प्रधानमन्त्री दाहालले दोश्रो पटक भोलि विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि विश्वासको मत लिँदै हुनुहुन्छ ।

सत्ता गठबन्धन परिवर्तन भएसँगै प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो ।

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि गत पुष २६ गते पहिलो पटक संसदवाट विश्वासको मत लिनुभएको थियो ।

एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टीका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका चार र अन्य तीन जना स्वतन्त्र सांसदको समर्थन प्रचण्डलाई थियो ।

जस अनुसार पहिलो पटक विश्वासको मत लिँदा प्रधानमन्त्री प्रचण्डले २ सय ६८ मत प्राप्त गर्नुभएको थियो । तर राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा गठबन्धनको संरचना परिवर्तन भयो ।

राष्ट्रपति निर्वाचनमा नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोसपा र राष्ट्रिय जनमोर्चासहितको नयाँ गठबन्धन बन्यो ।

राष्ट्रपति निर्वाचनको पुर्व सन्ध्यामा राप्रपाले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

त्यसपछि नेकपा एमाले पनि सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पुनः विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता आएको हो ।

विश्वासको मत लिने तयारी गरिरहँदा शनिवार बसेको सत्ता गठबन्धनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेका छन् । अहिले सत्ता गठबन्धनमा १० दल सहभागी छन् ।

अहिले गठनबन्धनमा रहेका कांग्रेस -८९, माओवादी केन्द्र- ३२, जसपा- १२, नेकपा एस- १०, जनमत- ६, लोसपा- ४, नागरिक उन्मुक्ती पार्टी -३, राष्ट्रिय जनमोर्चा- १ सिट संसदमा प्रतिनिधित्व छ ।

यी दलहरुले विश्वासको मतदिदा प्रचण्ड नेतृत्व सरकारले स्पष्ट रुपमा पुन विश्वासको मत पाउने देखिन्छ । प्रधानमन्त्रीले बिश्वासको मत पाउन संसदमा रहेका १ सय ३८ सांसदको समर्थन चाहिन्छ ।

संविधानको धारा १०० को उपधारा (२) मा ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्नेछ’ भन्ने उल्लेख छ ।

यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुले सवै दलको समर्थनमा विश्वासको मत पाउने बताउनुभएको छ ।

संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग सक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले आफुले शतप्रतिशत सांसदबाट विश्वासको मत पाउने बताउनुभएको हो ।

यसअघि आफुले विश्वासको मतमा ९९ दशमवल २५ प्रतिशत प्राप्त गरेको र अहिले शतप्रतिशत सांसदको विश्वासको मत पाउने अवस्था बनेको उहाँले बताउनुभयो ।

रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौं, ५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । रास्वपा संसदीय दलको बैठकले प्रधाानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

२५ फागुनको राष्ट्रपति चुनावमा १० दलको गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई साथ दिएको रास्वपाले अब प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सत्ता पक्षकै बेञ्चमा बस्ने निर्णय गरेको जनाइएको हो ।

प्रधानमन्त्री प्रचण्डले भोलि (सोमबार) संसदमा विश्वासको मत लिने तयारी गरेका छन् ।

सांसद प्रेम सुवालले भने : सांसदले उठाएको प्रश्नको जवाफ नदिने सरकारले राजीनामा दिनुपर्छ

काठमाडौँ, ५ चैत । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल बोलिरहेका बेला उनको अगाडिबाट प्रधानमन्त्री प्रचण्ड हिँडेपछि उनले आपत्ति जनाएका छन् ।  आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्ड ढिलोगरी संसद बैठकमा पुगेका थिए, जतिबेला सांसद सुवाल आफूले गरेको विरोधको सूचनामाथि बोलिरहेका थिए ।

प्रधानमन्त्री प्रचण्डको तर्फबाट सञ्चारमन्त्री रेखा शर्माले प्रतिनिधिसभामा प्रस्तुत गर्न लागेको संवैधानिक परिषदको काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सांसद सुवालले विरोधको सूचना दर्ता गरेका थिए ।

सो सूचनामाथि मन्त्री शर्माले प्रष्ट पारेपछि विरोधको सूचना फिर्ता लिने हो त्यसका लागि सभामुख घिमिरेले सांसद सुवाललाई समय दिएका थिए ।  सांसद सुवाल आफूले जुन बिषयमा बोल्न समय पाएका थिए त्यसमा नबोली केही महिनाअघि सप्तरी शोषिता दासलाई बोक्सीको आरोपमा निर्घात कुटपिट भएको र उनले न्याय नपाएको बताउन थाले । सभामुख घिमिरेले उनलाई आफूले समय दिएको विषयमा बोल्न ध्यानकर्षण गराएपछि सुवालले आफूले अघिल्ला बैठकमा पनि सो बारे कुरा उठाउँदा कुनै मन्त्रीबाट जवाफ नआएको बताउँदै सभामुखलाई संसदको सदस्य जनताको प्रतिनिधि भएकोले जनताको कुरा उठाउन पाउने बताइरहेका थिए ।

सोही बेला उनको अगाडिबाट प्रधानमन्त्री प्रचण्ड आफ्नो सिटतर्फ गएपछि सांसद सुवालले आक्रोश ब्यक्त गर्दै भने– ‘संसद सदस्य भनेको जनताको प्रतिनिधि हो । जनताको प्रतिनिधिले बोलेको विषय सरकारले सुनुवाई गर्दैन भने यो संसदबाट प्रधानमन्त्री छनोट गर्नुको औचित्य हुँदैन । त्यसकारण संसदबाट निर्वाचित प्रधानमन्त्री हो भने संसद सदस्यले उठाएको विषयको जवाफ आउनुपर्छ । जनता मरिरहेका छन्, किसानले मल पाइरहेका छैनन् । किन नपाउने किसानले मल ? किसानले मल नपाएपछि हामी सांसदले पनि खान पाउँदैनौँ नी चामल । (प्रचण्ड सुवालको अगाडिबाट आशनतर्फ जान्छन्) प्रधानमन्त्री ज्यूले यसरी बोलिरहँदा अगाडिबाट क्रस गर्न पाइँदैन सभामुख महोदय । यो के हो ? यो संसद हो कि क्लब हो ? क्लब हो भने क्बलको सामानहरु आउनुपरयो यहाँ । गीत गाउनेहरु आउनुपर्यो । अनि नाच्ने गाउनेहरु आउनुपर्यो । हैन भने संसदको नियम त पालना हुनुपर्यो नी ।’

सभामुखले विषयवस्तुमा प्रवेश गर्न पुन आग्रह गरेपछि सुवालले आफूले विषय केन्द्रीत रहेको भन्दै सिरहाको लहानमा एक ब्यक्तिको हत्या भएको र गृहमन्त्रालय समेत सम्हालेका प्रधानमन्त्रीले जवाफ दिनुपर्छ कि पर्दैन भन्दै प्रश्न गरे । उनले आफूले दर्ता गरेको विरोधको सूचना फिर्ता नलिने समेत बताउँदै सांसदले उठाएको प्रश्न सरकारले दिँदैन भने त्यस्तो सरकारलाई राजीनामा गराउनुपर्ने बताए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाइँदै

चितवन, ५ चैत  : भरतपुर महानगरपालिका–१५ मा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन लागिएको छ । भरतपुर महानगरपालिकाले सङ्घीय सरकारसँग पहल गरेर तिर्नुपर्ने रकम मन्त्रिपरिषद्बाट निर्णय गरी भुक्तान गराएर कामलाई अघि बढाउन लागिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले छिट्टै मन्त्रिपरिषद्बाट निर्णय हुने बताउनुभयो ।

धुर्मुस सुन्तली फाउन्डेसनले रङ्शाला निर्माणका क्रममा रकम अभाव भएको भन्दै काम छोडेपछि झन्डै दुई वर्षदेखि रङ्गशाला अलपत्र अवस्थामा रहेको छ । फाउन्डेसनले विभिन्न व्यक्ति र संस्थालाई रु १८ करोड ४१ लाख भुक्तान गर्न बाँकी रहेको जनाएको छ । भुक्तानी रकम तिर्ने विषयमा समस्या भएकाले काम रोकिएको हो । दाहालका अनुसार भुक्तान दिनुपर्नेलाई सरकारी तवरबाट रकम निकासा गरी भुक्तानी गरेर नयाँ प्रक्रियाबाट रङ्गशालाको काम गर्न लागिएको हो ।

उहाँले भन्नुभयो, “रकम तिर्नुपर्ने नभएको भए पहिले नै काम हुन्थ्यो । तिर्नुपर्ने बाँकी रहेकै कारण काम अघि वढाउन ढिलाइ भएको हो ।” खेलकुद मन्त्रालयले तत्कालीन सहरी विकास मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधरको संयोजकत्वमा खेलकुद मन्त्रालय र भरतपुर महानगरपालिकाको प्रतिनिधि रहेको समिति गठन गरी अध्ययनसमेत गराएको छ । सो समितिले प्राविधिक र आर्थिक प्रतिवेदन बुझाइसकेको छ । दाहालका अनुसार तिर्नुपर्ने भुक्तानी तिरेर सङ्घीय सरकारले बोलपत्र आह्वान गरी काम अघि बढाउँदैछ ।

