आन्तरिक पर्यटन प्रबर्दन गर्न रातोपाटी रिसाल डाँडा हाइकिङ्ग आयोजना

भक्तपुर, ८ माघ : आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले आज सूर्यविनायक नगरपालिका–७ गुण्डु रातोपाटीबाट रिसालडाँडासम्मको हाइकिङ्ग (पदयात्रा) ककार्यक्रम आयोजना गरेको छ । राष्ट्रिय युवा संघ नेपाल पर्यटन विभागको आयोजना तथा संघ भक्तपुर जिल्लाको समन्वयमा आज बिहान ९ बजेबाट सुरु भएको हाइकिङ्गको नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले उद्घाटन गर्नु भयो ।

कार्यक्रममा उहाँले सूर्यविनायक नगरपालिका क्षेत्रका डाँडाहरु आफैमा भ्यू टावर रहेको चर्चा गर्दै यहाँबाट देखिने काठमाडौं उपयत्यकादेखि हिमाली दृश्यहरु निकै मनमोहन रहेको बताउनु भयो । रातोपाटीबाट सुरु भएको पर्यटन पदयात्रा एवं हाइकिङ्ग अनन्त कुण्ड, अनन्तलिङ्गेश्वर, महादेव खोला, कैलाश भ्यू टावर, होमस्टेहुदै रिसाल डाँडा पुगेर पहिलो चरणको पदयात्रा सम्पन्न गर्न सकिने बताउनु भयो ।

अनन्त कुण्डको ऐतिहासिक एवं धार्मिक महत्व माथि प्रकाश पार्दै उहाँले राजा अंशु बर्माले आफ्नो रानी बिरामी हुँदा यहीको पानी लगेर छर्किए पछि निको भएको किम्वदन्ती रहेको बताउनु भयो । उहाँले प्रताप मल्लले रानी पोखरी निर्माण गर्दा यहीँ कुण्डको पानी लगेर हालेको ऐतिहासिकता रहेको बताउनु भयो ।

उहाँले यहाँको पर्यटन विकास र सिढी निर्माणका लागि, सडक निर्माणका लागि आफू सांसिद हुँदा बजेट ल्याएर सुरुवात गरि पूर्णता दिलाएको बताउदै यस क्षेत्रको मुख्य आधार धार्मिक पर्यटनको रुपमा बिकास गरेर लैजाने बताउनु भयो ।

रातोपाटीबाट यहाँका जंगल सफारी गर्दै जंगली जनावर, चराचुरुङ्गी हेर्दै ग्रामिण परिवेश नियाल्दै अगौनिक खानेकुरा खादै हाइकिङ्ग गर्ने सकिने यो क्षेत्रसँगै उहाँले सुइृविनायकमा धेरै ठाउँबाट पदमार्ग निर्माण गरेर जंगल सफारी गर्न सकिने बताउनु भयो ।

सूर्यविनायकबाट घ्याम्पे डाँडा, रानीकोट, बाघ भैरब, माने भञ्याङ्ग, पनौती कुशादेवीसम्म जान सकिने, सूर्यविनायकबाटै रिसालडाँडा हुदै तयस भन्दा माथि पोखरी थुम्का अर्को गन्तव्य र त्यहाँ भन्दा पनि माथि लाकुरी भञ्याङ्गहुदै फूलचोकी पुग्न सकिन्छ ।

कार्यक्रममा वाग्मति प्रदेश सदस्य किरण थापाले यहाँको पर्यटन विकासका लागि तीन तहकै सरकारले विगतमा लगानी गरेको बताउदै अब यस क्षेत्रलाई पर्यटन पूर्वाधार र बिकासका लागि थप बजेट ल्याएर काम गर्ने जिम्मेवारी आफूमा आएकाले त्यसलाई पुरा गर्ने बताउनु भयो ।

कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेल, नोल पर्यटन बोर्डका उपाध्यक्ष चनद्र रिजाललगायतले यहाँको पर्यटकीय गन्तव्यलाई पहिचान दिदै आन्तरिक पर्यटकको आकर्षण थप्न सकिने बताउनु भयो ।

पदयात्राका क्रममा मृग, बँदेल, खरायो, कालिजलगायतका जंगली जनावर र पशुपक्षीको अवलोकन गर्न सकिन्छ भने एक हजार आठ सय मिटरको उचाइमा रहेको यस क्षेत्रबाट १७ हिमशृंखला र उपत्यकाका तीन वटै सहरको दृश्यावलोकन गर्न सकिन्छ ।

मध्यपुरथिमिको प्रसिद्ध गणेश चाकु वासको चाकु स्वादै मिठो, सिंगो परिवार चाकु बनाउनै व्यबस्त

