भक्तपुर, २१ फागुन : भक्तपुरमा आज बिहान ७ बजेदेखि प्रतिनिधि निर्वाचन शान्तिपूर्ण रुपमा सुरु भएको छ । जिल्लाका दुबै निर्वाचन क्षेत्रका मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले जानकारी दिनुभयो ।
भक्तपुरका दुई वटा निर्वाचन क्षेत्रमा मध्ये १ नं. क्षेत्रमा ३७ मतदान स्थल र ११९ मतदान केन्द्र रहेका छन् । पुरुष भन्दा महिला मतदाता बढी रहेको क्षेत्र नं. १ मा ५२ हजार ६६ पुरुष मतदाता र ५४ हजार ९८८ महिला मतदाता गरि कूल एक लाख सात हजार ५४ जना मतदाता रहेका छन् ।
त्यसैगरि भक्तपुर क्षेत्र नं. २ मा रहेको ३९ मतदान स्थलमा ११४ वटा मतदान केन्द्र रहेको छन् । पुरुष भन्दा महिला मतदाता बढी रहेको यस क्षेत्रमा ४८ हजार ०७४ जना पुरुष मतदाता र ५० हजार २७७ महिला मतदाता तथा अन्य पाँच गरि कूल ९८ हजार ३५६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख प्रकाश मगरले जानकारी दिनुभयो ।
क्षेत्र नं. १ मा बिभिन्न राजनीतिक दलबाट १६ र स्वतन्त्रबाट ९ गरि २५ जना उम्मेदवार रहेकोमा ३ जना महिला उम्मेदवार रहेका छन् भने क्षेत्र नं. २ मा विभिन्न राजनीतिक दलबाट १७, स्वतन्त्र १५ गरि कूल ३२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । ेती मध्य ६ जना महिला उम्मेदवार रहेको मगरले जानकारी दिनुभयो ।
जिल्लाका प्रत्येक निर्वाचन केन्द्रमा छ जना कर्मचारी र तीनजना स्वयंसेवक खटाइएको तथा जिल्लामा एक हजार ४०० कर्मचारी, ७०० स्वयंसेवक, तीन हजार २०० सुरक्षाकर्मी खटाइएको भक्तपरका प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो । बिहानैबाट मतदान केन्द्र पुगेका मतदाताले उत्साहित भएर मतदान गरेका छन् भने मतदान गर्न उत्साहित हुदै मतदान केन्द्र पुग्नेको भीड लाग्न थालेको छ ।
एमाले अध्यक्ष ओलीदेखि विजुक्छेंसम्मले मतदान गर्दै ः
भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान ११ः३० बजे मतदान गर्नु हुने भएको छ ।
त्यसैगरि नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले भने विहान ११ बजे विद्यार्थी निकेतन मावि मतदान केन्द्रबाट मतदान गर्ने हुनुभएको छ । एमालेका केन्द्रीय सचिव
महेश बस्नेतले गुण्डुस्थित भैरवी निमावि मतदान केन्द्रबाट विहान ११ बजे मतदान गर्ने जानकारी दिनुभएको छ ।
मतदानलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सुरक्षा व्यबस्था कडा पारिएको छ । मतदान गर्न पहिचान खुल्ने ६ वटा मध्ये एउटा परिचय पत्र लिएर जान सक्ने निर्वाचन आयोगले जनाएको छ ।
मतदाता परिचयपत्रको सक्कल प्रति नभएमा नेपाली नागरिकता, सवारी चालक अनुमतिपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र वा जग्गा धनी प्रमाण पूर्जाको सक्कल प्रतिमध्ये कुनै एकले मतदान गर्न पाइने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो ।