भक्तपुरको सल्लाघारीमा बुधबारबाट सुरु हुने दशैं रमाइलो महोत्सव–२०८३ को तयारी पुरा
भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज, सुर्वसुलभ र गुणस्तरीय सामान उपलब्ध गराउने उदेश्यले भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट सुरु हुने दशैं रमाइलो महोत्सव–२०८३ को तयारी पुरा गरेको छ ।
आज भक्तपुरको सल्लाघारीमा महोत्सव आयोजक संस्था औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिष्ठानका बलराम श्रेष्ठले बडादसैँको अवसर पारेर हुने ‘दसैँ रमाइलो महोत्सव–२०८३’ असोज ३० गतेसम्म सञ्चालन हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “मेलामा दशैंलाई लक्षित गरि विशेष गरि गुणस्तरीय खाद्यान्न र लत्ता कपडा आम उपभोक्ताका लागि सहज, सर्वसलुभ रुपमा उपलब्ध गराउने छौं, मेलामा ७० वटा स्टल रहने छ । मेला अबधीभर बिभिन्न साँस्कृतिक कार्यक्रम समेत दैनिक रुपमा सञ्चालन हुनेछ ।”
पत्रकार सम्मेलनमा मेला आयोजक समितिका संयोजक संगम लामाले एक लाख भन्दा बढी उपभोक्ताको आगमन हुने अपेक्षा गरिएको मेलामा दैनिक जीवनमा प्रयोग हुने खाद्यान्न, लत्ता कपडासंगै अटोमोबाइल, जुत्ता–चप्पल, कृषि तथा हस्तकलाका सामग्रीलगायतका बिभिन्न वस्तुहरुको प्रदर्शनी तथा बिक्रीका लागि राखिने जानकारी दिनुभयो ।
मनोरञ्जनका लागि मेलामा बाल उद्यान, रोटेपिङ, झुला, नाउ, मिनी बञ्जी जम्प, वाटर बल, मिकी माउस, ट्राम्पोलिनलगायतका बिभिन्न खेल तथा मनोरञ्जनका सामग्री राखिने उहाँले बताउनुभयो ।
राष्ट्रिय तथा स्थानीय कलाकारहरूको दैनिक सांस्कृतिक प्रस्तुति, हास्यव्यङ्य र गीत–गायनसहित मेलामा हरेक दिन खुला नृत्य प्रतियोगिता समेत आयोजना गरिने उहाँले बताउनुभयो । मेलाले भक्तपुरको आन्तरिक पर्यटनको विकास हुनुका साथै स्थानीय उत्पादन, व्यापार, कला–संस्कृति तथा पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको संयोजक लामाले बताउनुभयो ।
भक्तपुरको उद्योगमा आगलागी, मुख्यमन्त्री थापामगरबाट निरीक्षण
भक्तपुर, १९ असोज  : सुर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना वनाउने कारखानामा आज आगलागी भएको छ । नवराज भट्टले सञ्चालन गरेको विके सप्लायर्समा आज विहान ६ वजे आगलागी भएको हो ।
आगलागी भए लगत्तै वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आगलागी भएको उद्योगको निरीक्षण गर्नु भयो । उहाँले आगलागीको कारण र अबस्थाबारे जानकारी लिदै आगलातीबाट भएको क्षतिको विवरण लिनु भयो ।   मुख्यमन्त्री थापाले उद्योग सञ्चालनमा आगलागी हुनबाट जोगाउँन सचेतना अबलम्बन गर्नु पर्ने बताउदै उद्योगमा हुने समस्या समाधानका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो ।
आगलागी भएपछि जुद्ध बारुण यन्त्र भक्तपुरको दमकल र स्थानियहरूको सहायताबाट करिब दुई घण्टामा आगो नियन्त्रणमा लिएको छ । जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजय धौभडेलले आगोलागीबाट ठूलो क्षति भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार आगलागीका कारण कारखानामा रहेका मेसिन र प्लास्टिकका कच्चा पदार्थ पुर्ण रूपमा क्षति भएको छ भने कारखानासंगै रहेको दिनेश मचामसीको घरमा क्षति पुगेको जानकारी दिनुभयो । आगलागीबाट करिब ४० लाख भन्दा बढी क्षति प्रहरीले जानकारी दिएको छ । आगलागीको कारण भने खुलेको छैन भने घट्नास्थलमा प्रहरीले मुचुल्का उठाउने कार्य गरिहरको छ ।
बाढी प्रभावित क्षेत्रको पुर्ननिर्माणदेखि जिविकोपार्जन सम्मका कार्य अगाडि बढाउछौं : मुख्यमन्त्री किरण थापा मगर
भक्तपुर, १८ असोज : वागमती प्रदेश सरकारले रसुवा भोटेकोशी बाढीका कारण क्षतिग्रस्त क्षेत्रको पुर्ननिर्माणदेखि जिविकोपार्जन सम्मका कार्य अगाडि बढाउने भएको छ ।
आज प्रदेशका मुख्यमन्त्री किरण थापा मगर, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (ल्म्च्च्ःब्) का प्रमुख कार्यकारी अधिकृत डा. धर्मराज उप्रेती तथा वागमती प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. दीपकविक्रम थापा क्षेत्रीबीच विपदपछिको पुनस्र्थापना, पुनर्निर्माण तथा भूमि विकास एकीकृत विकासका मोडल लगायतका बिषयमा छलफल भएको हो ।
प्रदेश सरकारले केवल पुनःनिर्माण मात्र नभएर दिगो ब्यबस्थापनसहितको पुनः निर्माण व्यबस्थापन र जनजिविकाका लागि पुनरोत्थानसहितका बिभिन्न कार्यहरु  सन्चालन गर्ने निष्कर्षमा पुगेको हो ।
भोटेकोशी बाढी पहिरो लगायतका विपदवाट प्रभावित क्षेत्रको पुनस्र्थापना तथा पुनर्निर्माणलाई व्यवस्थित, सुरक्षित र दिगो बनाउने, भूमि विकास तथा सुरक्षित बस्ती व्यवस्थापन एकीकृत विकासका मोडल तयार गर्ने, पूर्वाधार पुनर्निर्माण, संघ–प्रदेश–स्थानीय तहबीच समन्वय तथा आवश्यक योजना र कार्यढाँचा निर्माणका विषयमा छलफल गरिएको मुख्यमन्त्री थापाले जानकारी दिनुभयो ।
प्रभावित समुदायको आवश्यकता र स्थानीय अवस्थालाई प्राथमिकतामा राख्दै द्यगष्मि द्यबअप द्यभततभच को अवधारणाअनुसार पुनर्निर्माण अघि बढाउने उहाँले बताउनुभयो । आगामी दिनमा विपद जोखिम न्यूनीकरणलाई विकास योजनासँग एकीकृत गर्ने विषयमा समेत जोड दिइएको जानकारी दिदै उहाँले बाढीग्रस्त क्षेत्रमा प्रदेश सरकारले केवल पुनःनिर्माण मात्र नभई दिगो ब्यबस्थापनसहितको पुनः निर्माण व्यबस्थापन र जनजिविकाको पुनरोत्थानका कार्यक्रमलाई अगाडि बढाउने निर्णयमा पुगेको बताउनुभयो ।
स्काउट शिक्षाको उद्घाटन, विद्यार्थीलाई देशप्रेमका भावना जगाउँने : मुख्यमन्त्री थापामगर

