दिउँसो तीन बजे उठेको ‘योसिङ द्यः’ अर्थात लिङ्गो सात बजे ढालियो

भक्तपुर, १ वैशाख : नयाँ वर्षको अवसरका भक्तपुरमा आठ दिन नौ रातसम्म भव्य रुपमा मनाइने विश्व प्रसिद्ध बिस्केट अर्थात बिस्काः जात्राको योसिङ द्यः अर्थात ५५ हात लामो लिङ्गो आज सँझ सात बजे ढालिएको छ । वर्षको अन्तिम दिन भक्तपुर नगरपालिका ५ योसिंखेलमा साँझ लिङ्गो उठाएर नयाँ वर्ष अर्थात वैशाख १ गते दिनभरी जात्रा गरी साँझ ढाल्ने परम्परा रहेको छ ।

तर यसवर्ष हिजो ३० गते साँझ करिब ५ बजेदेखि हजारौ व्यक्तिहरुको अगाडि यहाँका बासिन्दाहरुले ५५ हात लामो योसिङ द्यः अर्थात लिङ्गो उठाउन खोजे पनि राती अबेरसम्म नसके पछि आज फेरी उठाउने प्रयास गरेका थिए । अथक प्रयास पछि आज साँझ दिउँसो तीन बजे उठाएको लिङगो साँझ सात बजे सम्पूर्ण पुजा गरि तान्त्रिक बिधि अनुसार आजै ढालिएको हो ।

गत वर्ष पनि चैत मसान्तको दिन लिङ्गो उठाउन नसकेपछि बैशाख १ गते दिनभरी प्रयास गरि साँझ पौने सात बजेमात्रै उठाएर एक घण्टा पछि नै ढालिएको थियो । ५५ हात लामो लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर उक्त लिङ्गो उठाउने प्रचलन अनुसार आठ वटा मोटो एवं लामो डोरी बाधेर चारै तिरबाट गोालाकार रुपमा बसेर लिङ्योलाई योसिङ्को प्वालमा छिराएर वरिपरिबाट डोरीको माध्यमले तानेर ठड्याइएको हो ।

लिङ्गोको कोखामा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाशभैरवका ध्वजासमेत भनिन्छ । भक्तपुरको प्रसिद्घ बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ । यो जात्रा हेर्न आज हजारौको मानव सागर उर्लिएको छ । लिङ्गो ढालेपछि ल्योसिङखेलबाट भैरवनाथको रथ गःहिटीमा ल्याएर भैरवनाथ र भद्रकालीको रथ जुधाईएको छ । भैरव र भद्रकाली देवदेवीको समागम जात्रा भनेर चिनिने सो जात्रालाई स्थानीय भाषामा ‘द्यो ल्वाकिगु‘ भनिन्छ ।

जात्रामा रथ जुधाउनुअघि बेताल देवतालाई गःहिटीमा ल्याएपछि झ्यालबाट कुखुरा दिई बली चढाएर रथ जुधाउने परम्परा रहेको छ । भैरवनाथ र भद्रकालीको रथ जुधाउने जात्रा सम्पन्न भएपछि ती दुवै देवदेवीको पूजा गरिने परम्परा रहेको छ । विक्रम संवत् अनुसार सौरमासको आधारमा मनाईने बिस्केट जात्रा बिःसीत अर्थात नागनागिन म¥यो भन्ने भावका आधारमा लिच्छविकालदेखि मनाइँदै आएको संस्कृतविदहरुको भनाई छ ।

इतिहासविद्का अनुसार किरात शासकले शासन गर्दै आएको प्राचीन नेपाललाई जितेको खुसीयालीमा लिच्छवि शासकले विजयी ध्वजासहित बिस्का जात्रा मनाइएको जनश्रुति रहेको छ ।

 

तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0