भक्तपुर । भक्तपुर र काभ्रे जिल्लाको सीमानामा पर्ने पर्यटकीय गन्तव्यको रूपमा परिचित नगरकोट सडकखण्ड विगत आठ वर्षदेखि अलपत्र हुदाँ स्थानीय र पर्यटकहरुले सास्थी खेप्दै आएका छन् ।
करिब १५ किलोमिटर भक्तपुर–नगरकोट खण्डको काम समयमै नसकेको भन्दै स्थानीय बासिन्दाले सडकमै माटो थुपारेर सोमबारदेखि सडक बन्द गरेका छन् । नगरकोट नाल्दुम पर्यटन विकाश समितिका अध्यक्ष नविन गुरुङले १५ ट्रकजति माटो सडकमा खन्याएर स्थानीयले बाटो बन्द गरेको बताए ।
संघीय सरकारको बजेटबाट सडकको स्तरोन्नतिका लागि आठ वर्षअघि शैलुङ कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो । तर सम्झौता भएको लामो समय बितिसक्दा पनि सडक निर्माणले गति लिन सकेको छैन । भक्तपुर–नगरकोट–हिउँवापाटी खण्ड निर्माणको जिम्मा पाएको शैलुङ कन्स्ट्रक्सन–एआईपीएल (आरामाली इन्फ्रा पावर लिमिटेड) जेभीले २०७१ जेठ २२ मा पाएको थियो ।
आयोजनाको लागतसमेत साढे ४ करोड रुपैयाँ बढेको छ । भ्याटसहित ३१ करोड ५२ लाख ९२ हजार रुपैयाँमा सम्झौता भए पनि अहिले लागत ३५ करोड ८७ लाख १८ हजार रुपैयाँ कायम गरिएको छ । लामो समयसम्म निर्माण कार्य अलपत्र पार्ने कम्पनीलाई कारबाही गर्नुको साटो राजनीतिक संरक्षण र शक्तिका भरमा पटक–पटक म्याद थप गरिएको भन्दै स्थानीय, व्यवसायी, जनप्रतिनिधिलगायतले ठेक्का नै रद्द गर्नुपर्ने माग गर्दै आएका छन् ।
यसअघि विभिन्न कार्यक्रम र माध्यमबाट दबाब दिँदै आए पनि निर्माण कम्पनीले अटेरी गर्दै आएको नगरकोट नाल्दुम पर्यटन विकाश समितिका अध्यक्ष गुरुङले बताए । विगतमा नगरकोटवासीले गतवर्ष सडक किनारमा शैलुङ कन्स्ट्रक्सनका प्रमुख शारदाप्रसाद अधिकारीको फोटो टाँसेर विरोध गरेका थिए । स्थानीय चाँगुनारायण ६ र ७ का वडाअध्यक्षहरुले सडकमै वडा कार्यालयको काम गरेर विरोध गरेका थिए । अधिकारी पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका घरबेटीसमेत हुन् । वि.स २०७३ कात्तिक ४ गते नै काम सक्ने गरी जिम्मा पाए पनि हालसम्म करिब ८० प्रतिशत मात्रै काम सकिएको छ । उक्त ठेक्काको हालसम्म ७ पटक म्याद थप भइसकेको छ ।