिति संयोजनमा फेष्टिभल हुन लागेको हो। फेष्टिभल जेठ ५ गते शनिवार १० बजेदेखि बेलुकाको ७ बजेसम्म मध्यपुर थिमि नगरपालिका वडा नं ४ दुईपोखरीमा हुने छ।

वः (मास, मुगी तथा अन्य विभिन्न गेडागुडी भिजाइ सफा गरी पिसेर आफूलाइ मनपर्दो अण्डा, मासु तथा मरमसला मिलाइ टावामा विभिन्न आकार प्रकार दिई पकाइने खाना) को परिकार हो। नेवा समुदायको अन्य विभिन्न परिकार र खानाको स्वाद चखाउने र सो खानाकोबारेमा आन्तरिक र वाह्य पर्यटकलाई विशेष जनाकारी गराई मध्यपुर थिमिका पर्यटकीय गन्तव्यको पहिचान, विकास र प्रवर्द्धन गरी स्थानिय समुदायका आय आजन गर्ने उद्देश्य लिइ व फेस्टिभल गर्न लागिरहेको जनाएको छ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा मध्यपुर थिमि नगरपालिका वडा नं ४ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले फेस्टिभलले मध्यपुरका जनतालाइ आय आर्जन गराउने र समृद्ध मध्यपुर बनाउने अभियानलाई सार्थक बनाउने विश्वास व्यक्त गरे। मध्यपुरमा अनवरत रुपमा रहेका प्राकृतिक सौन्दयता, विभिन्न पर्यटकीय आकर्षण कला संस्कृति र सम्पदा, कलात्मक मठमन्दिर, पाटीपौवा, सत्तल, बिहार र कैयौ उत्कृष्ट तथा साम्प्रदायिक सहिष्णुताको बस्ती र स्मारक क्षेत्र देशविदेशको कुनाकाप्चा पुरयाई यहाँको हरेक ठाउँ र हरेक अद्वितीय जनमोल रत्नहरुको सौहादपूर्ण र अमूल्य प्याकेज निर्माण गरी मध्यपुरमा भएको माटोको भाँडो बनाउने सेरामिक्स र अनेकौं हस्तकलालाई संरक्षण गरी मध्यपुरलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित फेष्टिबल गर्न लागेको उनले जनाए।

मध्यपुर पर्यटन विकास समितिका संयोजक रमेश प्रजापतिले पर्यटकहरुलाई तथा आन्तरिक पर्यटकहरुलाई देखाउनको निमित्त फेष्टिबल गर्न गइरहेको बताए। मध्यपुर थिमि नगरपालिकाबाट उपलव्ध गराउने पाँच लाख र आफ्नै लागत सहभागिता र बाकी दुईलाख मात्र स्वतःस्फुर्त रुपमा सहयोग गर्न चाहने व्यापारिक संघसंस्थाको सहयोगमा गरी जम्मा सात लाखको सिमाभित्र रही व फेस्टिभल गर्न गइरहेको उनले जनाए।  फेष्टिभलमा १५ वटा काठमाडौ उपत्यकाका ख्याति प्राप्त नेवारी रेस्टुरेन्टहरुलगायत यहाँका स्थानीय नेवारी आमा तथा महिला समूहलगायत आफ्नो विभिन्न परिकारका नेवारी खाना रहने छन्।

समितिका सचिव शिवसुन्दर श्रेष्ठले दुईपोखरीमा १५ वटा खानाको स्थल र १० वटा मध्यपुर थिमिका जनताले उत्पादन गरेका परम्परगत तथा सांस्कृतिक उत्पादन तथा हस्तकलाका सामान बिक्रीवितरण गर्ने स्थान उपलब्ध गराउने जनाए। यसका अलावा दिनभरिजसो नेवारी संस्कृति लगायत अन्य गीतसंगितले मनोरज्जन गराउने व्यवस्था समेत भएको उनले बताए।

के हो वः?  

