मुलमानको‘रोजा’ भोलि

विराटनगर, ८ वैशाख  : ईस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ भोलि हुने भएको छ । यो पर्वका लागि मुसलमानले एक महिना ब्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ । एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुुसलमान दिनमा निराहार बस्छन् । बिहानको समय ३ः२० मिनेटमा ‘सेहरी’ हलुका खानेकुरा खाएर दिनभर निराहर बस्ने मुसलमान ब्रतालु सूर्यास्त भएपछि ‘एफतार’ मिठो खानेकुरा खाएर रोजा खोल्ने चलन रहेको छ । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो ।

रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ । दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजानामा ब्रत बस्ने आज साँझ पश्चिम दिशामा आकाश हेरेर चन्द्रमा हेर्ने र चन्द्रमा नजर आएमा अत्यधिक खुशी हुने र एकआपसमा इदमुबारक बधाई सटासाट गर्ने प्रचलन रहँदै आएको छ ।

रमजान महिना मुसलमानका लागि निकै महत्वपूर्ण एवं पवित्र हो र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुने गर्दछ । इदुलफित्र मनाउनका लागि भोलि मुसलमान ‘इदगाह’ वा ‘मस्जिद’मा भेला भएर सामूहिकरुपमा नमाज पढ्ने गर्दछन् । इदुलफित्र मनाउनका लागि मुसलमान आज बिहानैदेखि तयारीमा जुटेको पाइएका छन् ।

नेपालबाट लैजान्छ फेसबुकले ६० अर्ब बढी रकम

काठमाडौँ, ८ वैशाख  : नेपालमा विद्युतीय सेवाको कारोबार गर्ने विदेशी कम्पनीलाई करको दायरामा ल्याउन सरकारले कानून बनाएको भए पनि अधिकांश कम्पनी कर प्रणाली बाहिर छन् । चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत् सरकारले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स)सम्बन्धी व्यवस्था गरेको थियो ।

तर हालसम्म दुईवटा कम्पनी मात्रै डिजिटल सर्भिस ट्याक्स प्रणालीमा दर्ता भएको आन्तरिक राजस्व विभागले जनाएको छ । “हालसम्म गुगल र इब्स्को इन्क भन्ने दुईवटा कम्पनी मात्रै डिएसटीमा आवद्ध भएका छन् ।

अरु कम्पनीले पनि चासो देखाइरहेका छन् । तर यस्तो कर प्रणाली हाम्रा लागि नयाँ व्यवस्था भएकाले बाध्यकारी हुन नसक्दा अरु कम्पनीलाई कसरी करको दायरामा ल्याउने भन्ने चुनौती छ ।”, आन्तरिक राजस्व विभागका प्रवक्ता राजुप्रसाद प्याकुरेलले भन्नुभयो ।

चालु आर्थिक वर्षको आर्थिक ऐनले ‘गैरबासिन्दा व्यक्तिले नेपालका उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबार मूल्यमा दुई प्रतिशतका दरले विद्युतीय सेवा कर लगाइ असुल गरिनेछ’ भनि व्यवस्था गरेको थियो । वार्षिक रू २० लाखसम्मको कारोबारमा भने यस्तो कर नलाग्ने व्यवस्था आर्थिक ऐनमा राखिएको छ ।

ऐनको व्यवस्थाअनुसार नेपालमा विद्युतीय सेवा उपलब्ध गराउने व्यक्तिले आयवर्षअनुसार आफ्नो कारोबारको विवरण तथा कर दाखिला गर्नुपर्छ । तर विभागमा दर्ता हुन नआएका कम्पनीलाई कसरी आवद्ध गराउने र कर तिराउने भन्ने स्पष्ट छैन ।

विभागमा दर्ता भइसकेका यस्ता विदेशी कम्पनीले कर नतिरेमा कारबाहीको व्यवस्था गरिएको भए पनि दर्ता नै नभएकालाई कस्तो कारबाही हुने भन्ने स्पष्ट नरहेको प्रवक्ता प्याकुरेल बताउनुहुन्छ । चालु आर्थिक वर्षको आर्थिक ऐनले तोकिएको समयभित्र विवरण दाखिला नगरेमा वार्षिक कारोबार रकमको शून्य दशमलव एक प्रतिशत प्रतिवर्षका दरले हुने रकम शूल्क लाग्ने र कर तिर्नुपर्ने तोकिएको मितिभित्र कुनै व्यक्तिले कर दाखिला नगरेमा वार्षिक १५ प्रतिशतका दरले ब्याज लाग्ने व्यवस्था रहेको छ । य

सरी दाखिला गर्नुपर्ने कर रकम कम दाखिला गरेमा वा लुकाए छिपाएमा त्यसरी कम गरेको कर रकमको ५० प्रतिशत जरिवानासमेत लाग्नेछ भनी व्यवस्था गरिएको छ । तर विदेशमा सेवा दिइरहेका कम्पनीले नेपालमा कर तिर्नका लागि अनिवार्यरुपमा दर्ता हुनुपर्ने व्यवस्था आर्थिक ऐनमा भने कहीँ पनि राखिएको देखिँदैन ।

नेपालभित्र सेवा दिइरहेका सामाजिक सञ्जाललगायत डिजिटल कारोबार गर्ने कम्पनीलाई करको दायरामा ल्याउन नसक्दा ठूलो परिमाणमा राजस्व गुमिरहेको सरकारी अध्ययनले नै देखाएका छन् । मन्त्रिपरिषद्को गत असोज ११ को निर्णयबाट खारेज भएको नेपाल राजस्व परामर्श समितिले तयार पारेको ‘राजस्व दायरा वृद्धिका सम्बन्धमा अध्ययन गरी तयार पारिएको प्रतिवेदन, २०७९’ले पछिल्ला वर्षमा सामाजिक सञ्जालमार्फत हुने विज्ञापनबाट मात्रै ठूलो रकम बाहिरी रहेको उल्लेख गरेको छ ।