भक्तपुर, २९ पुस : माघे संक्रान्ती नजिकै आइसक्यो । मध्यपुरथिमि नगरपालिका–४ दुई पोखरी इनाय टोलका व्यापारीलाई भने यतिखेर चाकु बनाउन भ्याई नभ्याई भएको छ ।

मध्यपुरथिमिमा पहिलो पटक ५८ वर्षअघि बाबु गणेशप्रसाद श्रेष्ठले सुरु गर्नु भएको चाकु बनाउने पेशा नाती पुस्तासम्म पनि उत्तिकै प्रख्यात छ । माघे संक्रान्ति नजिकिएसँगै त उहाँका छोरा उत्तमराज श्रेष्ठको परिवारलाई एकमहिना अघिदेखि चाकु बनाउन भ्याईनभ्याई भएको हो ।

थिमिमा चाकु उत्पादन गर्ने वर्षौ पुरानो एकमात्र गणेश चाकु वासको नामबाट प्रख्यात श्रेष्ठले माघे संक्रान्तिका लागि मात्रै नभई वर्षदिन भरी नै चाकु बनाउने भएपछि यहाँको चाकु र पुष्टकारी स्वदेशमा मात्रै नभई विदेशमा पनि प्रख्यात रहेको बताउनु हुन्छ व्यवसायी श्रेष्ठ ।

अहिले माघे संक्रान्ति नजिकिदै गर्दा अलि भिड बढेको र जाडो बढेका कारण चाकुको मागलाई धान्न धौ धौ परेको उहाँको भनाइ छ । विगत एक महिनादेखि उहाँको परिवारसहित दैनिक २५ जनालाई चाकु र तीलको कालो तथा सेता लड्डु (तिलौरी) बनाउन भ्याईनभ्याई छ ।

उहाँ भन्नुहुन्छ, “माघे संक्रान्ति नजिकिए पछि चाकु लिन आउनेको अलि बढी भीड लाग्छ, तर यहाँ उत्पादन भएको चाकु र पुष्टकारीलाई औषधिको रुपमा प्रयोग गर्न पनि टाढाटाढाबाट लिन आउँछन्, चाकु खायो भने खोकी लाग्छ भन्छन्, तर हाम्रो यहाँको चाकुले खोकी निको पार्छ, सुत्केरी चाकु पनि हाम्रो प्रख्यात छ, गर्भवति महिला, सुत्केरी महिलाका लागि पनि टाढा टाढाबाट यहीँ चाकु लिन आउँछन्, महिलामा रगत बग्ने समस्या भयो भने पनि चाकु लिन यहीँ आउँछन् ।”

सुत्केरीले यहाँको चाकु खादा चिसो नलाग्ने, बच्चाका लागि पर्याप्त दूध आउने, सुत्केरीको शरीरलाई बाधन मद्धत पुग्ने भएकाले जाडोमा मात्र नभई गर्मी मौषममा पनि चाकु लिन आउने गरेको उहाँ बताउनु हुन्छ ।

चाकु बनाउन व्यबस्त सुदिप श्रेष्ठ जाडोमा मात्रै नभई यहाँ वैशाख जेठको गर्मीमा पनि दैनिक ७ देखि १० किलो, असोज कात्तिकमा दैनिक १५ देखि २० किलो चाकु र पुष्टकारी बिक्री हुने गरेको सुनाउनु हुन्छ । पुसमा जाडो बढेपछि भने दैनिक ५० किलोसम्म चाकु र पुष्टकारी बिक्री गर्ने गरेको र अहिले माघे संक्रान्तिका लागि भने उपत्यका र बाहिरबाटसमेत माग अत्याधिक आउने भएकाले दैनिक २०० किलोसम्म बिक्री हुने गरेको बताउनु हुन्छ ।

उहाँ भन्नुहुन्छ, “चाकु लिनेको १० दिन अगाडिदेखिनै भीड छ, माघे संक्रान्तिको दिन त ४०० देखि ५०० किलोसम्म चाँकु बिक्री हुन्छ । संक्रान्ति पछि पनि यहाँ चाँकु बिक्री हुन्छ, अहिले हामी २५ जना चाकु बनाउन, प्याकिङ् गर्न र बिक्रीका लागि खटिएका छौँ ।”

भकभकी उम्लिएको दूधमा सख्खर, नरिवल, छोगडा, कुराउनी, र बिभिन्न मसलाहरुको प्रयोग गरेर बनाइने चाकु लिन भक्तपुर, काठमाडौ, ललितपुर, साँखु, पनौती र उपत्यका बाहिरबाट समेत आउने गरेको सुनाउनु हुन्छ चाँकु प्याकिङमा व्यबस्त सुरेन्द्र श्रेष्ठ । एक पाउँ, आधा किलो र एक किलो प्याकिङमा पाइने यहाँको चाकु प्रख्यात भएकै कारण स्वदेश तथा विदेशमा उपहार दिन र सुत्केरीलाई खुवाउन टाढादेखि यहाँ चाकु लिन आउने गरेको किस्सा उहाँ सुनाउनु हुन्छ ।