भक्तपुर, १८ असोज : वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज भक्तपुरमा स्काउट शिक्षाको उद्घाटन गर्नु भएको छ । चाँगुनारायण नगरपालिकास्थित श्री महेन्द्र ग्राम माध्यमिक विद्यालयमा आज आयोजित स्काउट शिक्षाको उद्घाटन गर्दै उहाँले स्काउट शिक्षाले विद्यार्थीमा देशप्रेमको भावना जगाउँने बताउनु भयो ।

मुख्यमन्त्री थापाले नेपाल स्काउट सामजिक विकासको भावनाका साथ अगाडि बढिरहेको बताउदै विद्यालयले दिने स्काउट शिक्षाले विद्यार्थीहरुमा देशप्रेमको भावना जगाउँने बताउनुभयो । विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, सेवाभाव, आत्मनिर्भरता तथा सामाजिक उत्तरदायित्वको भावना विकास गर्न स्काउट शिक्षाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।

मुख्यमन्त्री थापाले सामुदायीक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार्दै स्नातकोत्तर तहसम्मको गुणस्तरीय शिक्षा दिने गरि भक्तपुरलाई शिक्षाको हव बनाउने बताउनु भयो ।
उहाँले वागमती प्रदेश सरकारले भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउने गरि कार्ययोजना अगाडि सारेको बताउनु भयो ।

कार्यक्रममा विद्यालय व्यबस्थापन समितिका अध्यक्ष रामकुरमा बुढाथोकीले मुख्यमन्त्री थापा र नवनियुक्त प्रदेशका न्यायाधिवक्त शिवराम तिमिल्सिनालाई बधाई तथा सम्मान प्रदान गर्नुभयो । विद्यालयका प्रधानाध्यापक सोम श्रेष्ठले नेपाल स्काउटको महत्व र विद्यालयमा यसका शिक्षाकाबारेमा जानकारी गराउनु भएको थियो ।

अपाङ्गता भएका व्यक्तिलाई अधिकार, राज्यबाट प्राप्त हुने सेवा–सुविधा, समान अवसर दिनु पर्छ : सूर्यविनायक नगर प्रवक्ता रविन्द्र सापकोटा

भक्तपुर, १७ असोज । अपाङ्गता भएका व्यक्तिलाई संविधान तथा प्रचलित कानूनले प्रदान गरेका अधिकार, राज्यबाट प्राप्त हुने सेवा–सुविधा, समान अवसर र सामाजिक समावेशीकरणमा विभेद गर्न नहुने सरोकारवालाले बताएका छन् ।्

सूर्यविनायक नगरपालिका नगर कार्यपालिकाको कार्यालयले आज सूर्यविनायक नगरपालिकाको सभाहलमा आयोजना गरेको वडास्तरी अपाङ्गता समन्वय समितिलाई एकदिने कानूनी अधिकार सम्बन्धी अभिमूखीकरणमा सहभागि एवं सरोकारवालाले यस्तो बताएका हुन् ।

कार्यक्रममा नगरपालिकाका प्रवक्ता एवं वडा नं. ७ का वडाअध्यक्ष रविन्द्र सापकोटाले अपाङ्गता भएका व्यक्तिहरूलाई समाजमा माया र अवसर दिनु पर्ने बताउनु भयो ।
सापकोटाले भन्नुभयो, “अपाङ्गता भएका व्यक्तिहरूलाई दया होइन, समान अधिकार, अवसर र सम्मान चाहिन्छ, समाजको मूल प्रवाहमा ल्याउन अधिकारबारे सचेतना दिनु आवश्यक छ । स्थानीय तहबाट उपलब्ध हुने सेवा–सुविधामा उहाँहरूको सहज पहुँच सुनिश्चित गर्न हामीले अझ प्रभावकारी रूपमा काम गर्नुपर्छ ।”

उहाँले अपाङ्गता भएका व्यक्तिलाई दया वा सहानुभूतिभन्दा पनि अधिकार र समान अवसरका आधारमा हेर्नुपर्ने बताउनु भयो । स्थानीय तहबाट प्रदान गरिने सेवा–सुविधामा अपाङ्गता भएका व्यक्तिको सहज पहुँच सुनिश्चित गर्न नगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । कार्यक्रममा सहभागीले कानुनी अधिकारका विषयमा जानकारी पाएपछि आफूहरूलाई प्राप्त अधिकार र सेवाका विषयमा थप स्पष्ट भएको बताउनु भयो ।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिले संविधान तथा प्रचलित कानूनले प्रदान गरेका अधिकार, राज्यबाट प्राप्त हुने सेवा–सुविधा, समान अवसर तथा सामाजिक समावेशीकरणका विषयमा जानकारी गराइएको थियो । अपाङ्गता भएका व्यक्तिप्रति हुने विभेदको अन्त्य गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने विषयमा समेत छलफल गरिएको थियो ।