नेपाल भाषाको वः शव्दको अर्थ वारा हो। यो नेवार समुदायको विशेष खानाको परिकार हो। वः अर्था्त बारा भनेको विशेष गरेर मास वा मुगीको दालबाट बनाइन्छ। यो तावामा थोरै तेल हालेर ओल्टाइपोल्टाई गरेर पकाइन्छ। वः नेवार समुदायका लोकप्रिय परिकारमध्ये एक प्रमुख परिकार हो। त्यसो भनेर यो दिनदिनै पकाएर खाइँंदैन बरु परम्परा अनुसार विशेष चाँंडपर्वहरुमा मात्रै खाइन्छ। यो सिठी नख (सिथिः नख) लगायत चाडपर्वमा सपरिवार मिलेर खाइन्छ। वः का विभिन्न प्रकारहरु छन्।

भक्तपुरको एक फर्निचर एवं सोफा कारखानामा भिषण आगोलागी
भक्तपुर, ३१ बैशाख : भक्तपुरको एक फर्निचर एवं सोफा कारखानामा भिषण आगोलागी भएको छ । आज साँझ भक्तपुरको सूर्यविनायक नगरपालिका–५, चुनदेवीस्थित एक फर्निचर तथा सोफा कारखानामा राती ७ बजेदेखि भएको आगलागी नियन्त्रणको प्रयास राती ९ बजेसम्म जारी रहेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो ।
उहाँले साँझदेखि सुरु भएको आगलागी के कारणले भएको र कति मूल्य बराबरको क्षति भयो भन्नेबारेमा यकिन नभएको बताउदै उहाँले आगोलागी पूर्ण रुपमा नियन्त्रणमा आएपछिबारे सबै विबरण आउने बताउनु भयो ।
उहाँले भन्नुभयो, “ठूलो फर्निचर कारखानामा आगोलागी भएको छ, कारखाना कसको हो, के कति मूल्य बराबरको सामान क्षति भयो, आगोलागीको कारण के हो भन्ने बिबरण आएको छैन, सबै निकाय आगो नियन्त्रणका लागि सक्रिय छन्, पूर्ण रुपमा आगो नियन्त्रणमा आएपछि प्रहरीले मुचुल्का गरेपछि मात्रै सबै बिबरण आउँछ ।”
आगोलागी नियन्त्रणमा घट्नास्थलमै रहेर सक्रिय रहनु भएका जुद्ध बारुण यन्त्र भक्तपुरका सूचना अधिकारी एवं अग्नि नियन्त्रक बिज्ञ विजयप्रसाद धौभडेलले ९० प्रतिशत आगो नियन्त्रणमा आएको र बाँकी आगो नियन्त्रणको प्रयास भइरहेको बताउनु भयो । फर्निचर काराखानामा भएको आगोलागीबाट सँगैको एक घरमा सामान्य क्षति पुगेपनि मानविय क्षति कतै नभएको र कारखानासँगैको अर्को दुईवटा घरलाई क्षति हुनबाट जोगाएको उहाँले बताउनुभयो ।
जुद्ध बारुण यन्त्र भक्तपुरका तीन वटा, काठमाण्डौ र ललितपुरका दुई वटा गरि पाँच वटा दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनासहितको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको उहाँले बताउनु भयो । अचानक हावाहरीसहित भइरहेको वर्षाका कारणले आगलागी नियन्त्रणमा ल्याउन समस्या भइरहेको उहाँले बताउनु भयो ।
मुलमानको‘रोजा’ भोलि

विराटनगर, ८ वैशाख  : ईस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ भोलि हुने भएको छ । यो पर्वका लागि मुसलमानले एक महिना ब्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ । एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुुसलमान दिनमा निराहार बस्छन् । बिहानको समय ३ः२० मिनेटमा ‘सेहरी’ हलुका खानेकुरा खाएर दिनभर निराहर बस्ने मुसलमान ब्रतालु सूर्यास्त भएपछि ‘एफतार’ मिठो खानेकुरा खाएर रोजा खोल्ने चलन रहेको छ । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो ।

रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ । दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजानामा ब्रत बस्ने आज साँझ पश्चिम दिशामा आकाश हेरेर चन्द्रमा हेर्ने र चन्द्रमा नजर आएमा अत्यधिक खुशी हुने र एकआपसमा इदमुबारक बधाई सटासाट गर्ने प्रचलन रहँदै आएको छ ।

रमजान महिना मुसलमानका लागि निकै महत्वपूर्ण एवं पवित्र हो र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुने गर्दछ । इदुलफित्र मनाउनका लागि भोलि मुसलमान ‘इदगाह’ वा ‘मस्जिद’मा भेला भएर सामूहिकरुपमा नमाज पढ्ने गर्दछन् । इदुलफित्र मनाउनका लागि मुसलमान आज बिहानैदेखि तयारीमा जुटेको पाइएका छन् ।