“नेपालमा कानूनीरुपमा दर्ता नभएका सामाजिक सञ्जालमा विज्ञापन गर्ने प्रवृत्ति ह्वात्तै बढेको छ । त्यस्ता सामाजिक सञ्जालले वार्षिक अर्बौँ रुपैयाँ नेपालबाट विदेशतर्फ लगिरहेका छन् ।” प्रतिवेदनमा भनिएको छ । राजस्व परामर्श समितिको प्रतिवेदनले डाटा पोर्टल डट कमको तथ्याङ्कलाई उद्धृत गर्दै सन् २०२२ सम्ममा नेपालमा फेसबुकका एक करोड ३३ लाख प्रयोगकर्ता रहेको उल्लेख गरेको छ ।

“बजारसम्बनधी अनुसन्धान गर्ने कम्पनी स्टाटिस्टाकाका अनुसार फेसबुकको प्रति विज्ञापनकर्ता विज्ञापन आम्दानी सन् २०२१ मा ४० दशमलव ९६ अमेरिकी डलर पुगेको छ । सो आय सन् २०२० मा ३२ दशमलव ०३ अमेरिकी डलर बराबर थियो,” राजस्व परामर्श समितिको प्रतिवेदनमा भनिएको छ, “यस प्रकारले हेर्दा नेपाली प्रयोगकर्ताले विज्ञापन हेरेबापत फेसबुकले वार्षिक ६० अर्बभन्दा बढी रकम आय गर्दै आइरहेको छ ।”

अरु देशको प्रावधान बङ्गलादेशमा नेशनल बोर्ड अफ रेभेन्यूले फेसबुक, गुगलजस्ता कम्पनीलाई दर्ता गरेर १५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) सङ्कलन गर्दै आएको छ । त्यसका अतिरिक्त गैर वासिन्दालाई अनलाइन विज्ञापनबापत रकम भुक्तानी गर्दा १५ प्रतिशत टिडिएस लाग्ने व्यवस्था रहेको छ । त्यस्तै, भारतमा पनि फेसवुकलगायत ठूला अनलाइन् व्यवसाय दर्ता भई व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

भारतमा अनलाइनबाट विज्ञापन गर्दा १८ प्रतिशत वस्तु तथा सेवा कर (जीएसटी) र आयकरका रुपमा दुई प्रतिशत टिडिएस लाग्दै आएको छ । हालको अनौपचारिक माध्यमबाट नेपालमा दर्ता नभएका कम्पनी, गैरबासिन्दाबाट विज्ञापन गर्दा वा अनलाइन सेवा लिँदा ग्राहकले सम्बन्धित देशको कर तथा दश प्रतिशतको हाराहारीमा सेवा शुल्क भुक्तानी गर्दै आइरहेको राजस्व परामर्श समितिको प्रतिवेदनमा उल्लेख छ ।

यस्ता कम्पनी नेपालमा दर्ता भएर विज्ञापन गर्दा अन्य देशको भन्दा सस्तो पर्ने र नेपालमा राजस्व पनि बढ्ने ठानिएको छ । उदाहरणको लागि फेसबुकबाट विज्ञापन गर्दा कुन देशको ठेगानाबाट विज्ञापन गर्ने भनी छनौट गर्नुपर्दछ । मानौँ भारत छनौट गरेमा फेसबुकबाट विज्ञापन गर्दा लाग्ने शुल्कमा १८ प्रतिशत जीएसटीसहितको रकम भुक्तानी गर्नुपर्दछ ।

अनौपचारिकरुपमा विज्ञापन गर्दा सो अठार प्रतिशत पछिको रकममा दश प्रतिशत सटही शुल्क तिरी विज्ञापन हुँदै आएको छ । यस्ता कम्पनी नेपालमा दर्ता भएर कानूनीरुपमा भुक्तानी गर्ने व्यवस्था मिलाउन सके भारतबाट गर्ने विज्ञापनभन्दा नेपालबाट गर्ने विज्ञापन सस्तो पर्न जान्छ ।

“नेपालको हकमा प्राकृतिक व्यक्तिलाई कार्ड जारी हुँदाकै अवस्थामा १५ प्रतिशत टिडिएसबापतको रकम सङ्कलन गर्ने र भ्याट नलाग्ने व्यवस्था गरेमा यसतर्फ सेवाग्राही आकर्षित हुनसक्ने अनुमान गर्न सकिन्छ”, राजस्व परामर्श समितिको प्रतिवेदनमा भनिएको छ, “नेपालबाट गरेको आय रकममा पन्ध्र प्रतिशतका दरले मात्र कर सङ्कलन गर्न सके मात्र पनि रू नौ अर्वभन्दा बढी रकम सङ्कलन हुने देखिन्छ ।”

राजस्व परामर्श समितिले नै ‘आर्थिक वर्ष २०७९/८० को राजस्व नीति र कर सुधारसम्बन्धी प्रतिवेदन २०७९’ मा डिजिटल सेवा दिइरहेका सामाजिक सञ्जाललगायत कम्पनीलाई करको दायरामा ल्याउन र अग्रिम कर कट्टी गरेर मात्रै कारोबार गर्ने व्यवस्था लागु गर्न सरकारलाई सुझाव दिएको थियो ।

“नेपालमा अनलाइन विज्ञापन गर्ने विदेशी प्लाटफर्मलाई आयकर विवरण बुझाउने व्यवस्था लागु गरी करको दायरमा ल्याउने वा अन्यथा भुक्तानीका बखत नै निश्तित प्रतिशतका दरले अग्रिम कर कट्टीका रुपमा राजस्व दाखिला गर्ने व्यवस्था गर्नुपर्ने देखिन्छ ।” उक्त प्रतिवेदनमा भनिएको छ ।

