धार्मिक पर्यटनका लागि सूर्यविनायकमा शिव सर्किट निर्माण

-रमेश गिरी

भक्तपुर, १० साउन ः धार्मिक पर्यटनको विकास गर्ने उदेश्यले सूर्यविनायक नगरपालिकाले शिव सर्किट निर्माण गरेको छ । ‘धार्मिक पर्यटन र प्राकृतिक सौन्दर्यता, समृद्ध सूर्यविनायक नगरपालिका’ भन्ने नाराका साथ नगरपालिकाले शिव सर्किट निर्माण गरेको हो ।

नगरपालिकाका प्रमुख वासुदेव थापाले सूर्यविनायक नगरपालिकाको १ देखि १० वडासम्म रहेका प्रसिद्ध शिव मन्दिरहरुलाई एउटै रुटबाट जोडेर सवारी साधन र पैदल दुबै मार्गबाट जान सकिने गरि शिव सर्किट निर्माण गरेको बताउनुभयो ।

नगर प्रमुख थापाले राससलाई भन्नुभयो, “आन्तरिक तथा बाह्य पर्यटकको प्रर्वद्धनमा टेवा पु¥याउने, स्थानीय धार्मिक सम्पदाको संरक्षण एवं विकास गर्ने र सूर्यविनायक नगरपालिकाभित्र रहेका ग्रामीण क्षेत्रको विकासमा टेवा पु¥याउने मुख्य उद्देश्यले हामीले शिव सर्किट निर्माण गरेका हौ, मेरो यसअघिको कार्यकालमै सुरु भएको यो अभियानले अहिले सार्थकता पाएको छ, अब छिट्टै जनप्रतिनिधिको टोलीले यो रुटको संयुक्त अवलोकन गरेर उद्घाटन गर्ने तयारीमा छौँ ।”

अनन्तलिङ्ेश्वर नगरपालिका र सूर्यविनायक नगरपालिकालाई गाभेर बनेको साविक बालकोट, सिरुटार, दधिकोट, गुण्डु, कटुञ्जे, सिपाडोल, नंखेल र चित्तपोल गाविस अन्तर्गत पर्ने सूर्यविनायक नगरपालिकाको करीब १४ किलोमिटरको दूरीमा रहेका प्रसिद्ध १३ वटा शिव मन्दिरमा पुग्न एउटै सडक प्रयोग गर्नेगरी शिव सर्किट निर्माण गरिएको हो ।

नगरप्रमुख थापाले भन्नुभयो, “शिव सर्किटलाई यस नगरपालिकाको अर्को पहिचानका रुपमा अगाडि बढाउँदै छौँ, यहाँको आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यका साथ हामीले काम गरेका हौँ, अघिल्लो कार्यकालमा नगरपालिकाले शिव सर्किटको सर्वे गर्ने, विस्तृत अध्ययन परियोजना (डिपीआर) तयार पार्ने काम गर्यौ र यो कार्यकालमा पूर्णता दियौँ ।”

नगरपालिकाका उपप्रमुख सरिता भट्टराई तिमिल्सिनाले शिवशर्किट सञ्चालनका लागि आवश्यक तयारी पुरा भएको जानकारी दिनुभयो । नगरपालिकाले १ देखि १० वडासम्म रहेका प्रसिद्ध शिवमन्दिरहरुको विकास तथा व्यबस्थापन समितिका अध्यक्ष एवं पदाधिकारीहरु, वडाअध्यक्षहरु र सरोकारवालाहरुसँग शिव सर्किट सञ्चालन गर्नेबारेमा छलफल सकेको बताउनु भयो ।

मन्दिर आएका आन्तरिक तथा बाह्य पर्यटकका लागि आवश्यक सहयोग गर्ने, एक मन्दिरबाट अर्को मन्दिरमा जान अभिप्रेरित गर्ने र आवश्यक समन्वय गर्ने निर्णय भएको जानकारी दिदै उहाँले आवश्यक पूर्वाधार एवं सडक सञ्जालले पनि सबै मन्दिरलाई जोडिसकेको बताउनुभयो । नगरपालिकाकाको सूर्यविनायक नपा–२ बालकोट सुरु गरेर वडा नं.१० चित्तपोलमा लगेर टुङ्गिने गरि १३ वटा मन्दिर पुगिने शिवसर्किटको रुट निर्माण गरेको छ ।

जसमा बालकोटको धर्मेश्वरबाट सुरु भई क्रमश सिरुटारको गुप्तेश्वर, सोमलिङ्गेश्वर, चरखण्डीश्वर, दधिकोटको अनन्तलिङ्गेश्वर, गुण्डुको रामभक्तेश्वर, कटुञ्जेको सुवर्णेश्वर, सूर्यविनायक गणेश मन्दिर, सिपाडोलको डोलेश्वर, आशापुरेश्वर, नंखेलको नन्दीकेश्वर, चित्तपोलको कैलशानाथ र लटरम्वेश्वर मन्दिर जोड्ने गरी शिव सर्किट निर्माण गरिएको हो ।

यी मन्दिरसँगै यस क्षेत्रमा रहेको धार्मिक एवं ऐतिहासिक पर्यटकीय क्षेत्र र अन्य प्रसिद्ध मन्दिरलाई समेत टेवा पुर्याउदै धार्मिक पर्यटन प्रर्बद्धनमा समेत ठूलो टेवा पुग्ने अपेक्षाका साथ शिव सर्किट निर्माण गरिएको नगरपालिकाका प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले जानकारी दिनुभयो ।

सडक सञ्जाल जोडेर सवारी साधनबाटै सबै शिव मन्दिरमा पुग्न सकिने र पैदलयात्रीका लागि पदमार्गको समेत पहिचान गरि अधिकांश ठाउँमा पदमार्ग निर्माण गरिएको उहाँले बताउनु भयो । पदमार्गबाटै यात्रा गर्दा पनि एक दिनभरीमा यात्रा पुरा गर्न सकिने गरि सर्किट निर्माण गरिएको बताउदै पर्यटकलाई आकर्षित पार्ने बिभिन्न योजनाहरु नगरपालिकाले अगाडि सारेको प्रवक्ता सापकोटाले बताउनु भयो ।