यो रङ्गशाला यहाँ निर्माणका लागि पहल कदमी गर्नुहुने तत्कालीन चितवन क्षेत्र नं ३ का सांसदसमेत रहनुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले प्रधानमन्त्री हुनुहुन्छ । जिल्लामा रङ्गशाला स्थापनाकालदेखि नै उहाँको पहलकदमी रहेकाले यसलाई टुङ्गोमा पु¥याउन प्रधानमन्त्री दाहालकोसमेत चाहना रहेको छ । तिर्नुपर्ने भुक्तानीको टुङ्गो लागेसँगै सकेसम्म यसै आर्थिक वर्षबाट बहुवर्षीय आयोजनाभित्र पारेर काम सुरु हुने प्रमुख दाहालको भनाइ छ ।

भरतपुर महानगरपालिकाले रङ्गशाला निर्माणका लागि त्रिभूवन विश्वविद्यालयका नाममा लालपुर्जा रहेर कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० बिघा छ कट्ठा जग्गा उपलब्ध गराएको थियो । निर्माणको समयमा फाउण्डेसनले भुक्तान गर्नुपर्ने बाँकी रकम कहाँबाट तिर्ने भन्ने स्पष्ट कानुनी व्यवस्था नभएका कारण समस्या आएको हो । विसं २०७५ माघ १६ गते महानगरपालिका र फाउण्डेसनबीच भएको सहमतिअनुसार निर्माण सम्पन्न गरेर वा स्रोत जुट्न नसके तत्काल हस्तान्तरण गर्ने उल्लेख भएको छ ।

फाउण्डेसनले निर्माणको ३५ प्रतिशत काम सम्पन्न भएको महानगरपालिकालाई हस्तान्तरण गर्दा जनाएको थियो । फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलका अनुसार निर्माणका क्रममा रु ५७ करोड ९२ लाख खर्च भएको छ । सोमध्ये नगद र जिन्सी गरी रु ३९ करोड ८० लाख उठेको कट्टेल बताउनुहुन्छ । रकम तिर्न नसके पछि विसं २०७७ साउनदेखि रङ्गशाला निर्माणको काम रोकिएको हो । निर्माणका क्रममा सार्वजनिक खरिद ऐनअनुसार काम नभएका कारण सरकारी निकायले भुक्तानी गर्नुपर्ने रकमको जिम्मा लिन कठिन भएकै कारण धेरै समय लागेको हो । महानगरपालिकाले सहमतिविपरीत फाउण्डेसनले भुक्तानी तिर्नुपर्ने अवस्थामा हस्तान्तरण गरेको भन्दै विमती जनाउँदै आएको छ ।

पुराना डुङ्गाले फेवातालमा बढ्दो जोखिम

खरा, ५ चैत : फेवातालमा साइँली,

डुङ्गा सलल सम्झनामा तिम्रो तस्बिर झलल ……

स्वर : शिव परियार, सङ्गीत : रामचन्द्र काफ्ले, रचना : किरण घिमिरे ।

पर्यटकीय नगरी पोखराको गहनाको रूपमा लिइन्छ फेवाताललाई । फेवाताललाई लिएर निकै सुन्दर गीत साहित्य सृजना भएका छन् । आन्तरिक तथा बाह्य पर्यटकको उत्कृष्ट गन्तव्यको रूपमा रहेको फेवातालमा डुङ्गा सयर गरेर पर्यटकले निकै आनन्द लिने गर्दछन् । जति हेरे पनि नथाकिने फेवातालको सुन्दरतामा माछापुच्छ्रेको छाँया प्रकृति प्रेमीका लागि निकै लोभलाग्दो दृश्य हो ।

फेवातालमा डुङ्गामा सयर गर्दै माछापुच्छ्रेलगायतका हिमशृङ्खलाको सुन्दर दृश्य तालमा हेरेर फर्कन पर्यटक निकै लालयित हुने गरेको पाइन्छ । यद्यपि पछिल्लो समय भने यही सुन्दर ताल छेउमा अस्तव्यस्त पुराना डुङ्गाले फेवातालको सुन्दरतालाई घटाइरहेको छ । लामो समय भएका काठका डुङ्गा ताल किनारमा बेवारिसे अवस्थामा रहँदा तालको सुन्दरतामा असर पारिरहेको बताउनुहुन्छ लेकसाइड निवासी साहित्यकार लक्ष्मण थापा ।

“फेवातालको सुन्दरता बेचेर धेरै बाँचेका छन्, पोखराको गहना फेवातालको छेउछाउमा पुराना डुङगालाई बेवारिसे छोडिनु गैरजिम्मेवारपन हो । यसले फेवातालको सुन्दरतासँगै ताल पुरिने जोखिम पनि बढाउँदै लगेको छ”, उहाँले भन्नुभयो, “यसरी नै पुराना डुङगा अस्तव्यस्त छोड्ने हो भने कालान्तरमा फेवातालले आफ्नो अस्तित्व जोगाउन सक्दैन ।” फेवाताल किनारमा रहेका डुङ्गा वर्षायाममा पानीको सतह बढ्दा तालभित्र हराउने हुँदा ताल पुरिने जोखिम पनि बढ्दै गएको उहाँको भनाइ छ ।

योसँगै थापाले फेवातालसँगै जोडिएको भक्कल भन्ने ठाउँमा सिमपानीको चिसा खोलाले बगाएर ल्याएको माटो फेवातालमा मिसिँदा पनि ताल पुरिने जोखिम बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । फेवा डुङगा व्यवसायी सङ्गठनका अध्यक्ष बलराम गिरीले बेवारिसे अवस्थामा ताल किनारमा रहेका डुङ्गालाई वैशाख महिनाभित्र व्यवस्थापन गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले हालै बैठकबाट यही विषयमा निर्णय गरेका छौँ, चैत २० गतेबाट अनुगमन गर्छौं र वैशाख महिनाभित्र ताल किनार र तालभित्र रहेका डुङगाको व्यवस्थापन गर्नेछाँै ।”

उहाँका अनुसार अहिले फेवा तालमा आठ घाटबाट (बाराही घाट, स्वीमिङ घाट, गौरीघाट, अम्मटघाट, फिस्टेलघाट, फेवाघाट, बङ्लादी घाट, पारिघाट) डुङगा सञ्चालन हुँदै आएको छ । फेवातालका लागि सातसय ६७ डुङ्गा सञ्चालित छन् । बाराही घाटबाट धेरै डुङ्गा सञ्चालन हुने गर्दछ । फेवाताल किनारमा बेवारिसे अवस्थामा रहेका करिब एक सय पचासदेखि दुई सयसम्म डुङ्गा हुन सक्ने उहाँको अनुमान छ ।

अनुगमनबाट सम्बन्धित डुङ्गा धनीलाई त्यसको उचित व्यवस्थापनका लागि पहल गर्न लगाउने तयारी भएको उहाँले जानकारी दिनुभयो । “हामीले डुबाएर राखेका डुङ्गालाई निकाल्ने मर्मतपछि प्रयोगमा ल्याउन मिल्नेलाई त्यहीअनुसार र नमिल्नेलाई तालबाहिर सम्बन्धित डुङ्गा धनीलाई नै व्यवस्थापन गर्न लगाउने गरी निर्णय गरेका छौँ । अब केही महिनामा ताल छेउमा बेवारिसे डुङ्गा देख्नुहुन्न”, गिरीले भन्नुभयो ।

पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुप्रसाद भट्टराईले फेवाताल किनारमा देखिएका पुराना डुङ्गा व्यवस्थापनका लागि सम्बन्धित डुङ्गा व्यवसायीलाई एक महिनाको समय दिइएको बताउनुभयो । “फेवाताल किनारका बेवारिसे डुङ्गाको विषयलाई लिएर कुरा आएको छ, हामीले त्यसको व्यवस्थापनका लागि एक महिनाको समय दिएका छौँ, त्यो समयभित्र उहाँहरूले त्यसको व्यवस्थापन गर्नुभएन भने वडाले नै त्यस्ता डुङ्गाको व्यवस्थापन गर्नेछ ।”

उहाँले डुङ्गा व्यवसायीले आफ्नो डुङ्गा प्रयोगविहीन भएपछि ताल छेउमा राख्दा तालको सुन्दरतामा असर परेकोप्रति वडाले चासो दिएको बताउनुभयो । अध्यक्ष भट्टराईले फेवातालको मुख्य स्थानमा सरसफाइका लागि दुई कर्मचारी राखेर नियमित सफाइ कार्य गरेको र ताल छेउका व्यवसायीलाई पनि ताल र आसपास क्षेत्रमा फोहर नफाल्न सचेत गराइरहेको जानकारी दिनुभयो । योसँगै वडा सदस्य पवित्र थापाको संयोजकत्वमा ‘हाम्रो सफा वैदाम’ अभियान सुुरु गरेको उहाँले बताउनुभयो । साथै ताल सरसफाइ र संरक्षणका लागि स्थानीय जलारीलाई पनि सक्रिय बनाएर कार्य गर्ने सम्बन्धमा वडाले निर्णय गरेको उहाँको भनाइ छ ।

भक्तपुरमा राष्ट्रको लागि दुई घण्टे अभियान सञ्चालन

भक्तपुर, ४ चैत : भक्तपुरलाई सफा, सुन्दर र यहाँको नदीलाई सफा राख्ने उदेश्यले हनुमन्ते सफाई अभियानले राष्ट्रको लागि दुई घण्टे अभियान सुरु गरेको छ । अभियान हरेक शनिवार सञ्चालन हुने भएको छ ।

अभियान अन्तर्गत आज अरनिको राजमार्ग खण्ड अन्तर्गत मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली क्षेत्रको सडक सरसफाइ गरेको हनुमन्ते सफाई अभियानका अभियन्ता नरेश रञ्जितले जानकारी दिनुभयो । अभियानका प्रमुख सल्लाकार पुर्व उधोग मन्त्री महेश बस्नेत, मध्यपुरथिमि नगरपालिका–१ का वडा अध्यक्ष बाबुकाजी डंगोल, बागमती सफाई अभियानका डा.राजु अधिकारीलगायतको सहभागितामा सफाई गरिएको हो ।

अभियानमा नेपाल फुलबारी, नेप्सेम्याक, दिव्यश्वरी सहयोगी हात, स्वच्छ वातावरण सञ्जाल, पातञ्जल योग समिति, वेभ ग्रेप नेपाल, दक्षिणकाली सहकारी, आस्था महिला विद्यालय, गैरसरकारी संस्था महासंघलगायत विभिन्न संघसस्था र व्यक्तित्वहरुको सहभागिता रहेको थियो । आगामी हस्ताको शनिवार कौशलटार चोकमा सरसफाई गरिने अभियन्ता रंजितले बताउनुभयो ।

लेखापढी व्यवसायमा व्यवसायी एशोसियसन भक्तपुरको अध्यक्षमा राना  निर्वाचित

भक्तपुर, ४ चैत । नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसन भक्तपुरको अध्यक्षमा बालकोट निवासी रामशरण राना विजयी हुनुभएको छ । नेपालमा कोरोनाको महामारी र अन्य कारणले रोकिएका अधिवेशन अन्तर्गत सात वर्षमा आज सम्पन्न भएको निर्वाचनमा १७४ मत प्राप्त गरि राना नर्वाचित हुनुभएको हो ।

सुरुमा अध्यक्षमा उम्मेदवार घोषणा गरि उम्मेदवारी दर्ता गराउनु भएका राजेन्द्रकुमार दाहाल (राजकुमार), राजेन्द्र बस्नेत र सुरेशकुमार राउतले सहमतिका लागि भन्दै उम्मेदवारी फिर्ता लिएपनि राना र उहाँका निकटम प्रतिष्पर्धी नवराज दाहाल ‘जुझारु’ चुनावी प्रतिस्पर्धामा जानु भएको थियो । निर्वाचनबाट दाहालले कूल ९१ मत प्राप्त गर्नुभयो ।

कूल १३ सदस्यीय कार्यसमितिका लागि दुई वटा प्यानल बनाएर भएको निर्वाचनमा सचिव र तीन सदस्य बाहेक सबै राना समूहका निर्वाचित भएका छन् । एशोसियसनको उपाध्यक्षमा १८० मतका साथ रामकाजी पाटी निर्वाचित हुनु भयो भने उहाँका प्रतिष्पर्धी नरेश खड्काले ८३ मत प्राप्त गर्नुभयो ।

सचिवमा १३१ मत प्राप्त गरि दिपक श्रेष्ठ निर्वाचित हुनुभयो भने पाँच मतले पछाडि पार्दै १२६ मत प्राप्त गर्नु भएका जयराम फोजूले १२६ मत प्राप्त गर्नु भएको थियो ।

सहसचिवमा रामभक्त किजुले ९९ मत प्राप्त गरि निर्वाचित हुनु भयो भने उहाँका निकटतम प्रतिद्धन्दी अशोक नायभारीले ८० मत र ऋषिराम के.सी.ले ७८ मत प्राप्त गरि पछाडि पर्नुभयो । कोषाध्यक्षमा राना समूहका रुपा भण्डारी १६५ मतका साथ निर्वाचित हुनुभयो भने सहकोषाध्यक्षमा ईश्वरमणी भट्टराई १०६ मतका साथ विजयी हुनुभयो ।

सदस्यहरुमा लक्ष्मण डोटेल (१०७), मनिता शर्मा (१११), अच्युत शिवाकोटी (९८), सुरोज कवाँ (१०२), विकास कुस्मा (१०३), श्यामसुन्दर सिलवाल (९६) र श्यामसुन्दर घटुवा (११५) निर्वाचित हुनुभयो । निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृत प्रियकुमार थापाले प्रमाण पत्र प्रदान गर्नु भएको थियो । निर्वाचनमा निर्वाचन अधिकृत रामबाबु फुँयाल र सुमन कार्कीले सहज रुपमा सम्पन्न गराउनु भएको थियो ।

अध्यक्षमा राना निर्वाचित भएपछि नेपाली काँग्रेसका जिल्ला सभापति एवं सांसद दूर्लभ थापाले बधाई दिनुभयो ।

देको–मिबा–इतापाके जग्गा एकीकरण आयोजनाले मनोमानीपूर्ण ढंगले जग्गा बाँडफाँट गरेको भन्दै आयोजनाको कार्यालय घेराउ

भक्तपुर, ३ चैत : भक्तपुर नगरपालिकाले सञ्चालन गरेको देको–मिबा–इतापाके जग्गा एकीकरण आयोजनाले मनोमानीपूर्ण ढंगले जग्गा बाँडफाँट गरेको भन्दै पीडित जग्गाधनी तथा किसानहरु आयोजनाको कार्यालय घेराउ गरेका छन् । भक्तपुर नगरपालिका अगाडिबाट सयौँको संख्यामा भेला भएका पीडित जग्गा धनीहरुले हातमा प्ले कार्ड बोकेर नारा लगाउँदै आयोजनाको कार्यालयमा पुगेर आज दिनभर धर्ना दिनुभएको छ ।

आफ्ना सात बुँदे माग राख्दै महिला तथा पुरुष जग्गा धनीहरु आयोजनाले बिभेद गरेको भन्दै आयोजना घेराउ गर्न पुगेका आक्रोसित पीडितहरु पुग्नु अगाडिनै प्रहरीले आयोजनालाई सुरक्षा घेरामा राखेको थियो । आयोजना पीडित संघर्ष समितिका अध्यक्ष गोपालकृष्ण याकामीले जग्गा धनीहरुको गुनासो समेत दर्ता नगरेर जनताप्रति निरंकुशता लाद्न खोजेको बताउनु भयो ।

संघर्ष समितिले भक्तपुर नगरपालिकाबाट जारी नक्सा, सिफारिस, सर्जमिन एवं सर्वाधिकार प्राप्त निकायबाट जारी लिखत प्रमाणहरुलाई आयोजनाले मान्यता दिनुपर्ने, मापदण्ड कायम भइसकेको सडक जोडिएका कित्ताहरुमा बाटोको योगदान खारेज गर्नु पर्ने, भविश्यमा भवन पुर्ननिर्माण गर्दा साविक अनुरुपनै भवन निर्माण गर्न पाउनु सुनिश्चित गर्नुपर्ने, पूर्वाग्राही जग्गा वितरण खारेज गर्नुपर्ने, पक्षपातपूर्ण जग्गा कटौती खारेज गर्नुपर्ने, सल्लाघारी नगरकोट सडक नेपाल सरकारले मापदण्ड निर्धारण गरि आयोजना परिकल्पना अगावै फराकिलो गरिसकेकाले योगदान कटौती खारेज गर्नुपर्ने, पीडित उपभोक्ताको निवेदन, गुनासो दर्ता गरि सम्बोधन गर्नुपर्ने, उपभोक्ता समिति पुर्नगठन गर्नुपर्ने, सूचनाको हक सुनिश्चित गर्नु पर्ने माग राख्दै आन्दोलनमा उत्रिएको उहाँले बताउनु भयो ।

पीडित सिद्धिनारायण आचार्यले केही व्यक्तिलाई ढल व्यबस्थापनको नाममा ५० प्रतिशत जग्गा कटौती गरेको भन्दै आयोजनाको नियम विपरित जथाभावी पूर्वाग्राही रुपमा आयोजनाले काम गरेको बताउनु भयो । उहाँले भन्नुभयो, “व्यासी नगरकोट सडक, कालीघाँट सडकका बासिन्दालाई आयोजनाले के सुबिधा दियो, मनपरी तरिकाले जग्गा कटौत ीगर्न पाइन्छ, नगरपालिकाले दिएको सिफारिस, नक्सा पास, चार किलला, सडकको सेडव्याकलगायतको नियम आयोजनाले नमान्ने ? मूल सडकको जग्गा ५० प्रतिशत काटेर बाँकी ५० प्रतिशत पनि पछाडि भित्तामा लगेर दिएर हाम्रो व्यापार, व्यवसाय बन्द गराएर उठिबास लगाउन खोज्ने, यो कदापी सह्य हुदैन ।”

उहाँले आफ्ना तीन वटा गुनासोसहितको निवदेन फाइल दर्ता गर्न माग गर्दा आयोजनाले दर्ता नगरी फर्काएको बताउनुभयो । जनताको जग्गामा हात हालेर मनोमानी गर्ने अनि निवेदन लिन र गुनासो सम्बोधन नगर्ने आयोजनाको नियत खराब भएको आचार्यले बताउनु भयो । आयोजनाका अर्का पीडित एवं गत स्थानीय तहको निर्वाचनमा भक्तपुर नगरपालिकामा नगर प्रमुखको उम्मेदवार बनेका सत्यनारायण त्वायनाले नगरपालिकाले सञ्चालन गरेको यो आयोजनाले व्यक्ति छानीछानी अन्याय गरेको आरोप लगाउनु भयो ।