उपनिर्वाचन व्यवस्थापनमा सुरक्षा व्यबस्था कडा बनाउन आयोगको निर्देशन

काठमाडौँ, ८ वैशाख : यही वैशाख १० गते चितवन निर्वाचन क्षेत्र नं २, बारा निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा हुन गइरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन व्यवस्थापन चुस्त बनाउन निर्वाचन आयोगले सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।

उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त, विश्वसनीय र सुरक्षितरूपमा सम्पन्न गर्न आयोगले निर्देशन दिएको हो । उपनिर्वाचन हुने जिल्लाका अस्पताल, नर्सिङ होमलगायत सबै स्वास्थ्य संस्था निर्वाधरूपमा सञ्चालन हुने व्यवस्था मिलाउनुका साथै एम्बुलेन्स तथा दमकललाई तैनाथ अवस्थामा राख्न निर्देशन दिइएको छ ।

त्यस्तै, सुरक्षा निकाय र सञ्चार सेवा प्रदायक कम्पनीलाई पनि आफ्नो सेवा चुस्त बनाउन र निर्वाचनका क्रममा सहज उपलब्धताका लागि आयोगले निर्देशन दिएको छ । उपनिर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई कसैले कुनै किसिमको डर, धम्की, प्रलोभन दिएमा वा उनीहरूको काममा बाधा पु¥याएमा उक्त कार्यलाई निर्वाचन कसुर मानी तत्काल कारबाही गर्न आयोगको निर्देशन छ ।

निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले आफ्नो कर्तव्यभन्दा बाहिर गई निर्वाचनलाई प्रभावित हुने कुनै क्रियाकलाप गरेको भेटिएमा कारबाही गरिने पनि आयोगले जनाएको छ । मतदान हुने दिन मतगणना कार्यमा संलग्न सबै व्यक्तिले कोभिड–१९ लगायत सङ्क्रामक रोगको जोखिमलाई न्यूनीकरण गर्न स्वास्थ्यसम्बन्धी मापदण्ड अवलम्बन गर्ने गराउने व्यवस्था मिलाउनसमेत निर्देशन दिइएको छ ।

हावाहुरी र बर्सातका कारण मतदान कार्य प्रभावित हुनसक्ने सम्भावनालाई मध्यनजर राखी निर्वाचन सामग्रीको सुरक्षा गर्न आवश्यक पर्ने पूर्वतयारीका लागि पनि दिर्नेशन दिइएको छ । निर्वाचन सामग्रीको सुरक्षाका लागि त्रिपाल वा प्लाष्टिकको व्यवस्था गर्न सम्बन्धित जिल्लाका विपद् व्यवस्थापन समिति, निर्वाचन क्षेत्रभित्रका स्थानीय तह तथा सम्बन्धित स्थानीय तहका स्थानीय तह विपद् कार्य सञ्चालन केन्द्रलाई आयोगले निर्देशन दिएको हो ।

उपनिर्वाचनमा आइतबार सार्वजनिक बिदा

काठमाडौँ, ८ वैशाख : प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ ।

गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो । बारा जिल्ला क्षेत्र नं २, चितवन जिल्ला क्षेत्र नं २ र तनहुँ जिल्ला क्षेत्र नं १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिन बिदा हुने मन्त्रालयले जनाएको छ ।

एमाले अध्यक्ष बिरामी, घरबाटै उम्मेदवारलाई शभाकमना

काठमाडौँ, ३ वैशाख  : भाइरल ज्वरोका कारण नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । अध्यक्ष ओली भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएपछि औषधि आएर आराम गरिरहनुभएको छ ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ, अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु ।” आगामी वैशाख १० गते हुन लागेको तनहुँ, चितवन र बारामा हुन लागेको उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई अध्यक्ष ओलीले विजयी हुन अग्रीम शुभकामना व्यक्त गर्नुभयो ।

“तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारको चुनावी अभियानमा सहभागी हुने मेरो इच्छा थियो, तर, अहिले म ती कार्यक्रममा सहभागी हुन सकिरहेको छैन”, अध्यक्ष ओलीले भन्नुभएको छ, “तनहुँ– १ मा सर्वेन्द्र खनाल, चितवन–२ मा राम न्यौपाने र बारा–२ मा पुरुषोत्तम पौडेललाई हामीले उम्मेदवार बनाएका छौँ, तपाईंहरूको प्रतिनिधित्वका लागि उहाँहरू योग्य उम्मेदवार हुनुहुन्छ, उहाँहरूलाई विजय गराउनुहुन तनहुँ–१, चितवन–२ र बारा–२ का आम मतदाता समक्ष म विनम्र आग्रह गर्दछु ।” अ

ध्यक्ष ओलीले आफ्नो स्वास्थ्य अवस्था ठीक भएपछि तीनै उम्मेदवारलाई भेट्न आउने उल्लेख गर्दै लेख्नुभएको छ, “स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समयमा म तपाईंहरूलाई भेट्न आउने नै छु, तीनै उम्मेदवारलाई विजयको हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

बालकोट रागिनी हाईटस्थित भित्री बस्तीमा नयाँ ढल खन्दा माटोको ढिस्कोले परिदाँ एक मजदुरको मृत्यु, एक घाइते

भक्तपुर, ३ बैशाख : कौशल्टार–सिरुटार जाने सडक खण्डको भित्री बस्ती नयाँ ढल खन्दा माटोको ढिस्कोले पुरिदाँ आज अपरान्ह एक मजदुरको मृत्यु भएको छ भने अर्का एक मजदुर गम्भिर घाइते भएका छन् ।

सूर्यविनायक नगरपालिका–२ बालकोट रागिनी हाईटस्थित भित्री बस्तीमा नयाँ ढल बिस्तारको लागि खाल्डो खन्ने क्रममा एक्कासी माथिबाट माटोको ढिस्को खसेर पुरिदा सुनसरी गढी गाँउपालिका–२ घरभई हाल बालकोट बस्ने २२ वर्षीय नितेश ऋषिदेवको मृत्यु भएको हो ।