वागमती प्रदेशसभा सदस्य एवं स्थानीयवासी किरण थापाले सूर्यविनायक नगरपालिका प्राकृतिक सौन्दर्यको रानीका रुपमा रहेको यहाँका घ्याम्पेडाँडा, रानीकोट, बोकाचोगढी आफैमा एउटा प्राकृतिक भ्यूटावरमा रुपमा रहेको भन्दै अनन्तरलिङ्गेश्वरमा निर्माण भएको भ्यूटावर र यस क्षेत्रमा करोडौको लगानीमा निर्माण भइरहेको होटल, होमस्टे, रानी झुला, झोलुङ्गे पुलले पर्यटकलाई आकर्षित गरिरहेको बताउनुभयो ।

उहाँले केन्द्रीय राजधानीसँग जोडिएको, अथाह सम्भावना भएर पनि निकै पछाडि परेको सूर्यविनायकको सम्पूर्ण क्षेत्रको बिकासमा पूर्वसांसद महेश बस्नेत, नगर प्रमुख वासुदेव थापा, यहाँका जनप्रतिनिधिहरुको परिकल्पनाले साकार रुप लिएको बताउनु भयो ।

प्रदेश सांसद थापाले भन्नुभयो, “यसअघि महेश बस्नेत सांसद हुदाँ निकै योजना र बजेट यस क्षेत्रका लागि ल्याउनु भयो, त्यतिखेर पनि बासुदेव थापानै नगर प्रमुख हुनुहुन्थ्यो, म वडाध्यक्ष र सामाजिक विकास संयोजक थिए, तीन तहकै बजेटमा सूर्यविनायकको विकासले पाँच वर्षभित्र मुहार नै फेर्ने संकल्पसहित अगाडि बढायौँ, विकासका विभिन्न अबधारण ल्यायाँै, अहिले सफल भयौँ ।”

डोलेश्वर महादेव मन्दिर केदारनाथको शिर रहेको पत्ता लागेपछि यहाँ धार्मिक पर्यटनको सम्भावना निकै बढेको अनुभूति भएपछि यहाँका शिवालयहरुलाई धार्मिक पर्यटनसँग जोडेर लैजाने अबधारणा बनेको उहाँले बताउनुभयो ।

छोटो दुरीको आन्तरिक पर्यटन तथा साहसिक पर्यटनको बिकासका लागि सूर्यविनायकले सफलता प्राप्त गर्दै गएको बताउदै उहाँले घ्याम्पेडाँडामा जीपलाइन सञ्चालनमा हुनु, घ्याम्पेडाँडा, रानीकोट, आशापुरी लगायतका क्षेत्रमा होटल, रिसोर्ट तथा होमस्टे सञ्चालन हुनुले पनि पर्यटक आकर्षण गर्न सफल भएको बताउनुभयो ।

सूर्यविनायक नपाको वडा नं. ९ र १० को सिमानामा एक करोड १६ लाखको लागतमा निर्माण सम्पन्न गरि हाल नगरपालिकाले सञ्चालनमा ल्याएको २४४ मिटर लामो झोलुङ्गे पुलले पनि शिव सर्किटलाई जोड्ने भएको छ ।

