ताथली–नाला सडकमा बढ्दो दुर्घटना न्यूनिकरण गर्न सिडिओको नेतृत्वमा सडकको अनुगमन
भक्तपुर, ११ चैत । पूर्वजाने अरनिको राजमार्गको बैकल्पिक सडकको रुपमा रहेको च्यामङसिह–ताथली–नाला सडकमा दैनिक दुर्घटना बढेपछि भक्तपुरको सुरक्षा निकायको टोली दुर्घटना न्युनिकरणको उपाय खोज्न सडक अनुगमनमा पुगेको छ । भक्तपुरको सूर्यविनायक–बनेपा–धुलिखेल छ लेन सडक बिस्तार सम्पन्न गर्न ढिलाई भएसंगै बनेपा चोकबाट नाला ताथली हुँदै च्यामासिंह निस्कने सडकमा अत्याधिक सवारी चाप बढेसंगै दैनिक दुर्घटना बढेपछि स्थानीयलाई चिन्ताको विषय बनेको छ ।

दैनिक दुर्घटनाको गुनासो आएपछि भक्तपुरका प्रमुख जिल्ला आधिकारी उमेशकुमार ढकालको नेतृत्वमा जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्का, जगाती प्रहरी बृत्तकी प्रहरी नायब उपरीक्षक चञ्चला श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी परिसरकी ट्राफिक प्रहरी निरीक्षक झरना सुनार, चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडाध्यक्ष गणेश त्यातलगायतका टोलीले उक्त सडकमा दुर्घटना हुने मुख्य क्षेत्रहरुको अनुगमन गरेको हो । सडकमा अत्याधिक सवारी चाप हुने र मोटरसाईकलदेखि साना सवारी साधनको तिब्र गतिका कारण दैनिक दुर्घटना बढेको सुरक्षा निकायदेखि जनप्रतिनिधिले निष्कर्ष निकालेका छन् ।

स्थानीय दत्तात्रय खाद्य उद्योग सञ्चालक सन्जिव मधिकर्मीले यसक्षेत्रमा एकैदिन आफ्नै आँखा अगाडी तीनवटासम्म दुर्घटनामा भएको बताउँदै दैनिक दुर्घटनाले निकै चिन्ता बढाएके बताउनुहुन्छ । दुर्घटना बढेपछि उद्योगको गेटमा सडक तर्फ फर्काएर तीनवटा सिसि क्यामरा जडान गरेपछि दुर्घटना हुँदा फरार हुने सवारी साधन पत्ता लगाउन प्रहरीलाई सहज भएको बताउदै दुर्घटना न्यूनिकरणको उपाय अबलम्बन गर्न आवश्यक रहेको सुझाब टोलीलाई दिनुभयो ।

चाँगुनारायण नगरपालिका–९ का वडाध्यक्ष गणेश त्यातले एक वर्षअघि चाँगुनारायण नगरपालिकाले नौवटा सिसी क्यामेरा जडान गरेपनि मालबाहक ठूला सवारी सधानले तार चुडालिदिएपछि अहिले एउटा पनि सञ्चालनमा नरहेको बताउनुभयो । उहाँले सिसि क्यामरासंगै सडक बत्तिको आवश्यकता रहेको बताउनुभयो ।
सिसी क्यामेरासमेत नहुंदा दुर्घटना गरेर सवारी साधन भाग्ने र गल्ती गर्नेलाई कारवाही गर्न समेत समस्या भएको बताउदै प्रहरी बृत्त जगातेकी प्रमुख श्रेष्ठले सिसी क्यामेरा जडान र सचेतना मुलक बोर्ड राख्न सके दुर्घट्ना न्युनिकरणका साथै अनुसन्धानमा समेत सहयोग पुग्ने बताउनुभयो ।

साँगुरो सडकमा सवारी चाप, चालकमा अनुशासनको कमि र दु्रत गतीमा सवारी हुइक्याउँने प्रबृत्तिले दुर्घटना बढेको भन्दै बढी जोखिम हुने सडकमा ट्राफिक प्रहरीको उपस्थिति, र कारबाही बढाउनु पर्ने स्थानीयको भनाई छ । यस क्षेत्रमा सञ्चालनमा रहेका ईँटा भट्टा, बिभिन्न उद्योगहरुले सडकतर्फ सिसि क्यामरा जडान गर्ने र रातीका लागि सडक बत्तिको व्यबस्था गराईदिनसमेत स्थानीयले माग गरेका छन् ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख सोनारले डमी ट्राफिक माग गरिरहेको, जनशक्ति कम भएकाले समस्या भएको, यस क्षेत्रमा तत्कालै एक प्रहरी पोष्ट स्थापना गर्न आवश्यक भएको, जनचेतनामूलक पोष्टर राख्न, सिसि क्यामरा, सडक बत्तिको व्यबस्था गरिदिन सके दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने बताउनुभयो ।

अनुगमनका प्रजिअ ढकालले दुर्घटनाग्रस्त क्षेत्रमा तत्काल सुरक्षाकर्मी राखेर ट्राफिक अनुशासन कायम गराउँने, कारबाही प्रक्रिया अगाडि बढाउने, फ्लेक्स बोर्ड, सिसी क्यामेरा राख्न पहल गर्ने बताउनुभयो । उहाँले वडा अध्यक्ष त्यातलाई तत्कालै यस क्षेत्रका व्यवसायीहरुसहित सरोकारवालाहरुको बैठक बोलाएरु यहाँको समस्या समाधानका लागि पहल गर्न निर्देशन दिनुभयो ।
प्रहरी उपरीक्षक सुर्य बहादुर खड्काले बनेपा जगातेको सडकमा घण्टौ जाम हुने भएपछि यस सडकमा सवारी चाप बढेको बताउदै सडक डिभिजन कार्यालयसंग पनि यसबारेमा छलफल आवश्यक रहेको बताउनुभयो ।
तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
+1
+1
+1