यहाँको चाकु काठमाडौं उपत्यका मात्रै नभई उपत्यका बाहिर बस्ने नेपालीहरुले पनि लैजाने गरेका छन् । यहाँको चाकु खादा फरक स्वाद, मिठास र औषधिजन्य गुण रहेको दाबी गर्नुहुन्छ उत्तमराज ।

यहाँको चाँकु भारत, अमेरिका, अष्ट्रलिया, जापानलगायतका बिभिन्न देशमासमेत पुग्ने गर्दछ । विदेश जाने बेलामा चाकु कोसेली पठाउने र विदेशमा बस्ने नेपालीहरुले पनि यहाँको चाकु नै माग गर्ने भएकाले विदेशमा पनि कोसेली स्वरुप लैजाने गरेको उहाँ बताउनु हुन्छ ।

केहीवर्ष अगाडिसम्म प्रतिकिलो रु ५०० मा बिक्री गरेको चाँकु हरेक वर्ष कच्चा पदार्थको मूल्य बढ्दै गएपछि अहिले किलोको ७०० रुपैयामा बिक्री गरेको उहाँ बताउनु हुन्छ । बाजेले सुरु गरेको चाकु व्यवसायबाट राम्रो जिविकोपार्जन हुने भएपछि बाबुलाई साथ दिँदै आउनु भएका सुदिपले पनि यो पेशालाई निरन्तरता दिदै आएको बताउनु हुन्छ ।

नेपाल इञ्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद सजायको फैसला

काठमाडौं , २८ पुस । नेपाल इञ्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपानेलाई विशेष अदालतले ३ वर्ष कैद सजायको फैसला सुनाएको छ । उनलाई ३९ लाख नगद जरिवानाको फैसला पनि विशेषले सुनाएको छ ।

विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले यस्तो फैसला सुनाएको हो ।

अर्का प्रतिवादी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई पनि ३ वर्ष कैद सजाय र ३९ लाख जरिवाना भराउने फैसला भएको छ । अख्तियारले न्यौपाने र पाठक विरुद्ध २०७५ चैत्र १२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

एसपीलाई रुं ५० हजार घुस दिन आउने दुई जना परिसरबाटै पक्राउ

भक्तपुर, २८ पुस । लागू औषध मुद्दामा पक्राउ परेकालाई छुटाइदिन आग्रह गर्दै प्रहरी उपरीक्षक प्रजित केसीलाई घुस दिन प्रहरी परिसर भक्तपुर आइपुगेका दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुर प्रहरी प्रमुख केसीलाई रु. ५० हजार घुस दिन परिसर कार्यालय आइपुगेका धादिङ गल्छी गाउँपालिका–५ बस्ने ४१ वर्षीय अर्जुन तामाङ र सोही ठाउँका ३२ वर्षीय बिरोध तामाङलाई प्रहरी उपरीक्षक केसीकै निर्देशनमा प्रहरी नायब उपरीक्षक राजू पाण्डेले पक्राउ गरि हिरासतमा राखेको हो ।

यहीँ पुस २६ गते एक किलो लागू औषधिसहित पक्राउ परेको धादिङ गल्छी–५ का ३१ वर्षीय गोबिन्द तामाङलाई छुटाइदिन दबाब दिदै आएका तामाङद्धयलाई परिसरबाटै पक्राउ गरेको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “एक किलो लागूऔषध पोल्याण्डसहित २६ गते पक्राउ परेका व्यक्तिलाई छुटाईदिन बिभिन्न सोर्स तथा दबाब दिदै आएका थिए, जस्तो सुकै दबाब आए पनि नछाड्ने गरि कारबाही प्रक्रिया अगाडि बढाएको थिए, आज साँझ ४ बजे मेरो मोवाइल नम्बरमा फोन गरी मुद्दा मिलाइदिनुस् पैसा दिन्छु भनेर प्रस्ताव राखे, त्यसपछि मैले परिसरमै बोलाए र उनीहरुलाई परिसर कार्यालयबाटै पक्राउ गरियो ।”

प्रहरीले पक्राउ परेका अर्जुन तामाङको साथबाट ५७ हजार ५०० रुपैयाँ बदामद गरेको र आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाएको प्रनाउ पाण्डेले जानकारी दिनुभयो ।

 

संसद त ठूला नेताहरुको जुहारी खेल्ने र कुण्ठा पोख्ने थलो पो रहेछ : सांसद थापा : भक्तपुर क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायी संघको आठौं साधारणसभा एवम् चौंथो अधिवेशन सम्पन्न

भक्तपुर, २७ पुस । प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले संसद देश र जनताका समस्या समाधान गर्ने भन्दा पनि ठूला नेताहरुको जुहारी खेल्ने र कुण्ठा पोख्ने थलो बनेको टिप्पणी गर्नु भएको छ । भक्तपुर क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायी संघको बुधबार आठौं साधारणसभा एवम् चौंथो अधिवेशनको उद्घाटन गर्दै उहाँले संसदमा देश र जनताको समस्या समाधान गर्नेबारेमा चासो एवं छलफल नहुने आफ्नो संसदको पहिलो अनुभव रहेको बताउनु भयो ।

सांसद थापाले भन्नुभयो, “मलाई लागेको थियो, संसद त देश र जनताको समस्या माथि छलफल, विवेचना गर्ने र समाधान गर्ने ठाउँ हो तर होइन रहेछ, संसद त ठूला दलका नेताहरुको जुहारी खेल्ने ठाउँ पो रहेछ, एउटा नेता आउनुहुन्छ, गजक्क फुल्नुहुन्छ, हामीलाई पाठ पढाउनुहुन्छ । अनि हामीले उहाँको कुरा सुन्छौँ थपडी बजाउँछौ, फेरी अर्को नेता आउनुहुन्छ, छेडछाड गर्नु हुन्छ, एकले अर्कोलाई घोचपेछ गर्नुहुन्छ, फेरी हामी थपडी बजाउँछौ, हामीले सुन्ने र थपडी बजाउने थलोको नाम प्रतिनिधि सभा रहेछ ।”

दलका नेताहरुको ध्यान सत्ता र कुर्सीमा मात्र केन्द्रीत रहेको आरोप लगाउँदै उहाँले आज एउटा नेता फ्याट्ट अर्को नेतासँग मिल्यो, फेरी अर्कोले अर्कोलाई कुर्सीबाट झार्यो, अनि देश र जनताको समस्या कहिले समाधान हुन्छ र ? भन्दै गुनासो पोख्नु भयो । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर देशमा स्थिर सरकार निर्माण गरेको उहाँको भनाइ थियो । अब यो देशले पाँच वर्षका लागि स्थिर सरकार प्राप्त गरेको बताउनु भएको हो ।

संसद प्रवेशको पहिलो अनुभव सुनाउँदै सांसद थापाले भन्नुभयो,“कसैले तान्ने बित्तिकै प्रधानमन्त्रीको कुर्सी खुस्किने अवस्था थियो, काँग्रेसले विश्वासको मत दिएसँगै त्यसको अन्त्य भएको छ । सरकार कसको नेतृत्वमा छ, प्रधानमन्त्री कुन दलको छ, राष्ट्रपति कुन दलको छ, सभामुख कुन दलको छ, त्यसले कुनै अर्थ राख्दैन, सरकार पाँच वर्षका लागि स्थिर हुनुपर्छ, पाँच वर्षको लागि निर्वाचित संसद पाँच वर्ष चल्नुपर्छ । देशको समृद्धिको खाका कोर्नुपर्छ, संसदबाटै सबै क्षेत्रको सम्बोधन हुनुपर्छ ।”

निर्वाचनमा काँग्रेस ठूलो पार्टी बन्दा आफ्नो पनि मन्त्री हुने हल्ला चलेको तर देशको राजनीतिक परिवेशनै फरक परे पनि आफूलाई अरुले हेर्ने दृष्टिकोण नै फरक परेको बताउदै सांसल थापाले भन्नुभयो, “काँग्ेस ठूलो पार्टी बन्दा मेरो पनि मन्त्र िबन्ने हल्ला थियो, त्यसबेला घरभरी मान्छेको भीड थियो, चिया खुवाउन भ्याईनभ्याई थियो, तर अर्को सरकार बनेपछि त अहिले मेरो घरतर्फ चिहाएर पनि नहेर्ने भएका छन् । हामी नेता, मतदाता, व्यबसायी सब सेल्फिस भएका छौं, अनि कसरी हुन्छ ?”