भक्तपुरका विद्यालयहरुमा अब पढाई र खेलकुद सँगसँगै सञ्चालन
भक्तपुर, ८ साउन । भक्तपुरका विद्यालयहरुले अब विद्यार्थीलाई पढाईसँगै बिभिन्न खेलका प्रशिक्षण दिदै खेलकुदको बिकास गर्ने भएको छ ।
प्याव्सन जिल्ला कार्यसमिति भक्तपुरको व्यवस्थापनमा भक्तपुर जिल्ला खेलकुद विकास समितिले आज उहाँ आयोजना गरेको ‘हामी विद्यालय अभियान अन्तर्गत विद्यार्थीलाई खेलकुदप्रति अभिप्रेरित’ विषयक अन्तरक्रिया कार्यक्रममा प्याब्सन र समितिले स्कुलस्कुलमा खेलकुद प्रशिक्षण सञ्चालन गर्ने सहमति भएको हो ।
खेल गतिविधिमा विद्यार्थीलाई सक्रिय बनाए उनीहरुको पढाई बिग्रिन्छ भन्ने अभिभावक र शिक्षक, प्रिन्सिपलको मान्यतालाई चिर्दै, विद्यार्थीहरुलाई खेलसँगै पढाई पनि राम्रो बनाउन सकिने र विद्यार्थीमा बढ्दो मोवाइलको लत हटाउन सकिने कार्यक्रममा सहभागि खेल प्रशिक्षकहरुले बताएका छन् ।
विद्यार्थीलाई विद्यालयमा खेलकुदप्रति अभिप्रेरित गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने हेतुले प्याब्सन एवं खेलकुद विकास समितिको पहलमा विद्यालय तहबाटै खेलकुदमा सहभागि गराउन प्रशिक्षण दिने भएको हो । कार्यक्रममा भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले राजधानीसँगै जोडिएको भक्तपुरमा एउटा राम्रो खेल मैदान र कबर्ड हल समेत नहुदा खेल गतिविधि आयोजना गर्न कठिनाइ भएको उहाँले बताउनु भयो ।
विद्यालय तहबाट उत्पादित उत्कृष्ठ खेलाडीहरु विद्यालय तहको अध्ययन सकेपछि खेलकुदमा भविष्य नदेखेर पलायन हुने अबस्था रहेकाले खेलाडीको भविष्य सुनिश्चित हुने वातावरण बनाउनु पर्ने उहाँले बताउनुभयोे ।
विद्यालयमा खेलकुद विकासका लागि समितिले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउदै समितिका अध्यक्ष थापाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत विभिन्न खेलहरुमा समेत विद्यार्थीलाई सहभागि जनाउन स्कुलहरुलाई प्रशिक्षकहरुको व्यबस्था समितिले गर्ने बताउनुभयो ।
प्याव्सन भक्तपुर जिल्ला समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले विद्यालयहरुमा खेलकुद विकास प्रशिक्षणका लागि बिभिन्न समस्याहरु भने रहेको बताउनुभयो । खेलकुद प्रशिक्षणका लागि एउटै स्कुलले धेरै जना प्रशिक्षक राख्नुपर्ने, खेल सिक्नेक्रममा विद्यार्थी घाइते हुँदा उपचारसमेत विद्यालयले गर्नुपर्ने तर त्यसको लागि आर्थिक भार थपिने भएकाले विद्यालय आफैले सबै प्रशिक्षक एवं उपचारको व्यबस्थापन भने गर्न नसक्ने बताउन भयो ।
मध्यपुरथिमि नगरप्याब्सनका अध्यक्ष निलेश आचार्यले विद्यार्थीहरु विविध खेलमा रुचि राख्ने तर त्यस अनुसारको प्रशिक्षक राख्न नसकिने अवस्था रहेकाले विद्यार्थीहरुलाई प्रशिक्षकको व्यबसथा गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागिहरुले भक्तपुरमा राष्ट्रिय अन्तर्राष्ट्रिय मेडल प्राप्त धेरै खेलाडीहरु भएपनि तिनीहरुको पहिचान र संरक्षण गर्न नसकेको चर्चा गर्दै खेलकूद क्षेत्रमा बढी सक्रिय हुने समय विद्यालय तहमै खेल विकासका पूर्वाधार र तालिमहरुको आवश्यकतामा जोड दिएका थिए ।
विद्यार्थीहरुलाई खेलकूदमा आकर्षित गर्दै पढाई पनि राम्रो बनाएको उदाहरण धेरै रहेको भन्दै कवड्डी खेलका प्रशिक्षक पशुपति प्रजापतिले कवर्डी खेल प्रशिक्षण दिन चाहने विद्यालयलाई भक्तपुर जिल्ला कवड््डी संघबाट प्रशिक्षिक उपलब्ध गराउने बताउनुभयो । कार्यक्रममा रामशरण त्वाती, श्याम तजलेलगायतका खेलाडी तथा विभिन्न स्कुलका प्रिन्सिपलहरुले विद्यालयमा बिभिन्न खेलको प्रशिक्षण सञ्चालन गर्ने बताएका थिए ।
डेँगी रोग खोज तथा नष्ट अभियान सुरु, रोकथाम तथा नियन्त्रणका लागि द्रुत प्रतिकार्य समिति गठन
भक्तपुर, ८ साउन । चाँगुनारायण नगरपालिकाले डेँगी रोकथाम तथा नियन्त्रणका लागि डेँगी रोग खोज तथा नष्ट अभियान सुरु गरेको छ । नगरपालिकाले रोगको खोज तथा नष्टका लागि वडावडामा द्र्ुत प्रतिकार्य टोली गठन गरि अभियान थालेको हो ।
रोगको महामारी फैलिनु अगाडिनै यसको नियन्त्रणका लागि नगरपालिकाले स्वास्थ्य शाखा मार्फत डेँगी रोकथाम तथा नियन्त्रण सम्बन्धि अभियान थालेको नगर प्रमुख जीवन खत्रीले बताउनु भयो । नगरपालिकाका प्रमुख खत्रीले चाँगुनारायण नगरपालिकाले तयार गरेको मनसुन पूर्वतयारी योजना अनुरुप डेँगी रोकथाम र नियन्त्रणका लागि समुदायस्तरमा बिभिन्न गतिबिधिसहितको अभियान सुरु भएको बताउनु्भयो ।
आफ्नो नगरक्षेत्रमा डेँगी रोग फैलिन नदिन समयमै सचेतना अपनाउदै नगरस्तरीय द्र्ुत प्रतिकार्य टोली गठन भई वडास्तरीय विपद् व्यवस्थापन समितिमार्फत तत्काल वडास्तरीय द्रुत प्रतिकार्य टोली गठन गरी डेँगी रोकथाम तथा नियन्त्रणका गतिविधिहरु सञ्चालन गर्न प्रत्येक वडा कार्यालयलाई निर्देशन समेत दिएको उहाँले बताउनु भयो ।
चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीले नगरपालिका अन्तर्गतका कार्यालय, विद्यालय, सामुदायिक भवनबाट डेँगी रोग रोकथाम तथा नियन्त्रणको मुख्य तरिका खोज तथा नष्ट अभियान शुरु गरेको बताउनु भयो ।
उहाँले सबै समुदायमा रोग सम्बन्धि जनचेतना फैलाइ समुदायको सहभागितामा रोकथाम र नियन्त्रणका उपायहरु अवलम्बन गरिने बताउनुभयो । उहाँले विद्यालयस्तर एवं समुदायस्तरमा पूर्वतयारीका गतिविधिहरु सञ्चालनका लागि शाखागत आवश्यक समन्वय गरी द्रत रुपमा डेंगी नियन्त्रण कार्य अगाडि बढाउने अभियान थालेको बताउनु भयो ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवालले डेँगी रोग रोकथाम र नियन्त्रणका लागि चाँगुनारायण नगरपालिकाले द्रुत प्रतिकार्य टोली गठन गरी नगरस्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिसकेको बताउनु भयो ।
चाँगुनारायण नगरपालिकाले डेँगी रोग रोकथाम र नियन्त्रणका लागि तयार गरेको योजना अनुरुप वडास्तरमा अभिमुखीकरण, द्रुत प्रतिकार्य समितिको गठन, स्थानीय रेडक्रस लगायत महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न संघसंस्था तथा विद्यालयको सहभागितामा घरधुरी सर्वेक्षण गरी घर घरमा पर्चा वितरण र नगर क्षेत्रमा माइकिङ्ग गर्ने, सबै वडाहरुमा डेँगी नियन्त्रण रोकथाम खोज र नष्ट अभियान सञ्चालन गर्ने, सबै स्वास्थ्य  संस्थाहरुलाई डेँगीको सम्भावित जाँचको लागि तयारी अवस्थामा राख्ने जस्ता कार्य सुरु गरेको जानकारी दिनुभयो ।
डोलेश्वरमा श्रावणी मेला, उच्च पदस्थहरुको भ्रमण
भक्तपुर, ८ साउन ; भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा साउनको सोमबार मेला भर्ने दर्शनार्थीको घुईचो लागेको छ । मन्दिरमा सर्वसाधारणसँगै उच्च पदस्थ व्यक्तित्वको समेत आगमन बढेको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिनुभयो ।
डोलेश्वरको दर्शन एवं पूजा पछि श्रम तथा रोजगार मन्त्री शरदसिंह भण्डारीले मन्दिर परिसरको अवलोकनका गर्नु भएको छ । उहाँले मन्दिरमा निर्माण भएका बिभिन्न संरचना र आश्रमको अवलोकन गर्नु भएको वढा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले बताउनु भयो ।
साउन १ गतेदेखि भदौ ६ गतेसम्म लाग्ने ३८ दिने श्रावणी मेलाको अवसरमा मन्दिर आउनु भएका मन्त्री भण्डारीले डोलेश्वरले धार्मिक पर्यटनको बिकासमा टेवा पुर्याएको बताउनु भएको थियो । उहाँले यहाँको बिभिन्न संरचनाकोबारेमा चासो दिनु भएको थियो ।
मन्दिरमा आज वागमती प्रदेशसभाका उपसभामुख अपसरा चापागाई खत्रीले पनि अवलोकन गर्नु भएको छ । त्यस्तै पूर्व मन्त्री राजेन्द्र महतो, वागमती प्रदेशका वन मन्त्रि मसिना खड्का, वागमती प्रदेश सभाका सदस्य किरण थापा, सुरेश श्रेष्ठ, पूर्व सदस्य शशीजंग थापालगायतले मन्दिरको बिकासमा तीन तहकै सरकारले पुर्याएको योगदानबारे जानकारी लिनु भएको थियो ।
आज बिहानैदेखि डोलेश्वरमा दर्शनार्थीको भीड लागेको बताउदै समितिका अध्यक्ष बस्नेतले मेला भर्न आएका दर्शनार्थीलाई आधा घण्टामै दर्शन गर्ने गरि व्यबस्था गरिएको र स्वयंसेवक परिचालन गरिएको बताउनु भयो ।
आजै सिपाडोलकै प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि बिहानैदेखि दशनार्थीको भीड लागेको छ । मनोकांक्षा पुरा गर्ने मन्दिरको रुपमा लिईने यस मन्दिरमा दर्शन एवं पुजा गर्न दर्शनार्थीका भीड लागेको हो । त्यस्तै दत्तात्रय मन्दिर, गुप्तेश्वर, सोमलिङ्गेश्वर, अनन्तलिङ्गेश्वर, नन्दिकेश्वर, लटरम्मेश्वर, सुवर्णेश्वर, कैलाशेश्वर, चरखण्डीश्वरलगायतका मन्दिरमा भव्य मेला लगको छ ।
तीनसय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सुरु
भक्तपुर, ३ साउन : पुरूषोत्तम महिना (मलमास) सुरु भएसंगै चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुल गाउँमास्थित मत्स्यनारायण मन्दिरमा एक महिने ‘मत्स्यनारायण मेला’ सुरु भएको छ । तीन वर्षको अन्तरालमा पर्ने पुरूषोत्तम महिनामा मत्स्यनारायणको एक महिने मेला यस मन्दिरमा साउन दुईगतेदेखि सुरु भएको गोकुल गाउँका मन्दिरको स्थानीय संरक्षक गोकर्ण पुरीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यो तीनसय वर्ष पुरानो मन्दिर हो, दुईवटा पिपलको बोटको बीचमा रहेको मन्दिर भत्किएपछि पुर्ननिर्माण गरिएको हो, यसको शिलालेख पुरिएकाले उत्खनन् र अध्ययन गर्नुपर्ने देखिन्छ, १०० वर्ष पुरानो पुजाको थाली भने अझै पनि छ, मन्दिरको संरक्षणमा यहाँका बासिन्दा सबै जुटेपछि अहिले यो मन्दिर वर्षभरिनै आन्तरिक पर्यटकको केन्द्र बनेको छ ।”
स–साना तीन वटा नदीको संगमस्थलमा रहेको यस मन्दिरलाई त्रिवेणी धामका रुपमा समेत लिइने गरिन्छ ।  मन्दिर संरक्षणसँगै ६४ शिव लिङ्ग, सप्तऋषिको मन्दिर, कृष्ण बर्तेश्वर महादेव मन्दिर, गणेश मन्दिर र कुण्डसमेत रहेको यस मन्दिर परिषरमा मलमासमा दर्शनार्थीको घुइचो लागेको छ । यहाँको कुण्डमा स्नान गरेमा छालालगायतका बिभिन्न रोगहरु नाश हुने जनविश्वास रहदै आएको छ ।
