अन्नु चौधरीको ‘बाँध मायाले’ सार्बजनिक

काठमाडौं । गायक निमा तामाङ र गायिका अन्नु चौधरीको युगल गायनमा समावेश ‘बाँध मायाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । युवा प्रेम र आकर्षणको भावलाई समेटिएको यस गीतमा ताराप्रकाश लिम्बूको शब्द सङ्गीत छ । गीतलाई सविन लिम्बूले सङ्गीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा स्वयम् गायक तामाङ र विमला खाजुमलाई रोमाञ्चक मुद्रामा देख्न सकिन्छ ।

‘बहकिँदै छ मन बाँध मायाले’, ‘सम्हाल यो मन’, ‘चाहना छ तिम्रै हुने, एक जुनी होइन, अनेकौँ जुनी’ लगायत बोलका गीत समावेश गरिएको छ । भूपेन्द्र तुम्बाहाम्फेको छायाङ्कन र सम्पादनमा भिडियो तयार पारिएको हो । ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो । यसअघि गायक तामाङको स्वरमा रहेको ‘हेर्देउन मायाले’ लगायत थुप्रै चर्चित गीतहरु सार्वजनिक भइसकेका छन् ।

नारायणमान बिजुक्छेँले गरे नेमकिपाद्धारा घोषणा–पत्र सार्वजनिक

भक्तपुर, १५ वैशाख : नेपाल मजदुर किसान पार्टीले स्थानीय तह निर्वाचन २०७९ का लागि घोषणा पत्र सार्वजनिक गरेको छ ।
आज पार्टी अध्यक्ष नारायणमान बिजुक्छेंले सार्वजनिक गर्नु भएको घोषणापत्रमा हालै संसदले पारित गरेको एमसीसी सम्झौता, अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवादको बिरोध गर्दै एकाधिकार पुँजीविरुद्ध नेमकिपाले पार्टी स्थापनादेखि गरेको आन्दोलन र संघर्षकाबारेमो चर्चा गरिएको छ ।

श्रीलंकामा भएको आर्थिक संकटले नेपालमा पर्ने प्रभाव र त्यसको निराकरणका उपायहरुलाई घोषणापत्रमा समेट्दै नेमकिपाले घोषणा पत्रमै नेपाली काँग्रेस र एमाले दुबै प्रतिगामी शक्ति भएको बिजुक्छेले आरोप लगाउनु भएको छ । बिजुक्छेँले काँग्रेस र एमाले दुबै प्रतिगामी, वर्गीयरूपले पुँजीवादी र सामन्त वर्गको प्रतिनिधित्व गर्ने एउटै ढ्याकका खुकुरी र त्रिशुल भएको टिप्पणी गर्नु भयो ।

घोषणापत्रमा नेमकिपाले मतसीमा अर्थात थ्रेसहोल्ड खारेजीको माग गर्दै सत्ताधारी दलहरूले मतसीमा नपुगेका दलका नेता र सांसदहरूलाई मन्त्री बनाउँदै थ्रेसहोल्डको समर्थनमा हस्ताक्षर गराउँदै तानाशाही लाद्ने प्रयास गरेको आरोप लगाएको छ ।
घोषणापत्रमा सरकारले बजेट विनियोजनमा पक्षपात गरेको भन्दै विगतमा नेमकिपाका जनप्रनिधिले गरेको स्थानीय तहको बिकासको बारेमा चर्चा गरिएको छ ।

सर्वदलीय बैठकमा आचार संहिताको उलङ्घन रोक्न दलहरुको माग, निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन गर्न आव्हान

भक्तपुर, १४ वैशाख : आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका क्रममा दलहरुबाटै आचार संहिता उलङ्घन भएको भन्दै यसलाई रोक्न निर्वाचनमा भाग लिएका साना दल र स्वतन्त्र उम्मेदवारले माग गरेका छन् ।

जिल्ला प्रशासन कार्यलय भक्तपुुरमा आज मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनकाबारेमा छलफल गर्न आयोजना गरेको सर्वदलीय बैठकमा ठूला दलहरुले शक्ति प्रर्दशन गरि निर्वाचन आचार संहिता उलङ्घन गर्दा पनि निर्वाचन आयोगले बेवास्ता गरेको र कारबाही नगरेको भन्दै आक्रोस व्यक्त गरेका हुन् ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता यादवप्रसाद अधिकारीले आचारसंहिता कडाईका साथ कार्यान्वयन गर्न माग गर्दै आचार संहिता देखावटी मात्रै बन्न नहुनेमा जोड दिनु भयो । सर्वदलीय बैठकमा नेकपा एमालेका अध्यक्ष वचन देउजाले उम्मेदवारी दर्ताकै दिन दलहरुबाट आचार संहितामा उलङ्घन भएको भन्दै कि जे गरे पनि होस् भनेर खुल्ला छोड्न, कि कडा रुपमा नियम कार्यान्वयन गर्न माग गर्नु भयो ।

