आज विजयादशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँको मुख्य दिन विजयादशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ। यस अवसरमा मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टीका, पहेँलो जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ। परिवारका ज्येष्ठ सदस्य तथा मान्यजनबाट टीका थाप्दै सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गरिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जनको साइत रहेको थियो भने टीका लगाउनका लागि बिहान १० बजेर २६ मिनेटको समय उत्तम साइतका रूपमा निर्धारण गरिएको छ। समितिका अनुसार विजयादशमी आफैँमा शुभ दिन भएकाले सर्वसाधारणले टीका लगाउन अनिवार्य रूपमा साइत कुर्नु पर्दैन। तर राज्य सञ्चालकका लागि भने शास्त्रीय मान्यताअनुसार शुभ साइतमा टीका ग्रहण गर्ने परम्परा रहेको छ।

घटस्थापनाका दिन विधिपूर्वक स्थापना गरी नौ दिनसम्म पूजा आराधना गरिएको जमरा र देवीको प्रसाद विजयादशमीका दिन मान्यजनबाट ग्रहण गरिन्छ। धार्मिक मान्यताअनुसार आज टीका थाप्ने व्यक्ति पश्चिमतर्फ र टीका लगाइदिने व्यक्ति पूर्वतर्फ फर्किनुपर्छ। आज टीका लगाउन नभ्याउनेहरूले पनि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्न सक्ने परम्परा छ।

विजयादशमीलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा लिइन्छ। धार्मिक विश्वासअनुसार यही दिन देवी दुर्गाले महिषासुरमाथि र भगवान् श्रीरामले रावणमाथि विजय प्राप्त गरेका थिए। त्यसैले यस पर्वले अन्याय र अधर्ममाथि सत्य, न्याय तथा सदाचारको विजय हुने सन्देश दिन्छ।

दसैँमा लगाइने रातो टीकालाई शक्ति, विजय, सौभाग्य र मङ्गलको प्रतीक मानिन्छ भने जमराले जीवनशक्ति, उर्वरता र समृद्धिको सङ्केत गर्छ। नवरात्रभर गरिएको पूजाआराधनापछि प्रसाद ग्रहण गर्दै देवीको आशीर्वाद लिने धार्मिक परम्परा यस पर्वको महत्वपूर्ण पक्ष हो। यस दिन मान्यजनबाट आयु, आरोग्य, विद्या, धन र सफलताको कामना गर्दै विभिन्न वैदिक मन्त्र तथा आशिष दिने चलन छ।

यो पनि पढ्नुहोस  पृथ्वी राजमार्गमा बस र विङ्गनर ठोक्किँदा १६ घाइते

विजयादशमीले टाढा रहेका परिवारका सदस्य, आफन्त र साथीभाइलाई एकै ठाउँमा भेला गराउँदै आपसी प्रेम, सम्मान, मेलमिलाप र सद्भाव बढाउन महत्वपूर्ण भूमिका खेल्छ। टीका र जमरासँगै आशीर्वाद आदानप्रदान गर्दै मनाइने यस पर्वले नेपाली समाजमा पारिवारिक एकता, सांस्कृतिक पहिचान र सामाजिक भाइचारालाई थप बलियो बनाउने विश्वास गरिन्छ।