एक महिनाभरीनै लाग्ने मेलाका लागि सहज रुपमा दर्शन एवं पुजा गर्ने व्यबस्था गरिएको जानकारी दिदै उहाँले मेला बाहेक अन्य महिनामा पनि प्राकृतिक सौन्दर्यता र पार्कहरु निर्माण गरेकाले आन्तरिक पर्यटकको आगमन बढ्दो रहेको पुरीले बताउनु भयो । यस मन्दिरमा तीज, जनै पूर्णिमामा पनि मेला लाग्ने गरेको छभने, बालाचर्तुदशीमा महाद्धिप बाल्न र ६४ शिवलिङ्ग रिक्रमा गरि सदबिज छर्न पनि यहाँ घुईचो लाग्ने गर्दछ ।
मलमास अवधिभर सो मन्दिरमा नारायणको पूजा÷पुरुषोत्तम महात्म्य वाचन गरिनेछ । भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छ जनविश्वास समेत रहदै आएको छ ।
मन्दिरसम्म पुग्ने सडक कच्ची भएकाले यसलाई पक्क सडकको रुपमा बिकास गर्न सके उपत्यकाबाट नजिक पर्ने यस क्षेत्रमा पारिवारिक रुपमा घुम्म र रमाइलो गर्न आउने आन्तरिक पर्यटकको संख्या अझै बढ्ने भएकाले यसका लागि पहल भइरहेको उहाँले बताउनुभयो ।
त्यसैगरि भक्तपुर नगरपालिका–६ स्थित अंचा पोखरी (ख्यो पुखु) मा पनि साउन २ गतेदेखि एक महिने मत्स्येनारायण पुरुषोत्तम मलमास मेला सुरु भएको छ । ऐतिहासिक एवं धार्मिक महत्व बोकेको यस मन्दिरमा हरेक दिन पुरा, पुरुषोत्तम महात्मेय वाचन सुरु गरिएको छ । यहाँका कुण्डमा स्नान गरि मन्दिरमा दर्शन गरे रोगव्याधी नष्ट हुने, पापकर्म नष्ट हुने जनविश्वास रहदै आएको छ ।
काठमाडौं फन भ्यालीमा गायक अरुण थापाको २४ औं स्मृति दिवस
भक्तपुर, ३ साउन :
‘चोट के हो, व्यथा के हो,
म जस्तो घाइतेलाई सोध,
मिलन के हो खुसी के हो,
मसँग कहिल्यै सोध्दै नसोध…….।’
अजर अमर कालजयी गीत गाउँने बहुचर्चित गायक अरुण थापाको २४ औं स्मृति दिवस भक्तपुरमा भव्य रुपमा मनाइने भएको छ ।
भक्तपुरलाई गीत, संगीतको क्षेत्रमा अगाडि बढाउन स्थापना भएको रागरागिनी इन्टरटेण्टमेन्ट प्रालिले स्वर्गीय गायक थापाको २४ औँ स्मृति दिवसको अवसरमा भक्तपुरको पलासेंस्थित काठमाडौं फन भ्यालीमा ‘अरुण थापा स्मृति साँंझ–२०८०’ को आयोजना गर्ने भएको छ ।
प्रालीले काठमाडौं फन भ्यालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रालिका कार्यकारी निर्देशक तथा कार्यक्रम संयोजक कपिल कसपालले स्वर्गीय बहुचर्चित गायक अरुण थापाको २४ औं स्मृति दिवसको दिन पारेर यहीँ साउन ५ गते शुक्रबार ‘अरुण थापा स्मृति साँंझ–२०८०’ को आयोजना गर्ने बताउनु भयो ।
जिल्लामा केहीवर्षयता भक्तपुर सांगीतिक समाजले गायक थापाको स्मृतिमा अरुण थापा स्मृति साँंझ गर्दै आएकोमा यसवर्ष समाजले कार्यक्रम नगर्ने भएपछि इन्टरटेण्टमेन्ट प्रालिले निरन्तरता दिन लागेको समाजका उपाध्यक्ष समेत रहनु भएका प्रा.ली.का कार्यकारी निर्देशक कसपालले बताउनु भयो ।
उहाँले भन्नुभयो, “अरुण थापा देशकै गहणा हुन्, देशकै सम्पत्ति हुन्, त्यसमाथि पनि अरुण थापा हामी गीत, संगीतको क्षेत्रमा लाग्नेहरुको मनमनमा रहनु हुन्छ, म भक्तपुर साँस्कृतिक समाजको उपाध्यक्ष पनि हुँ, यो वर्ष समाज र प्रा.ली.ले संयुक्त रुपमा कार्यक्रम गरौँ भनेर प्रस्ताव पनि राखेको हो, तर समाजले नगर्ने भएपछि प्रा.ली. कार्यक्रम गर्ने भएको हो ।”
कार्यक्रमको उदघाटन चलचित्र विकास वोर्ड नेपालका अध्यक्ष एवं नायक भुबन केसीले गर्ने बताउदै उहाँले कार्यक्रम संयोजक समेत रहनु भएका कसपालले कार्यक्रममा दीप श्रेष्ठ, करिश्मा मानन्धर, पल साह, दीपक खरेललगायतका वरिष्ठ कलाकारहरुलाई सहभागिता रहने बताउनु भयो ।
उहाँले कार्यक्रममा नेपालका चर्चित तथा प्रतिभाशाली गायकगायिकाहरु अजर जंगम, निशा देसार, एञ्जेला श्रेष्ठ, रोजी श्रेष्ठ, दिनेश न्यौपाने, सानुमैयाँं धौभडेल, कपिल कसपाल, सुनिल लोहला, कल्पना श्रेष्ठ, प्रविण पलिखेल, श्रेया अवस्थीलगायतले स्वर्गीय अरुण थापाका गीतहरु गाउँने भएका छन् । प्रवेश निःशुल्क गरिएको कार्यक्रममा एक हजार भन्दा बढी दर्शकको सहभागिता रहने अपेक्षा गरिएको उहाँँले बताउनुभयो ।
पत्रकार सम्मेलनमा काठमाडौं फन भ्यालीका निर्देशक दामोदर उपाध्यायले साँगीतिक कार्यक्रममा सहभागि हुन आउने दर्शकहरुलाई निःशुल्क पासको व्यबस्था गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, “अरुण थापा साँझ हेर्न आउनेहरुका लागि कुनै शुल्क लाग्दैन, निःशुल्क पासको व्यबस्था गरेका छौँ, तर फन भ्यालीको स्वीमिङ्ग पुल र अन्य गेम खेल्नेहरुका लागि त्यसदिन प्रवेश शुल्कमा २० प्रतिशत छुट गरेका छौँ ।”
कार्यक्रममा फन भ्यालीका कार्यकारी निर्देशक सुजन थापाले फन भ्यालीमा रहेको कर्णाली म्युयिमको अवलोकन गर्न पनि कुनै शुल्क नलाग्ने बताउनु भयो । कर्णाली जिल्लाको एतिहासिक, सम्पदा, रहनसहनलगायत १०० वर्ष पुराना ऐतिहासिकताको दस्ताबेज रहेको कर्णाली म्युजियको अवलोकन गर्न शुल्न नलाग्ने बताउनु भएको हो ।
त्यस्तै फन भ्यालीमा ६५ वर्षमाथिका बृद्धबृद्धा र चार वषसम्मका बालबालिकालाई भने फन भ्यालीमा प्रवेश गर्न सधै निःशुल्क गरिएको बताउनु भयो । उहाँले पाँच वर्षदेखि १३ वर्षसम्मका बालबालिकाहरुका लागि प्रतिव्यक्ति ४५० रुपैयाँं शुल्कको व्यबस्था गरेको बताउनुभयो ।
कक्षा १२ को परीक्षाको नतिजा यहीँ महिना सार्वजनिक गरिने