आयोजनाको नाममा जनताको सम्पत्ति चलाउने अनि जनतालाई थाहै नदिई पीडितको गुनासो समेत सुनुवाई नगरेको भन्दै उहाँले भन्नुभयो, “२०४५ सालमा नगरपालिकाले घर बनाउन नक्सा पास गर्यो, पटक पटक नगरपालिकाले बिभिन्न सिफारिस गरेको छ, नापी कार्यालयले जग्गा बोर्ड कायम गरेको छ, तर आयोजनाले अहिले घर भएको जग्गालाई सार्वजनिक भनेर हालेको छ, यो अधिकार आयोजनालाई कसले दियो ।”
आफू नगरपालिकामा मेयरको उम्मेदवार भएकै रीसमा आयोजनाले विभेद गरेको भन्दै उहाँले आफ्नो जग्गालाई आयोजनाले पर्ती भन्दै पर्खाल लगाएर टहरा बनाएर भाडामा लगाएर अन्याय गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, “डेढवर्ष अगाडि आयोजनाले सार्वजनिक गरेको जग्गाको प्टल नक्सामा मेरो घर जग्गा सार्वजनिक नहुने, तर गत स्थानीय निर्वाचनमा मैले स्वतन्त्रबाट मेयरको उम्मेदवारी दिएपछि अहिले फेरी रिप्लटिङ्ग गरेको प्लट नक्सामा त्यहीँ मेरो घर जग्गा सार्वजनिक हुने, हाम्रो जग्गालाई पर्ती बनाउने, व्यक्तिको जग्गालाई पर्ती बनाउने अधिकार आयोजनालाई कसले दियो, अनि हामीले दिएको निवेदन दर्ता नगर्ने, हाम्रो सम्पत्ति माथि अन्याय नगर भन्न हामीले नपाउने ? अर्काको सम्पत्ति चलाउने अनि निवेदन लिन डराउने ?”

अर्का पीडित जगतबहादुर कोजूले नगरपालिकाले नक्सा पास गरेको घलाई समेत आयोजनाले बाटोमा पारिदिएर उठिबास लाउन खोजेको भन्दै नियमानुसार मापदण्ड छोडेर नक्सा पास गरेर बनाएको घरलाई आयोजनाले बाटोमा पार्ने र बढी जग्गा कटौती गरेर उठीबास लगाउन खोजेको बताउनु भयो । आयोजना पीडितहरुले आफ्नो जग्गा छिटो भन्दा छिटो फिर्ता गर्न आयोजनासँग माग गरेका छन् ।

भक्तपुर नगरपालिका वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले आयोजनाले बनिसकेका घरलाई ढल राख्न, बाटो नभएकालाई बाटो दिदाँ जग्गा कटौतीमा केही तलमाथि हुनू स्वभाविकै भएको बताउदै आयोजनामा सम्पदा, पोखरी, सार्वजनिक जग्गा पनि मिचिएकाले त्यसलाई संरक्षण गर्दा केही तलमाथि पर्न गएको बताउनु भयोे ।

जग्गाको कित्ताकाट आयोजनाले सकिसकेको भन्दै उहाँले कुनै पक्षपात नगरी समान रुपमा आयोजना सञ्चालन गरेको दाबी गर्नुभयो । उहाँले स्थायी पूर्जा वितरण सुरु गरिसकेको बताउदै यसलाई निरन्तर अगाडि बढाउने बताउनुभयो । नगरपालिकाका इन्जिनियर एवं आयोजना प्रमुख ओमहरि था श्रेष्ठले आयोजना अब चाडै सम्पन्न गरेर स्थायी पूर्जा वितरण गर्न सुरु गरेको भन्दै गुनासो र पीडितको निवेदन लिन थाले पूर्जा वितरण दुई महिनाभन्दा बढी ढिला हुने बताउनु भयो ।

आयोजनामा मानवीय त्रुटिहरु रहेको भन्दै जग्गा निकै कम भएका केही उपभोक्तलाई जग्गा थप गरेर दिएको स्वीकार्नुभयो । उहाँले कमिकजोरीलाई सच्याएर जान तयार रहेको भन्दै उहाँले जनताको जायज माग सम्बोधन गर्ने र असर परेका जग्गाको कित्तालाई ततकाल रोकेर अरुको पूर्जा नियमित रुपमा बितरण गर्ने बताउनु भयो । पीडितहरुले भने समस्या समाधान गरेर नेपाल सरकारको नियमानुसार जानु पर्ने माग राखेका छन् ।