माटोको ढिस्कोले पुरिदाँ सुनसरी गढी गाँउपालिका–२ घरभई हाल बालकोट बस्ने ३० वर्षीय सियाराम ऋषिदेवको कौशल्टारस्थित भक्तपुर इन्टरनेशनल अस्पतालमा गम्भिर अबस्थामा उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो ।

घट्ना पछि प्रहरी वृत्त थिमिबाट १८ जनाको प्रहरी टोली, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानियसमेतको सहयोगमा उद्धार गरी घाईते दुबैलाई उपचारको लागि भक्तपुर इन्टरनेशनल अस्पताल पठाइएको उहाँले जानकारी दिनुभयो ।

उपचारकै क्रममा एकको मृत्यु भएको र अर्का मजदुरको उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रनाउ पाठकले बताउनुभयो ।

सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवमा तीन लाखको अवलोकन

औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना तथा भक्तपुर जिल्ला खेलकुद विकाश समितिको सहयोगमा चैत २३ गतेदेखि सुरु भएको महोत्सवमा ११ दिनमा बिभिन्न जिल्लाबाट आउनु भएका तीन लाखभन्दा बढी उपभोक्ताले महोत्सवको अवलोकन गर्नु भएकोे संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो । बैशाख १ गते एकै दिन करिब ५० हजार, बैशाख २ गते एकैदिन २५ हजारभन्दा बढीले महोत्सवको अवलोकन गर्नु भएको उहाँले जानकारी दिनुभयो ।

====================================================

भक्तपुर, ३ बैशाख : भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा तथा नयाँवर्ष २०८० को अवसरमा भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको ९९ रोपनी क्षेत्रफलमा आयोजना गरेको ११ दिने ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९÷८०’ मा आज अन्तिम दिनसम्म तीन लाख भन्दा बढीले अवलोकन गरेका छन् ।

औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना तथा भक्तपुर जिल्ला खेलकुद विकाश समितिको सहयोगमा चैत २३ गतेदेखि सुरु भएको महोत्सवमा ११ दिनमा बिभिन्न जिल्लाबाट आउनु भएका तीन लाखभन्दा बढी उपभोक्ताले महोत्सवको अवलोकन गर्नु भएकोे संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो । बैशाख १ गते एकै दिन करिब ५० हजार, बैशाख २ गते एकैदिन २५ हजारभन्दा बढीले महोत्सवको अवलोकन गर्नु भएको उहाँले जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष महतले भन्नुभयो, “यो महोत्सव व्यापार गरेर नाफा बमाउनका लागि गरेका होइनौ, यो महोत्सवरमा सबै वर्गका उपभोक्ताको सहज पहुाच पुर्याएर दैनिक उपभोग्य सामानदेखि बिभिनन सामानहरु सस्तो र सुलभ रुपमा बिक्री गरेर सेवा गर्नुनै मूल उदेश्य हो, त्यसैले यहाँ रहेका बिभिन्न सामानका २०० वटा स्टलबाट बजारमा पाइने प्रत्येक सामानहरु २० देखि ५० प्रतिनशतसम्म छुट दिएर सस्तोमा सामान उपलब्ध गराउनु र अवलोकनमा आएका मानिसलाई दैनिक बिभिन्न चर्चित कलाकारहरुबाट प्रस्तुत गरिएका सांगीतिक प्रस्तुतीबाट मनोरञ्जन प्रदान गरेका छौँ ।”

महोत्सवमा मानवीय जीवनमा दैनिक उपभोग हुने खाद्यान्न, बिभिन्न ब्राण्डका लत्ताकपडा, कृषि तथा हस्तकला, भाँडाकुडा, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, अटोमोवाईल, विभिन्न ब्राण्डका मोवाईल, सवारी साधन, खेलौना, सौन्दर्य, राष्ट्रिय तथा स्थानीय खाना महोत्सवलगायतका सामाग्रीहरु रहेका थिए ।

यसवर्ष बिभिन्न व्यक्तित्वहरुलाई नगदसहितको पुरस्कार एवं सम्मान समेत गरिएको छ । महोत्सवमा भक्तपुर, काभ्रे, ललितपुर र काठमाडौं जिल्लामा बसोबास गर्दै आउनु भएका बिभिन्न जिल्लाका उपभोक्ताहरुको आकर्षण दैनिक उपभोग्य सामाग्री, भाडाकुडा र लत्ताकपडामा रहेको छ ।

अध्यक्ष महतले भन्नुभयो, “बालबालिकाको आकर्षण बिभिन्न मनोरञ्नात्मक खेलहरुमा रहयो, युवाहरुको आकर्षण दैनिक चर्चित कलाकारहरुको म्युजिकल एवं मनोरञ्नात्मक कार्यक्रममा रहयो । गृहणी तथा पाका उमेरकाको आकर्षण दैनिक उपभोग्य सामान र लत्रा कपडामा रहेको छ । महोत्सवले सबै वर्गका मानिसको आवश्यकतालाई एकै थलोबाट पूरा गर्न र बालबालिकादेखि सबै उमेरका व्यक्तिलाई फरक फरक मनोरञ्जन प्रदान गर्न महोत्सव सफल रहयो ।”

दैनिक सांगीतिक प्रस्तुती तथा बाल उद्यान :

महोत्सवमा बालबालिकालाई लक्षित गरि बाल उद्यान, रोटेपिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, बिभिन्न खेल सामाग्रीका साथै दर्जनौं राष्ट्रिय स्तरका कलाकारहरुको सांगीतिक प्रस्तुती एवं हाँस्यव्यङ्यसहितका मनोरञ्जनात्मक प्रस्तुती रहने गरेको महोत्सवमा संयोजक एवं जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष थापाले जानकारी दिनुभयो ।