उहाँले वर्षदिन भरि २४ सै घण्टा खट्ने नेतालाई चुनाब जित्न गाह्रो भइरहेको बेलामा मान्छे नै नचिनेका, उनीहरुको एजेण्डा र बिचार नै नभएका घण्टी जस्तोलाई जिताएर पठाए मतदाताले अनि कसरी हुन्छ, समस्याको समाधान ? प्रश्न गर्नुभयो । देशमा आर्थिक मन्दीले क्याटरिङ र पार्टी प्यालेस व्यवसाय मात्र नभई सबै क्षेत्रमा समस्या रहेको बताउदै उहाँले भन्नुभयो, सबै पैसा जति नेताहरुको घरमा थुप्रिएको र बाहिर निकाल्ने नमिल्ने भएकाले विदेशबाट हुन्डी मार्फत आउने, बढ्दो आयातका कारण आर्थिक संकट रहेको बताउनु भयो ।

सांसद थापाले भन्नुभयो, “हाम्रा माननीय नै सांसद अपहरण गर्छन्, जग्गा कारोबारी गछृन्, जग्गा प्लटिङ गर्छन्, पहिला जग्गा किनेर पछि त्यही जग्गामा बाटो लैजान्छन्, बिकासको ठेक्का लिन्छन्, अनि कसरी हुन्छ समस्याको समाधान ?” उहाँले एउटा सांसद सबै क्षेत्रको विज्ञ बन्न नसक्ने भन्दै समसामयिक क्षेत्रको समस्या उठान र समाधानका लागि सम्बन्धीत क्षेत्रको विज्ञसँग छलफल गर्नुपर्ने औल्याउनु भयो । उहाँले राज्यले कानुन मार्फत सबै क्षेत्र र व्यवसायलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिदै त्यस्ता कानुन बनाउन आफु सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठले कुनैपनि मानवीय स्वास्थ्य, गुणस्तरीय खाना र सुरक्षाका सवालमा पार्टी प्यालेस व्यवसायीहरु जवाफदेही हुनु पर्नेमा जोड दिदै यो व्यबसायमा देखिएका समस्यालाई समाधानमा केन्द्रीत हुनुपर्ने बताउनु भयो ।

बागमती प्रदेशसभाका अर्का सदस्य सुरेश श्रेष्ठले क्याटरिङ र पार्टी प्यालेस व्यवसायले उपभोक्ताको विश्वास जितनु पर्नेमा जोड दिदै यहाँ भित्रका विकृति विसंगतीप्रति उपभोक्ताहरुको गुनासो बढेको बताउनु भयो । उहाँले व्यवसायीका समस्या समाधान गर्न निरन्तर छलफल र बहश हुनुपर्नेमा जोड दिँदैं त्यसका लागि सहकार्य गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष लिलाबहादुर जिसिले हजारौं दक्ष अर्धदक्ष जनशक्तिलाई रोजगारी प्रदान गर्दै आएको क्याटरिङ व्यवसाय कोभिडको महामारीले थिलथिलो बनाएको बताउँदैं त्यसलाई माथि उकास्न सरकारले व्याज दरमा सहुलियत दिनुपर्नेमा जोड दिनु भएको थियो ।

भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष न्हुँछेरत्न मानन्धरले चेम्बर र भक्तपुर क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायी संघको सहकार्यमा कोभिड १९ को महामारीमा विभिन्न गतिविधि सञ्चालन गरेको स्मरण गर्नु भयो ।

कार्यक्रममा संघका अध्यक्ष एवं कार्यक्रमका सभापति सचिन्द्र श्रेष्ठले पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायीको समस्यालाई सामुहिक रुपमा समाधान गर्न संघ प्रतिबद्ध रहेको बताउदै उपभोक्ताको मन जितेर अगाडि बढेर जानु पर्नेमा जोड दिनु भयो ।

संघका सचिव राजेन्द्र देउजाले यो व्यवसायमा अस्वस्त प्रतिस्पर्धा रहेकाले यसलाई त्याग्नु पर्नेमा जोड दिदै यो व्यवसाय हस्पिटालिटीसँग जोडिएको र मानिसको स्वास्थ्यसँग सम्बन्धित रहेकाले गुणस्तरीयता, फुड एण्ड हाइजेनिकतामा सम्झौता गर्न नहुने औल्याउनु भयो ।

संघका उपाध्यक्षमा शान्तराम साँगाछेंले धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा नवनिर्वाचित संघीय सांसद दुर्लभ थापा, प्रदेश सांसद डा. राजेन्द्रमान श्रेष्ठ, सुरेश श्रेष्ठलाई दोसल्ला र भादगाउँले टोपीले सम्मान गरिएको थियो । संघका सल्लाहका नानीबाबु थापालाई दोसल्ला ओढाएर सम्मान पत्रका साथ कार्यक्रममा सांसद थापाले सम्मान गर्नु भएको थियो भने संघमा आबद्ध भएका नयाँ सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

संघमा नयाँ कार्यससिति चयन :