कार्यक्रममा सहभागिले अपाङ्गता भएका व्यक्तिका लागि कानुनले दिएको अधिकार र स्थानीय तहबाट पाउन सकिने सेवाका विषयमा यसअघि सबै कुरा स्पष्ट जानकारी प्राप्त भएको बताएका थिए । आजको अभिमुखीकरणबाट धेरै महत्वपूर्ण जानकारी प्राप्त भएको बताउदै यसप्रकारले अभिमुखीकरणले वडा तहसम्म निरन्तरता दिनुपर्ने बताउनु भयो ।

तालिमबाट प्राप्त जानकारीलाई व्यवहारमा लागू गर्न सके अपाङ्गता भएका व्यक्तिले धेरै सहज रूपमा सेवा लिन सक्ने अवस्था बन्न सक्ने बताउदै यस प्रकारको कार्यक्रमले एकपटकमा सीमित नगरी नियमित रूपमा सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रमले अपाङ्गता भएका व्यक्तिका अधिकारबारे स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला तथा समुदायमा थप सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

 

मुख्यमन्त्री किरण थापा मगरद्धारा हेटौँडा क्याम्पसमा फस्र्ट ग्राजुएट कन्फ्रेन्सको उद्घाटन : मुख्यमन्त्री थापा मगरले भन्नुभयो : युवाहरूले आफ्नो ज्ञान र सीपलाई स्थानीय आवश्यकता, वन, वातावरण र जैविक विविधताको संरक्षणमा प्रयोग गर्नुपर्छ

हेटौँडा, १६ असोज । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वविद्यालयलाई ज्ञान निर्माण, अनुसन्धान र नयाँ विचारको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनु भएको छ ।

वन विज्ञान अध्ययन संस्थान, हेटौँडा क्याम्पसद्वारा आयोजित फस्र्ट ग्राजुएट कन्फ्रेन्सको आज उद्घाटन गर्दै उहाँले मन्तव्य राख्दै मुख्यमन्त्री थापा मगरले युवाहरूले आफ्नो ज्ञान र सीपलाई स्थानीय आवश्यकता, वन, वातावरण र जैविक विविधताको संरक्षणमा प्रयोग गर्नुपर्ने बताउनु भएको छ ।

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र तथा वातावरणको हितमा प्रयोग गर्नुपर्ने बताउँदै मुख्यमन्त्री थापा मगरले वन क्षेत्र वातावरणीय सन्तुलन, जैविक विविधता संरक्षण, जलाधार तथा माटो संरक्षणसँगै नागरिकको जीविकोपार्जनको महत्वपूर्र्ण आधार रहेको चर्चा गर्नुभयो ।

उहाँले वन तथा वातावरणसँग सम्बन्धित विषयमा दक्ष जनशक्ति उत्पादनसँगै उनीहरूले हासिल गरेको ज्ञान, अनुसन्धान र सीपलाई प्रदेशको वन तथा प्राकृतिक स्रोत व्यवस्थापनमा प्रभावकारी रूपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

“शिक्षा र ज्ञानलाई केवल व्यक्तिगत उपलब्धिमा सीमित नराखी समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्नुपर्छ। वन विज्ञानबाट उत्पादित दक्ष जनशक्तिको ज्ञान, अनुसन्धान र सीपलाई प्रदेशको वन तथा प्राकृतिक स्रोत व्यवस्थापनमा जोड्न आवश्यक छ,” मुख्यमन्त्री थापा मगरले भन्नुभयो ।

मुख्यमन्त्रीले पछिल्लो समय जलवायु परिवर्तन, वन डढेलो, जैविक विविधताको ह्रास तथा मानव–वन्यजन्तु द्वन्द्व वन तथा वातावरण संरक्षणका प्रमुख चुनौतीका रूपमा देखापरेको उल्लेख गर्नुभयो ।  यस्ता चुनौतीको सामना गर्न सरकारको एकल प्रयास पर्याप्त नहुने भन्दै उहाँले विश्वविद्यालय, अनुसन्धान संस्था, समुदाय तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

