भक्तपुर, ८ बैशाख : बैशाख ९ गते अर्थात भोली बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पुरा भएको छ ।
कोरोना महामारीका कारण शैक्षिक सत्र २०७७ र २०७६ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष भने सामान्य स्वाथ्य मापदण्ड पुरा गर्दै भौतिक उपस्थितिमै सञ्चालन गर्ने गरि तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनु भयो । परीक्षाका लागि ती केन्द्रहरुमा आवश्यक पर्ने प्रश्नपत्र, उत्तरपुस्तिका लगायतका आवश्यक सामग्रीहरु जिल्लाजिल्ला पठाइसकेको उहाँले जानकारी दिनु भयो ।
एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले एसईई परीक्षाका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र निर्धारण गरेको जानकारी दिनु भयो । उहाँले परीक्षामा यस वर्ष ११ हजार ६१५ विद्यालयबाट नियमिततर्फ छात्र १ लाख ५७ हजार ९१४ र छात्रा २ लाख ५७ हजार ५३ जना कूल ५ लाख १४ हजार ९६७ परीक्षार्थी परीक्षामा सहभागि हुने भएका छन् ।
दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार ४५४ विद्यार्थी र प्राविधिक धारकातर्फका २९९ वटा विद्यालयका १४ हजार ५६४ विद्यार्थी पनि एसईई परीक्षामा सहभागि हुदैछन् । परीक्षामा सबभन्दा कम मनाङ जिल्लाबाट ४३ विद्यार्थी सहभागी हुँदैछन् । एसईईमा नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० विद्यार्थी पनि सहभागी हुने भएका छन् ।
बोर्डले परीक्षालाई मर्यादित एवं व्यवस्थित बनाउन प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा प्रदेश परीक्षा व्यबस्थापन समिति गठन गरेको छ । यस वर्षको एसईई परीक्षा सञ्चालनका लागि प्रदेश परीक्षा व्यबस्थापन समिति, परीक्षाको अनुगमनदेखि उत्तर पुस्तिका परीक्षण, संपरिक्षण र रुजुको काम समेत गर्ने भएको अध्यक्ष शर्माले जानकारी दिनु भयो ।
परीक्षाका लागि प्रदेश परीक्षा व्यवस्थापन समितिमार्फत जिल्ला परीक्षा समन्वय समितिलाई परिचालन गरेको छ । बोर्डले प्रदेशसँग समन्वय गर्ने र प्रदेशअनुसारका सबै जिल्लालाई प्रदेशले निर्देशन दिने तथा अनुगमन गर्ने गरि व्यबस्था गरिएको छ ।
प्रदेश परीक्षा व्यबस्थापन समितिले विद्यार्थीको प्राप्ताङ्क पठाएपछि अन्तिममा त्यसलाई रुजु गरेर बोर्डले नतिजा प्रकाशन गर्ने उहाँले बताउनु भयो ।
अध्यक्ष शर्माले भन्नुभयो, “यस वर्ष एक महिना ढिलो गरि परीक्षा सुर हुदैछ, बोर्डले परीक्षाका नियमावली संशोधन गरेर प्रदेशलाई धेरै जिम्मेवारी दिएको छ, त्यसले नतिजाका केही दिन तल माथि हुन सक्ला, यद्यपी बोर्डले बोर्डले साउन १ देखि कक्षा ११ को शैक्षिक सत्र सुरु हुनुअघि नै एसईईको नतिजा सार्वजनिक गरिसक्ने लक्ष्य लिएका छौँ ।”
कोरोना महामारीका कारण गत वर्षको पढाई प्रभाभिव भएपछि चैत महिनाभर कक्षा सञ्चालन गर्ने र वैशाखमा परीक्षा सम्पन्न गरि भर्ना अभियान सञ्चालन गरेर जेठ १ देखि कक्षा १–१० को आगामी शैक्षिक सत्र सुरु गर्ने गरि शिक्षा मन्त्रालयले व्यबस्था गरेको छ ।–––