नेपालबाट लैजान्छ फेसबुकले ६० अर्ब बढी रकम

काठमाडौँ, ८ वैशाख  : नेपालमा विद्युतीय सेवाको कारोबार गर्ने विदेशी कम्पनीलाई करको दायरामा ल्याउन सरकारले कानून बनाएको भए पनि अधिकांश कम्पनी कर प्रणाली बाहिर छन् । चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत् सरकारले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स)सम्बन्धी व्यवस्था गरेको थियो ।

तर हालसम्म दुईवटा कम्पनी मात्रै डिजिटल सर्भिस ट्याक्स प्रणालीमा दर्ता भएको आन्तरिक राजस्व विभागले जनाएको छ । “हालसम्म गुगल र इब्स्को इन्क भन्ने दुईवटा कम्पनी मात्रै डिएसटीमा आवद्ध भएका छन् ।

अरु कम्पनीले पनि चासो देखाइरहेका छन् । तर यस्तो कर प्रणाली हाम्रा लागि नयाँ व्यवस्था भएकाले बाध्यकारी हुन नसक्दा अरु कम्पनीलाई कसरी करको दायरामा ल्याउने भन्ने चुनौती छ ।”, आन्तरिक राजस्व विभागका प्रवक्ता राजुप्रसाद प्याकुरेलले भन्नुभयो ।

चालु आर्थिक वर्षको आर्थिक ऐनले ‘गैरबासिन्दा व्यक्तिले नेपालका उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबार मूल्यमा दुई प्रतिशतका दरले विद्युतीय सेवा कर लगाइ असुल गरिनेछ’ भनि व्यवस्था गरेको थियो । वार्षिक रू २० लाखसम्मको कारोबारमा भने यस्तो कर नलाग्ने व्यवस्था आर्थिक ऐनमा राखिएको छ ।

ऐनको व्यवस्थाअनुसार नेपालमा विद्युतीय सेवा उपलब्ध गराउने व्यक्तिले आयवर्षअनुसार आफ्नो कारोबारको विवरण तथा कर दाखिला गर्नुपर्छ । तर विभागमा दर्ता हुन नआएका कम्पनीलाई कसरी आवद्ध गराउने र कर तिराउने भन्ने स्पष्ट छैन ।

विभागमा दर्ता भइसकेका यस्ता विदेशी कम्पनीले कर नतिरेमा कारबाहीको व्यवस्था गरिएको भए पनि दर्ता नै नभएकालाई कस्तो कारबाही हुने भन्ने स्पष्ट नरहेको प्रवक्ता प्याकुरेल बताउनुहुन्छ । चालु आर्थिक वर्षको आर्थिक ऐनले तोकिएको समयभित्र विवरण दाखिला नगरेमा वार्षिक कारोबार रकमको शून्य दशमलव एक प्रतिशत प्रतिवर्षका दरले हुने रकम शूल्क लाग्ने र कर तिर्नुपर्ने तोकिएको मितिभित्र कुनै व्यक्तिले कर दाखिला नगरेमा वार्षिक १५ प्रतिशतका दरले ब्याज लाग्ने व्यवस्था रहेको छ । य

सरी दाखिला गर्नुपर्ने कर रकम कम दाखिला गरेमा वा लुकाए छिपाएमा त्यसरी कम गरेको कर रकमको ५० प्रतिशत जरिवानासमेत लाग्नेछ भनी व्यवस्था गरिएको छ । तर विदेशमा सेवा दिइरहेका कम्पनीले नेपालमा कर तिर्नका लागि अनिवार्यरुपमा दर्ता हुनुपर्ने व्यवस्था आर्थिक ऐनमा भने कहीँ पनि राखिएको देखिँदैन ।

नेपालभित्र सेवा दिइरहेका सामाजिक सञ्जाललगायत डिजिटल कारोबार गर्ने कम्पनीलाई करको दायरामा ल्याउन नसक्दा ठूलो परिमाणमा राजस्व गुमिरहेको सरकारी अध्ययनले नै देखाएका छन् । मन्त्रिपरिषद्को गत असोज ११ को निर्णयबाट खारेज भएको नेपाल राजस्व परामर्श समितिले तयार पारेको ‘राजस्व दायरा वृद्धिका सम्बन्धमा अध्ययन गरी तयार पारिएको प्रतिवेदन, २०७९’ले पछिल्ला वर्षमा सामाजिक सञ्जालमार्फत हुने विज्ञापनबाट मात्रै ठूलो रकम बाहिरी रहेको उल्लेख गरेको छ ।