ठूला दलहरु मिलेर जे गरे पनि हुने भए त्यही ढंगले अगाडि बढ्नु पर्ने भन्दै उहाँले आचार संहिताको पालना गर्न गराउन कडाई नगरे दलहरुबीच द्धन्द्ध बढ्ने र त्यसको जिम्मेवारी निर्वाचन आयोगले लिनु पर्ने औल्याउनु भयो ।। आचार संहिता पालना भए नभएको अनुगमन गर्नु पर्नेमा उजुरी पर्ला र जाउला भनेर बस्न नहुने भन्दै एमाले अध्यक्ष देउजाले आयोगले आचार संहिता बनाउँदा समय सापेक्ष रुपमा नबनाएको, तुल बनाउने ठाउँनै नभएको अहिलेको समयमा तुल राख्न पाउने तर सहजै बनाउन सकिने फ्लेक्स राख्न नपाउने व्यबस्था अब्यबहारिक रहेको बताउनु भयो ।

बैठकमा नेमकिपाका केन्द्रीय सदस्य एवं उम्मेदवार रवीन्द्र ज्याख्वाले मनोनयन दर्तामा उपयुक्त व्यवस्थापन नहुँदा अन्तिम नामावली समयमै प्रकाशन नगर्दा दाबी बिरोधको उजुरी गर्न नपाएको बताउनु भयो । उहाँले यस्तो त्रुटी सुधार्नु पर्ने औल्याउदै आयोगले आफूहरुलाई निर्वाचन आचार संहिताको छपाई प्रति उपलब्ध नगराएको र मतदाता शिक्षाबाट समेत बञ्चित गराएको भन्दै आपत्ति जनाउनु भयो ।

राप्रपाका प्रतिनिधि राजिब लामिछानेले विगतमा निर्वाचनमा भएको त्रुटी नदोहरिन आयोग सचेत हुनपर्ने औल्याउदै आचार संहिता पालनामा कडाई गर्न माग गर्नु भयो । सहभागि स्वतन्त्र उम्मेदवारहरुले ठूला दलले आफ्नो शक्ति प्रर्दशन गरेको, आचार संहिता व्यापक रुपमा उलंघा गर्दा पनि आयोगले बेवास्ता गरेको आरोप लगाएका थिए ।

अन्तरक्रिया कार्यक्रममा राससका प्रतिनिधि रमेश गिरीले हालको निर्वाचन प्रक्रिया मिडिया मैत्री नभएको, निर्वाचन कार्यालयले मिडियालाई सहज रुपमा सूचना नदिएको बताउनु भयो । उहाँले निर्वाचनको सम्पूर्ण जानकारी सहजरूपमा उपलब्ध गराउन, निर्वाचनको दिनमा पत्रकारलाई सवारी पासको सहज व्यबस्था गर्न र मतगणना स्थलमा सहज रुपमा फोटो र भिडियो खिच्ने व्यबस्था गर्न माग गर्दै निर्वाचनमा सूचना अधिकृतको व्यवस्था गरी पत्रकारलाई आवश्यक सूचना संकलनका लागि सहजता प्रदान गर्न माग गर्नु भयो । नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजिप घिमिरेले निर्वाचन कार्यालयले पत्रकारलाई निर्वाचन सम्बन्धी सूचना दिन कन्जुस्याइँ गरेको भन्दै आक्रोस व्यक्त गर्नु भयो ।

कार्यक्रममा जिल्ला न्यायाधिस एवं मूख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले सर्वर डाउन हुँदा मनोनयन दर्ता र नामावली प्रकाशनमा ढिलासुस्ती भएको भन्दै दलहरुले नै आचार संहिता बनाएकोले त्यसबारेमा थाहा पाउनु पर्ने बताउनु भयो । आचार संहिता दलहरुले बनाएकाले कार्यान्वयमा दलहरु जिम्मेवार हुनु पर्ने औल्याउदै उहाँले मतदाता शिक्षा सञ्चालन गर्ने जिम्मेवारी आयोग र दलहरुको भएको बताउनु भयो । उहाँले आगामी दिनमा पत्रकारहरुलाई सूचनामा सहज पहुँच पुग्ने गरि व्यबस्थापन गर्ने बताउदै निर्वाचन सहज र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा भक्तपुरको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्ला र नगर निर्वाचन अनुगमन समितिले निर्वाचनको हरेक गतिविधि अनुगमन गर्ने बताउदै कानुनको पालना गर्नु सबैको कर्तब्य भएको बताउनु भयो । उहाँले निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न, मतदाताको मतदान गर्ने अधिकारको ुुनिश्चित गर्न, शान्ति सुरक्षाको पाटो चुस्त दुरुस्त पारिएको बताउदै शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गरेर सन्देश दिने जिम्मेवारी दलहरुको पनि रहेको औल्याउनु भयो ।

कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले निर्वाचनमा खटिने सुरक्षाकर्मीसँग सबै ठोकिने भएकाले शंकास्पद व्यक्ति र गतिविधिबारे प्रहरीलाई समयमै जानकारी गराउन, चुनावलाई शान्ति पूर्ण बनाउन सबैको उत्तिकै भूमिका रहने औल्याउनु भयो ।

जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले निर्वाचन आचार संहिताकोबारेमा जानकारी गिराउनु भएको उक्त कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव शुशील बस्नेत, नेकपा(एस)का अध्यक्ष एवं सूर्यविनायक नगरका उपमेयरका उम्मेदवार श्यामसुन्दर बस्नेत अन्य राजनीतिक दलका प्रतिनिधि एवं स्वतन्त्र उम्मेदवारहरु सहभागी रहेका थियो ।

भक्तपुरमा तोडियो गठबन्धन, चारवटै पालिकामा दलहरुको उम्मेदवारी दर्ता, काँग्रेस एमालेबाटै वागी उम्मेदवार, मध्यरातीसम्म मनोनयन हुने

भक्तपुर, १२ बैशाख । आउँदो ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन नेपाली काँग्रेस र नेकपा एमालेसहित बिभिन्न दलले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन आयोगले आज र हिजो दुईदिन मनोनयन दार्त गर्ने मिति तोके पनि हिजो केही स्वतन्त्र उम्मेदवारले मनोनयन गरेपछि आज ३ बजेपछि मात्रै ठूला दल उम्मेदवारी दर्ता गर्न गए पछि मनोनयन दर्ताका लागि राती ८ बजेसम्म पनि आकांक्षीहरुको लाइन लामो रहेको छ ।
२०७४ को निर्वाचनमा मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा जीत हासिल गरेको एमालेले यसवर्ष उम्मेदवार दोहोर्याएको छ ।

एमालेबाट सूर्यविनायक नगरको प्रमुखमा वासुदेव थापा र उपप्रमुखमा सरिता भट्टराईले, मध्यपुरथिमि नगर प्रमुखमा मदनसुन्दर श्रेष्ठ र उपप्रमुखमा उत्तरा नेपाल, चाँगुनारायण नगरपालिका प्रमुखमा बिना बास्तोला र उपप्रमुखमा रमेश बुढाथोकी, भक्तपुर नगरपालिकाको प्रमुखमा रबिन्द्र लाछिमस्यु र उपप्रमुखमा रञ्जना खर्बुजाले मनोनयन दर्ता गराउनु भएको छ । सूर्यविनायकका थापा, मध्यपुरका श्रेष्ठले यस पटक पनि प्रमुखमा दोहोर्याएर उम्मेदवारी दिएका छन् भने चाँगुनाराणमा उपप्रमुख वास्तोलाले प्रमुखमा उम्मेदवारी दिनु भएको छ ।
नेपाली काँग्रेससहितले केही वडामा सहमति गर्न ढिलाई गरेपछि पाँच बजे अगाडि मात्रै मनोनयनका लागि गएको छ । काँग्रेसको अधिकांश पालिकामा ८ बजेसम्म मनोनयन दर्ता गराउन लामबद्ध रहेको मध्यपुरथिमि निर्वाचन अधिकृतको कार्यालयमा खटिनु भएका केशव सिलवालले जानकारी दिनु भयो ।

भक्तपुरमा सत्ता गठबन्धनको तालमेल र सहमति तोडिएको छ । आज दिउँसो ४ बजेसम्म पनि काँग्रेससँग सहमति नभए पछि नेकपा माओवादी केन्द्रले पालिकाहरुमा गठबन्धन बाहिर रहेर छुट्टै उम्मेदवारी दर्ता गराएको माओवादी केन्द्रका केन्द्रीय सदस्य डिपी ढकालले जानकारी दिनु भयो ।

गठबन्धन तोडिए पछि नेपाली काँग्रेसबाट चाँगुनारायणको प्रमुखमा जीवन खत्री, उपप्रमुखमा सुभद्रा काफ्ले, भक्तपुर नगरपालिका प्रमुखमा काँग्रेसबाट रामप्रसाद कासुला, उपप्रमुखमा नेकपा (एकीकृत) समाजवादीबाट ओमचरण श्रेष्ठ, सूर्यविनायक नगरपालिका प्रमुखमा काँग्रेसबाट निशान ढुङ्गेल, उपप्रमुखमा एकिकृत समाजवादीबाट श्यामसुन्दर बस्नेत र मध्यपुरथिमि नगरपालिका प्रमुखमा काँग्रेसबाट सुरेन्द्र श्रेष्ठ र उपप्रमुखमा नेकपा (माओवादी) केन्द्रबाट विजय श्रेष्ठले उम्मेदवारी दर्ता गराउनु भएको नेपाली काँग्रेस जिल्ला सभापति दुर्लभ थापा र समाजवादीका जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतले जानकारी दिनुभयो ।

गठबन्धनमा सहमति कार्यान्वयन गर्न काँग्रेसले नमानेको भन्दैसत्ता गठबन्धनको तालमेल र सहमति भक्तपुरमा तोडिएको छ । आज दिउँसो ४ बजेसम्म पनि काँग्रेससँग सहमति नभए पछि नेकपा माओवादी केन्द्रले पालिकाहरुमा गठबन्धन बाहिर रहेर छुट्टै उम्मेदवारी दर्ता गराएको माओवादी केन्द्रका केन्द्रीय सदस्य डिपी ढकालले जानकारी दिनु भयो । उहाँका अनुसार नेकपा माओवादी केन्द्रबाट भक्तपुर नगरपालिका प्रमुखमा तुलसी भक्त सुवाल, उपप्रमुखमा इन्द्रमाया सुवाल, सूर्यविनायक नगरपालिकाको प्रमुखमा कल्पदिप राई र यपप्रमुखमा पवित्रा चौलागाई र चाँगुनारायण नगरपालिकाको प्रमुखमा नरेश खड्का र उपप्रमुखमा चण्डिका पाण्डेले उम्मेदवारी दर्ता गराउनु भएको हो ।

त्यस्तै नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा दोहोर्याउने भएको छ । नेमकिपाले भक्तपुरको प्रमुखमा सुनिल प्रजापति र उपप्रमुखमा रजनी जोशी, सूर्यविनायक प्रमुखमा श्याम बिसंखे र उपप्रमुख चनमति खुलीमुली, चाँगुनारायणको प्रमुखमा केशव तिमिल्सिना, उपप्रमुखमा कल्पना लामा र मध्यपुरथिमिको प्रमुखमा आशाहरि प्रजापति र उपप्रमुखमा दीक्षा बाँडेले मनोनयन दर्ता गर्नु भएको नेमकिपाका भक्तपुर जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाईले जानकारी दिनु भयो ।

त्यसैगरि राष्ट्रिय प्रजातन्त्र पार्टीले चाँगुनारायण नगरपालिकाको प्रमुखमा रबिन्द्रप्रताप शाह, उपप्रमुखमा मञ्जु कार्की भक्तपुर नगरको प्रमुखमा बद्री लाखाजू, उपप्रमुखमा लक्ष्मी छुस्यावाग, मध्यपुरथिमिको प्रमुखमा भुवन वागश्रेष्ठ, उपप्रमुखमा शान्ति श्रेष्ठ, सूर्यविनायकको प्रमुखमा राधिका रानाभाट र उपप्रमुखमा प्रविण ढुङ्गेलले मनोनयन दर्ता गराउनु भएको राप्रपाका सहमहामन्त्री शाहले जानकारी दिनु भयो । जिल्लाका चार पालिकाको ३८ वटा वडामा नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र, नेमकिपा र राप्रपाले सबै पदाधिकारीमा उम्मेदवारी दर्ता गराएको छ ।

उम्मेदवारी दर्ताकै क्रममा सूर्यविनायक नगरपालिकामा नेतृत्वले आफूलाई धोका दिएको भन्दै नेपाली काँग्रेस पूर्व क्षेत्रीय सभापति एवं महाधिवेशन प्रतिनिधि नारायण खायमलीले पार्टीको साधारण सदस्य समेत नरहने गरि आजै राजीनामा दिनु भएको छ । उहाँले पार्टीलाई राजीनामा दिएर सूर्यविनायक नगरपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता गराउनु भएको छ । पार्टीले आफूलाई पटक पटक धोका दिएर खेलाएको भन्दै आफूले काँग्रेस बिरुद्ध बागी उम्मेदवारी नदिई स्वतन्त्र भएर उम्मेदवारी दिएको बताउनु भयो ।

नेकपा एमाले सूर्यविनायक नगरपालिकाको उपप्रमुखमा पनि एमालेकी सरस्वती घिमिरेले बागी उम्मेदवारी दिनु भएको छ । एमालेबाटै सूर्यविनायक वडा नं. २ को वडाध्यक्षमा स्वतन्त्र भन्दै निरोज कार्की र वडा नं. १० को वडाध्यक्षमा कृष्णबहादुर कार्कीले स्वतन्त्र उम्मेदवार भन्दै बागी उम्मेदवारी दर्ता गराउनु भएको छ ।

जिल्लाका चार वटै नगरपालिकामा बिभिन्न पदमा नोमिनेशन दर्ता गर्ने कामनै राती १० बजेसम्म पनि जारी रहने र अन्तिम नामावली तयार पार्ने मध्यराती हुने सम्भावना रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

 

गोदाममा भीषण आगोलागी, ६ करोड बराबरको क्षति

भक्तपुर, १२ बैशाख : मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारमा गएराती भिषण आगोलागी भएको छ । स्थानीय राजन प्रजापतिको ग्रिनवेयर स्यानिटरी गोदाममा भएको आगलागीमा मानवीय क्षति नभएपनि करोडौको सामान जलेर क्षति भएको छ ।

मध्यराती जुद्ध बारुण यन्त्र भक्तपुर, ललितपुर काठमाडौंको दमकल, नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आज बिहान मात्रै आगो नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले दमकल र सुरक्षाकर्मीको सहयोगले आगो नियन्त्रणमा लिएको जानकारी दिनु भयो ।

गोदाम भित्र रहेको अधिकांश केमिकल, मेशिनरी सामानलगायतका सामानहरु जलेर नष्ट भएको जानकारी दिदै उहाँले प्रारम्भिव अनुसन्धनमा करिब ६ करोड बराबरको क्षति भएको बताउनु भयो । क्षति भएका सामानको विवरण र क्षतिको यथार्थ विवरण भने दिउँसो मात्रै आउने उहाँले जानकारी दिनु भयो ।

मध्यराती टुङ्ग्यायो गठबन्धनसहित काँग्रेस र एमालेले उम्मेदवार

भक्तपुर, १२ बैशाख : आउँदो ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार छान्न सकस भए पछि नेपाली काँग्रेस र नेकपा एमाले मध्यराती उम्मेदवार छनौट गरेका छन् । जिल्ला तहमा गठबन्धनसहितको बैठकले उम्मेदवार छनौटमा सकस परेपछि प्रदेशमा बसेको छलफलले उम्मेदवार टुङ्ग्याएको हो ।

एमालेको पनि उम्मेदवार छनौटमा सकस परेपछि धुलिखेलको एक रिसोर्टमा बसेर राती उम्मेदवारको नाम टुङ्ग्याएको एक नेताले बताए । सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकामा एमालेले पुरानै नगर प्रमुखलाई दोहोर्याउने भएको छ भने चाँगुनारायणमा पुरानो उपप्रमुखलाई प्रमुखमा ल्याएर महिलालाई प्रमुखको उम्मेदवार बनाउने भएको छ ।

एमालेले सूर्यविनायक नगरको प्रमुखमा वासुदेव थापा र उपप्रमुखमा सरिता भट्टराईलाई उम्मेदार बनाउने निर्णय गरेको छभने मध्यपुर थिमि नगरमा मदनसुन्दर श्रेष्ठलाई प्रमुख र उत्तरा नेपाललाई उपप्रमुखको उम्मेदवार बनाउने भएको छ । त्यस्तै चाँगुनारायण नगरपालिकामा भने यसअघि उपप्रमुखको जिम्मेवारी सम्हाल्नु भएकी बिना बास्तोलालाई प्रमुख र उपप्रमुखमा रमेश बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय गरेको एमालेले जानकारी दिएको छ ।

यता सत्ता गठबन्धनमा भने मध्यरातीसम्म भएको छलफलमा माओवादी केन्द्रले चाँगुनारायणको प्रमुखको दाबी गरेपनि दुबै काँग्रेसले लिएको छ । गठबन्धनबाट चाँगुनारायण नगरपालिकाको प्रमुख तथा उपप्रमुख दुबै काँग्रेसले पाएको छ । काँग्रेसले चाँगुनारायणको प्रमुखमा जीवन खत्रीलाई उम्मेदवार बनाउने भएको छ । उपप्रमुखमा सुभद्रा काफ्लेलाई उम्मेदवार बनाउने भएको छ ।

भक्तपुर नगरपालिका प्रमुखमा काँग्रेसबाट रामप्रसाद कासुला, उपप्रमुखमा नेकपा (एकीकृत) समाजवादीबाट ओमचरण श्रेष्ठ, चाँगुनारायण नगरपालिकामा प्रमुखमा काँग्रेसबाट निशान ढुङ्गेल, उपप्रमुखमा समाजवादीबाट श्यामसुन्दर बस्नेत र मध्यपुरथिमि नगरपालिका प्रमुखमा काँग्रेसबाट सुरेन्द्र श्रेष्ठ र उपप्रमुखमा नेकपा माओवादी केन्द्रबाट विजय श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

नेपाल मजदुर किसान पार्टीले उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छैन भने राप्रपा र राप्रपा नेपालले चारवटै नगरपालिकामा छुट्टा छुट्टै उम्मेदवार खडा गर्ने भएको छ ।

धुलिखेल पुगेर टुङ्ग्यायो एमालेले उम्मेदवारको नामावली

भक्तपुर, ११ बैशाख । आउँदो ३० गते हुने स्थानीय तहको निर्वाचनमा आज धुलिखेल पुगेर नेकपा एमालेले नगर प्रमुख तथा उपप्रमुखको उम्मेदवारी टुङ्ग्याएको छ ।

विशेष गरि सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमि नगरपालिकाका प्रमुख र उपप्रमुखमा निकै रस्साकस्सी परेपछि धुलिखेल पुगेर बसेको बैठकले उम्मेदवारको तय गरेको बैठकमा सहभागि एमालेका एक नेताले जानकारी दिए ।

ती नेताको अनुसार सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकामा एमालेले पुरानै नगर प्रमुखलाई दोहोर्याउने भएको छ । सूर्यविनायक नगरको प्रमुखमा वासुदेव थापा र बालकोट निवासी सरिता भट्टराईलाई उम्मेदार बनाउने निर्णय गरेको हो ।

त्यसैगरि मध्यपुर थिमिमा पनि एमालेबाट मदनसुन्दर श्रेष्ठलाई पुन नगर प्रमुखमा उम्मेदवार बनाउने निर्णय गरेको ती नेताले जानकारी दिए । मध्यपुरथिमिमा भने उत्तरा नेपाललाई उपप्रमुखको उम्मेदवार बनाउने भएको छ ।

यता चाँगुनारायण नगरपालिकामा भने पाँच वर्ष उपप्रमुखको जिम्मेवारी सम्हाल्नु भएकी बिना बास्तोलालाई प्रमुखको उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ । त्यस्तै उपप्रमुखमा रमेश बुढाथोकीलाई उम्मेदवार बनाउने भएको निर्णय गरेको एमालेका नेताले जानकारी दिएका छन् ।

भक्तपुर नगरपालिकामा एमालेले नगर प्रमुखमा रबिन्द्र लाछिमस्यु र उपमेयरमा रञ्जना चापागाई, खर्बुजालाई उम्मेदवार बनाउने भएको छ ।

भक्तपुरमा प्रमुखमा ११ जना उपप्रमुखमा एक जनाले उपप्रमुखमा उम्मेदवारी दर्ता

भक्तपुर, ११ बैशाख : आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनका उम्मेदवारी दर्ता गर्ने आज पहिलो दिन भक्तपुर जिल्लामा ११ जनाले नगर प्रमुखका लागि उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाका चार वटा नगरपालिकाहरुमा ११ जनाले नगर प्रमुखमा उम्मेदवारी दर्ता गराएको भक्तपुरका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्कोटाले जानकारी दिनु भयो ।

भक्तपुर नगरपालिकाको लागि तीन जना प्रमुख, एक जना उपप्रमुख र ८ जनाले वडाअध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका हुन भने मध्यपुरथिमि नगरपालिकाको प्रमुखका लागि चार जनाले प्रमुखमा, एक जनाले उपप्रमुखमा, एक जनाले वडाध्यक्ष र दुई जनाले सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन ।

यसैगरी चाँगुनारायण नगरपालिकामा दुई प्रमुख, एक उपप्रमुख, दुई वडाध्यक्ष र सुर्यविनायक नगरपालिकामा दुई प्रमुख तथा दुई वडाध्यक्षले उम्मेदवारी दर्ता गराएको उहाँले जानकारी दिनु भयो । स्थानीय तहको निर्वाचनका लागि भक्तपुरमा ६ राष्ट्रिय दल र अन्य २८ दल सहित ३४ दल जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका कार्यालय प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

गठबन्धनबीच बल्ल मिल्यो भागवण्डा, गठबन्धन र प्रतिपक्षलाई उम्मेदवार टुङ्ग्याउनै सकस

भक्तपुर, ११ बैशाख : आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आज बिहान १० बजेदेखि उम्मेदवारी दर्ता खुल्यो । भक्तपुरका चार नगरपालिकाका लागि स्थापना गरेको मुख्य निर्वाचन तथा निर्वाचन अधिकृतको कार्यालय दिनभरिनै करिब सुनसान रहयो ।