त्यसैगरि संघको चौंथो अधिवेशनले पुनः सचिन्द्र श्रेष्ठको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ । आगामी कार्यकालका लागि संघको उपाध्यक्षमा शान्तराम साँगाछें, सचिवमा राजेन्द्र देउजा, कोषाध्यक्षमा श्यामसुन्दर श्रेष्ठ, सहसचिवमा कृष्ण सदन चौगुठी सर्वसम्मतले चयन हुनु भएको छ ।

संघका सदस्यहरुमा इश्वर श्रेष्ठ, इन्द्रभक्त श्रेष्ठ, मोहनलाल श्रेष्ठ, विष्णु थापा, भक्तलाल श्रेष्ठ, पुरुषोत्तम श्रेष्ठ सर्वसम्मतले चयन हुनु भएको छ । निर्वाचन कमिटिको संयोजक धर्मरत्न खाईतुले जिम्मेवारी निर्वाह गर्नु भएको थियो । निर्वाचित सबै पदाधिकारीलाई सांसद थापाले प्रमाणपत्र प्रदान गर्नुभयो ।

गुणस्तरहिन कागज लिएर जनक शिक्षा आएका चार ट्रक प्रहरीे नियन्त्रण

भक्तपुर, २८ पुस । पुस्तक छपाई गर्न गुणस्तरहिन कागज ल्याएको भन्दै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले फिर्ता गरेको कागज सप्लायर्स कम्पनीले पुनः जनक शिक्षामै ल्याए पछि कागजले भरिएका चार ट्रक कागज प्रहरीले नियन्त्रणमा लिएको छ ।

केन्द्रको पदाधिकारीको मिलेमतोमै फिर्ता भएको कागज पुनः केन्द्रमा आएको आरोप लागेपछि आज शिक्षा मन्त्रालयको सहसचिवको टोलीसहित स्थानीय सरकारका रुपमा रहेको मधयपुरथिमि नगरपालिकालेसमेत केन्द्रको अनुगमन गर्दै यसबारे चासो लिएको छ ।

मन्त्रालयका प्रवक्ता दीपक शर्मासहितको टोलीले जनक शिक्षाको कागज प्रकरणमा आएको चर्चाकोबारेमा केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झासँग जानकारी दिएको थियो । झाले केही यूट्युवले केन्द्रकाबारेमा भ्रम छरेको भन्दै केन्द्रमा आएको चार ट्रक कागजको गुणस्तर परीक्षण गर्न बाँकी रहेको र यसबारेमा मन्त्रालयसहितले छानबिन गर्न आग्रह गर्नु भएको थियो ।

त्यस लगत्तै मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजयकृष्ण श्रेष्ठले केन्द्र पुगेर कागज प्रकरणकाबारेमा प्रबन्ध निर्देशक झासँग यथार्थ जानकारी माग्नु भएको थियो ।

नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “यो जनक शिक्षा व्यक्तिको पेवा होइन, जनताको सार्वजनिक सम्पत्ति हो, हामी मध्यपुरका बासिन्दाको जग्गा अधिग्रहण गरेर यहाँका शैक्षिक संस्थाहरु बसेका हुन्, यहाँ भ्रष्टाचारको गन्ध आउँनु हुदैन भन्ने स्थानीय सरकारको मान्यता हो, अहिले आएको कागजमा तपाईहरुले भ्रष्टाचार गरेको गन्ध आएको छ ।”

उहाँले नगरपालिकालाई जनक शिक्षा लगायतका लगायत यहाँका शैक्षिक कार्यालयहरुले अहिलेसम्म कर नतिरेको भन्दै तत्काल नगरपालिकाले निर्धारण गरेको कर तिर्न समेत आग्ह गर्नु भयो । जनक शिक्षालाई राजनीतिक दलहरुले कार्यकर्ता भर्ती केन्द्र बनाएको भन्दै त्यसलाई रोकेर मध्यपुरथिमिको बासिन्दालाई कोटा तोकेर रोजगारीको व्यबस्था गर्न समेत माग गर्नु भयो ।”

नगरपालिकाका उपप्रमुख श्रेष्ठले जनशक्ति र मेशिन पर्याप्त छ भन्ने तर समयमै जनताले पुस्तक नपाउने केन्द्रको लापर्वाही भएको भन्दै आउँदो शैक्षिक सत्रमा पुस्तक समयमै नपुगे स्थानीय सरकारले हस्तक्षेप गर्ने बताउनु भयो । उहाँले केन्द्रले स्थानीय सरकारको नाता र मध्यपुरका क्षेत्रमा रहेकाले कतिपय विषयमा नगरपालिकासँग छलफल एवं समन्वय गर्न समेत आग्रह गनुृ भयो ।