भक्तपुर, ३ साउन : राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको कक्षा १२ को नतिजा यहीँ महिना अर्थात साउनमा सार्वजनिक गर्ने भएको छ । गत बैशाख २६ गतेदेखि सुरुभई जेठ ५ गते सम्पन्न कक्षा १२ को परीक्षाको नतिजा बोर्डले परीक्षा सम्पन्न भएको तीन महिना भित्र सार्वजनिक गर्ने गरी तयारी गरिरहेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले साउन महिना भित्रै कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने गरि तयारी भइरहेको बताउनु भयो । बोर्डले देशभरका एक हजार ४५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार ३८९ विद्यार्थीले परीक्षा दिएका थिए ।

बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थीले ग्रेड वृद्धि परीक्षामा सहभागि भएका थिए । उनीहरूले जति विषयमा कम नम्बर आएको थियो त्यत्तिकै विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिएका थिए ।

दुईभन्दा बढी विषयमा नन ग्रेडेड ल्याएका विद्यार्थीले पूरै विषयको परीक्षा दिनुपर्ने गरि बोर्डले लागू गरेको लेटर ग्रेडिङ सिस्टमअनुसार तीन वा सोभन्दा बढी विषयमा नन ग्रेडेड ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने भन्दै ६ विषयकै परीक्षा फाराम भरेका विद्यार्थीले पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेपछि विद्यार्थीले नन ग्रेडेड ल्याएका विषयको मात्रै परीक्षा दिएका थिए, जसले विद्यार्थीलाई सहज बनाएको थियो ।

पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागू

काठमाडौँ, ३१ असार : सरकारले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको नेपाल आयल निगम लिमिटेडले आज राति १२ बजेदेखि लागू हुने गरी स्वचालित प्रणाली सुरु गर्ने निर्णय गरेको जानकारी दिएको छ । मन्त्रालयका सचिव एवं निगम सञ्चालक समितिका अध्यक्ष मधुकुमार मरासिनीले आम उपभोक्ताको हितलाई ध्यान दिएर पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागू गरिएको बताउनुभयो ।

निगमको आज बसेको सञ्चालक समितिको बैठकको निर्णय सार्वजनिक गर्न आज उद्योग मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव मरासिनीले निगमको यो निर्णयबाट जनता र व्यवसायीलाई सहुलियत मिल्ने विश्वास व्यक्त गर्नुभयो । हवाई इन्धनको हकमा साबिक बमोजिमकै व्यवस्था रहेको छ । अब उप्रान्त इन्डियन आयल कोर्पोरेसनबाट प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा प्राप्त हुने नयाँ मूल्यसूचीका आधारमा पेट्रोलियम पदार्थको स्वचालित मूल्य कायम हुनेछ ।

यो निर्णयबाट इन्डियन आयल कर्पोरेसनसँग नियमित रुपमा प्राप्त हुने नयाँ खरिद मूल्यका आधारमा सोही दिन निगमले पनि मूल्य समायोजन गर्ने व्यवस्था कार्यान्वयन हुनेछ । सचिव मरासिनीका अनुसार सरकारले खाना पकाउने एलपी ग्यासमा कुनै पनि मुनाफा नराख्ने भएको छ । एलपी ग्यासमा प्रतिसिलिन्डर रु १० मुनाफा थियो । आम उपभोक्तालाई मध्यनजर गरेर हाललाई यो पनि घटाइएको छ । त्यस्तै डिजेलमा दुई प्रतिशत र पेट्रोलमा दुई दशमलव पाँच प्रतिशत नाफा राख्ने निर्णय गरिएको छ ।

निगमका कार्यकारी अध्यक्ष ई. उमेशप्रसाद थानीले आम उपभोक्ताको चाहनाबमोजिम पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याइएको बताउनुभयो । निगमको ऋण दायित्व छँदाछँदै पनि उपभोक्ताको हितलाई ध्यान दिएर मूल्य प्रणाली कायम गरिएको उहाँले उल्लेख गर्नुभयो । “आम उपभोक्ता र विशेषगरी गृहिणीहरुको हितलाई ध्यानमा राखी खाना पकाउने एलपी ग्यासमा निगमले कुनै मुनाफा नलिई लागत मूल्यबमोजिम नै खुद्रा मूल्य राखिनेछ । जसबाट पेट्रोलियम पदार्थका आम उपभोक्ताहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् भने निगम पनि वित्तीय रुपमा स्वस्थ हुनेछ”, कार्यकारी निर्देशक थानीले भन्नुभयो ।

पेट्रोल र डिजेलको मूल्य घट्यो :