भोली साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय रहेको र ठूला दलहरुमा उम्मेदवार छान्न निकै सकस परेपछि आज ठूला दलहरु उम्मेदवारी दर्तामा गएनन् । नेमकिपा, राप्रपा पनि उम्मेदवारी दर्ता गर्न गएन भने केही स्वतन्त्रले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । आज साँझ ६ बजेसम्म पनि नेकपा एमाले र नेपाली काँग्रेससहितको गठबन्धनमा को उम्मेदवार भन्ने सर्बत्र चासो रहे पनि उम्मेदवारको टुङ्गो लाग्न नसके पछि दलहरुलाई सकस परेको छ ।

मुख्य गरि चाँगुनारायण, सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकामा दुई ठूला दलमा उम्मेदवारको आकांक्षकी धेरै भएपनि त्यसलाई घटाउँदै ल्याएर दुई जनासम्ममा झार्दा पनि दुई मध्ये कसलाई टिकट दिने भन्नेबारेमा निर्णय हुन नसक्दा कार्यकर्ता भने अन्योलमा परेका छन् ।

सत्ताधारी दल काँग्रेस सहितको गठबन्धनमा आज बल्ल कुन पार्टीलाई टिकट दिने भन्ने टुङ्ग्याए पनि कसलाई दिने भनेर टुङ्ग्याउन सकेको छैन । गठबन्धनबीच आज बसेको प्रदेशस्तरीय संयन्त्रले भक्तपुरको भागबण्डा टुङ्ग्याएको हो । जसमा चार वटा स्थानीय तह रहेको भक्तपुरमा तीनै वटा नगरपालिकामा कांग्रेसले प्रमुख पाएको छ ।

भक्तपुर नगरपालिकामा कांग्रेसले प्रमुख र नेकपा एकीकृत समाजवादीले उपप्रमुख, मध्यपुर थिमि नगरपालिकामा कांग्रेसले प्रमुख र माओवादी केन्द्रले उपप्रमुख तथा सूर्यविनायक नगरपालिकामा कांग्रेसले प्रमुख र नेकपा एकीकृत समाजवादीले उपप्रमुख पाएको हो । चाँगुनारायणमा भने काँग्रेस र माओवादी केन्द्र दुबैले प्रमुखको दाबी गरिरहेकाले सहमति हुन सकिरहेको छैन भने गठबन्धनबीच छलफल जारी रहेको बताइएको छ ।

नेकपा माओवादी केन्द्रका नेता डिपी ढकालले चाँगुनारायणमा माओवादी केन्द्रले प्रमुख पाउनु पर्ने दाबी गरिरहेको र छलफल जारी रहेको जानकारी दिदै मध्यपुरथिमिको उपप्रमुखमा भने विजय श्रेष्ठलाई गठबन्धनबाट उम्मेदवार बनाउने जानकारी दिनुभयो । एकीकृत समाजवादीले भक्तपुर नगरपालिकाको उपप्रमुखमा रीता अवाल र सूर्यविनायक नगरपालिकाको उपप्रमुखमा पार्टी अध्यक्ष श्याम बस्नेतले उम्मेदवारी दिने तय भएको बताइएको छ ।

नेपाली काँग्रेसमा सूर्यविनायकको प्रमुखमा निशान ढुङ्गेल, नारायण खायमली, उद्धव सिलवाल, चाँगुनारायणको प्रमुखमा प्रविण वन, जीवन खत्री, शिवहरी केसी, मध्यपुरथिमिमा अष्टकुमार कवेँ, महेश श्रेष्ठ, सुरेन्द्र श्रेष्ठलगायतले दाबी नछाडे पछि सकस भएको काँग्रेसका नेताले बताए ।

नेकपा एमालेमा पनि भक्तपुर नगरपालिकाबाहेक अन्य तीन नगरपालिकामा प्रमुख र उपप्रमुखनै टुङ्ग्याउन नसके पछि जिल्ला बाहिर गएर छलफल भइरहेको बताइएको छ । एमालेको चाँगुनारायण नगरपालिकामा वर्तमान उपप्रमुख बिना बास्तोला र रमेश बुढाथोकी दुबैले प्रमुखमा दाबी गरेपछि सकस परेको बताइएको छ ।

यता सूर्यविनायकमा हालका नगर प्रमुख वासुदेव थापा र वडा नं. ८ का वडाध्यक्ष किरण थापाले दाबी नछाडे पछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै यसको निर्णय गर्ने र उपप्रमुखमा जूना बस्नेत र सरिता भट्टराईले दाबी नछाडेको बताइएको छ । मध्यपुरथिमिमा भने वर्तमान् प्रमुख मदनसुन्दर श्रेष्ठ र पार्टी अध्यक्ष बचन देउजा दुबैको दाबी रहेको छ । एमालेलाई पनि मिलाउन कठिन भएकाले छलफल जारी रहेको एक नेताले बताए ।