“वन तथा वातावरण संरक्षणका लागि सरकार, विश्वविद्यालय, अनुसन्धान संस्था, समुदाय र निजी क्षेत्रबीच सहकार्य आवश्यक छ। सबै पक्षको ज्ञान, अनुभव र प्रविधिलाई एकीकृत गरेर मात्रै प्राकृतिक स्रोतको दिगो व्यवस्थापन गर्न सकिन्छ,”उहाँले भन्नुभयो ।

बागमती प्रदेशमा प्राकृतिक स्रोत संरक्षण र आर्थिक विकासबीच सन्तुलन कायम गर्दै दिगो विकासलाई प्राथमिकता दिनुपर्नेमा पनि मुख्यमन्त्रीले जोड दिनुभयो । प्राकृतिक स्रोतको संरक्षणसँगै त्यसबाट प्राप्त हुने अवसर र लाभलाई स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकाससँग जोड्नुपर्ने उहाँको भनाइ थियो ।

उहाँले वन विज्ञान तथा वातावरणका क्षेत्रमा हुने अनुसन्धानलाई नीति निर्माण र स्थानीय तहमा देखिएका वास्तविक समस्याको समाधानसँग जोड्नुपर्ने बताउनुभयो । “अनुसन्धानलाई केवल शैक्षिक उपलब्धिमा सीमित नराखी नीति निर्माण र स्थानीय समस्याको समाधानसँग जोड्नुपर्छ । हाम्रो अनुसन्धानले समाज र वातावरणका वास्तविक समस्या समाधान गर्न सक्ने आधार तयार गर्नुपर्छ,” मुख्यमन्त्री थापा मगरले भन्नुभयो ।

युवाहरूले आफूले हासिल गरेको ज्ञान र सीपलाई स्थानीय आवश्यकता तथा वन, वातावरण र जैविक विविधताको संरक्षणमा प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। वन विज्ञान अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई देश र प्रदेशको प्राकृतिक स्रोत व्यवस्थापनमा योगदान पु¥याउने महत्त्वपूर्ण जनशक्तिका रूपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।

मुख्यमन्त्रीले विश्वविद्यालयलाई ज्ञान निर्माण, अनुसन्धान र नयाँ विचारको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । बदलिँदो वातावरणीय चुनौती र प्राकृतिक स्रोत व्यवस्थापनका नयाँ आयामलाई सम्बोधन गर्न विश्वविद्यालयले समयानुकूल अनुसन्धान तथा नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

फस्र्ट ग्राजुएट कन्फ्रेन्सले विद्यार्थी, प्राध्यापक, अनुसन्धानकर्ता तथा नीति निर्माताबीच ज्ञान, अनुभव र विचार आदान–प्रदान गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्ने विश्वाससमेत मुख्यमन्त्री थापा मगरले व्यक्त गर्नुभयो । उहाँले यस्ता सम्मेलनले वन विज्ञान, वातावरण संरक्षण, जैविक विविधता तथा प्राकृतिक स्रोत व्यवस्थापनका क्षेत्रमा नयाँ सोच र अनुसन्धानका सम्भावनालाई थप विस्तार गर्ने बताउनुभयो ।

अपराध अनुसन्धानलाई विधि, विज्ञान, परीक्षण प्रयोगशालालाई थप सुदृढ र प्रभावकारी बनाउन बागमती प्रदेश सरकारको पूर्ण सहयोग रहन्छ : मुख्यमन्त्री किरण थापा

हेटौडा, १५ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अपराध अनुसन्धानका लागि विधि, विज्ञान, परीक्षण प्रयोगशालाका लागि थप सुदृढ र प्रभावकारी बनाउन बागमती प्रदेश सरकारको पूर्ण रुपमा सहयोग रहने बताउनु भएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय मातहत रहेको विधि विज्ञान परीक्षण प्रयोगशालाको बिहिबार निरीक्षण तथा अनुगमनका क्रममा उहाँले कुनै पनि अपराध अनुसन्धानलाई आधुनिक प्रविधिसँग जोड्दै प्रयोगशालाको क्षमता विस्तार गर्नुपर्ने बताउनु भएको हो ।

अपराध अनुसन्धानलाई थप वैज्ञानिक, प्रमाणमुखी र विश्वसनीय बनाउनुपर्नेमा जोड दिदै मुख्यमन्त्री थापा मगरले भन्नुभयो, “अबको अपराध अनुसन्धान अनुमान र आशंकाका आधारमा नभई प्रमाण, विज्ञान र प्रविधिमा आधारित हुनुपर्छ । अपराध अनुसन्धानलाई आधुनिक प्रविधिसँग जोड्दै प्रयोगशालाको क्षमता विस्तार गर्नुपर्ने आवश्यकता छ । त्यसैले प्रयोगशालामा अत्याधुनिक उपकरण, नवीनतम प्रविधि र दक्ष जनशक्तिको विकासलाई प्राथमिकतामा राख्नुस् ।”

अपराध अनुसन्धानमा वैज्ञानिक प्रमाणको भूमिका महत्वपूर्ण हुने बताउदै उहाँले प्रविधिको विकाससँगै अपराधका स्वरूप पनि परिवर्तन भइरहेकाले अनुसन्धान प्रणालीलाई समेत सोहीअनुसार आधुनिक र प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताउनुभयो । विधि विज्ञान परीक्षण प्रयोगशालालाई थप सुदृढ र प्रभावकारी बनाउन आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्न बागमती प्रदेश सरकार पूर्णरूपमा तयार रहेको मुख्यमन्त्री थापा मगरले स्पष्ट पार्नुभयो ।

उहाँले प्रहरी अनुसन्धानलाई तथ्य र प्रमाणमा आधारित बनाउँदै न्यायिक प्रक्रियालाई समेत थप विश्वसनीय बनाउन प्रयोगशालाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । अपराध अनुसन्धानमा वैज्ञानिक विधिको प्रयोग बढाउन तथा उपलब्ध स्रोत–साधनको प्रभावकारी उपयोग गर्न सम्बन्धित निकायलाई उहाँले निर्देशन दिनुभयो ।

निरीक्षणका क्रममा मुख्यमन्त्री थापा मगरले प्रयोगशालाबाट हुँदै आएका काम, उपलब्ध पूर्वाधार, उपकरण तथा जनशक्तिको अवस्थाबारे जानकारी लिनुभएको थियो । सो अवसरमा सम्बन्धित अधिकारीहरूले प्रयोगशालाको वर्तमान अवस्था, सेवा प्रवाह तथा आवश्यकताबारे जानकारी गराउनुभएको थियो । मुख्यमन्त्री थापा मगरले प्रदेश सरकारका तर्फबाट प्रयोगशालाको संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धिका लागि आवश्यक सहयोग र सहजीकरण गरिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

सहकारी संस्था धेरै खोल्ने भन्दा सक्षम र शेयर सदस्यको हितमा काम गर्ने सहकारी बनाउन प्रदेश सरकारले प्राथमिकता दिन्छ : मुख्यमन्त्री किरण थापा मगर

हेटौडा, १४ असोज । वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले सहकारी संस्था धेरै खोल्ने भन्दा सक्षम र शेयर सदस्यको हितमा काम गर्ने सहकारी बनाउन प्रदेश सरकारले प्राथमिकता दिने बताउनु भएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था ( नेफ्स्कून) ले आज चितवनमा आयोजना गरेको राष्ट्रिय भेलामा सम्बोधन गर्दै उहाँले केही सहकारी संस्थामा देखिएका विकृतिलाई आधार बनाएर सम्पूर्ण सहकारी अभियानलाई एउटै दृष्टिले हेर्न नमिल्ने उहाँले बताउनुभयो ।

सहकारीको अवधारणा आफैँमा महत्वपूर्ण आर्थिक–सामाजिक अवधारणा भएको भन्दै उहाँले समस्या जहाँ छ, त्यहाँ सुधार गर्नुपर्छ; कमजोरी जहाँ छ, त्यहाँ नियमन गरेर सुशासन बलियो बनाउनु पर्ने बताउनुभयो ।