महोत्सवमा हरेक दिन बिभिन्न सांगीतिक व्याण्डको प्रस्तुति, नृत्य प्रतियोगिता, बि–बोईङ र चर्चित गायक गायिकाको प्रस्तुती दैनिक रहेको उहाँले बताउनु भयो । महोत्सवमा भक्तपुरका मौलिक उत्पादन, काष्टकला, माटोको भाडा, पर्यटन प्रवर्दन गर्ने स्टलहरु निःशुल्क रार्खिको थियो । संयोजक थापाले बैशाख ४ गते भोली महोत्सवस्थलमा नेपालका चर्चित गायक गायिका तथा ब्याण्डको विशेष साँस्कृतिक प्रस्तुती रहने बताउनु भयो ।

पहिलो पटक जिब्रो छेडी महाद्धिप बोकेर टोलटोल घुमे २७ वर्षीय सुजन

भक्तपुर, २ बैशाख : मध्यान्हदेखिनै मध्यपुरथिमिको बोडे क्षेत्रमा मान्छेहरुको भीड बढ्दै गयो । हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि बोडेको अधिकांश क्षेत्रमा मानिसहरुको भीड निकै बाक्लो भयो । बिस्केट जात्राको अवसरमा हरेक वर्ष २ गते मनाइने मध्यपुरथिमि बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा हेर्न दिउँसो १ बजेसम्म मानिसहरु खचाखच भए ।

दिउँसो २ बजे बासको चिम्टी बजाउँदै एकहुल मानिसहरु हातको साङ्लो बनाएर जिब्रो छेड्ने पाँचो गणेश मन्दिर क्षेत्रमा आएपछि सबैको ध्यान त्यतै केन्द्रित भयो, बिचमा जिब्रो छेड्न तयार भएर बोडेका सबै देवीदेवताको मन्दिरमा पुगेर पुजा गर्दै आईपुगे २७ वर्षीय सुजन वागश्रेष्ठ ।

बोडेका बासिन्दाले जयजयकार गरे । पाँचो गणेशको दक्षिण फर्केको पाटीमा बनाईएको मञ्चमा उक्लिए पछि यसअघि १२ पटक जिब्रो छेडाइसक्नु भएका कर्मीनाय कृष्णचन्द्र वाग श्रेष्ठ, नाय पमाः जलकृष्ण पिला श्रेष्ठ, अर्का पमा माइला भासिको श्रेष्ठ, यसअघि आठ पटक जिब्रो छेडाउनु भएका जुजुभाई वाग श्रेष्ठ पनि मञ्ममा उक्लिए ।

जिब्रो छेड्न तयार भएका सुजनका आफ्नै ठूलो बुबा कर्मीनाय कृष्णचन्द्रले वरिपरि अक्षता फूल छर्किएर देवीदेवतालाई सम्झदै धूप बत्ति बालेपछि एक महिनाअघि तयार पारी तेलमा डुबाइराखेको १० ईन्च लामो फलामको सुइरोले हजारौ मानिसहरूकै अगाडि वागश्रेष्ठको जिब्रो छेडिदिनु भयो ।

त्यसपछि उहाँले सबैलाई नमस्कार र अभिभावदन गरेपछि चन्द्राँकारकोे भ्वाय् अर्थात महाद्विप बोकेर निस्किए सुजन, सँगैसँगै बुद्धकृष्णले छोरा सुजनलाई अगाडि बढाइरहे । त्यसक्रममा जिब्रो छेडाएका अनुभवी जुजुभाईदेखि स्थानीय दीलकृष्ण प्रजापतिसमेतले पहिलो पटक जिब्रो छेडाएका सुजनसँगसँगै हिडेर हौसला प्रदान गरिरहे ।

महाद्विप बोकेर सुजनले करिब एकघण्टासम्म बोडेको टोलटोल घुमेर बिभिन्न देवी देवताका मन्दिरको परिक्रमा गरे । त्यसपछि जयजयकार गर्दै मन्दिरमा महालक्ष्मीको खट ल्याइ पुर्याईयो । त्यसको केही क्षणपछि भाँगु टोलमा पुगेर महालक्ष्मी मन्दिरको पाँच पटक परिक्रमा गरेपछि महाद्धिपलाई मन्दिरस बाहिर राखेर सुजन भित्र प्रवेश गरेपछि जिब्रोको सुईरो निकालेर मन्दिरको भित्तामा रहेको काठमा ठोकियो । त्यसपछि जात्रा पनि सम्पन्न भयो र हजारौको भीड बिस्तारै तितरवितर लाग्यो ।

चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेर आज जिब्रो छेडेपछि जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गरेका थिए । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाए घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनु नपर्ने मान्यता रहेको जुजुभाई बताउनु हुन्छ ।

परम्परादेखि चल्दै आएकोे जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यसअघि नवौ पटक जिब्रो छेडेका बुद्धकृष्णकै कान्छो छोरा तयार भए र यसवर्ष पनि जात्राले निरन्तरता पायो । बुद्धकृष्ण भन्नुहुन्छ, “यो वर्ष सुजनले जिब्रो छेडायो, अर्को वर्ष पनि जिब्रो छेडेर जात्रालाई नियमित सञ्चालन गर्न यहाँका युवा पुस्ताहरु तयार हुनु पर्छ, यहाँको जात्रा यहीँको युवाले अब जोगाउने हो ।”

मध्यपुरथिमिका पूर्व नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जिब्रो छेड्ने ठाउँ साँघुरो भएपछि जात्रालाई सहज बनाउन आफ्नो पालामा जग्गा खरिद गरेर नयाँ पाटी बनाएर ठाउँ फराकिलो बनाएको बताउनु भयो ।