“नेपालमा कानूनीरुपमा दर्ता नभएका सामाजिक सञ्जालमा विज्ञापन गर्ने प्रवृत्ति ह्वात्तै बढेको छ । त्यस्ता सामाजिक सञ्जालले वार्षिक अर्बौँ रुपैयाँ नेपालबाट विदेशतर्फ लगिरहेका छन् ।” प्रतिवेदनमा भनिएको छ । राजस्व परामर्श समितिको प्रतिवेदनले डाटा पोर्टल डट कमको तथ्याङ्कलाई उद्धृत गर्दै सन् २०२२ सम्ममा नेपालमा फेसबुकका एक करोड ३३ लाख प्रयोगकर्ता रहेको उल्लेख गरेको छ ।

“बजारसम्बनधी अनुसन्धान गर्ने कम्पनी स्टाटिस्टाकाका अनुसार फेसबुकको प्रति विज्ञापनकर्ता विज्ञापन आम्दानी सन् २०२१ मा ४० दशमलव ९६ अमेरिकी डलर पुगेको छ । सो आय सन् २०२० मा ३२ दशमलव ०३ अमेरिकी डलर बराबर थियो,” राजस्व परामर्श समितिको प्रतिवेदनमा भनिएको छ, “यस प्रकारले हेर्दा नेपाली प्रयोगकर्ताले विज्ञापन हेरेबापत फेसबुकले वार्षिक ६० अर्बभन्दा बढी रकम आय गर्दै आइरहेको छ ।”

अरु देशको प्रावधान बङ्गलादेशमा नेशनल बोर्ड अफ रेभेन्यूले फेसबुक, गुगलजस्ता कम्पनीलाई दर्ता गरेर १५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) सङ्कलन गर्दै आएको छ । त्यसका अतिरिक्त गैर वासिन्दालाई अनलाइन विज्ञापनबापत रकम भुक्तानी गर्दा १५ प्रतिशत टिडिएस लाग्ने व्यवस्था रहेको छ । त्यस्तै, भारतमा पनि फेसवुकलगायत ठूला अनलाइन् व्यवसाय दर्ता भई व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

भारतमा अनलाइनबाट विज्ञापन गर्दा १८ प्रतिशत वस्तु तथा सेवा कर (जीएसटी) र आयकरका रुपमा दुई प्रतिशत टिडिएस लाग्दै आएको छ । हालको अनौपचारिक माध्यमबाट नेपालमा दर्ता नभएका कम्पनी, गैरबासिन्दाबाट विज्ञापन गर्दा वा अनलाइन सेवा लिँदा ग्राहकले सम्बन्धित देशको कर तथा दश प्रतिशतको हाराहारीमा सेवा शुल्क भुक्तानी गर्दै आइरहेको राजस्व परामर्श समितिको प्रतिवेदनमा उल्लेख छ ।

यस्ता कम्पनी नेपालमा दर्ता भएर विज्ञापन गर्दा अन्य देशको भन्दा सस्तो पर्ने र नेपालमा राजस्व पनि बढ्ने ठानिएको छ । उदाहरणको लागि फेसबुकबाट विज्ञापन गर्दा कुन देशको ठेगानाबाट विज्ञापन गर्ने भनी छनौट गर्नुपर्दछ । मानौँ भारत छनौट गरेमा फेसबुकबाट विज्ञापन गर्दा लाग्ने शुल्कमा १८ प्रतिशत जीएसटीसहितको रकम भुक्तानी गर्नुपर्दछ ।

अनौपचारिकरुपमा विज्ञापन गर्दा सो अठार प्रतिशत पछिको रकममा दश प्रतिशत सटही शुल्क तिरी विज्ञापन हुँदै आएको छ । यस्ता कम्पनी नेपालमा दर्ता भएर कानूनीरुपमा भुक्तानी गर्ने व्यवस्था मिलाउन सके भारतबाट गर्ने विज्ञापनभन्दा नेपालबाट गर्ने विज्ञापन सस्तो पर्न जान्छ ।

