दूईदिने औद्योगिक मेलाको आज पहिलो दिन १५ हजार भन्दा बढीको अवलोकन
भक्तपुर, १५ जेठ : हस्तकला, मौलिक संस्कृति र दिगो पर्यटन–विकसित र व्यवसायिक भक्तपुर हाम्रो चिन्तन भन्ने नाराका साथ आजबाट भक्तपुरमा सुरु भएको दोस्रो भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला–२०८३ मा एकैदिन १५ हजार उपभोक्ताले अवलोकन गरेको छ ।
भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा दुईदिने दोस्रो भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला–२०८३ को आज नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण बैद्यले उद्घाटन गर्नु भयो । बैद्यले सरकारले युवा रोजगार प्रबद्र्धनमा महासघसग साझेदारीमा कार्यक्रम ल्याउनु पर्ने बताउदै उहाँले स्थानीय पालिकाहरुले युवा स्वरोजगारमूलक तालिमहरु महासंघ मार्फत सञ्चालन गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य रुकेश रंजितले भक्तपुरको कला, संस्कृति र पहिचानलाई मेलाले अझै उत्कृष्ठ बनाउने बताउदै मेलाबाट स्थानीयले लाभ लिन सक्ने बताउनुभयो ।
भक्तपुर जिल्लाका मौलिक उत्पादन एवं स्थानीय स्रोत र साधनबाट उत्पादित हस्तकलाका सामानहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा बजार प्रवद्र्धन गर्न र उद्योग, व्यापार, कृषि, पर्यटन, संस्कृतिको प्रवद्र्धन गरी जिल्लाको आर्थिक विकासमा टेवा पुर्याउने मेलाको उदेश्य रहेको संघका अध्यक्ष कृष्णमुरारी न्यौपानेले बताउनुभयो ।
सांस्कृतिक एवं पर्यटकीय नगरी भक्तपुरको भक्तपुर औद्योगिक क्षेत्र परिसरमा दुई दिनसम्म आयोजना हुने मेलामा करिब ५० हजार जनाले अवलोकन गर्ने अपेक्षा रहेको मेलाको संयोजक एवं संघका कोषाध्यक्ष रंजित मारिखुले जानकारी दिनुभयो ।

मेलामा मौलिक हस्तकलाका उत्पादनहरु, कृषि उत्पादनहरु, नेपाली हाते एवं तानको तयारी पोशाक, बालबालिकाका खेलौना, छालाका सामानहरु, गरगहना, सौन्दर्य तथा श्रृंगारका सामग्री, मूर्ति तथा उपहारका सामग्री, लत्ताकपडा, जुत्ता, रैथाने तथा अर्गानिक खाद्य सामग्री, बालबालिकालाई मनोरञ्जनको लागि बाल उद्यान, इलेक्ट्रोनिक्स लगायत अन्य विविध सामग्रीहरुका ४८ वटा स्टल रहेको उहाँले बताउनुभयो ।
मेलामा स्थानीय खानाका स्टलहरु रहेको छभने हरे दिन साँझ ४ बजेबाट राती ८ बजेसम्म बिबिध साँस्कृतिक कार्यक्रमसमेत आयोजना गरेको मेलाका मिडिया संयोजक ऋषिकेश श्रेष्ठले जानकारी दिनुभयो ।
मेलाका लक्षित आगन्तुकहरुमा विशेषगरी आन्तरिक तथा वाह्य पर्यटकहरु, दैनिक उपभोग्य सामग्रीका उपभोक्ताहरु, हस्तकला व्यवसायीहरु, थोक तथा खुद्रा व्यवसायीहरु, विभिन्न संघ संस्थाहरु, सरकारी निकायहरु, स्थानीय खानाका पारखीहरु, बैंक, वित्तीय संस्था र सहकारी संस्थाहरु, विद्यार्थीहरु लगायत रहेका छन् ।
तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
+1
+1
+1