जात्रालाई व्यबस्थित गर्न नगरपालिकाले आवश्यक सहयोग गर्दै आएको नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनु भयो । उहाँले मध्यपुरथिमिका जात्रा पर्वका लागि यसअघि गरिएको व्यबस्थालाई निरन्तरता दिएको बताउनु भयो । नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले यसवर्ष जात्रा हेर्नका लागि नेपाली काँग्रेसका सांसद दुर्लभ थापालगायतका बिभिन्न नेताहरु तथा माओवादी केन्द्रका नेताहरु आएको बताउनु भयो ।

जात्राको किम्बदन्ती अनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूत–प्रेत, पिशाच, ख्याक तथा कङ्कालले बोडेका मानिसलाई धेरै दुःख दिने गरेपछि तान्त्रिक भीमदत्त कर्माचार्यले तान्त्रिक विद्याले थापेको पासोमा त्यसलाई पारेर कपाल काटे, लुगा फुकाले र लामो सियो जबर्जस्ती जिब्रोमा घुसारी भाग्न नपाओस् भनी घँुघरु बाँधिदिए बलेको महाद्वीप काठको गहुङ्गो भारी बोकाएर बोडे घुमाए ।

कष्ट सहन नसकी पिशाचले आपूmलाई छाडिदिए जुनसुकै वाचा गर्ने बताएपछि भीमदत्तले अब उप्रान्त बोडे देशमा दुःख नदिने, बोडेमा रोग, अनिकाल, अनावृष्टि,अतिवृष्टि, महाभूकम्प हुन नदिने, धर्मको चेष्टा बढाउने र बोडेवासीले भनेझैँ सातवर्षसम्म सोही दिन जिब्रो छेड्न आउनुपर्ने वाचा गराई छाडिदिएको किंबदन्ती छ । एक रात सपनामा नीलबाराहीले आफ्नो द्वारपाललाई अपमानित गरेकाले भीमदत्तलाई बाँकी नराख्ने भनी आक्रोश व्यक्त गरेपछि पछुतो मान्दै भीमदत्तले जिब्रो छेड्नु अगाडि क्षमा पूजा गर्ने चलन चलाए, जुन अहिलेसम्म पनि कायमै छ ।

तर यो कथनलाई मान्न तयार छैनन्, बुद्धकृष्ण । उहाँ भन्नुहुन्छ, “यो जात्रा नील बाराही देवीको प्रतिष्ठासँग जोडिएको छ, जिब्रो छेड्ने व्यक्ति भूत, पिसाच कोही नभई नील बाराहीका देव गण हुन् । जिब्रो छेड्ने व्यक्तिलाई ख्याक र राक्षससँग जोडेर भ्रम फैलाउन नहुने बताउनु हुन्छ । जिब्रो छेड्ने व्यक्ति ख्याक वा राक्षर होइनन्, देवगण हुन् भन्ने सबैलाई बुझाउनु जरुरी रहेको उहाँले बताउनु भयो ।

देवीदेवताको खट बोकेर सिन्दुर खेल्दै मनाइयो सिन्दुर जात्रा

बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका वासिन्दाले आज विहानैदेखि टोलटोलका देवता विराजमान खट जात्रा गरि टोलटोल घुमेर बालकुमारी मन्दिर प्राङ्गन २३ देवीदेवता बिराजमान खटलाई ल्याएर बालकुमारीको परिक्रमा गराई धिमे, मुस्या बाजाको तालमा झुम्दै, नाच्दै र अबिर छर्कदै हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथसिया जात्रा मनाएका हुन् ।

======================================================

भक्तपुर, २ बैशाख : हजारौ मानिसको भीड, भीडमा सबैको टाउँको अनुहार, शरीर सबै अबिरै अबिरले राताम्मे । अगाडि हातहातमा धपक्क बलेको चिरागका समूह, त्यसपछि धिमे र मुस्या बाजा बजाउने अर्को समूह, त्यसपछि आ–आफ्नो टोलका देवीदेवतालाई बिराजमान गराईएएको खट बोकेर टोलटोल घुम्दै बालबालिका, युवायुवतीदेखि जेष्ठनागरिकसमेत जात्राको भीडमा रमाउदै आज भव्य रुपमा मध्यपुरथिमिका बासिन्दाले सुथसिया अर्थात बिहानीको जात्रा मनाएका छन् ।

बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका वासिन्दाले आज विहानैदेखि टोलटोलका देवता विराजमान खट जात्रा गरि टोलटोल घुमेर बालकुमारी मन्दिर प्राङ्गन २३ देवीदेवता बिराजमान खटलाई ल्याएर बालकुमारीको परिक्रमा गराई धिमे, मुस्या बाजाको तालमा झुम्दै, नाच्दै र अबिर छर्कदै हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथसिया जात्रा मनाएका हुन् ।

थिमिमा मात्र मनाईने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमे लगायतका स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रुपमा मनाउने परम्परा छ । तर केही वर्ष यता भने २ट खट मात्रै जात्रामा सहभागि हुने गरेका छन् ।

यो जात्रामा आज विहानै बालकुमारी र कालिका अर्थात बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालेको थियो । हिजोदेखि विष्णुबिर र दक्षिण बाराहीको खट समेत मन्दिरमा राखिएको थियो । विहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरु सहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो ।

जात्रा सुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात बत्ति लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोल स्थित देवता घर परिक्रमा गराइएको थियो । यसैगरि बिष्णुवीर, सिद्धिकाली लगायतका देवदेवीहरुको खट ल्याएर यो जात्रा मनाईएको छ ।

थिमिमा ३२ वटा खट सहभागि रथ बोकेर गराई परम्परागत रुपमा मनाउदै आएको यो जात्रा अहिले थिमि क्षेत्रमाा २३ वटा, नगदेशमा १, बोडेमा ७, टिगनीमा १ छुटाछुटै स्थानमा खटजात्राका साथ सिन्दुर जात्रा मनाइएको छ । यसमा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुबीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी, र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरि टोलटोलमा सिन्दुर खेल्दै जात्रा मनाइन्छ ।

जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन रहेको छ । जात्रामा काँया बाजा, भुस्या बाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानिय जात्रालुहरु रमाईलो गर्ने भएकाले पनि यसलाई केहीवर्ष यता सिन्दुर जात्रा पनि भन्न थालिएको छ ।

बालकुमारीबाट परम्परागत रुपमा सिद्धिगणेश, सिद्धिकाली र त्यसका गणहरु सहित क्वाछें द्यो, हिचो द्यों, अजिमा द्यों, विष्णुवीर र अन्य देवगणहरुको खट उचाले पछि बालकुमारीको जात्रा सुरु गरिएको छ ।

परम्परा अनुसार नै देवता लायकू दरबार भित्र पस्न नपाउन भनेर लायकू प्रवेशद्धारमा पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यो, सिद्धिकाली र अरु देवताका गणहरु बाटो छेकेर बस्ने परम्परा रहेको छ । अगाडि बढाउदै ल्याउने बालकुमारीलाई भैलः द्यो परिक्रमा गरि क्रमैसंग सुगां द्यो, क्वाछे द्योंमा पनि सिन्दुर खेल्दै परिक्रमा गराईन्छ । बालकुमारीलाई बिभिन्न क्षेत्रको परिक्रमा गराई भव्य एवं उमङ्ग र उत्साहका साथ थिमिका वासिन्दाले सिन्दुर खेल्दै यो जात्रा मनाइएको छ । यसवर्ष बैशाख २ गते शनिबार परेकाले यहाँको खट सहितको जात्रालाई शंखधर चोकहुदै सूर्यविनायक नगरपालिका–५ स्थित दक्षिण बाराही मन्दिरमासमेत लगिएको छ ।

धेरैवर्ष पछि बैशाख २ गते शनिबार परेकाले जात्रालाई दक्षिण बाराही मन्दिर लगेर परिक्रमा गरेर फर्काइएको मध्यपुरथिमिका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । बैशाख २ गते शनिबार पर्दा कुनै निष्ट नहोस भनेर दक्षिण बाराहीमा समेत जात्रा लगिने परम्परा रहेको स्थानीय बताउछन् । आजको जात्रा मध्यान्हसम्म चल्ने र यो जात्रा समापन भए पछि बोडेमा जिब्रो छेड्ने जात्राको तयारी गरेर दिउँसो २ बजे बोडेमा जिब्रो छेड्र जात्रा मनाउने नगर प्रमुख ेष्ठले जानकारी दिनुभयो ।

जात्रामा नेताहरुद्धारा अवलोकन :

आजको यो जात्रामा नेपाली काँग्रेस र नेकपा (माओवादी) केन्द्रका नेतादेखि स्थानीय जनप्रतिनिधिहरुले अवलोकन गर्नु भएको छ । मध्यपुरथिमि नगरपालिकाको निमन्त्रणालाई स्वीकार गर्दै नेपाली काँग्रेसका केन्द्रीय नेताहरु प्रकाशमान सिंह, इन्द्र बानियाँ, जिल्ला सभापति दूर्लभ थापालगायतका नेताहरु, माओवादी केन्द्रका केन्द्रीय तहका लीलामणी पोखरले, शशी श्रेष्ठ, देवेन्द्र श्रेष्ठ, डिपी ढकाललगायत जिल्ला तहका नेताहरु, बिभिन्न नगरपालिकाका नगर प्रमुख एवं उपप्रमुखलगायतका विदेशी कुटनितक नियोगबाटसमेत पाहुनाहरु जात्रा अवलोकनका लागि आउनु भएका नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

नयाँवर्षको अवसरमा भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्म पर्यटककै आगमन

नयाँवर्षको अवसरमा भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्मका शतप्रतिशत होटलहरुहरु विगत तीनदिनदेखि आन्तरिक पर्यटककै आगमनले भरिएका छन् । करिब तीनवर्ष कोरोना भाइरसका कारण सुनसान बनेको भक्तपुरका पर्यटकीय क्षेत्रमा बिदेशी भन्दा बढी स्वदेशी पर्यटकको आगमनले पर्यटकीय स्थल खचाखच भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

==============================================

-रमेश गिरी

भक्तपुर, २ वैशाख : नयाँवर्ष २०८० को आगमनसंगै खुसी मनाउन र सूर्योदय हेर्नका लागि विगत तीनदेखि भक्तपुरका पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्म होटलहरु विदेशी तथा स्वदेशी पर्यटकले खचाखच भएका छन् ।

नयाँवर्षको अवसरमा भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्मका शतप्रतिशत होटलहरुहरु विगत तीनदिनदेखि आन्तरिक पर्यटककै आगमनले भरिएका छन् । करिब तीनवर्ष कोरोना भाइरसका कारण सुनसान बनेको भक्तपुरका पर्यटकीय क्षेत्रमा बिदेशी भन्दा बढी स्वदेशी पर्यटकको आगमनले पर्यटकीय स्थल खचाखच भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

नयाँ पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका ७ गुण्डु र ८ सिपाडोलको संगमस्थल ऐतिहासिक रानीकोटमा अधिकांश होटलहरु आन्तरिक पर्यटकले नै भरिएको पर्यटन व्यवसायी एवं भिलेज हाईल्याण्ड रिसोर्ट रानीकोटका सञ्चालक रामसुन्दर बकेँले बताउनु भयो ।

यहाँबाट बिहान देखिने सुन्दर हिमाली दृश्यसंगै सूर्योदयको झुल्को हेर्नेहरुको रात बस्नेदेखि बिहान आउने पर्यटकको भीड लागेको उहाँले बताउनु भयो । चैत मसान्तदेखि बैशाख ३ गतेसम्म होटल बुकिङ्ग भइसकेको र यहााका सबै होटलहरु आन्तरिक पर्यटकले भरिएको बताउनु भयो । नयाँवर्षका लागि दुई साता अगाडिदेखिनै यहाँका होटलहरु बुक भएका थिए ।