मुख्यमन्त्री थापाले भन्नुभयो, “सरकार सहकारीको दैनिक कारोबार चलाउने संस्था होइन तर आवश्यक कानुनी व्यवस्था गर्ने, नियमनलाई प्रभावकारी बनाउने, संस्थागत क्षमता विकासमा सहयोग गर्ने र सहकारी क्षेत्रलाई सुरक्षित तथा व्यवस्थित रूपमा सञ्चालन हुने वातावरण बनाउने जिम्मेवारी सरकारको हो । संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर सहकारी क्षेत्रका समस्या समाधान गर्नुपर्ने आवश्यकता छ ।”

मुख्यमन्त्री थापाले भन्नुभयो, “सहकारी ऐनले बचत तथा ऋणको कारोबार गर्ने सहकारीका लागि व्यवस्था गरेको मापदण्ड र निर्देशनलाई व्यवहारमा कसरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भन्ने विषयमा साझा धारणा निर्माण गर्नुपर्ने आजको आवश्यकता छ । नियम बनाउनु मात्र पर्याप्त हुँदैन; त्यसको व्यवहारिक कार्यान्वयन, संस्थाको क्षमता र सदस्यहरुबीच सन्तुलन पनि कायम गर्नुपर्छ ।”

उहाँले सदस्यको बचत सुरक्षित हुने, संस्थाको कारोबार पारदर्शी हुने, सञ्चालक उत्तरदायी हुने, व्यवस्थापन व्यावसायिक हुने र सदस्यले आफ्नो संस्थाको वास्तविक वित्तीय अवस्था बुझ्न सक्ने वातावरण निर्माण गर्न सके सहकारीले अवश्य पनि आर्थिकरुपमा जीवनस्तर उकास्न मद्दत पुग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “म विशेषगरी नेफ्स्कूनलाई आग्रह गर्न चाहन्छु नियमन र मापदण्डको कुरा गर्दा समस्या परेका संस्थालाई मात्र हेर्ने होइन, समस्या आउन नदिने प्रणाली विकास गर्नेतर्फ पनि ध्यान दिनुपर्छ । जोखिम पहिचान, वित्तीय अनुशासन, संस्थागत सुशासन, सञ्चालक तथा कर्मचारीको क्षमता विकास, प्रविधिको प्रयोग र सदस्यको वित्तीय साक्षरता जस्ता विषयमा नेफ्स्कूनले अझ प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ । सहकारी संस्थाहरुमा देखिएका समस्याहरुलाई छाता संगठनका रुपमा रहेको नैफ्स्कुनले समाधान गर्ने एवम् समस्या आउन नदिने बाटोतर्फ लाग्नुपर्दछ ।”

सहकारीको मर्म भनेको सामूहिकता हो, सहकार्य हो, पारस्परिक विश्वास हो भन्दै उहाँले एउटा व्यक्तिको पूँजीले गर्न नसक्ने काम धेरै मानिसको सानो–सानो पूँजी एकत्रित गरेर गर्न सकिन्छ भन्ने मान्यताबाट सहकारी जन्मिएको बताउनुभयो । सहकारी संस्था सदस्यको बचत संकलन गर्ने र ऋण दिने ठाउँ मात्र नभई यो सदस्यको आर्थिक सुरक्षा, सामाजिक सम्बन्ध र सामूहिक समृद्धिसँग जोडिएको संस्था भएको बताउनुभयो ।

पछिल्ला दिनमा सहकारी क्षेत्रमा केही गम्भीर प्रश्नहरू उठेको सन्दर्भ कोट्याउँदै उहाँले केही संस्थामा देखिएका वित्तीय अपचलन, अनुशासनका समस्या, बचतकर्ताको रकम परिचालनमा देखिएको कमजोरी, ऋण लगानीमा पारदर्शिताको अभाव, सञ्चालक र व्यवस्थापनबीचको स्वार्थको द्वन्द्व, शेयर सदस्यलाई पर्याप्त सूचना नदिने प्रवृत्तिले समग्र सहकारी अभियानप्रतिको विश्वासमा असर पर्न थालेको बताउनुभयो ।

