भक्तपुर, ७ असार :राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार ३२ गते भित्र सार्वजनिक गर्ने भएको छ ।
बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले अहिले एसईई परीक्षाकोसमयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य नितब्र रुपमा भइरहेको जानकारी दिदै प्राबिधिक रुपमा कुनै समस्या नआए असार ३२ गते भित्र नतिजा सार्वजनिक गर्ने गरि काम भइरहेको बताउनु भयो ।
राष्ट्रिय परीक्षा बोर्ड एसईई (कक्षा १०) का परीक्षा नियन्त्रक अर्जुन रायामाझीले असार ३२ गते एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिनु भयो ।
अहिले उत्तर पुस्तिका परीक्षणको काम सम्पन्न गरी संपरीक्षणको काम समेत अन्तिम चरणमा पुगेको जानकारी दिदै उहाँले कम्प्युटर इन्ट्री गर्ने, रुजु गर्ने लगायतका काम भइरहेको जानकारी दिनु भयो । सम्पुर्ण काम सकेर असारको अन्तिम दिन अर्थात् असार ३२ गते नतिजा सार्वजनिक गरिने परीक्षा नियन्त्रक रायामाझीले बताए ।
कार्यालयले असार २० सम्ममा प्राप्ताङ्क इन्ट्री गर्ने, २१ र २२ मा मिस म्याच गर्ने र २३ देखि २९ गतेसम्म टेबुलेसन गर्ने र ३२ मा नतिजा सार्वजनिक गर्ने गरि कार्ययोजना बनाएर काम भइरहेको भन्दै उहाँले प्राबिधिक रुपमा समस्या नआए असार ३२ गते नतिजा सार्वजनिक हुन्छ भन्नु भयो ।
यस अघि चार महिनामा सार्वजनिक हुँदै आएको परीक्षाफल यसवर्ष करिब दुई महिनामै सार्वजनिक गर्ने गरि काम भइरहेको परीक्षा नियन्त्रक रायमाझीले जानकारी दिनु भयो । कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्यांकनबाट नसतजा सार्वजनिक भए पनि दुई वर्ष पछि बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।
दुई हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका २ लाख ५७ हजार ९२४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरि ५ लाख १४ हजार ९७७ परीक्षार्थीले परीक्षा दिएका परीक्षा नियन्त्रक रायामाझीले जानकारी दिनु भयो । बोर्डले ६१ विषयमा परीक्षा सञ्चालन भएको थियो ।