समुद्री सतहबाट २००० मिटर उचाइमा रहेको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोटबाट काठमाडौं उपत्यका र भक्तपुर नगर मात्र होइन, बिभिन्न हिमशृंखला समेत अवलोकन गर्न सकिन्छ ।

यहाँबाट सूर्योदयसंगै कञ्चनजंघा, मकालु, सगरमाथा, चोयु, सिसापाङमा, मनास्लु, अन्नपूर्ण, माछापुछ्रे, गौरीशंकर, धौलागिरि तथा लाङटाङजस्ता आठ हजार मिटरभन्दा अग्ला आठवटा हिमाल हेर्न सकिने भएकाले पछिल्लो समय रानीकोट पर्यटकीय गन्तव्य बन्न थालेको पर्यटन व्यवसायी बकेँले बताउनुभयो ।

होटल व्यवसायी बकेँ भन्नुहुन्छ–“रानीकोट ऐतिहासिक रुपले मात्र नभएर सुन्दर दृश्य अवलोकनका लागि पनि उपयुक्त स्थान हो, १२ महिना पर्यटकको आकर्षण बन्न थालेको रानीकोटबाट हेर्न सकिने हिमाली दृश्य र सूर्योदयले नयाँवर्षमा आन्तरिक पर्यटक खचाखच भएको छ । अबभने पर्यटन व्यबसाय पुन चलायमान हुने आशा पलाएको छ ।”

होटल व्यवसायी तथा घ्याम्पेडाँडा रिसोर्टका सञ्चालक राजेन्द्र प्याथले घ्याम्पेडाँडा–रानीकोट पक्कि सडक नर्माण भएसँगै पर्यटकको आगमन ह्वात्तै बढेको बताउनु भयो । उहाँले सूर्यविनायक–रानीकोट–आशापुरी एवं सूर्यविनायक–रानीकोट–फुल्चोकी पदयात्राको रुट र रानीकोट, आशापुरी, बोकाचो गढीँ पर्यटकको रोजाईमा पर्न थालेपछि आन्तरिक पर्यटकको घुँइचो लाग्न थालेको बताउनु भयो ।

घ्याम्पेडाँडामा ३४ करोडको लगानीमा सञ्चालनमा आएको यस रिसोर्टमा आन्तरिक पर्यटकको चाप बढेको बताउदै यहाँबाट देखिने दृश्यावलोकनले पर्यटकलाई तानेको र एक रात बसेर रमाइलो गर्ने जोडीदेखि पारिवारिक जमघट हुने गरेको पर्यटन व्यवसायी प्याथले बताउनु भयो ।

पर्यटकको आगमन बढेपछि घ्याम्पेडाँडा रानीकोट क्षेत्रमा जीप लाइन सञ्चालनमा आएको छभने ठूला होटलहरु निर्माणको क्रम बढेको छ । निर्माण भइसकेको करिब १४ वटा होटलहरु आन्तरिक पर्यटकलेनै भरिन थालेका छन् ।

त्यस्तै भक्तपुरको अर्को पर्यटकीय गन्तव्य नगरकोटमा नयाँवर्षमा तीन दिन अगाडिदेखि नै होटलहरु खचाखच भएका छन् । नयाँ वर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न नगरकोटमा एक रात बसेर सूर्योदय र हिमाली दृश्य हेरेर फर्कने पर्यटकहरुले यहाँका होटल खचाखच भएको पर्यटन व्यवसायी एवं होटल मेरिगोल्डका सञ्चालक गोकूल लामिछानेले बताउनु भयो ।

हरेक नयाँ वर्ष विदेशी पर्यटकले भरिने र स्वदेशीले पर्यटकले ठाउँ नपाउने अबस्था आउने गरे पनि कोरोना संक्रमण पछि भने आन्तरिक पर्यटकले नै यहाँका सबै होटल भरिदा होटल व्यबसायीहरु उत्साहित भएको उहाँले बताउनुभयो ।

“मैले होटल क्षेत्रमा काम गरेको २० वर्षको अबधीमा २०७७ को नयाँ वर्षमा सबै होटल सुनसान भए, ०७८ र ०८९ सालको नयाँ वर्षमा आन्तरिक पर्यटकको आगमनले अलिक राहत मिलेको थियो, ०८० को नयाँ वर्षमा भने आन्तरिक पर्यटकले नै होटलहरु भरिए, यसवर्ष विदेशी पर्यटक पनि आए ।” होटल व्यवसायी लामिछाने भन्नुहुन्छ । स्वदेशी पर्यटकको आकर्षण र आगमन बढेपछि ओरालो लागेको पर्यटन व्यबसायमा आशा पलाएको व्यवसायीहरु बताउछन् ।

पर्यटन व्यवसायी एवं नगरकोट बेस क्याम्पसका सञ्चालक अशोक थापाले एकरात बसेर फर्कनेका लागि नगरकोट निकै आकर्षक गन्तव्य बनेको बताउनु हुन्छ । केही वर्ष अगाडिसम्म नगरकोटका होटलहरु विदेशी पर्यटकका लागि मात्रै हुन् भन्ने भ्रम केही वर्ष यता चिरिएको बताउदै उहाँले नगरकोटको पर्यटक व्यवसाय केृही वर्ष यता आन्तरिक पर्यटकले धानेको बताउनु भयो ।

नेपालीहरुमा पनि एक रात गएर पारिवारिक रमाइलो गरौ भन्ने मानसिकता बढेकाले बिदा र शनिवार अधिकांश होटलहरुमा परिवार आएर बस्ने गरेको र नयाँ वर्षमा होटलहरु खचाखच भएको उहाँको भनाइ थियो । नगरकोट जाने सडक निर्माण पुरा भए पर्यटन व्यवसाय अझै फस्टाउने व्यसवायीहरुको भनाइ छ ।