केन्द्रका प्रबन्ध निर्देशक झाले जनक शिक्षामा कक्षा ११ र १२ को पुस्तक छपाईका लागि ७० ग्रामको कागज ल्याउन ठेक्का सम्झौता भएपनि असोज २५ गतेदेखि कात्तिक ४ गतेसम्म आएका १६४ टन कागज गुणस्तहिन रहेका र ६५ ग्रामको मात्र रहेको पाईएपछि गत कात्तिक १७ गते फिर्ता गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, “केन्द्रले गुणस्तरहिन कागज फिर्ता लगेर सम्झौता अनुसार गुणस्तरीय कागज ल्याउन कात्तिक १७ गते सप्लायर्सलाई पत्र पठाएका हौ, पटक पटक ताकेता गर्दा बल्ल अस्ति २४ र २५ गते कागज फिर्ता गर्यो र हिजो बिदाको दिनमा कागज लिएर आएछ, त्यो कागज पुरानै गाडीमा पुरानै कागज ल्याएको भन्ने गुनासो आयो, अहिले प्रहरीले नियन्त्रणमा लिएको छ, गुणस्तर जाँच पछि त्यही कागज पाईए कारबाही प्रक्रिया अगाडि बढाउँछौँ ।”

यसबारेमा शिक्षा मन्त्रालयको टोलीसँग छलफल भइसकेको र आन्तरिक रुपमा पनि छानबिन गर्ने बताउदै उहाँले सप्लायर्स कम्पनीको बदमानसी पाईए उसले राखेको रु. पाँच करोड धरौटी जफतसमेत हुन सक्ने बताउनु भयो ।
केन्द्रका प्रवक्ता चित्रराज आचार्यले केन्द्रमा दैनिक कागज आउने गरेको बताउदै आएका कागज नापतौल तथा गुणस्तर बिभागले गुणस्तर परीक्षण गरेपछि मात्रै प्रयोगमा ल्याउने प्रक्रिया रहेको बताउनु भयो ।

केन्द्रले टेण्डर मार्फत ललितपुरको नेपाः हिमा ट्रेड लिङ्क प्रा.लि.संग गत भदौ २७ गते एक हजार मेट्रिक टन कागज ३० दिन भित्र र थप ५०० मेट्रिक टन गरि कूल १५०० मेट्रिक टन कागज आउँदो माघ ४ गतेसम्म ल्याईसक्नु पर्ने सम्झौता गरेको थियो । सम्झौता गरेको सप्लायर्सले जनकपुरबाट एभरेष्ट पेपर मिल्स प्रा.लि.बाट कागज ल्याएर पनि गुणस्तरहिन कागज ल्याएको प्रमाणित भएपछि केन्द्रले कात्तिक १७ गते फिर्ता गरेको थियो ।

केन्द्रका प्रवक्ता आचार्यले भन्नुभयो, “समयमे कागज दिन नसक्दा गतवर्ष एउटा कम्पनीको आठ करोड धरौटी जफल गरेका थियौँ, अहिले पनि समयमै कागज ल्याउन नसके र यस्तै बदमासी गरे पाँच करोड धरौटी जफत गर्छौ, तर केन्द्रकाबारेमा बाहिर फैलाइएको अफबाहमा हाम्रो आपत्ति छ, केन्द्रबाट कुनै भ्रष्टाचार र अनियमितता भएको छैन ।”

त्यस्तो भएको पाईए जस्तोसुकै कारबाही भोग्न यहाँका कर्मचारी तयार रहेको भन्दै उहाँले एउटा कम्पनीको बदमासीको दोष केन्द्रलाई दिन नमिल्ने बताउनु भयो । उहाँले कम्पनीलाई कागजको रकम भुक्तानी नगरेको बताउदैै फिर्ता गरेकै गुणस्तहित कागज पुनः ल्याए कम्पनीलाई कारबाही गर्छौँ ।”

सप्लायर्स कम्पनीले भने जनक शिक्षाबाट फिर्ता लगेको नौ ट्रक कागज नजिकै मनोहरा किनारामा रहेको एक ग्यारेजमा दुई राखेर पुनः सोही कागज केन्द्रमा फिर्ता ल्याएर छल गरेको बताइएको छ । चार वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएर केन्द्रमै राखेको छभने कागज बोकेको अन्य नौ वटा ट्रक भने दुईदिनदेखि सानोठिमी सडकमै रहेको छ ।

 

चाँगुनारायण नगरपालिकाको पाँच वर्षमा सात करोड बेरुजु , फिर्ता नगरे कारबाही गरिने

भक्तपुर, २८ पुस । विगत पाँच वर्षमा चाँगुनारायण नगरपालिकाको बेरुजु झण्डै सात करोड पुगेको छ । नगरपालिकाका प्रमुख जीवन खत्रीले बिकास बजेटमा रहेको बेरुजु घटाउन बजेट लैजाने निकायले कि तत्काल काम सम्पन्न गर्न कि त इमान्दारिताका साथ रकम फिर्ता गर्न आव्हान गर्नु भएको छ ।

