प्रधानमन्त्री वालेन्द्र शाह र रवि लामिछानेसँग भारतीय विदेश सचिव मिश्रीको शिष्टाचार भेट
काठमाडौँ, कात्तिक १९ गते । भारतीय विदेश सचिव विक्रम मिश्रीले प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। नेपालको दुई दिने औपचारिक भ्रमणमा आउनुभएका मिश्रीले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँग र बूढानीलकण्ठमा सभापति लामिछानेसँग भेटवार्ता गर्नुभएको हो।
प्रधानमन्त्री शाहसँगको भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, विपद् व्यवस्थापन, खेलकुद विकास, ऊर्जा, जलस्रोत, व्यापार–पारवहन तथा उड्डयनलगायत विषयमा छलफल भएको थियो।
भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै गएको विनाशकारी रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले ‘फर्स्ट रेस्पोन्डर’का रूपमा राहत सामग्री उपलब्ध गराउनुका साथै उद्धार टोली खटाएर पुर्याएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपद्का बेला फोनमार्फत सहयोगको ऐक्यबद्धता जनाउनुभएकोमा पनि उहाँले धन्यवाद दिनुभयो।
प्रधानमन्त्री शाहले नेपालको खेलकुद क्षेत्रको विकासका लागि भारतसँग कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा समेत चासो व्यक्त गर्नुभएको थियो।
भेटमा भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणलाई लिएर भारतीय प्रधानमन्त्री मोदीको सन्देश सुनाउँदै भ्रमणको तयारी तीव्र पारिएको जानकारी गराउनुभयो। उहाँले प्रधानमन्त्री शाहको भारत भ्रमण सफल बनाउन भारतले आवश्यक तयारी गरिरहेको बताउनुभयो।
मिश्रीले ऊर्जा, जलस्रोत, व्यापार–पारवहन र उड्डयनसम्बन्धी नेपाल–भारत द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको जानकारी पनि गराउनुभयो। भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेलमार्ग सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको उल्लेख गर्दै उहाँले बिहीबार उक्त मार्गमा रेल परीक्षणसमेत गरिएको जानकारी प्रधानमन्त्री शाहलाई गराउनुभयो।
यसैगरी, भारतीय विदेश सचिव मिश्रीले रास्वपा सभापति रवि लामिछानेसँग पनि शिष्टाचार भेटवार्ता गर्नुभएको थियो। बूढानीलकण्ठमा भएको भेटमा सभापति लामिछानेले आफ्नो विगतको औपचारिक भारत भ्रमणको स्मरण गर्दै आगामी दिनमा नेपाल र भारतबीच हुन लागेका उच्चस्तरीय भ्रमणहरूको सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो।
भेटका क्रममा लामिछानेले नेपालले विकास तथा आर्थिक कूटनीतिमा जोड दिइरहेको उल्लेख गर्नुभयो। उहाँहरूबीच नेपाल–भारतको बहुआयामिक सम्बन्ध, दुई मुलुकबीचको गहिरो सम्बन्धलाई थप प्रगाढ बनाउने तथा आपसी सहकार्यका विषयमा छलफल भएको थियो।
भारतीय विदेश सचिव मिश्रीको नेपाल भ्रमणलाई नेपाल–भारतबीचको उच्चस्तरीय कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ।