अहिले वागमती प्रदेशमा आएको प्राकृतिक महाविपत्तिको पीडालाई बिर्सन नसकिने बताउदै मुख्यमन्त्री थापाले भन्नुभयो, “भोटेकोशीमा आएको बाढीले जनधनमा पु¥याएको क्षतिले हामीलाई विपद्को समयमा राज्य र समाजका सबै संस्थाहरूको भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने सम्झाएको छ । विपद् आउँदा सबैभन्दा पहिले प्रभावित हुने मानिस सामान्य नागरिक नै हो । घर जान्छ, व्यवसाय जान्छ, आम्दानी रोकिन्छ र उसले लिएको ऋण तिर्ने क्षमतासमेत प्रभावित हुन सक्छ भने ब्यक्तिको ज्यान पनि जान्छ । यस्तो अवस्थामा सहकारीले आफ्नो सदस्यलाई केवल ‘ऋणी’ को रूपमा मात्र नहेरी संकटमा परेको सदस्य र परिवारको एक हिस्सा हो भन्ने भावनाबाट हेर्नुपर्छ । विपद् प्रभावित सदस्यका लागि आवश्यकताअनुसार ऋण पुनर्संरचना, भुक्तानीमा सहजीकरण, वित्तीय परामर्श तथा सम्भव सहयोगका उपायहरूबारे सहकारी क्षेत्रले सोच्नुपर्छ ।”

महाविपत्तिमा नेफ्स्कूनको भूमिका अझ महत्वपूर्ण हुन्छ भन्दै उहाँले एउटा संस्था आफैँले समस्या समाधान गर्न नसक्ने अवस्थामा सहकारीको छाता संस्थाले समन्वय, प्राविधिक सहयोग, जोखिम व्यवस्थापन र आवश्यक सहजीकरण गर्न सक्ने व्यवस्था विकास गर्नुपर्ने बताउनुभयो ।

विपद्का कारण समस्यामा परेका परिवारलाई राज्यका निकायसँगै समाजका सबै जिम्मेवार संस्थाहरूले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउदै उहाँले सहकारी क्षेत्रले पनि आफ्नो सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्ने यो एउटा महत्वपूर्ण अवसर भएको र आफूले सकेको सहयोग पनि सहकारी क्षेत्रले गर्न आव्हान गर्नुभयो ।
सहकारी संस्थाहरूले पनि आफ्ना सदस्यलाई विपद् तथा संकटबाट सुरक्षित राख्ने आन्तरिक प्रणाली निर्माण गर्नुर्नेमा जोड दिनुभयो ।

सहकारीको पूँजी कहाँ परिचालन भइरहेको छ ? बचत संकलन गरेर सीमित व्यक्ति वा सीमित क्षेत्रमा अत्यधिक जोखिम लिएर लगानी गर्ने होइन भन्दै उहाँले सहकारीको पूँजी सदस्यको आय र उत्पादन बढाउने क्षेत्रमा जानुपर्ने बताउनुभयो ।

कृषि, पर्यटन, साना तथा मझौला व्यवसाय, स्थानीय उत्पादन, उद्यमशीलता र रोजगारी सिर्जनासँग सहकारीको सम्बन्ध बलियो बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।
सहकारीलाई राजनीतिक, व्यक्तिगत वा सीमित समूहको स्वार्थभन्दा माथि उठाएर सदस्यको हित र संस्थाको दीर्घकालीन स्थायित्वसँग जोड्नु पर्ने बताउदै उहाँले सहकारीको वास्तविक पूँजी केवल पैसा नभई सदस्यको विश्वास भएको बताउनुभयो ।

पैसा फेरि कमाउन सकिन्छ, तर एकपटक गुमेको विश्वास पुनः स्थापित गर्न धेरै कठिन हुन्छ भन्दै उहाँले सहकारीमा पारदर्शिता बढाउने, वित्तीय अनुशासन कायम गर्ने, जोखिम व्यवस्थापन बलियो बनाउने, सदस्यको सहभागिता सुनिश्चित गर्ने, सञ्चालक र व्यवस्थापनको क्षमता बढाउने र सहकारीको पूँजीलाई उत्पादन तथा रोजगारीसँग जोड्ने कार्य निरन्तर गर्नुपर्ने बताउनुभयो ।