नगरपालिकाको बेरुजु आर्थिक वर्ष २०७४÷०७५ देखि आर्थिक वर्ष २०७७/०७८ सम्ममा ३३ वटा शीर्षकहरूमा ६ करोड ८६ लाख ४२ हजार ८७३ रुपैयाँको रहेको छ । जसमा सबैभन्दा बढी बेरुजु आर्थिक वर्ष २०७७/०७८ मा उपभोक्ता समितिमार्फत गरिएको कामको रहेको छ ।

उपभोक्ता समितिले नगरपालिकासँग सम्झौता गरेर रकम निकास गर्ने तर उपभोक्ता समिति आफूले काम नगरेर अर्को ठेकेदारलाई कामको जिम्म दिएका विकासका कामको मात्रै एक करोड २८ लाख ८९ हजार ८६४ रुपैयाँको बेरुजु रहेको नगरपालिकाको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।

नगर प्रमुख खत्रीले भन्नुभयो, “विगत पाँच वर्षमा हचुवमा जसरी पायो त्यसरी रकम ्बाडेको देखियो, लगेको रकमको काम गरेर फस्र्यौट गरेको भए हुन्थ्यो, काम अधूरो बनाउने र कामै नगरेको पार्यउकाले त्यस्तो रकम इमान्दारिताका साथ फिर्ता गर्न आव्हान गर्दछु, अन्यथा कानून अनुसार अगाडि बढ्छौँ ।”

त्यस्तै नगरपालिकाले चालू आ.ब.२०७९/०८० का लागि पूजीँगत तर्फ एक अर्ब ३४ करोड ७१ लाख ४३ हजार ९५७ रुपैयाँ र चालू तर्फ ७७ करोड १८ लाख ८२ हजार २४३ रुपैयाँ गरि कूल दुई अर्ब ११ करोड ८९ लाख ८६ हजार २०० रुपैयाँ बजेट विनियोजन गरेकोमा यो ६ महिनाको अबधीमा कूल बजेटको २३ दशमलव २८ प्रतिशत अर्थात पुससम्ममा कूल ४९ करोड ३४ लाख ७० हजार खर्च गरेको नगर प्रमुख जीवन खत्रीको बताउनु भयो ।

आन्तरिक राजस्व तर्फ २६ करोड २६ लाख ३० हजार संकलन गर्ने लक्ष्य राखेकोमा यहीँ पुससम्ममा ६ करोड ८४ लाख १३ हजार २४३ रुपैयाँ अर्थात २६ दशमलव ४ प्रतिशत मात्रै संकलन भएको उहाँले जानकारी दिनुभयो ।

मन्त्रीपरिषद् बिस्तारबारे छलफल गर्न बालकोटस्थित ओली निवास पुगे प्रधानमन्त्री प्रचण्ड

भक्तपुर, २७ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ ।

आज साँझ करिब साडे ६ बजे बालकोटस्थित ओली निवास पुग्नु भएका प्रधानमन्त्री दाहाल र ओलीबीच करिब डेढ घण्टा भेटवार्ता पछि राती ८ बजे प्रधानमन्त्री दाहाल बालकोटबाट बालुवाटार फर्किनु भएको छ ।

प्रचण्ड र ओलीबीच सरकारलाई पूर्णता दिएर संघीय मन्त्रीहरुको बाँडफाँटका विषयमा छलफल भएको एमाले अध्यक्ष ओलीको प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिनुभयो ।

मंगलबार प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदले दिएको विश्वासको मतकोबारेमा पनि भेटमा छलफलमा छलफल भएको बताइएको छ ।

छलफलमा मन्त्रीपरिषद विस्तार, मन्त्रालयको भागवण्डा, सरकारको नीति तथा कार्यक्रमको कार्यन्वयन, सभामुखको निर्वाचन लगायतको समसामयीक राजनीतिक बिषयमा गहन छलफल भएको ओलीका प्रेस संयोजक बजगार्यले जानकारी दिनु भयो ।

आगामी शुक्रबारसम्म केही राज्यमन्त्रीसहित २५ जनाको मन्त्रिपरिषद बिस्तार गर्ने र मन्त्री भएकाहरुलाई पनि मन्त्रालयको जिम्मेवारी दिनेबारेमा छलफल भएको बताइएको छ । सत्ता साझेदार दलहरुबीच छलफल र समन्वयमा मन्त्रालयको संख्या र विभाग बाँडफाँट गरिने बताइएको छ ।