गीतकार शिवशंकर थापा मगर विशिष्ट प्रतिभा पुरस्कार र कवि चन्द्र रानाहँछालाई प्रतिभा पुरस्कार प्रदान गरिँदै

काठमाडौं । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले यस वर्षको विशिष्ट प्रतिभा सम्मान झापाका प्रसिद्ध गीतकार शिवशंकर थापा मगर र खोटाङका कवि चन्द्र रानाहँछालाई प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। प्रतिष्ठानले शनिबार जारी गरेको विज्ञप्तिमा यो जानकारी दिइएको हो।

प्रतिष्ठानका अध्यक्ष देवेन्द्र खेरेसका अनुसार पुरस्कारसँगै एक लाख रुपैयाँ नगद राशि पनि दिइनेछ।

शिवशंकर थापा मगर वि.सं. २००३ वैशाख १५ गते धनकुटाको चुलीवनस्थित डाँडागाउँमा जन्मिएका हुन्। युवावस्थादेखि नै गीत लेखनमा सक्रिय रहेका उनले वि.सं. २०२० देखि गीत रचना सुरु गरेका थिए। वि.सं. २०२६ मा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेपछि उनको गीत रेकर्ड भयो र २०२८ देखि रेडियो नेपालमा बजाउन थालियो। अहिलेसम्म उनले करिब एक सय गीत लेखेका छन्। उनका चर्चित गीतहरूमध्ये दीप श्रेष्ठले गाएको ‘तिमी आकाशको जून भयौ’, ‘भन्थिन् मेरी उनी मेरो पाइला नटेकिदिनू’, पवन गोलेले गाएको ‘रहेको हावासँग बगुँ भन्छ पातसँग बोलु भन्छ’ र ओमविक्रम विष्टको स्वर रहेको ‘मेरो रहर ब्यूँझिएर’ लगायत छन्। उनको मुक्तक संग्रह ‘पाइतालाका डोबहरू’ प्रकाशित भइसकेको छ भने संस्मरण र गीति संग्रह ‘भन्थिन् मेरी उनी’ प्रकाशनको अन्तिम चरणमा छ।

कवि चन्द्र रानाहँछा वि.सं. २०३७ मा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा जन्मिएका हुन्। साहित्य र कला क्षेत्रमा सक्रिय उनले बाल्यकालदेखि नै चित्रकला, गीत, कविता, कथा र चलचित्रका पटकथा लेख्दै आएका छन्। उनका प्रकाशित कृतिहरूमा गीति एल्बम ‘चौबन्दी किनिदिउँला’ (२०५६) र ‘चिनो रुमाल’ (२०५७), कविता संग्रह ‘मनमा आँधी चलेपछि’ (२०६७) र ‘थिबिया चराको गीत’ (२०७१) तथा कथा संग्रह ‘भाउजू लडेको भीर’ (२०६९) छन्। उनले राष्ट्रिय कविता महोत्सव २०७४ मा प्रथम स्थान, युवा वर्ष मोती पुरस्कार २०७५ र खोटाङ प्रतिभा पुरस्कार २०८० सहित दर्जनभन्दा बढी सम्मान प्राप्त गरेका छन्।

यो पनि पढ्नुहोस  दशैंको शुभकामना सन्देश जारी गर्दै वागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भन्नुभयो, ‘विपद्बाट प्रभावित नागरिकको जीवन सामान्य अवस्थामा फर्काउन प्रदेश सरकार प्रतिबद्ध छ’

बेलायतमा बसेर नेपाली साहित्य र कलाको सेवा गर्दै आएका स्रष्टाहरूले सन् २००८ मा नेपाली प्रतिभा प्रतिष्ठान स्थापना गरेका थिए।