स्वचालित प्रणालीअनुसार आज राति १२ बजेदेखि लागू हुने गरी साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु ६ र डिजेलमा प्रतिलिटर रु चार तथा एलपी ग्यासमा प्रतिसिलिन्डर रु १० घटाइएको छ । आज राति १२ बजेदेखि कायम हुने गरी एलपी ग्यासको प्रतिसिलिन्डर रु एक हजार आठ सयबाट घटेर रु एक हजार सात सय ९० कायम हुनेछ । हवाई इन्धनको हकमा निगम सञ्चालक समितिले तोकेअनुसार मूल्य लागू हुने विज्ञप्तिमा जनाइएको छ ।

यस्तै काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य रु एक सय ६४ कायम हुनेछ । अन्य स्थानमा क्षेत्रअनुसार मूल्य परक–फरक पर्नेछ । डिजेलको रु एक सय ६४ पर्नेछ । इन्डियन आयल कर्पोरेसनलाई नेपाल आयल निगमले रु ३१ अर्ब बक्यौता रकम भुक्तानी गरेसँगै पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागू गरिएको हो । निगमले अघिल्लो वर्ष नेपाल सरकारसँग लिएको रु सात अर्ब ऋणमध्ये अब रु तीन अर्ब ५० करोड तिर्न बाँकी रहेको जनाइएको छ । आयल निगमलाई अझै पनि सम्पूर्ण हिसाबले रु २९ अर्ब ऋण दायित्व रहेको छ ।