नेमकिपाले भने चार वटै नगरपालिकाका उम्मेदवार भोली मात्रै निर्णय गर्ने जानकारी दिएको छभने राप्रपाले भने पूर्वसहमति अनुसार नेपाली काँग्रेससँग चाँगुनारायणको नगर प्रमुखमा दाबी गर्दै छलफल भइरहेको राप्रपाका सहमहामन्त्री रबिन्द्रप्रताप शाहले जानकारी दिनुभयो । सहमति नभए राप्रपाले चारवटै नगरमा उम्मेदवारी दिने गरि तयारी गरेको उहाँले जानकारी दिनु भयो ।

राप्रपा नेपालले चाँगुनारायणमा प्रमुख बिष्णुप्रसाद तिमिल्सिना, उपप्रमुख संगिता लाखाजु, मध्यपुरथिमिको प्रमुखमा रामसुन्दर बिष्ट र उपप्रमुख सरिता श्रेष्ठ, सूर्यविनायकको प्रमुखमा धर्मराज थापा र उपप्रमुखमा सुमित्रा भण्डारी तथा भक्तपुर नगरपालिकाको प्रमुखमा उत्तमभक्त बाटीलाई उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष माधव खत्रीले जानकारी दिनु भयो ।

ललितपुर महानगरमा काँग्रेस र माओवादी केन्द्रबीच भागवण्डा, अन्य दलबाट उम्मेदवारी दर्ता

ललितपुर, ११ बैशाख : आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ललितपुरमा आज आठ जनाले प्रमुख र दुई जनाले उपप्रमुखमा उम्मेदवारी दिएका छन् ।

ललितपुर महानगरका निर्वाचन अधिकृत विष्णु पाण्डेका अनुसारललितपुर महानगरमा प्रमुखमा राष्ट्रिय राष्ट्रिय जनमुक्ति पाटीबाट समि कपुर महर्जन, आमूल परिवर्तन मसिया पार्टीबाट सपना महर्जनले, राप्रपाबाट अष्टबहादुर महर्जनले, विवेकशिल साझा पार्टीबाट उज्वलकृष्ण श्रेष्ठ, राप्रपाले प्रमुखमा अष्टबहादुर महर्जन र उपप्रमुखमा स्वर्णिम शाक्यले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

त्यसैगरि प्रमुखमै मौलिक जरोकिलो पार्टीबाट सपना श्रेष्ठले, नेकपा मालेबाट मोहनराज शाक्यले र स्वतन्त्रबाट सरिना लाखे श्रेष्ठले उम्मेदवारी दर्ता गराउनु भएको छ । उपप्रमुखमा भने राप्रपबाट स्वर्णिमा शाक्य र स्वातन्त्रबाट रत्न व्यजनकारले उम्मेदवारी दिनु भएको छ । त्यस्तै नेपाल मजदुर किसान पार्टीले पनि उम्मेदवारी दर्ता गराएको छ ।

यहीँ ३० गते हुने स्थानीय तहको निर्वाचनमा ललितपुर जिल्लामा सात वटै स्थानीय तहमा सत्ता गठबन्धनबीच भागवण्डा मिलेको छ । ललितपुरमा कांग्रेस र माओवादीबीच भएको छलफलमा भागवण्डा मिलेपछि नेकपा एकीकृत समाजवादीले भने ललितपुरमा भागवण्डा भित्र पर्न सकेन ।

भागवण्डा अनुसार ललितपुर महानगर प्रमुखमा नेपाली काँग्रेस, उपप्रमुखमा नेकपा माओवादी केन्द्र, महालक्ष्मी नगरपालिकामा प्रमुख माओवादी केन्द्र, उपप्रमुख काँग्रेस, गोदावरी नगरपालिकामा प्रमुख, उपप्रमुख दुबै नेपाली काँग्रेस, वाग्मति गाउँपालिकामा अध्यक्ष काँग्रेस, उपाध्यक्ष माओवादी केन्द्र, कोन्ज्योसोम गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्र, उपाध्यक्ष काँग्रेस र महांकाल गाउँपालिकामा अध्यक्ष काँग्रेस र उपाध्यक्ष माओवादी केन्द्रले लिने गरि सहमति भएको छ ।

दुई दलबीच भागवण्डा मिले पनि उम्मेदवार कसलाई बनाउने भन्नेबारेमा भने छलफल भइरहेको बताइएको छ ।