ज्येष्ठ नागरिकको सुविधा पाएपछि टोपबहादुर रायमाझी कारागारमुक्त
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका नेता टोपबहादुर रायमाझी बिहीबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका छन्।
६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कैद छुटको सुविधा प्राप्त गरेसँगै रायमाझी कारागारमुक्त भएका हुन्। काठमाडौं जिल्ला अदालतले उनको निवेदनका आधारमा ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद सजायमा छुट दिँदै रिहा गर्न कारागार कार्यालयलाई संशोधित कैदीपुर्जी पठाएको थियो।
डिल्लीबजार कारागारका जेलर बाबुराम अर्यालका अनुसार रायमाझीलाई बिहीबार रिहा गर्नुपर्ने जानकारीसहितको पत्र अदालतबाट तिहारअघि नै प्राप्त भएको थियो। अदालतबाट प्राप्त संशोधित कैदीपुर्जीअनुसार कैद भुक्तानी अवधि पूरा भएपछि उनलाई रिहा गरिएको हो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा रायमाझी २०८० वैशाख २० गते पक्राउ परेका थिए। काठमाडौं जिल्ला अदालतले २०८३ असार ३० गते उनलाई ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरलगायतमा दोषी ठहर गर्दै सजाय सुनाएको थियो।
अदालतले ठगीमा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना तथा राज्यविरुद्धको कसुरमा एक वर्ष छ महिना कैद र १५ हजार रुपैयाँ जरिबाना तोकेको थियो। एकीकृत कसुरतर्फ चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना हुने फैसला भएको थियो।
ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार ६५ वर्ष उमेर पूरा गरेका व्यक्तिले कैद सजायमा २५ प्रतिशत छुट पाउने प्रावधान छ। सोही व्यवस्थाअनुसार रायमाझीले कैद छुट पाएका हुन्।
कारागारबाट रिहा भएपछि रायमाझीलाई घरमा टीका र माला लगाएर स्वागत गरिएको छ।



