२१औँ शताब्दीका संकटको विकल्प समाजवाद हो : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २१औँ शताब्दीमा देखिएका आर्थिक, सामाजिक तथा राजनीतिक संकटको दीर्घकालीन विकल्प समाजवाद हुन सक्ने बताएका छन्।

साइप्रस कम्युनिस्ट पार्टी (एकेल) स्थापनाको १००औँ वार्षिकोत्सवका अवसरमा नोभेम्बर ७ मा साइप्रसको राजधानी निकोसियामा आयोजित अन्तर्राष्ट्रिय संगोष्ठीलाई सम्बोधन गर्दै ज्ञवालीले समकालीन पुँजीवादी व्यवस्थाले सिर्जना गरेको असमानता, गरिबी र सामाजिक विभाजन अन्त्य गर्न समाजवादी विकल्प आवश्यक रहेको बताएका हुन्।

उनले विश्वमा सम्पत्ति, वैज्ञानिक ज्ञान र उत्पादन क्षमता अभूतपूर्व रूपमा वृद्धि भए पनि त्यसको प्रतिफल सीमित धनाढ्य वर्गमा मात्रै केन्द्रित भएको उल्लेख गरे। करिब एक अर्ब मानिस चरम गरिबीमा रहनु, श्रमिकले रोजगारीको असुरक्षा र न्यून ज्यालाको सामना गर्नु तथा शिक्षा, स्वास्थ्य र आवासजस्ता आधारभूत आवश्यकता बजारको वस्तु बन्नु पुँजीवादी व्यवस्थाका गम्भीर चुनौती भएको उनको भनाइ थियो।

ज्ञवालीले समाजवादलाई विगतका संघर्षको स्मृतिमा मात्र सीमित नराखी शोषण र असमानताविरुद्धको ऐतिहासिक विकल्पका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। माक्र्सवादलाई जड सिद्धान्तका रूपमा नभई प्रत्येक देशको इतिहास, संस्कृति र विशिष्ट परिस्थितिअनुसार सिर्जनात्मक ढंगले प्रयोग गर्नुपर्ने उनको धारणा थियो।

कृत्रिम बौद्धिकता (एआई), रोबोटिक्स तथा डिजिटल प्रविधिको तीव्र विकासले मानव कल्याणमा योगदान पुर्‍याउन सक्ने भए पनि कर्पोरेट क्षेत्रको नियन्त्रण बढ्दै जाँदा रोजगारी विस्थापन, निगरानी विस्तार र सम्पत्तिको केन्द्रीकरणजस्ता जोखिम निम्तिन सक्ने उनले औँल्याए।

नेपालको राजनीतिक अनुभव प्रस्तुत गर्दै ज्ञवालीले नेकपा एमालेले माक्र्सवाद र जनताको बहुदलीय जनवाद (जबज) लाई नेपालको विशिष्ट राजनीतिक, सामाजिक तथा ऐतिहासिक परिस्थितिअनुसार अवलम्बन गरेको बताए। राजनीतिक बहुलवाद, संवैधानिक शासन र सामाजिक न्यायलाई एकीकृत गर्ने जबज लोकतन्त्र र सामाजिक रूपान्तरणको आधार भएको उनको भनाइ थियो।

उनले लोकतान्त्रिक संस्थाहरूको विनाशलाई क्रान्तिका रूपमा व्याख्या गर्न नसकिने उल्लेख गर्दै राजनीतिक परिवर्तनको माध्यम हिंसा नभई शान्तिपूर्ण लोकतान्त्रिक प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए।

यो पनि पढ्नुहोस  उपप्रमुख भट्टराईको नेतृत्वमा सूर्यबिनायक क्षेत्रमा बजार अनुगमन

विश्वव्यापी वामपन्थी आन्दोलनबीच सहकार्य र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको आवश्यकता औँल्याउँदै ज्ञवालीले शान्ति, समानता, श्रमिक अधिकार, सामाजिक सुरक्षा र जलवायु न्यायका लागि साझा प्रयास गर्नुपर्ने बताए।

प्रकाशित मितिः