“नेपालको हकमा प्राकृतिक व्यक्तिलाई कार्ड जारी हुँदाकै अवस्थामा १५ प्रतिशत टिडिएसबापतको रकम सङ्कलन गर्ने र भ्याट नलाग्ने व्यवस्था गरेमा यसतर्फ सेवाग्राही आकर्षित हुनसक्ने अनुमान गर्न सकिन्छ”, राजस्व परामर्श समितिको प्रतिवेदनमा भनिएको छ, “नेपालबाट गरेको आय रकममा पन्ध्र प्रतिशतका दरले मात्र कर सङ्कलन गर्न सके मात्र पनि रू नौ अर्वभन्दा बढी रकम सङ्कलन हुने देखिन्छ ।”

राजस्व परामर्श समितिले नै ‘आर्थिक वर्ष २०७९/८० को राजस्व नीति र कर सुधारसम्बन्धी प्रतिवेदन २०७९’ मा डिजिटल सेवा दिइरहेका सामाजिक सञ्जाललगायत कम्पनीलाई करको दायरामा ल्याउन र अग्रिम कर कट्टी गरेर मात्रै कारोबार गर्ने व्यवस्था लागु गर्न सरकारलाई सुझाव दिएको थियो ।

“नेपालमा अनलाइन विज्ञापन गर्ने विदेशी प्लाटफर्मलाई आयकर विवरण बुझाउने व्यवस्था लागु गरी करको दायरमा ल्याउने वा अन्यथा भुक्तानीका बखत नै निश्तित प्रतिशतका दरले अग्रिम कर कट्टीका रुपमा राजस्व दाखिला गर्ने व्यवस्था गर्नुपर्ने देखिन्छ ।” उक्त प्रतिवेदनमा भनिएको छ ।

उपनिर्वाचन व्यवस्थापनमा सुरक्षा व्यबस्था कडा बनाउन आयोगको निर्देशन

काठमाडौँ, ८ वैशाख : यही वैशाख १० गते चितवन निर्वाचन क्षेत्र नं २, बारा निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा हुन गइरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन व्यवस्थापन चुस्त बनाउन निर्वाचन आयोगले सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।

उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त, विश्वसनीय र सुरक्षितरूपमा सम्पन्न गर्न आयोगले निर्देशन दिएको हो । उपनिर्वाचन हुने जिल्लाका अस्पताल, नर्सिङ होमलगायत सबै स्वास्थ्य संस्था निर्वाधरूपमा सञ्चालन हुने व्यवस्था मिलाउनुका साथै एम्बुलेन्स तथा दमकललाई तैनाथ अवस्थामा राख्न निर्देशन दिइएको छ ।

त्यस्तै, सुरक्षा निकाय र सञ्चार सेवा प्रदायक कम्पनीलाई पनि आफ्नो सेवा चुस्त बनाउन र निर्वाचनका क्रममा सहज उपलब्धताका लागि आयोगले निर्देशन दिएको छ । उपनिर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई कसैले कुनै किसिमको डर, धम्की, प्रलोभन दिएमा वा उनीहरूको काममा बाधा पु¥याएमा उक्त कार्यलाई निर्वाचन कसुर मानी तत्काल कारबाही गर्न आयोगको निर्देशन छ ।

निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले आफ्नो कर्तव्यभन्दा बाहिर गई निर्वाचनलाई प्रभावित हुने कुनै क्रियाकलाप गरेको भेटिएमा कारबाही गरिने पनि आयोगले जनाएको छ । मतदान हुने दिन मतगणना कार्यमा संलग्न सबै व्यक्तिले कोभिड–१९ लगायत सङ्क्रामक रोगको जोखिमलाई न्यूनीकरण गर्न स्वास्थ्यसम्बन्धी मापदण्ड अवलम्बन गर्ने गराउने व्यवस्था मिलाउनसमेत निर्देशन दिइएको छ ।

हावाहुरी र बर्सातका कारण मतदान कार्य प्रभावित हुनसक्ने सम्भावनालाई मध्यनजर राखी निर्वाचन सामग्रीको सुरक्षा गर्न आवश्यक पर्ने पूर्वतयारीका लागि पनि दिर्नेशन दिइएको छ । निर्वाचन सामग्रीको सुरक्षाका लागि त्रिपाल वा प्लाष्टिकको व्यवस्था गर्न सम्बन्धित जिल्लाका विपद् व्यवस्थापन समिति, निर्वाचन क्षेत्रभित्रका स्थानीय तह तथा सम्बन्धित स्थानीय तहका स्थानीय तह विपद् कार्य सञ्चालन केन्द्रलाई आयोगले निर्देशन दिएको हो ।