केदारनाथको शीर डोलेश्वरमा श्रावणी मेलाको तयारी पुरा
भक्तपुर, ३१ असार : भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा साउन १ गतेदेखि लाग्ने श्रावणी मेलाको अन्तिम तयारी पुरा भएको छ ।
केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिले मेलाबारे जानकारी दिन आज आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष धर्मराज थापाले हरेक वर्ष झैं यसवर्ष पनि श्रावण १ गतेदेखि भदौ ६ गतेसम्म लाग्ने ३५ दिने श्रावणी मेलाको अन्तिम तयारी पुरा भएको बताउनु भयो ।
मेला अवधीभर करिब दुई लाख स्वदेशी तथा भारतीय पर्यटकको आगमन हुने अनुमान गरिएको जानकारी दिदै उहाँले श्रावणी मेलामा शनिवार र सोमबार दर्शनार्थीको अत्याधिक घुईचो हुने भएपनि लाइन बसेको एकघण्टा भित्र दर्शन एवं पूजा गरिसक्ने गरि व्यबस्थापन गरेको उहाँले बताउनुभयो ।
उहाँले विगतका वर्षहरुमा धर्मावलम्बीहरुबाट संकलन भएको भेटी तथा चन्दाबाट श्रावणी मेलामा खर्च कटाएर करिब ५० लाख वचत गर्दै आएकोमा अहिले भारतीय पर्यटकको समेत आगमन बढेकाले यसवर्ष भेटी तथा चन्दा गरेर एक करोड २५ लाख संकलन हुने अपेक्षा गरिएको अध्यक्ष बस्नेतले बताउनु भयो ।
पञ्चस्नान गर्ने दर्शनार्थीको हकमा भने पञ्चसनानका सामग्रीहरुको रु. ११ सय रुपैयाको रसिद काटेर मन्दिरको पूर्वी ढोकाबाट दर्शन गर्न सक्ने व्यबस्था गरिएको उहाँको भनाइ छ । पत्रकार सम्मेलनमा समितिका महासचिव हरिशरण बस्नेतले श्रावण १ गते सोमबार बिहान स्थानीय पौखेलस्थित चन्द्रविनायक मन्दिरबाट कलश यात्रा गरी मेलाको शुभारम्भ गरिने बताउनु भयो  ।
उहाँले २ गतेदेखी ८ गतेसम्म पण्डित जनार्दन पौडेलबाट शिव पुराण कथा वाचन, ९ गतेदेखी १५ गतेसम्म पण्डित उद्धव नारायण बास्कोटा शास्त्रीबाट पुरुषोत्तम महात्म्य वाचन, १६ गतेदेखी २२ गतेसम्म पण्डित राघव अर्यालबाट श्रीमद् भागवत महापुराण वाचन, २३ गतेदेखी २७ गतेसम्म पण्डित बालकृष्ण अर्यालबाट विभिन्न धार्मिक प्रवचन, २८ गतेदेखी भदौ ५ गतेसम्म विभिन्न गुरुहरुबाट धार्मिक प्रवचनका साथै कलाकारहरुबाट भजन किर्तन हुने बताउनु भयो । २०६६ साल भदौ यस मन्दिरलाई केदारनाथको शीर घोषणा गरेको दिनकोृ अवसरमा भदौ ६ गते विशेष कार्यक्रमका साथ मेलाको समापन गरिने छ ।
डोलेश्वर महादेवलाई वि. सं. २०६६ भाद्र ६ गते केदारनाथको शिर भएको घोषणा गरिएको थियो । सोही अवसरमा प्रत्येक वर्ष भाद्र ६ गते डोलेश्वरको विशेष पुजाका साथै विविध कार्यक्रम र श्रावणी मेलाको समापन समारोह हुँदैं आएको छ । मेला अबधीभर स्वयंसेवक परिचालन गरिने, स्वास्थ्य शिविर एवं हेल्थ डेक्सको व्यबस्था गरिने भएको छ ।
कार्यक्रममा सूर्यविनायक नगरपालिका–८ का वडाअध्यक्ष पुष्पराज बस्नेतले डोलेश्वर मन्दिर धार्मिकसंगै पर्यटकीय गन्तव्यको रुपमा समेत बिकास गर्दै गएको बताउदै नगरपालिकाले यहाँका शिवालयहरुलाई समेटेर शिव सर्किटको निर्माण सुरु गरेको बताउनुभयो ।
डोलेश्वर क्षेत्र धार्मिक पर्यटकीय दृष्टिकोणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत ख्याति कमाउन थालेको बताउदै स्थानीयस्तर र यहाँको जनतासँग जाडेर यहाँको आर्थिक विकासका लागि समेत नगरपालिका र वडा कार्यालयले कार्यक्रम अगाडि बढाएको बताउनु भयो । श्रावणी मेलामा शान्ति सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन हुने र दर्शनार्थीको आवतजावतका लागि यातायातको सहज व्यबसथा गरिएको बताउनुभयो ।
मेलाका लागि नेपाली सेनाको ईन्द्र बक्स गण सुर्यविनायक, नेपाल प्रहरी, सामुदायीक बन उपभोक्ता महासंघ भक्तपुर, संघ संस्था एवं स्थानीय बासिन्दा लगाएको सहभागितामा डोलेश्वर मन्दिर परिसरको सरसफाई गर्ने कार्य र मन्दिरलाई सिंगार्ने कार्य सम्पन्न भएको छ ।
सूर्यविनायक नगरपालिकाको सहयोगमा निर्माण भएको मुलद्वारको समेत भोली उद्घाटन गरिने भएको छ । मूल मन्दिरको पिलरदेखि छानोसमेत तामाको राखिएको, कुनै अवान्छित कार्य नहोस भनेर सीसी टिभी थप गरिएको छ ।
‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान शुरु
भक्तपुर, ३१ असार : बागमती प्रदेश सरकारको मूख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार एवं अर्थविद् डिपी ढकालले भक्तपुरको चाँगुनारायण नगरपालिकालाई तीन वर्षभित्र एभोकाडो सिटी बनाउने अभियान आज सुरु गर्नु भएको छ । चाँगुनारायण नगरपालिकाको सभाहलमा चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियानले आज आयोजना गरेको अभियान शुभारम्भ कार्यक्रममा अभियानका परिकल्पनाकारसमेत रहनु भएका ढकालले अभियानको शुभारम्भ गर्नु भएको हो ।
अभियानको शुभारम्भ गर्दै उहाँले नागरिक तहबाट आगामी तीन बर्ष भित्र चागुनारायणका १७ हजार ६ सय ८३ घरधुरीमा २ वटा एभोकाडोको बिरुवा रापेर  एभोकाडो सिटी बनाउने यो अभियान सफल पार्न चाँगुनारायणवासीलाई आव्हान समेत गर्नुभयो । चाँगुनारायण नगरपालिका पर्यटकीय गन्तव्य र विश्व सम्पदा सूचीँमा रहेको मन्दिरबाटै आफ्नो पहिचान बनाउन सफल भएको भन्दै उहाँले यो पहिचानमा अर्को एउटा पहिचान थप्दै चाँगुनारायणलाई एभोकाडो सिटी बनाउने अभियान सुरु गरेको बताउनु भयो ।
मूख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार एवं अर्थविद् ढकालले भन्नुभयो, “धेरै भुभाग खाली रहेको यस नगर क्षेत्रका बासिन्दाको सहज रुपमा आयस्तर कसरी बढाउने भनेर म चिन्तन गरिरहन्थे, त्यहीँ चिन्तनबाट यो परिकल्पना आएको हो, तीन वर्षभित्र सबैको घरमा दुई वटा एभोकाडोको बिरुवा रोपेर तीन वर्षमा फल दिन थालेपछि एउटा घरमा कम्तीमा १० २० हजारदेखि ५० हजारसम्म आम्दानी बढ्छ ।”
यहाँको जनताको सहज रुपमा जीवनस्तर उकास्न, हरियाली र पर्यावरण बचाउन र आर्थिक बिकासंगै बिकासको नयाँ मोडालिटी ल्याउन यसले सहयोग पुग्नृ उहाँकाृ भनाई थियो ।
अभियानले चाँगुनारायण नगरभित्र प्रत्येक घरपरिवारलाई एभोकाडो फलको बिरुवा लगाउन प्रेरित गर्ने र प्रति घर २ वटा बिरुवा समेत निःशुल्क प्रदान गर्ने बतउदै उहाँले तीन वर्षे यो अभियानले एभोकाडोको नाममा पनि यसको पहिचान थपिने बताउनु भयो ।
नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य समेत रहनु भएका नेता ढकालले यो अभियान कुनै एक राजनीतिक पार्टीको मात्र अभियान नभई जनस्तरको अभियान भएको बताउनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका कन्द्रीय सदस्य दीलिप प्रजापति, नेपाली काँग्रेसका नेता एवं वागमति प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, माओवादी केन्द्रकी नेतृ एवं वाग्मति प्रदेशसभा सदस्य भवनेश्वरी श्रेष्ठ, राष्ट्रका लागि दुई घण्टे अभियानका अध्यक्ष मधु ढुङ्गेल, अभियानका उपाध्यक्ष नरेश रञ्जितलगायतले एभोकाडो अभियान अन्य पालिका र देशैभरका लागि नमूना, एवं प्रभावकारी हुने बताउदै अभियान सफल पार्न सबैमा आव्हान गर्नुभयो ।
अभियानका संयोजक नरेश खड्काले यस अभियानलाई तीन वर्षसम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको बताउदै आजबाट निःशुल्क एभोकाडोको बितरण समेत थालिएको बताउनुभयो । नेपालमा विगतमा सौखका रुपमा राप्ने गरिएको एभोकाडो एक मीठो र महँगो घिउफल हो । केही वर्ष यता यसलाई व्यवसायिक रुपले खेत गर्नेक्रम बढ्दो छ  ।
प्रशस्त भिटामिन, प्रोटिन पदार्थ पाइने एभोकाडोको माग नेपालमा बढ्दै गएको छ भने विदेश समेत निर्यात गर्न सकिने फल हो । एभोकाडोको एउटा बोटले तीन वर्षदेखि फल दिन थाल्ने र यसले तीन क्विन्टलसम्म फल दिने र वार्षिक पचास हजारसम्म आम्दानी हुने बिज्ञहरु बताउछन् ।