भक्तपुर, २८ चैत : आज बिहान दत्तात्रय नजिक बिस्केटको भैरबको रथ उभिरहेको । दत्तात्रयदेखि इनाचोसम्म सडक भरि फुटेका छरपष्ट इँटा र ढुङ्गा । बिहान यही बाटो भएर ओहोर दोहोर गर्नेहरुले सहजै अनुमान लगाउन सके, बिस्केट जात्रामा मध्यराती यसवर्ष पनि ढुङ्गा हानाहान भयो । कतिपयले बिहानै सामाजिक सञ्जालभरी यसको फोटो र भिडियो पोष्ट गर्दै ढुङ्गा हानेर जात्राको पहिचान मेट्न खोज्नेलाई कारबाही गर्न माग गरे ।
भक्तपुरमा हिजोबाट सुरु भएको बिस्काः जात्रामा भैरबको रथ तान्ने क्रममा मध्यराती दत्तात्रयमा पुगेपछि राती करिब १ बजे पछि ढुङ्गा हानाहान भएको थियो । बिहान ४ बजेसम्म ढुङ्गा हानाहान हुँदा २३ जना घाइते भएका छन् ।
प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले ढुङ्गा हानाहान हुँदा २३ जना घाइते भएको जानकारी दिनुभयो । उहाँले घाइते मध्ये सबैको उपचार सकेर हिजै घर फर्काएको बताउदै घाइते कसैको पनि अबस्था गम्भिर नरहेको बताउनु भयो ।
ढुङ्गा हानाहान गर्ने १० जनालाई प्रहरीले रातीनै पक्राउ गरेको छ । उहाँले भन्नुभयो, “जात्रामा ढुङ्गा हानाहान गर्नेहरुलाई प्रहरीले रातीनै ढुङ्गा हान्दै गर्दा १० जनालाई पक्राउ गरेको छ, सिसि क्यामरा र अरु माध्यमबाट ढुङ्गा हान्नेहरुको थप पहिचान गर्दै पक्राउ गर्नेछौँ, पक्राउ परेकालाई प्रचलित कानून बमोजिक कारबाही गर्छौ ।”
भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बिस्केट जात्रा स्थानीयको ऐतिहासिक र मौलिक जात्रा भएकाले जात्रामा सुरक्षाकर्मीले हस्तक्षेप नगरेको तर ढुङ्गा हान्ने क्रम नरोकिए पछि प्रहरीले पक्राउ गरेको बताउनु भयो । उहाँले मानवीय क्षति नभएको जानकारी दिदै जात्रा अबधी भर शान्ति सुव्यबस्था कायम गराउन थप सुरक्षा रणनीति अपनाउने बताउनु भयो ।
आठ रात नौ दिनसम्म भव्य रुपमा भक्तपुरमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्राको पहिलो दिन भैरबको रथ तान्ने ढुङ्गा हानाहान भएको हो ।
तौमढी राखिएको प्यागोडा शैलीमा निर्माण भएको तीनतले रथमा बिहानदेखि दिउँसोको सबै पूजा सम्पन्न गरेर रथ भित्र भैरवनाथको मूल देवता र अगाडि बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने(माथिल्लो) र क्वने(तल्लो) टोलतर्फ सोमबार दिउँसो ४ बजेबाट रथ तान्न सुरु भएको थियो ।
रथ तान्ने क्रममा सुरुमै माथिल्लो टोलकाले रथ लैजाने क्रममा रथलाई बुलुबुलु हिटी (सुकुलढोका), इनाचो हुदै मधयराती १ ः३० बजे दत्तात्रय नजिक रथलाई पुर्याइएको थियो ।
रथलाई रातीनै गःहिटी ल्याउनु पर्नेमा ढुङ्गा हानाहान भएपछि बिथोलिएको जात्राका कारण रथलाई दत्तात्रयमै राख्नु परेको थियो । रथलाई आज बिहान स्थानीयको सहायतामा रथलाई तानेर बिहान नौ बजे गःहिटी ल्याएर राखिएको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “राती ढुङ्गा हानाहान भएपछि रथलाई गःहिटी ल्याउन सकिएन, त्यसैले आज स्थानीयलाई आग्रह गरेर उनीहरुले नै रथ तानेर गःहिटी पुर्याइएको छ ।”
भक्तपुरमा बिस्काः जात्रा भैरवनाथ र भद्रकालीको रथ तानेर सुरु गरिन्छ । रथको अगाडि र पछाडि राखिने डोरीलाई अष्ट मात्रिका गणका रुपमा लिने गरिन्छ । विक्रम संवत् अनुसार सौर्यमासको आधारमा चल्ने यो जात्रा बिःसीत अर्थात सर्प मर्यो भन्ने आधारमा लिच्छविकालदेखि मनाउँदै आएको मानिन्छ ।
थिमिमा प्राप्त नेपाल संवत् ५०० को तमसुक पत्रमा यो जात्रा विश्व केतुलाई सम्झाउने पर्यायका रूपमा बिसिक शब्द उल्लेख भएको पाइएको संस्कृतिविद् एवं इतिहासविद् पुरुषोत्तम लोचन श्रेष्ठ बताउँनुहुन्छ ।
भक्तपुरको तौमढीस्थित यक्ष मल्लको पालाको शिलालेखमा बिस्केट जात्रालाई विश्वजात्रा उल्लेख गरिएको छ भने भक्तपुरको दरबारस्क्वायर नेपाल संवत् ८०८ र ८१८ को राजा जितामित्र र भूपतेन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विश्क्यात शब्द उल्लेख गरिएको उहाँ बताउनुहुन्छ ।
अहिले पनि तलेजुमा बिस्काः जात्राको संकल्पस्वरूप पूजा अर्चनामा विश्व जात्राको उल्लेख गरिन्छ । संस्कृत शब्द विश्वकेतु नै पछि नेवारी नामकरण हुँदै बिसिका, बिस्क, बिक्का, बिस्का हुँदाहुँदै हाल बिस्केट जात्रा हुन पुगेको श्रेष्ठको भनाइ छ ।
बिस्केट जात्रामा भैरबको धेरै चर्चा गरिए पनि यो जात्रा विश्वनाथ भैरवको मात्र नभएर उहाँको शक्ति भद्रकालीको पनि भएको बताउनु हुन्छ । विश्व भैरवनाथको प्रतीकका रूपमा लिंगोमा फहराइने एक जोडी ध्वजामा साक्षात् भैरव र भद्रकाली भएको उहाँको भनाइ छ ।