भक्तपुर नगरपालिकाको साविक वडा नं. ५, १० र १५ तथा हाल वडा नं. २ र ६ स्थित देकोचा, कासन, व्यासी, मिबाछें, इतापाके क्षेत्रको एकहजार ६ सय ५४.६ रोपनी जग्गामा उक्त आयोजना सञ्चालन गरिएको छ ।

उत्तरमा खासाङखुसङ खोला, दक्षिणमा भक्तपुर नगरकोट सडक, पूर्वमा देकोचा चोकदेखि बन्को जाने पुल र पश्चिममा सल्लाघारी–ठिमी पुरानो बाटोको चौघेरा भएको देको–मिबा–इतापाके जग्गा एकीकरण आयोजना २ वर्षभित्र सम्पन्न गर्ने भनी २०७२ माघ २५ गते स्वीकृत गरिएको भएपनि अझै सम्पन्न भएको छैन । दुई वर्षदेखि पीडित जग्गा धनीहरुले सुरु गरेको आन्दोलन अझै टुङ्गिएको छैन ।

कानूनी जटिलता विकासको अवरोध बनेको छ : अध्यक्ष ओली

काठमाडौँ, २ चैत  : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जटिल र झन्झटिलो कानूनी प्रक्रियाका कारण जनताले सजिलै न्याय पाउन नसकेको बताउनुभएको छ । नेपाल ल क्याम्पसको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आज यहाँ आयोजना गरेको ‘कानूनका विद्यार्थीसँग केपी ओली’ कार्यक्रममा अध्यक्ष ओलीले नागरिकको न्यायमा सहज पहुँचका लागि कानूनी जटिलताहरू हटाउनपर्ने बताउनुभयो ।

कार्यक्रममा विद्यार्थीसँगको अन्तरक्रियामा उहाँले भन्नुभयो, “आजको विश्वमा हरेक क्षेत्रमा नियम कानूनले चल्छ र चल्नपर्छ । तर नियम कानूनको यति जञ्जाल बनेको छ कि त्यो पार गरिसक्दासम्म काम गर्ने समय सकिन्छ । प्रशासनिक ढिलासुस्ती पनि कानूनी प्रक्रियाका कारणले भैरहेको छ । कतिपय कानून र कानूनी प्रक्रियाले विकासका काममा अवरोध पुर्याएको छ । ”

उहाँका अनुसार कानूनको सहज कार्यान्वयनको परिस्थिति हुनुपर्छ । “कानूनको उपयोगिता र सहज कार्यान्वयन दुवै हुनपर्छ । अन्यथा कानूनी प्रक्रियाको जटिलताले समाजको अग्रगमन, प्रगति, विकास, सुशासन र न्याय प्राप्तिलाई अप्ठ्यारोमा पार्छ”, उहाँले भन्नुभयो । विद्यार्थीहरुले अध्यक्ष ओलीद्वारा प्रतिनिधिसभा विघटनको प्रयास, देशको आर्थिक अवस्था, बेरोजगारी, कानून कार्यान्वयनमा राजनीतिक हस्तक्षेप, पार्टी तथा नेतृत्वको भूमिका र समीक्षाका विषयमा जिज्ञासा राखेका थिए ।

जवाफमा अध्यक्ष ओलीले आफू नेतृत्वको तत्कालीन सरकारले अर्थतन्त्र सुधारमा उल्लेख्य भूमिका खेलेको जवाफ दिनुभयो । अध्यक्ष ओलीले नयाँ पुस्ता सकारात्मक र ऊर्जाशील हुनुपर्ने बताउँदै विश्वविद्यालयमा गैरशैक्षिक क्रियाकलाप नगर्न समेत सुझाव दिनुभयो । कानून निर्माण, कार्यान्वयन र न्यायका लागि पहल गर्दा सबै पक्षमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । उहाँले कानूनका विद्यार्थीले भविष्यमा न्यायका लागि पहल गर्दा कुनै प्रकारको डर त्रास, लोभ र प्रलोभनमा नपर्न जोड दिनुभयो ।

अमेरिकी डलर र बङ्गलादेशी टाकासहित चिनियाँ नागरिक पक्राउ

काठमाडौँ, २ चैत  : प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा लुकाइ लैजान लागेको अवस्थामा नौ हजार एक सय अमेरिकी डलर र २९ हजार पाँच सय बङ्गलादेशी टाकासहित आज एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलका अनुसार बङ्गलादेश एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट बङ्गलादेश जान लागेका चिनियाँ नागरिक ५२ वर्षीय काई हुनानलाई विमानस्थलबाट पक्राउ गरिएको हो ।

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज क्षेत्रमा रहेको एक्स–रे मेसिनमा जाँच गर्ने क्रममा उनको ब्यागबाट उक्त डलर र टाका फेला परेपछि नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।

उनलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।