उपनिर्वाचनमा आइतबार सार्वजनिक बिदा

काठमाडौँ, ८ वैशाख : प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ ।

गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो । बारा जिल्ला क्षेत्र नं २, चितवन जिल्ला क्षेत्र नं २ र तनहुँ जिल्ला क्षेत्र नं १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिन बिदा हुने मन्त्रालयले जनाएको छ ।

एमाले अध्यक्ष बिरामी, घरबाटै उम्मेदवारलाई शभाकमना

काठमाडौँ, ३ वैशाख  : भाइरल ज्वरोका कारण नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । अध्यक्ष ओली भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएपछि औषधि आएर आराम गरिरहनुभएको छ ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ, अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु ।” आगामी वैशाख १० गते हुन लागेको तनहुँ, चितवन र बारामा हुन लागेको उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई अध्यक्ष ओलीले विजयी हुन अग्रीम शुभकामना व्यक्त गर्नुभयो ।

“तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारको चुनावी अभियानमा सहभागी हुने मेरो इच्छा थियो, तर, अहिले म ती कार्यक्रममा सहभागी हुन सकिरहेको छैन”, अध्यक्ष ओलीले भन्नुभएको छ, “तनहुँ– १ मा सर्वेन्द्र खनाल, चितवन–२ मा राम न्यौपाने र बारा–२ मा पुरुषोत्तम पौडेललाई हामीले उम्मेदवार बनाएका छौँ, तपाईंहरूको प्रतिनिधित्वका लागि उहाँहरू योग्य उम्मेदवार हुनुहुन्छ, उहाँहरूलाई विजय गराउनुहुन तनहुँ–१, चितवन–२ र बारा–२ का आम मतदाता समक्ष म विनम्र आग्रह गर्दछु ।” अ

ध्यक्ष ओलीले आफ्नो स्वास्थ्य अवस्था ठीक भएपछि तीनै उम्मेदवारलाई भेट्न आउने उल्लेख गर्दै लेख्नुभएको छ, “स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समयमा म तपाईंहरूलाई भेट्न आउने नै छु, तीनै उम्मेदवारलाई विजयको हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

बालकोट रागिनी हाईटस्थित भित्री बस्तीमा नयाँ ढल खन्दा माटोको ढिस्कोले परिदाँ एक मजदुरको मृत्यु, एक घाइते

भक्तपुर, ३ बैशाख : कौशल्टार–सिरुटार जाने सडक खण्डको भित्री बस्ती नयाँ ढल खन्दा माटोको ढिस्कोले पुरिदाँ आज अपरान्ह एक मजदुरको मृत्यु भएको छ भने अर्का एक मजदुर गम्भिर घाइते भएका छन् ।

सूर्यविनायक नगरपालिका–२ बालकोट रागिनी हाईटस्थित भित्री बस्तीमा नयाँ ढल बिस्तारको लागि खाल्डो खन्ने क्रममा एक्कासी माथिबाट माटोको ढिस्को खसेर पुरिदा सुनसरी गढी गाँउपालिका–२ घरभई हाल बालकोट बस्ने २२ वर्षीय नितेश ऋषिदेवको मृत्यु भएको हो ।

माटोको ढिस्कोले पुरिदाँ सुनसरी गढी गाँउपालिका–२ घरभई हाल बालकोट बस्ने ३० वर्षीय सियाराम ऋषिदेवको कौशल्टारस्थित भक्तपुर इन्टरनेशनल अस्पतालमा गम्भिर अबस्थामा उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो ।

घट्ना पछि प्रहरी वृत्त थिमिबाट १८ जनाको प्रहरी टोली, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानियसमेतको सहयोगमा उद्धार गरी घाईते दुबैलाई उपचारको लागि भक्तपुर इन्टरनेशनल अस्पताल पठाइएको उहाँले जानकारी दिनुभयो ।

उपचारकै क्रममा एकको मृत्यु भएको र अर्का मजदुरको उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रनाउ पाठकले बताउनुभयो ।